जाजरकोट जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाजरकोट जिल्ला
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको (गाढा पहेँलो) स्थानको अवस्थिति
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामखलङ्गा
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, जाजरकोट
क्षेत्रफल
 • जम्मा२,२३० किमी (८६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७१३०४
 • घनत्व७७/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली
वेबसाइटआधिकारिक वेबसाइट

जाजरकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम खलङ्गा हो। ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो। यहाँ समशितोष्ण किसमको हावापानी पाइने गर्दछ।[१]

नामाकरण[सम्पादन गर्नुहोस्]

झारकोट शब्दको अपभ्रंश भै जाजरकोट नाम दिइएको जनश्रुती रहेको पाइन्छ। पहिले यो ठाउँमा चारैतिर बाक्लो झारजङ्गल भएको र बिचमा कोट जस्तो परेको डाँडा भएकोले यसलाई झारकोट भन्दा भन्दै जाजरकोट भएको भन्ने भनाइ छ।

इतिहास[सम्पादन गर्नुहोस्]

पौराणिक कालमा कर्णाली भेगमा (हाल जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातीका मल्ल राजाहरूले एउटा विशाल राज्यको स्थापना गरेको पाइन्छ। अहिलेको जाजरकोट जिल्लाको क्षेत्रपनि त्यसताका सोहि राज्यमा थियो। धेरै राजाहरूले राज्य गरिसकेपछि ई.स. १८३३ ताका जुम्ला राज्य टुक्रिएर स साना बाईसे चौबिसे राज्यको उदय भएको थियो। सोहि समयमा शाके सम्वत १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए। ईतिहास अनुसार त्यतिबेलाको जाजरकोट एउटा साम्राज्यको रूपमा विकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गङ्गा नदीसम्म, पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको थियो। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रूपमा मान्यता दिएको र राज्य रजौटा ऐन २०१७ अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

जिल्लामा ७ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ४ गाउँपालिका छन्।

जाजरकोट जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
भेरी नगरपालिका १३ खलङ्गा ३३,५१५
छेडागाड नगरपालिका १३ कार्कीगाउँ ३५,२९५
नलगाड नगरपालिका १३ दल्ली २८,८५८
कुसे गाउँपालिका थर्पु मार्म २०,६२१
शिवालय गाउँपालिका शिवालय १५,२६९
जुनीचाँदे गाउँपालिका मजकोट २१,७३३
बारेकोट गाउँपालिका रोकायागाउँ १८,०८३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जिल्ला समन्वय समितिको कार्यालय", जाजरकोट, अन्तिम पहुँच २०२३-०४-२०