मेचे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


मेचे, पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची खोला र कन्काई नदीका बीचमा बस्ने भएकाले यिनीहरूलाई मेचे भनिएको हो। झापाको कप्तानबारी, आयाबारी, जलथल, शनिश्चरे, धुलाबारी, अनारमनी बेलडाँगी, धाइजन आदि क्षेत्रमा यिनीहरूको बसोबास छ। यिनीहरू साहू महाजनहरूबाट असाध्यै शोषित-पीडित छन्। मेचेहरूको आफ्नै भाषा भए पनि त्यो पूर्णतः लोप हुने अवस्थामा छ। भारतको आसाम राज्यमा यिनीहरूको भाषा र गीतसमेत रहे पनि धेरै पुस्ता फरक पर्नाले त्यो नबुझनिने भइसकेको छ।

मेचेहरू मुख्य रूपमा अर्काको खेती कमाउने, रक्सी बनाएर बेच्ने, दाउरा बेच्ने र मजदुरी गर्ने गर्छन्। मेचेहरूको ४/५ घरमध्ये एक मूलहरू हुने गर्छ, जुन दक्षिण फर्केको हुन्छ। मूलहरूको आँगनमा बाठो देव (शिव) स्थापना गरिएको हुन्छ। तुलसीको मठ जस्तो देखिने बाठोमा सिउँडीको बोट पनि लगाइएको हुन्छ। सिउँडीको बोटलाई मेचे जातिले कुलदेवताका रूपमा पूजा गर्छन्। दशैं, तिहार र फागुपूणिर्मा यिनीहरूका खास पर्वहरू हुन्। तर दशैं, तिहार टीका लगाएर होइन, रक्सी-मासु खाएर रमाइलो गरी मनाइन्छ।

बालक जन्मँदा उत्सव हुदैन। नाम राख्न पनि कुनै खास विधि चाहिँदैन। जन्मेको तिथि र बारबाट नाम रहन्छ। गर्भे कपाल भएको बालक जन्मेमा हजामले नै केश काट्नु पर्ने चलन छ। विवाहमा दुलाहाले दुलही किन्नैपर्ने बाध्यता छ। तर रकमको कुनै सीमा छैन, जति रूपैयाँमा पनि किन्न सकिन्छ। केटी मनपर्ने केटाले रूपैयाँ पठाउनुपर्छ। त्यो रूपैयाँ फिर्ता नआएमा केटाको प्रस्ताव केटी पक्षले स्वीकार गरेको भनिन्छ। विधवा विवाह यस जातिमा स्वीकार्य छ, विधवालाई किन्नु नपर्ने हुँदा विधवाहरूको विवाह सजिलै हुन्छ। बाबु-आमा मरेमा सबै छोरा क्रियामा बस्नु पर्दैन, एउटा छोरा मात्र बसे पुग्छ। सुरूमा लास गाड्ने चलन भए पनि हाल जलाईन्छ। लास जलेपछि मुटु बाँकी रहन्छ भन्ने यिनीहरूमा विश्वास पाइन्छ। तर जे बाँकी रहे पनि त्यसलाई मैखुम (अस्तु) मानी उठाएर धोई पखाली तेल घस्छन्। सबै मलामीले खाल्डो खनी पुर्छन्। खाल्डोमा पैसा पनि हाल्छन्। जुठो चोखिने दिन मैखुम गाडेको ठाउँमा रक्सी चढाउँछन्। मेचे जातिको विकासका लागि 'मेचे सिनेयरी आफान'(मेचे सुधार समिति) नामक संस्था निजी क्षेत्रमा खडा भई काम गरेको छ।