गौर नगरपालिका
गौर | |
---|---|
निर्देशाङ्क: २६°४६′उ॰ ८५°१६′पू॰ / २६.७६७°N ८५.२६७°Eनिर्देशाङ्कहरू: २६°४६′उ॰ ८५°१६′पू॰ / २६.७६७°N ८५.२६७°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट जिल्ला |
नगरपालिका | वि.सं. २०४८ चैत्र ३०[१] |
सम्मिलित (गाविस) | सवगाडा, पुरेनव, सिर्सिया र टिकुलिया (१-८) |
सरकार | |
• नगरप्रमुख | शम्भु साह (नेकपा (एकीकृत समाजवादी)) |
• उपप्रमुख | शैलकुमारी साह (नेकपा (एकीकृत समाजवादी)) |
क्षेत्रफल | |
• जम्मा | २१.५३ किमी२ (८.३१ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३९,८४६ |
• घनत्व | १९००/किमी२ (४८००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४४५०० |
क्षेत्रीय सङ्केत | ०५५ |
वेबसाइट | gaurmun |
गौर नेपालको मधेश प्रदेशमा पर्ने रौतहट जिल्लाको सदरमुकाम[४] तथा जिल्लाकै पहिलो नगरपालिका हो। नेपालको राजधानी काठमाडौँबाट यो नगर लगभग १९४ किलोमिटर दक्षिण पूर्वमा रहेको छ। भारतीय सीमासँग जोडिएर रहेको यो नगरको दक्षिणमा भारतको बिहार राज्यमा पर्ने बैरगनिया सहर रहेको छ।
नगरपालिका ऐन, २०४७ लाई आधार बनाएर तत्कालीन सरकारले वि.सं. २०४८ चैत्र ३० गतेदेखि लागु हुने गरि गरेको निर्णय र सोही मितिमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार रौतहट जिल्लाको तत्कालीन सवगाडा, पुरेनव, सिर्सिया गाउँ विकास समितिको सम्पूर्ण भाग र टिकुलिया गाउँ विकास समितिको वडा नं. १ देखि ८ सम्मको इलाकाहरूलाई समेटेर यसलाई नगरपालिका घोषणा गरेको थियो। सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो नगरपालिकामा ७ वटा गाउँ विकास समितिहरू थपेर यसको क्षेत्र विस्तार गरेको थियो[५][६][७] तर राजनीतिक विवादका कारण सरकारले स्थानीय तहहरू पुनर्मूल्याङ्कन गरि वि.सं. २०७४ जेठ ८ गते गरेको निर्णय तथा वि.सं. २०७४ जेठ ११ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार थप गरिएका गाउँ विकास समितिहरूलाई खारेज गरि यस नगरपालिकाको साविककै सम्पूर्ण क्षेत्र कायम गरेको थियो।[८][९][१०]
वर्तमान समयमा यो नगरपालिकाको कुल क्षेत्रफल २१.५३ वर्ग किलोमिटर रहेको छ भने यो नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]गौरलाई तत्कालीन सरकारले वि.सं. २०१९ पुष ३ गतेदेखि नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजित गरेपछि यसलाई रौतहट जिल्लाको सदरमुकाम बनाइएको थियो।[११]जिल्ला सदरमुकाम तथा भारतीय सीमा क्षेत्रसँग नजिक रहेको कारण यहाँ व्यापार तथा सरकारी कार्यालयहरू रहेका छन्।
पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[१२] नगरपालिका ऐन, २०४७ घोषणा गरिएको थियो। यसै ऐनलाई टेकेर तत्कालिन सरकारले वि.सं. २०४८ चैत्र ३० गते नेपालमा तीन वटा नयाँ नगरपालिका थप्दा गौर पनि नयाँ नगरपालिका बन्न पुगेको थियो।[१३] नगरपालिका ऐन, २०४७ बमोजिम गठन हुने नेपालको पहिलो तीन नगरपालिकाहरू मध्ये गौर नगरपालिका पनि एक हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गौर नगरपालिकाको कुल जनसङ्ख्या ३९,८४६ रहेको छ भने यहाँ ७,२३५ घरधुरी रहेका छन्।[३]
मिडिया
[सम्पादन गर्नुहोस्]गौरमा रेडियो राजदेवी एफ.एम., रेडियो बोर्डर, रेडियो संस्कृति एफ.एम. र रौतहट एफएम गरी चार सामुदायिक रेडियो स्टेसन छन्। गौरमा एक चलचित्र हल शान्ता चलचित्र भवन रहेको छ।
शैक्षिक केन्द्र
[सम्पादन गर्नुहोस्]नेपालको तेस्रो सबैभन्दा पुरानो विद्यालय जुद्ध माध्यमिक विद्यालय यसै नगरपालिकामा जुद्ध शमशेर राणाद्वारा स्थापना गरिएको थियो। गौरमा प्राथमिक विद्यालयदेखि उच्च शिक्षाका लागि कलेजहरू रहेका छन्। यहाँ रहेका निजी विद्यालयहरूमा लोरेटो अङ्ग्रेजी बोर्डिङ स्कूल, प्रभात बोर्डिङ स्कूल, लुम्बिनी अङ्ग्रेजी बोर्डिङ स्कूल, जनक अङ्ग्रेजी बोर्डिङ स्कूल, सत्य शिशु निकेतन माध्यमिक विद्यालय, जी स्टार एकेडेमी, अन्तर्राष्ट्रिय बाल एकेडेमी, जिएनएस अङ्ग्रेजी बोर्डिङ स्कूल, कृष्ण मेर्सी अङ्ग्रेजी बोर्डिङ स्कूल रहेका छन्।
यातायात सुविधा
[सम्पादन गर्नुहोस्]गौर-चन्द्रनिगाहपुर राजमार्ग यहाँबाट सुरु भएर चन्द्रपुरको पूर्व-पश्चिम राजमार्गमा गएर भेट्छ जसले गौरलाई नेपालका सबै प्रमुख सहरहरूसँग जोड्ने गरेको छ। यस नगरमा यातायातको सुविधा भरपर्दो छ। यहाँबाट नेपालको राजधानी काठमाडौँ लगायत नेपालका प्रमुख सहरहरू वीरगञ्ज, जनकपुरधाम, पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुरका लागि सोझै बस सेवाहरू उपलब्ध रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नगरपालिकाको क्षेत्र तोकेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४८ चैत्र ३०, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१९ मिति
- ↑ काफ्ले, प्रतिक्षा (वि.सं. २०७३ फाल्गुन ३०), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, वि.सं. २०७३ फाल्गुन ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
- ↑ "स्थानीय तह थप गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७४ जेठ ११, पृ: ५०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२।
- ↑ "स्थानीय मन्त्रालयको सूचना" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७४ भदौ ४, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२।
- ↑ मिश्र, राजेश, "प्रदेश नम्बर २ मा ९ वटा स्थानीय तह थपिँदै, स्थानीय तहको संख्या ७५३ पुग्यो", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२४।
- ↑ "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १०।
- ↑ "ईलाम समेतका क्षेत्रलाई नगर क्षेत्र घोषणा गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १०।