सामग्रीमा जानुहोस्

धैबुङकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धैबुङकोट रसुवा जिल्ला, कालिका गाउँपालिका, वडा नं २ मा रहेको एउटा गाउँ हो । यो गाउँको नामाकरणसँग ऐतिहाँसिक महत्व जोडिएको छ । साबिक धैबुङ गाबिसको नामाकरण पनि यही ठाउँको नामबाट हुन गएको हो । धैबुङ को नामाकरणका सम्बन्धमा विभिन्न भनाईहरू रहेका छन् । पृथ्वीनारायण शाहको राज्य एकीकरणका क्रममा युद्द व्यवस्थापनका लागि कोतघर बनाईएको र त्यही समयदेखि गोरखाबाट गोरखनाथको मूर्ति टाउकोमा बोकेर गोसाइँकुण्ड स्नान गरी सो मूर्तिलाई गोरखा नै पुर्याउने प्रचलन थियो भन्ने ऐतिहाँसिक श्रुतिहरू पाइन्छन् । त्यसक्रममा मूर्ति बोक्ने सिद्दबाबालाई यहाँस्थित कोतघरमा राखी सत्कारसहित खानामा दही र पानी पर्दा ओढ्नका लागि घुम दिइने चलन थियो । त्यतिबेलादेखि नै यो स्थान दही, घुमको रूपमा प्रख्यात हुँदै गयो । अर्काथरि मानिसको भनाई अनुसार गोसाइँकुण्ड जाने तीर्थालुलाई माथि जाँदा ओड्नका लागि घुम पठाउने र खानामा दही दिने प्रचलनबाट पनि यस ठाउँको नामाकरण 'दहीघुम' रहँदै आएको र दही घुमको अपभ्रंश भएको रूप नै 'धैबुङ' हो भन्ने भनाई रहेको पाइन्छ ।

कालिकास्थान, चिउरीबोट नजिकै बनेको भनिएको उक्त कोतघरमा गाउँबाट कोदो उठाउने र रोटी खाएर पुर्खाले तिब्बतसँग लडाई लडेका थिए भन्ने किंबदन्ती पनि रहेको छ । ऐतिहाँसिक पक्षलाई नियाल्दा २०३२ सालभन्दा अघि धैबुङलगायतका ठाउँहरू नुवाकोटमा थियो । बेलकोट, मालाकोट, धुँवाकोट, भैरमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, प्यासकोटधैबुङकोट मिलेर नुवाकोटको नामाकरण भएको हो । नुवाकोट नामाकरण हुँदा धैबुङकोट नुवाकोटमा रहेको र २०३२ सालमा बेत्रावती सिमाना राखी रसुवा जिल्ला सिमाङ्कन गरिएको ऐतिहाँसिक पक्ष विभिन्न दस्ताबेजहरूमा पाईन्छ ।

नुवाकोट हुँदा यस ठाउँलाई 'रामकाली गाउँपञ्चायत'को नामले चिनिन्थ्यो । बेत्रावतीमा रहेको राम मन्दिर धैबुङमा रकेको कालिका मन्दिरको संयुक्त नामलाई समाबेश गरी 'रामकाली' नामाकरण गरिएको भन्ने तथ्य/भनाई पाईन्छ । 'रामकाली' हुँदा हाल नुवाकोटमा रहेका केराघारी, मभीर, कुवापानीलगायतका स्थान पनि रसुवामा नै पर्दथ्यो भन्ने भनाई पाईन्छ । पछि रसुवा नै भएपछि पुन संरचना हुँदा रसुवाको बेत्रावतीको भाग 'रामकाली' गाउँ पञ्चायतमा र धैबुङ, जिबजिबेलगायतका भुभाग 'जिबजिबे नीलकण्ठ गाउँ पञ्चायत'मा रहेको थियो । आज पनि विभिन्न कागजात र दस्ताबेजहरूमा साविकको धैबुङ गाविसलाई 'जिबजिबे नीलकण्ठ' भनेर उल्लेख गरेको पाइन्छ ।

राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको समयमा यस भूभागमा आउँदा आफूसँग आएका भाई भारदारलाई बाली (कुत) उठाएर खाने गरी केही भूभागहरू उनीहरूको नाममा दर्ता गराएका थिए भन्ने भनाई रहेको छ र हालसम्म पनि त्यही जमिनहरू बिर्तावालाहरूको नाममा रहेको पाईन्छ ।