सन्थाल जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सन्थाल जाति
Baha parab 4.jpg
परम्परागत पोशाकमा बाहा पर्व मनाउँदै सन्थाल जाति
जम्मा जनसङ्ख्या
अन्दाजी ७ करोड ४० लाख
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भारत बङ्गलादेश नेपाल
 भारत
              झारखण्ड

२,७५२,७२३[१]
              पश्चिम बङ्गाल२,५१२,३३१[१]
              ओडिशा८९४,७६४[१]
              बिहार४०६,०७६[१]
              असम२१३,१३९[२]
 बङ्गलादेश३००,०६१ (सन् २००१)[३]
 नेपाल५१,७३५[४]
भाषाहरू
सन्थाली, हिन्दी, बङ्गाली, ओडिया, नेपाली
धर्महरू
बहुसङ्ख्यक
Om.svg हिन्दु (६३%)[५]
अल्पसङ्ख्यक
परम्परागत धर्म (सारना) (३१%)
Christian cross.svg इसाई (५%), अन्य (१%)[५]


सन्थाल नेपाल, भारत, बङ्गलादेश र भुटानमा बसोबास गर्ने आदिवासी जनजाति हो। निकै सरल, मिलसार र मेहेनती हुन्छन। आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सन्थालहरु चोरी र बेइमानीलाई पाप सम्झन्छन्। खासगरी पूर्वी तराईका मोरङ र झापाका आदिवासी सन्थालहरुको घरको बनोटबाट नै सन्थाल गाउँ भन्ने छुटिन्छ। फुसको छाना भएका एकतले झुप्रा घर झुरूप्प बाक्लै रहनु, लिसैलो माटोको लिउनले चिल्लो देखिनु, घर अगाडि बाबरी फुलको बोट हुनु र घर छेउछाउ बडहर, कदम र बयरका रूख-विरुवा इत्यादिले उनीहरूको परिचय दिन्छ।

Santal House
Santali dance photo

नेपाल प्रवेशको इतिहास[सम्पादन गर्ने]

न्यायिक परम्परा[सम्पादन गर्ने]

सन्थालहरूको गाउँमा एकजना मान्नेगुन्ने मानिस हुन्छ, जसलाई 'माजिहाडाम' भनिन्छ । उसलाई सहयोगी चाहिएमा अर्को एकजना 'पारानिक (सहयोगी) राख्न गरिन्छ। माजिहाडाम हुने पुस्त्यौली हक हो, तर कुनै माजिहाडाम बेकम्वा भएमा गाउँलेले अर्को माजिहाडाम नियुक्ति गर्न सक्छन्। माजिहाडामको मुख्य काम गाउँको झै-झगडा मिलाउने, गाउँमा नाइके तथा खबरे राख्ने र विकास निर्माण गराउने आदि हुन्। 'सारना' धर्मावलम्बी भएका उनीहरूमा केही आफ्नै विशेषता छन्। गाउँको कुनै ठाउँमा 'माजिथान'र जाहेरथान बनाइएको हुन्छ। यो थानहरूमा कृया,बिबाह,चाड्पर्बहरु मनाउदा पुजा गरिन्छ ।'पिल्चू हाडाम' र 'पिल्चू बूढी'को नामले झुण्ड्याई साक्षी राखिन्छ। मन्जिथानमा जाँड र बेसार चढाउनु पर्छ। गाउँमा रोगको प्रकोप नआओस् भनी मन्जिथानमा परेवा, सिन्दूर, चिनी, केरा आदि चढाइन्छ। धामीझाँक्री, तन्त्रमन्त्र र झारफुकमा यिनीहरू विश्वास गर्छन्। ‍

धर्म[सम्पादन गर्ने]

सन्थाल जातिको धार्मिक ग्रन्थ अनुसार मानव जातीको उत्पती हाँस चराको अण्डाबाट भएको मानिन्छ । ति पहिलो मानव जातिलाई पिल्चु हाडाम (पिल्चु बुढा) र पिल्चु बुडिही (पिल्चु बुढी) भनेर चिनिन्छन् । उनीहरु बस्ने ठाँउलाई ‘हिहिपिपिडी चाई चाम्पा गाड.’ भनिन्थ्यो । सन्थाल जातिको सबैभन्दा ठूलो देवता माराङबुरुको कृपाले ति दुई बुढा बुढीबाट ७ भाई छोरा ७ बहिनी छोरीको जन्म हुन्छ । पछि ति बुढा बुढीले आफ्ना छोरा छोरीको बिचमा बिहेबारी गराउनको निम्ति उनीहरु सानै हुँदा अलग–अलग जंगलमा लगेर हुर्काउँछन् । बुढाले छोराहरुलाई लिएर जान्छन भने बुढीले छोरीहरुलाई लिएर जान्छन् । पछि ति छोराछोरीहरु जवान तन्नेरी भईसकेपछि जंगल मै खेल्ने रमाउने गर्न थाले । एक दिन छोरीहरु जंगलको बिचमा बरको हाँगाबाट झरेको लहरामा पिङ खेल्दै गित गाई रहेका थिए त्यसै बखत छोराहरु पनि शिकार खेल्दै त्यो जंगलमा आईपुगे ।

केटीहरुको सुरिलो स्वर सुनेर केटाहरु लालहित भई त्यही स्थानतिर लम्किए । त्यहाँ पुगेर हेर्दा जवान केटीहरु पिङ खेल्दै गित गाई रहेको देखेपछि केटाहरुमा जवानीको तरङ्ग बग्न थाल्यो र सँगै नाच्न गाउनको लागि प्रस्ताव राख्ने हिम्मत गरे । केटीहरुमा पनि जवानीको जोश त छदै थियो र उक्त प्रस्ताव लाई स्वीकार गरी नाच्ने गाउने काममा तल्लिन रहे । धेरै बेरको नाचगान पछि उनहरुले एक आपसमा प्रेम प्रस्ताव राख्न बाध्य भए । किनभने उनीहरुलाई दाजुबहिनीको सम्वन्ध नै थाहा थिएन र विवाह गर्ने पनि निर्णय गरे । त्यसै गरी जेठा छोराले जेठी छोरीसँग, माईलाछोराले माइली छोरीसँग सााईला छोराले सााईली छोरीसँग,कान्छा छोराले कान्छी छोरीसँग लगायत सबैले क्रमिक रुपमा आ–आफ्नो प्रेमिकासँग विवाह गरे । पछि उनीहरुको विभिन्न अवस्थाको क्रियाकलापको आधारमा एक ठाँउ ‘शाशाङबेडा’ मा पिल्चु बुढाले उनीहरुको थर पनि राखी दिए जस्तै हाँस्दा, मुर्मु, हेम्ब्रम, टुडु, मर्डी, किस्कु, बेस्रा, बास्के, सोरेन, चोणे, पौरिया र बेदिया । तिनै ७ भाई छोरा र ७ बहिनी छोरीबाट बढ्दै गएको सन्तान नै “खेरवाल” बंश हो । कालखण्ड बित्दै जाँदा मानव जातिको संख्या बढ्दै गएपछि “खेरवाल” वंश पनि विभिन्न समूह उप–समूहमा परिणत हुदै चकनाचुर हुदै गयो र मानव जातिको पहिलो पुर्खा पिल्च हाडाम पिल्चु बुढीले देखाएको बाटो बिर्सेर अलग भए । ति समुह मध्ये हालको “सन्थाल”जाती पनि एक समूह हो, जसले हालनेसम्म पनि मानव जातिको पहिलो पुर्खा पिल्चु हाडाम (पिल्चु बुढा) र पिल्चु बुड्ही (पिल्चु बुढी) ले देखाएका बाटोमा हिडिरहेको छन् । बिडम्बना के छ, भने अब सन्थाल जातिमा पनि फुट पैदा गराउने उद्देश्यले बिभिन्न खाले धर्म, संस्कार, रितिरिवाजले जरो गाड्दै गएको हुनाले यस आक्रमणबाट बच्न सन्थाल जाती सचेत हुन जरुरी छ ।

अब, हामी “सारना” धर्मको केही अंश जानौँ, सर्व प्रथम त हाम्रा पुर्खा पिल्चु हाडाम (पिल्चु बुढा) र पिल्चु बुड्ही(पिल्चु बुढी) ले आफ्नो छोरा छोरीको नाभी बाण अथवा तिरले काटेका थिए, जसलाई सन्थालीमा आपाणी र त्यसमा तिखो फलामले जोडिएको बाँसको कर्चीलाई ‘सार’ भनिन्छ र पछि सम्म पनि तिरले नै नाभी काट्दै आएको इतिहास छ । र त्यो तिर अथवा “सार” लाई हालसम्म पनि बच्चा जन्मे पछि ९ दिन सम्म बच्चा सुताएको खाटको सिरानीमा ठाडो पारेर राखिन्छ । साथै विवाहको कर्म काण्डमा पनि धनुष बाण अथवा सन्थालीमा आग्–सारको प्रयोग हुन्छ । “सारना” को अर्को प्रसंगमा भन्ने हो भने, जब मानव जाति बढ्दै गएपछि उनीहरुलाई अनुशासन, संगठित र मेलमिलापको वातावरणमा समाज सञ्चालन गर्नको लागि माज्ही पारगाना शासन व्यवस्थाको नियम कानुन हाम्रा पुर्खाले बनाईदिए । जुन हाल सम्म पनि विद्यमान छ, यसले सन्थाल जातीलाई एउटै समुहमा बसेर बाँच्न सिकाउँछ, यस ब्यवस्थाको प्रमुखलाई माज्हीहाडाम भनिन्छ । त्यसै गरी धर्म कर्म गर्ने स्थानको पनि टुंगो लगाउनु पर्ने थियो र धेरै ठाँउमा धर्म गर्ने स्थान तोकिए पनि शुभ नभएपछि अन्त्यमा सबैजना यो निष्कर्षमा पुगेकी धनुषमा ताँदो चढाएको बाण अथवा “सार” लाई आकाशतिर छोड्ने र त्यो बाण अथवा “सार” ले जाहा निर निशाना लगाउँछ त्यही हाम्रो धार्मिक स्थल हुन्छ भनेर, त्यहाँ जुन शब्द पहिले बोलिन्छ त्यो नै हाम्रो धर्मको नाम हुन्छ भन्ने कुरामा सबैले सहमती जनाये ।

त्यसैले हाम्रा पुर्खा पिल्चु हाडाम(पिल्चु बुढा)ले आफुले चलाउने धनुष बाण अथवा “सार” लाई ताँदो चढाई आकाशतिर छोडिदिए । त्यो बाण घना जंगलमा एउटा रुखमा गाडियो । त्यो बाणलाई खोजी गरेर पत्ता लगाउन बाह्र बर्ष लागेको थियो । पुरुषहरुले आकाशमा छोडेको बाण खोजिरहेका थिए र महिलाहरु पनि घाँस दाउरा खोजी गर्ने क्रममा बाण गाडिएको रुखको छेउमा पुगे र बाण देखेपछि चिच्याएर “सारना”, “सारना” भन्दै डरले त्यहाँबाट भागे । पुरुषहरुले महिला चिच्याएको आवाज सुनेपछि त्यतैतिर दौडिए र त्यहाँ पुगेर हेर्दा आफुहरुले हानेको बाण एउटा रुखमा गाडिएको अवस्थामा भेटेपछि अत्यन्त खुसी भए । बाह्रवर्ष सम्म त्यो वाणलाई बोक्राले छोपी सकेको थियो । त्यसैले त्यो रुखका नाम “सारजम” राखियो, सन्थालीमा ‘सार’ भनेको ‘बाण’ र ‘जम’ भनको ‘खानु’ हो । रुखले बाण अथवा सारलाई खाएको हुनाले त्यो रुखको नाम “सारजम” अथवा “साल” राखियो ।

त्यसपछि त्यही ठाँउमा भजन किर्तन नाच,गान गर्दै धार्मिक स्थलको रुखमा संरक्षण गरियो । जसलाई सन्थालीमा “जाहेरथान” भनिन्छ र पछि सम्म पनि सालको रुखको फेदमा “जाहेरथान” बनाईन्थ्यो । हाल बन जंगल मासिदै गएपछि अन्य ठाँउमा पनि “जाहेरथान” बनाई सालको हाँगा गाडी पुजा गर्ने चलन छ र अन्त्यमा सबैको सहमती निर्णय अनुसार बाण गाडिएको स्थानमा पहिले बोलिने शब्द नै हाम्रो धर्मको नाम हुन्छ, भनेकोले महिलाहरुले त्यो बाण भेटाउने वितिकै “सारना” शब्दको उच्चारण गरेकोले हाम्रो धर्म “सारना” हो । त्यसकारण महिलाहरुले कुनै पनि वस्तुको उच्चारण गर्दा महिला महिला बिचमा बोल्दा “ना” भन्ने थेगो जोडिन्छ त्यसैले सार+ना, सारना भनिएको हो । अर्को हाम्रो धार्मिक स्थल “माज्हिथान” हो यो प्रत्येक टोलमा हुन्छ ।

चाडपर्वहरू[सम्पादन गर्ने]

उनीहरूले मान्ने पर्वहरू प्रायः सबै नै पूणिर्माका दिन पर्छन्। बैशाख पूणिर्माका दिन गरिने पूजालाई 'पत्ता पूजा' भनिन्छ। यो पूजा धेरै गाउँहरू मिलेर कुनै एक ठाउँमा गरिन्छ। आषाढ पूणिर्माका दिन एरअं पूजा गरिन्छ। यो पूजा निर्दिष्ट ठाउँमा भेला भई परम्परागत ढङ्गले गरी प्रसाद खाइन्छ। यस दिनदेखि धान रोप्ने कामको थालनी गरिन्छ। धान रोपिसकेपछि गरिने पूजालाई जान्थाड पूजा भनिन्छ। यो भाद्र पूणिर्माका दिनमा गरिन्छ। यस दिनदेखि प्रत्येक गाउँमा नाचगान थालनी हुन्छ। दशैंमा 'दुर्गा पूजा' पनि बडो धुमधामका साथ गर्छन्। धेरैजसो हाटमा दुर्गाको मन्दिर स्थापना गरिएका हुन्छन्। टोलीहरूले नृत्य प्रदर्शन गर्छन्। प्रायः एउटै तालमा बाजाहरू बजेको सुनिन्छ। सप्तमी (फुलपाती) का दिनदेखि टोली-टोली मिलेर दशैं गीत गाउँदै र नाच्दै रमाइलो गर्दै गाउँगाउँ हिँड्छन्। देउसी खेले जसरी नै धान, चामल र रूपैयाँ पैसा भेला गरी सबै चीज दुर्गा पूजाका लागि राखिन्छ। कार्तिक पूणिर्माका दिन 'जाहेरखण्ड थान'मा गाउँले जम्मा भएर अलुवा चामल, चिनी, केरा, आदि चढाएर प्रसाद खान्छन्। माघ पूणिर्माको दिन सोहराय पूजा गर्छन। यस दिनदेखि सबैका घरमा जाँड-रक्सी बनाइन्छ र आपसमा डुलीडुली खाने चलन छ। फागु पूणिर्माका दिन बाहा पूजा गर्छन्। यस दिन जाहेरखण्डमा फूल चढाउँछन्। त्यसपछि सबै गाउँले खुट्टा धोएर नाइकेका घरमा बसी जाँड खाने कामको सुरूआत हुन्छ। यिनीहरू दशैं पर्वसँगै आफ्नो 'दिवी' चाड मनाउँछन्। दशैंको षष्टीदेखि विजयदशमीसम्म मनाइने उक्त चाडमा सन्थाल जातीले मिष्ठान्न भोजनसहित दुर्गा र कालीको पूजाआजा गर्छन्। उक्त चाडमा सन्थालका कला र संस्कृतिसमेत प्रस्तुत गरिन्छ। एकापसमा सुख र समृद्धिको कामना गर्दै ढोल बजाएर चार दिनसम्म नाचिने नाचलाई 'दाँसाय' नाच भनिन्छ। सन्थाल संस्कृतिअनुसार उक्त नाचमा सहभागी हुन आउनेलाई घरधनीले केराको पातमा सिन्दुर र कलश भिक्षादान दिइन्छ। उक्त भिक्षालाई सन्थाल गुरुले सुरक्षित रूपमा राखी दशमीका दिन काली तथा दुर्गा स्थानमा चढाउने परम्परा छ। देवी शक्तिका रूपमा मानिने उक्त चाड सन्थाल जातीले फूलपातीको अघिल्लो दिनदेखि मनाउँछन्।

संस्कार, संस्कृति र रहनसहन[सम्पादन गर्ने]

यस जातिभित्र बिहे छोरा-छोरी भएपछि पनि गर्न सकिन्छ। बिहेपछि आइमाई पोइल गएमा जारी (दोवडा) पनि लिइन्छ। विवाहपछि छोरीले आफ्नो माइती थर राख्छे भने उसबाट जन्मेकाले बाबुको थर राख्नुपर्छ। गाउँमा कसैको बच्चा जन्मे नाइकेले सबै गाउँलेलाई खबर गर्छ। सबैको उपस्थितिमा केश वा दारी (थोरै भए पनि) काटिन्छ। त्यसपछि नाइकेले बच्चाको अलिकति केश काटेर त्यहाँ छुराद्वारा नै तेल लगाइन्छ। सुडेनीको काम गर्नेलाई 'दुर्गिन बुढी' भनिन्छ। पहिलोपल्ट जन्मेको छोरा वा छोरीको नाम हजूरबुबा वा हजूरआमाको नाम नै हुन्छ। दुई जनापछि केटाकेटीले मावलीका हजूरआमाको नाम पाउँछन्। त्यसपछि जन्मिएकाले घरपट्टीको आफन्तहरूको नाम पाउँछन्। नाम राख्ने काम बच्चा जन्मेको बिजोर दिन पारेर गरिन्छ। नाम दर्गिन बूढीले नै मिलाउँछिन्। त्यसपछि मात्र सुत्केरीले इनार र पानी छुन पाउँछन्। खानपिनको काम गर्न पाउँछन्। यस जातिभित्र मृत्युपछि गरिने काजक्रिया पनि अलग प्रकारको छ। मान्छे मरेपछि खबरे (गूडित)ले अरूलाई पनि अराई-खटाई गरेर सबै आफन्त कहाँ खबर पुर्‍याउँछन्। आफन्तहरू भेला भएपछि लाशलाई नदीको छेउमा पुरिन्छ। मृतकको केश र नङलाई अस्तु मानी नदीमा बगाइन्छ। मलामी जानेले मृतकको एउटा थाल पनि बोकेर गएका हुन्छन्। उक्त थालमा इच्छा र गच्छेअनुसारको पैसा चढाइन्छन्। त्यही पैसाले मलामीलाई जाँड-रक्सी खुवाइन्छ। त्यसपछि मलामीलाई घरमा मासु र चामलको खिच्री पकाएर खुवाइन्छ। क्रियामा नातागोतालाई निम्ता गरिन्छ। नातेदारहरूले क्रियामा आउँदा जाँड, पाठी र कुखुरा ल्याउँछन्। हरेक पर्व तथा जन्म-मरणका काममा जाँड र मासुको प्रयोग सतार(सन्थाल) जातिमा ज्यादै पाइन्छ। यस जातिभित्र 'किस्कु', 'मर्डी', 'सोरेन', 'मुर्मु', 'हेमरम', 'हास्दा', 'टुडू', 'बास्के', 'बेस्रा', 'चोडे', 'पाउरीया' र 'बेदिया' गरी बाह्र थर छन्। पछिल्ला तीन थर अति लोप अर्थात न्यून संख्यामा छन्।

सन्थाली लिपि[सम्पादन गर्ने]

सन्थाली लिपि लाई ओलचिकी भनिन्छ।ओल चिकी लिपि भारत सरकारबाट छुट्टै मान्यता प्राप्त गरेको लिपि हो । जुन चांहि सन्थाली भाषालाई लेख्न प्रयोग गरिन्छ । अथवा सन्थाली भाषा लेख्न प्रयोग गरिने लिपिलाई ओल चिकी वा ‘ओल चेमेद्’ भन्दछन् । ओल चिकी वर्णमालामा जम्मा ३५ वटा (३० आड.ाङ् र ५ जापाग् चिकी) अक्षर हुन्छन् । ओल चिकी लिपि संसारको २५० लिपिमध्ये ५९ औं स्थानमा राखिएको छ । हाल भारतीय केन्द्र सरकारद्धारा ८ औं अनुसुचीमा समाबेस गरिएको छ । ‘ओल’ को अर्थ ‘लेख्नु र ‘चिकी’ को अर्थ ‘अक्षर’ हो । ओल चिकी लिपि बाँयाबाट दाँयातिर लेखिन्छ । ओल चिकीलाई छापेर र हातले लेखेर गरी दुई किसिमले व्यबहारमा प्रयोग गरिन्छ, यसको आविष्कार पण्डित रघुनाथ मुर्मुले सन् १९२५ सालमा गरेका हुन । सन् २०२५ सालमा ओल चिकीले १०० औं बर्ष पुरा गर्दछ ।

सन्थालका पराम्परागत नृत्यहरू[सम्पादन गर्ने]

  • १.लाग्डें (बाँहा) ,
  • २.दँङ्ग (बाप्ला),
  • ३.सोरहाई ,
  • ४.दुँरुमजाअ्ँ ,
  • ५.दांसाई ,
  • ६.एरअ्ं
  • ७.छाटियोर आदि रहेको छ्न् ।

लोक बाजाहरू[सम्पादन गर्ने]

आदिवासि जनजाति सन्थाल जातिले

  • तुम्दाअ,
  • टामाक्,
  • ढोल,
  • बटा,
  • ढुल्की,
  • राहाड,
  • बसी,
  • दोत्रो बनाम,
  • फेत बानाम,
  • ठाप,
  • घुक्क्रो,
  • कुर्ताल,
  • सुयुड (सिटी),
  • जुरी र सियार जातिले रोल्मू, लिङबू, ढम्ङेन, मुरली आदिको प्रयोग गर्दछन्।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ "A-11 Individual Scheduled Tribe Primary Census Abstract Data and its Appendix", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच १८ नोभेम्बर २०१७ 
  2. "C-16 Population By Mother Tongue", www.censusindia.gov.in, Office of the Registrar General & Census Commissioner, India, अन्तिम पहुँच ३ नोभेम्बर २०१९ 
  3. Cavallaro, Francesco; Rahman, Tania, "The Santals of Bangladesh", ntu.edu.sg, Nayang Technical University, अन्तिम पहुँच १७ नोभेम्बर २०१७ 
  4. "National Population and Housing Census 2011: Social Characteristics Tables", Nepal Census – Government of Nepalद्वारा। 
  5. ५.० ५.१ "ST-14 Scheduled Tribe Population By Religious Community - Jharkhand", census.gov.in, अन्तिम पहुँच ३ नोभेम्बर २०१९ 
  6. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]