सूर्यकुण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सूर्यकुण्ड सुनसरी जिल्लाको चतराबजारदेखि करिब ५ कि.मी. उत्तरमा सूर्यकुण्ड डाँडामा अवस्थित छ। सुनसरी जिल्लाको बराहक्षेत्र गाउँ विकास समिति, वडा नं. ७ स्थित बराहक्षेत्र मन्दिर र कोकाहा नदीपछिको ऐतिहासिक तथा पौराणिक महत्त्व लल 'आदित्यसरोवर' नामले परिचित सूर्यकुण्ड मन्दिर निकै चर्चित छ। आदि बराहस्थान, भवानी थान र लटेकीनी थान सूर्यकुण्ड क्षेत्रका धार्मिक स्थलहरू हुन्। सूर्यकुण्डको वर्णन ब्रह्मपुराणमा समेत गरिएको छ। तर हाल उक्त कुण्ड फुटेर गएकोछ र अवशेषका रूपमा मात्र छ। सूर्यकुण्ड रसुवा जिल्लामा रहेकाे छ । प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र गाेसाइकुण्डबाट पैदल डेढ घण्टामा यहाँ पुग्न सकिन्छ ।

आजभन्दा डेढ दुईसय वर्ष अगाडि सम्म पनि बराहक्षेत्रसम्म जाने मूल बाटो यही सूर्यकुण्डबाट थियो। चतराबाट कोशी किनारको बाटो नखुलुन्जेल यही सूर्यकुण्डको बाटोबाट बराह क्षेत्र पुगिन्थ्यो। धरानबाट माछामारा भञ्ज्याङ्ग हुदै डाडैडाँडा सूर्य कुण्ड पुग्ने तथा चतराबाट करिब ५ कि.मि. उकालो चढी सूर्यकुण्ड पुगेर बराहक्षेत्र तर्फ झर्ने चलन थियो। बराहक्षेत्रबाट फिर्ने बाटो पनि यही नै थियो। तसर्थ विगतमा सूर्यकुण्ड क्षेत्र निकै प्रख्यात थियो। पछि चतराबाट बराहक्षेत्र जाने कोशी किनारको बाटो खुलेपछि भने यो स्थान सुनसान बन्दै गयो र त्यहाँ स्थापित पुराना मन्दिरहरू पनि नासिएर गए।

सूर्यकुण्ड धार्मिक रूपमा मात्र नभएर प्राकृतिक सुन्दरताका कारण पनि निकै प्रख्यात छ। त्यहाँबाट तराईको फाँट, डाँडा काँडा, जंगल र हिमालहरूको दृश्य राम्रो सँग देख्न सकिन्छ। ब्रह्म पुराणमा वर्णित कुब्जाम्र नामक तीर्थ पनि यसको नजीकै कोकाखोलाको फाँट तिर पर्दछ।[१]

ऐतिहासिक तथा पौराणिक महत्त्व[सम्पादन गर्नुहोस्]

बराहपुराण र हिमवत्खण्डमा उल्लेख भएअनुसार कश्यप, प्रजापति र दीतिका छोरा दैत्य हिरण्याक्षले ब्रहृमाण्डमा अत्याचार मच्चाई पृथ्वीलाई रसातलमा पुर्‍याएपछि भगवान् विष्णुले बराह अवतार लिएर पृथ्वीको उद्धार गरी घुमफिर गर्ने क्रममा सानो रूप धारण गरी आदित्यसरोवर पुग्दा पहिलोपटक सूर्यले बराहको दर्शन गरेको हुँदा यस कुण्डको नाम 'सूर्यकुण्ड' रहन गएको हो। सूर्यकुण्डमा एक रात उपवास बसी स्नान गर्ने व्यक्तिले सूर्यलोक प्राप्त गर्दछ भनी बराहपुराणमा उल्लेख छ।

विक्रम सम्बत् १९९० को महाभूकम्पले पोखरीको नजीकै रहेको सूर्यनारायणको मन्दिर भत्काएपछि जीर्णोद्वारका लागि केही काम भएको छैन। धार्मिक तथा पौराणिक महत्त्व भएको उक्त सूर्यकुण्डको नामबाट नै कुण्ड रहेको गाउँलाई अहिले 'सूर्यकुण्ड गाउँ' भन्ने गरिन्छ। किम्बदन्ती अनुसार पौराणिक कालमा 'सूर्यकुण्ड गाउँ'मा रानीले गाईको दुध माग्दा कसैले नदिएपछि रानीको श्रापले गर्दा त्यस ठाउँका गाईले कम दुध दिने गरेका छन्। यही विश्वासका कारण त्यस क्षेत्रमा पालेका गाई किन्न मानिसहरू हिचकिचाउने गरेका छन्। यसैगरि कुण्ड कै नजिकरहेको एउटा बरको रूख टुप्पो गाडेको अवस्थामा पलाएको हुनाले त्यसका हाँगा उल्टो झुकेको हो भन्ने भनाई छ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सूर्यकुण्ड", birattourism.org.np [dead link]