सामग्रीमा जानुहोस्

नुवाकोट जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नुवाकोट जिल्ला
नुवाकोटमा रहेको उपत्येका
नुवाकोटमा रहेको उपत्येका
बागमती प्रदेशको नक्सामा नुवाकोट जिल्लाको अवस्थितिको अवस्थिति
बागमती प्रदेशको नक्सामा नुवाकोट जिल्लाको अवस्थिति
देश नेपाल
प्रदेशबागमती प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकामविदुर
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, नुवाकोट
क्षेत्रफल
 • जम्मा१,१२१ किमी (४३३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६३३९१[]
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
हुलाक कोड
४४९००, ४४९०८
मुख्य भाषा(हरू)नेपाली, तामाङ, नेवार, मगर, शेर्पा
वेबसाइटhttp://www.dccnuwakot.gov.np

नुवाकोट जिल्ला नेपालको बागमती प्रदेश अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक जिल्ला हो । नुवाकोट जिल्लाको जनसङ्ख्या २८८,४७८ रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम विदुर हो।[]

नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रूपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ। यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ। नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पूर्वी देशान्तरसम्मको फैलावटमा रहेको छ। समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ। जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।

प्राचीन काल

[सम्पादन गर्नुहोस्]

वर्तमान नुवाकोट डाँडो "ऋषिपत्तन" भनि कहलाएको थियो। यस स्थानमा ऋषि मुनिहरूको तपस्या हुने हुनाले यहाँ वस्ती बसेपछि वस्तीको नाम "ऋषिपत्तन" रहेको हो भन्ने अनुश्रुति चलेर आएको छ।[] शाह कालको एक लालमोहरमा उक्त कुरा उल्लेखित छ।[] साथै यहाँ कुनै धर्मकार्यमा संकल्प पढ्दा "ऋषिपत्तने" भनी भन्ने चलन छदैछ।[]मल्लकालका अभिलेख, टिपोट आदिमा पनि "ऋषिपत्तन" को उल्लेख आएको छ।

यस आधारमा विचार गर्दा यस प्रदेशमा ऐतिहासिक वस्ती बस्नुभन्दा पहिले ऋषिमुनिको आश्रम रहेको संकेत पाइन्छ। लच्छविकालका अभिलेखमा प्रसंहवश उल्लिखित गौतामाश्रम, भरताश्रम आदि उदाहरणले उक्त कुराको पुष्टि केही आंशमा गर्दछ। [] राजनैतिक दृष्टिले भन्दा धार्मिक दृष्टिले यस प्रदेशको महत्व केही रहिसकेको कुरामा शङ्का छैन।

शिवसिंह मल्लको पालाको नेपाल संवत ७३७ को एक अभिलेखमा नुवाकोटलाई "ब्रह्मानगर" भएको छ। यस भेकको एक प्रसिद्ध तीर्थ "ब्रह्मातीर्थ" कहलाएको छ।[]

लिच्छवि काल

[सम्पादन गर्नुहोस्]

लिच्छविकालमा नुवाकोट भेकमा सोझै केन्द्रबाट शासन चल्दथ्यो। त्यहाँ सामन्त शासन चलेको थिएन।

सवत ४८२ देखि ४८७ सम्मका अभिलेखमा गद्दीनशीन राजाका रुपमा गणदेवको उल्लेख आएको छ।[] यसरी नुवाकोटको इतिहासमा प्रामाणिक रुपमा देखापरेका पहिला गद्दीनशीन राजा गणदेव हुन आएका छन्। गणदेव राजा भएपनि शासनको बागडोर चाहि भौमगुप्तको हातमा थियो। उनले केही कालदेखि शासन चलाइरहेका थिए। अभिलेखमा उनलाई "श्रीभौमगुप्तो वरीवत्ति" भनि सम्बोधन गरिएको छ। भौमगुप्तले विधिवत पाएको सरकारी पद सर्वदण्डनायक, महाप्रतिहार मात्र थियो। तर उनी राजोचित "श्री" ले बिभुषित थिए तथा एक किसिमले अघोषित राजाका हैसियतले उनले शासन गरेका थिए। यो कुरा उनका पालाका अभिलेखहरूबाट थाहा पाईन्छ।[]

मध्यकालको पूर्वार्धमा नेपाल राज्यभित्र तीन शक्ति खस राज्य, तिरहुत राज्य, मल्ल राज्य देखापरे। ती तीन शक्तिमा परस्परमा बराबर टक्कर पर्नु, एकले अर्कोको विरुद्ध गुहार माग्नु आदि कुरा त्यस बेलाको राजनीतिक अंग जस्तै बन्न पुग्यो।

नुवाकोटले पश्चिम तिरबाट खसराज्यको आक्रमणको सामना कयौं पटक गर्नुपर्‍यो। साथै यस संघर्षबाट कमजोर भएको केन्द्रको अवस्थाबाट लाभ उठाई नुवाकोट स्वतन्त्र जस्तै बन्ने प्रयास पनि भयो। यसरी दुई शक्तिको बीचको प्रदेशको रुपमा नुवाकोटको अवस्था निकै समयसम्म संघर्षमय रह्यो।

त्यस ताका बराबर लडाइँ झगडा भइरहने हुनाले सुरक्षाको दृष्टिले अनुकुल पर्ने ठाउँहरूमा प्रायः वस्तीहरू केन्द्रित हुन थाले। उपत्यका भित्र तीन प्रमुख शहर र अरु साना शहरहरूलाई समेत खाडल, पर्खाल आदिले घेरेर "गढ"को रुप दिइयो। यही कुरा नुवाकोटमा पनि घट्यो। नुवाकोट इलाकाभित्र प्रकृतिले 'कोट्ट'को रुप दिन लायकका थुमहरू चारैतिर रचिएका छन्। यसो हुँदा बीच भागमा केन्द्ररुपमा रहेको वर्तमान नुवाकोट डाँडोलाई "मूलकोट"को रुप दिई वरपरका थुम्काहरूमा पनि कोट्टहरू बनाइए। यसरी यस प्रदेशको नाम "नवकोट्ट" रहन गएको देखिन्छ। लिच्छविकालको अभिलेखमा कोट्टको उल्लेख भएको छ तापनि त्यसबेला "नवकोट्ट" नामाकरण भएको थिएन। मध्यकालको पूर्वार्धमा आएर मात्र "नवकोट्ट" नामकरण भएको देखिन्छ। गोपाल राजवंशावलीमा "नवक्वाथ"को उल्लेख धेरै ठाउँमा आएको छ।[] मध्यकालमा नुवाकोट डाँडोले "पलन" (शहर)को रुप पनि लिएको कुरा अभिलेखबाट थाहा पाइन्छ।[]

साततले दरवारबाट देखिएको नुवाकोटको एक दृष्य
नुवाकोटबाट देखिएको हिमालको दृष्य
चित्र:Arjun Narasingha KC delivers speech at Volleyball game, Nuwakot.jpg
अर्जुन नरसिंह केसी, राउतबेसीमा जन्मेका पूर्वशिक्षा, स्वास्थ्य, र सहरी विकास मन्त्रि एवं नेपाली कांग्रेसका बरिष्ठ प्रभावसाली नेता |

पृथ्वीनारायण शाह

[सम्पादन गर्नुहोस्]

राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो। यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो। त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो। जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो।

नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास नुवाकोट देवीघाटमा भयो।

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्त्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ। जुन मार्ग भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए। खिञ्चेत बगैंचा त्यही पबित्र स्थान हो जहाँ बिश्व प्रसिद्ध पुकार भण्डारीको जन्म भएको थियो । हाल यश स्थानलाई खिबोजको नामले चिनिन्छ । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरीद जस्ता व्यापक तयारीले लडाईंलाई सफल तुल्याएको देखिन्छ। नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए।

बहादुर शाह-राजेन्द्र शाह

[सम्पादन गर्नुहोस्]

नेपाल चीन युद्ध

[सम्पादन गर्नुहोस्]

रणबहादुर शाह

[सम्पादन गर्नुहोस्]

राणाशासन कायम भएपछि नुवाकोटको विकासमा ध्यान दिइएन। पृथ्वीनारायण शाहद्वारा बनाउन लगाइएको नुवाकोट-माडी दरबार राणा शासनकालमा भत्कियो।[१०][११] तर यसको पुननिर्माण नहुँदा सो दरबार भग्नावस्थामा पुग्यो। जुद्धशमशेरको समयमा आएर माथिको साततले दरबार पुननिर्माण भयो तर तलको शेरा दरबार भने पुरानै रुपमा निर्माण हुन सकेन।

१९११ मा तिब्बत सँग युद्ध हुँदा रसुवागढी मोर्चामा जाने बाटो नुवाकोट थियो। चन्द्र शमशेरको पालासम्म भोटसँगको व्यापार केरुङको बाटो हुँदै थियो र सेराबेंसीमा भन्सार अड्डा कायम थियो।[१२] तर अंग्रेज-भोट युद्ध पछि कालिम्पोङको बाटो खुलेपछि यताको अलि बचेको व्यापार पनि सुक्न थाल्यो। यसरी नुवाकोटको गैरव क्रमशः बिर्सन थालियो।

वास्तु तथा संकृति

[सम्पादन गर्नुहोस्]

पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार र वि.सं. १८२२ शेरा दरबार बनाउन लगाए। पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन। स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो। यसको पुनः निर्माण तर्फ सरकारले चासो राखेको देखिदैन।

मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुरे जात्रा (नुवाकोट) लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ। यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन्। गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्। जुन दुःख लाग्दो विषय हो। मल्लकालमा उपत्याकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौँको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए। जुन अद्यपि कायम छ। यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ।

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोटधुवाँकोट पश्चिम. १ नं.बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामाधैबुङकोट, रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ।

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

नुवाकोट जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र १० गाउँपालिका छन्।।[१३]

नुवाकोट जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग

किमी)

विदुर नगरपालिका चारघरे, तुप्चे, गेर्खु, कल्याणपुरखड्गभन्ज्याङ (४-९) १३ विदुर ५९,२२७ १३०.०१ ४६०
बेलकोटगढी नगरपालिका दुईपिपल, रातामाटे, कुमरी, बेलकोट, जिलिङ, मदानपुर (१-६,९) १३ जिलिङ ३५,२२४ १५५.०६ २३०
तादी गाउँपालिका खरानीटार, रालुकादेवी, उर्लेनी, सुन्दरादेवीनर्जामण्डप खरानीटार १५,९३३ ६९.०८ २३०
किस्पाङ गाउँपालिका साल्मे, भाल्चे, काउले, फिकुरीमनकामना काउले १४,२३५ ८२.५७ १७०
ककनी गाउँपालिका ककनी, ओखरपौवा, चाउथे, चतुराले, थानसिङ (८-९), मदानपुर (७-८) ककनी २४,५०४ ८७.९७ २८०
तारकेश्वर गाउँपालिका गोर्स्याङ, बुधसिङ, तारुका, दाङसिङखड्गभञ्ज्याङ (१,२,३) दाङसिङ १४,१८४ ७२.६२ २००
दुप्चेश्वर गाउँपालिका घ्याङ्फेदी, राउतबेसी, समुन्द्रटार, बेतिनी, गाउँखर्क, शिखरबेसीबालकुमारी समुन्द्रटार २१,००५ १३१.६२ १६०
पञ्चकन्या गाउँपालिका कविलास, पञ्चकन्या, चौघडा (३,४), थप्रेक, भद्रुटार लाकुरीभञ्ज्याङ १३,८१८ ५३.४७ २६०
म्यागङ गाउँपालिका बर्सुञ्चेत, किम्ताङ, देउराली, बुङताङसामरी मानेब्ले १२,६६८ ९७.८३ १३०
१० लिखु गाउँपालिका सूर्यमती, थानसिङ (१-७), खानीगाउँ, चौघडा (१,२,५-७) र थानपति (५) सूर्यमती १७,७२८ ४७.८८ ३७०
११ शिवपुरी गाउँपालिका छाप, लिखु, महाकाली, तलाखु, सिक्रे, समुन्द्रादेवी, सुनखानीथानपति (१-४,६-९) लिखु १७,२०३ १०१.०५ १७०
१२ सूर्यगढी गाउँपालिका लच्याङ, बागेश्वरी, हल्दे कालिका, र गणेशस्थान बागेश्वरी १४,९१९ ४९.०९ ३००
नुवाकोट जिल्लाका पूर्व गाविसहरूको नक्सा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  2. धनवज्र वज्राचार्य, टेकबहादुर श्रेष्ठ (२०३२ चैत्र), नुवाकोटको ऐतिहासिक रुपरेखा, नेपाल र एशियाली अध्ययन संस्थान, पृ: १३। 
  3. नुवाकोटका धामी हरिमानसिंहज्यूको संग्रहमा सो लालमोहर रहेको छ।
  4. सानुरत्न वज्राचार्य
  5. योगी नरहरिनाथ (बि.सं २०१३), हिमवत्खण्ड, योगप्रचारिणी गोरक्षटिल्ला, काशी, पृ: २३४-३७। 
  6. योगी नरहरिनाथ, सन्धिपत्रसंग्रह, पृ: ३०६। 
  7. ७.० ७.१ धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, नेपाल र एशियाली अध्ययन संस्थान, पृ: १८७-२०३। 
  8. गोपालराजवंशावली
  9. धनवज्र वज्राचार्य, टेकबहादुर श्रेष्ठ (२०३२ चैत्र), नुवाकोटको ऐतिहासिक रुपरेखा, नेपाल र एशियाली अध्ययन संस्थान, पृ: ऐतिहासिक सामग्री २, ४, ६, ३८। 
  10. धनवज्र वज्राचार्य, टेकबहादुर श्रेष्ठ, श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट-माडी दरबार, नेपाल र एशियाली अध्ययन संस्थान, पृ: १५१-१५२। 
  11. वज्राचार्य, धनवज्र; श्रेष्ठ, टेकबहादुर, "श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट- माडी दरबार", Contributions to Nepalese Studies 2 (2): 151–152। 
  12. वज्राचार्य, धनवज्र; श्रेष्ठ, टेकबहादुर, "श्री ५ पृथ्वीनारायण शाहको नुवाकोट- माडी दरबार", Contributions to Nepalese Studies 2 (2): 152। 
  13. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]