सुरेल जाति
सुरेल जाति नेपालको दोलखा जिल्लामा रहेको तामाकोशी नदीको किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । [१] राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा कुल ३१८ जना सुरेल जातिका मानिसहरू बसोवास गर्दछन्। दोलखाको सुरी गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।
सुरेल जातिको उत्पति
[सम्पादन गर्नुहोस्]स्थानीय बुढापाकाहरूका अनुसार ५०० वर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यही नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो । अर्को किम्बदन्ती अनुसार जब जिरेल जाति को उत्पत्ती भयो, जिरीमा बस्नथाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि पाइन्छ । सुरेलहरू किराँत वंशको एक हाँगा हुन् भन्ने किंवदन्ती पनि रहेको पाइन्छ।
मृत्यु संस्कार
[सम्पादन गर्नुहोस्]सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिँढीको दायापट्टि राखिन्छ । लासलाई जलाउने गरिन्छ । जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्याएर चितामा राख्छन्। चिता बनाउँदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।[१]
सुरेल जातिका लोकबाजाहरू
[सम्पादन गर्नुहोस्]ढोल, मादल, मुरली, झ्याली सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।[२]
भाषासंस्कृति खतरामा
[सम्पादन गर्नुहोस्]थोरै जनसंख्या र एकै ठाउँमा बस्ती भएर पनि लोपोन्मुख सुरेल जातिका युवकयुवती तथा केटाकेटीलेहरुले पछिल्लो समय आफ्नो भाषा बोल्न छोडेका छन्। संरक्षणको अभावले गर्दा सुरेल लिपी निकै अघिदेखि लोप भईसकेको छ। अहिले खोजेर पनि त्यो लिपी भेट्न अवस्थामा रहेको छ। वृद्धवृद्धा र प्रौढहरू गरी करिब १० प्रतिशतले मात्र अहिले आफ्नो भाषा बोल्ने गरेका छन्। अभिभावकहरूले घरमा पनि मातृभाषा नभई नेपाली भाषा नै बोल्ने गरेकाले सुरेल भाषा सिक्न नसकेको देखिएको छ भने अन्तरजातीय विवाहको कारणले पनि सुरेल भाषा क्रमशः लोप हुँदै गएको देखिन्छ। धेरै सुरेल युवाहरूले अर्को जातिको महिला विवाह गरेका छन् भने केही सुरेल युवतीले पनि अर्को जातिको केटासँग विवाह गरेर गएका छन्। चोयाका सामग्री तयार गर्ने सुरेलहरूको परस्परागत पेशा रहिआएको छ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा", गोरखापत्र दैनिक, अन्तिम पहुँच १० माघ २०७०। अभिलेखिकरण २००८-०९-१२ वेब्याक मेसिन
- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np। अभिलेखिकरण २०११-०९-२० वेब्याक मेसिन
- ↑ जीवन लामा, सुरेल भाषासंस्कृति खतरामा, अन्नपुर्ण दैनिक, अन्तिम पहुँच २१ जुन २०२१, (नेपाली) भाषामा)।