सतार जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सतार/सन्थालनेपालको अल्पसंख्यक आदिवासी हो। रङमा काला भएपनि यिनीहरू निकै सरल, मिलसार र मेहेनती हुन्छन। आफ्नो परिश्रमबाट नै जीवन गुजारा गर्नुपर्छ भन्ने सतारहरू चोरी र बेइमानीलाई पाप सम्झन्छन्। खासगरी पूर्वी तराईका मोरङ र झापाका आदिवासी सतारहरूको घरको बनोटबाट नै सतार गाउँ भन्ने छुटिन्छ। फुसको छाना भएका एकतले झुप्रा घर झुरूप्प बाक्लै रहनु, लिसैलो माटोको लिउनले चिल्लो देखिनु, घर अगाडि बाबरी फुलको बोट हुनु र घर छेउछाउ बडहर, कदम र बयरका रूख-विरुवा इत्यादिले उनीहरूको परिचय दिन्छ।

नेपाल प्रवेशको इतिहास[सम्पादन गर्ने]

न्यायिक परम्परा[सम्पादन गर्ने]

सन्थालहरूको गाउँमा एकजना मान्नेगुन्ने मानिस हुन्छ, जसलाई 'माजिहडाम' भनिन्छ। उसलाई सहयोगी चाहिएमा अर्को एकजना 'परानी' (सहयोगी) राख्न गरिन्छ। माजिहडाम हुने पुस्त्यौली हक हो, तर कुनै माजिहडाम बेकम्वा भएमा गाउँलेले अर्को माजिहडाम नियुक्ति गर्न सक्छन्। माजिहडामको मुख्य काम गाउँको झै-झगडा मिलाउने, गाउँमा नाइके तथा खबरे राख्ने र विकास निर्माण गराउने आदि हुन्। 'सार्ना'धर्मावलम्बी भएका उनीहरूमा केही आफ्नै बिशेषता छन्। गाउँको कुनै ठाउँमा 'मन्जिथान' बनाइएको हुन्छ। क्रिया गर्दा यस ठाउँमा जाँड चढाउनुपर्छ। विवाह गर्दा केटा र केटीको पुतला बनाई बाँसमा 'पिल्चू हाडाम' र 'पिल्चू बूढी'को नामले झुण्ड्याई साक्षी राखिन्छ। मन्जिथानमा जाँड र बेसार चढाउनु पर्छ। गाउँमा रोगको प्रकोप नआओस् भनी मन्जिथानमा परेवा, सिन्दूर, चिनी, केरा आदि चढाइन्छ। धामीझाँक्री, तन्त्रमन्त्र र झारफुकमा यिनीहरू विश्वास गर्छन्। ‍‍

चाडपर्वहरू[सम्पादन गर्ने]

उनीहरूले मान्ने पर्वहरू प्रायः सबै नै पूणिर्माका दिन पर्छन्। बैशाख पूणिर्माका दिन गरिने पूजालाई 'पत्ता पूजा' भनिन्छ। यो पूजा धेरै गाउँहरू मिलेर कुनै एक ठाउँमा गरिन्छ। आषाढ पूणिर्माका दिन 'एउरो पूजा' गरिन्छ। यो पूजा निर्दिष्ट ठाउँमा भेला भई परम्परागत ढंगले गरी प्रसाद खाइन्छ। यस दिनदेखि धान रोप्ने कामको थालनी गरिन्छ। धान रोपिसकेपछि गरिने पूजालाई 'हडियर पूजा' भनिन्छ। यो भाद्र पूणिर्माका दिनमा गरिन्छ। यस दिनदेखि प्रत्येक गाउँमा नाचगान थालनी हुन्छ। दशैंमा 'दुर्गा पूजा' पनि बडो धुमधामका साथ गर्छन्। धेरैजसो हाटमा दुर्गाको मन्दिर स्थापना गरिएका हुन्छन्। टोलीहरूले नृत्य प्रदर्शन गर्छन्। प्रायः एउटै तालमा बाजाहरू बजेको सुनिन्छ। सप्तमी (फुलपाती) का दिनदेखि टोली-टोली मिलेर दशैं गीत गाउँदै र नाच्दै गाउँगाउँ चाहार्छन्। देउसी खेले जसरी नै धान, चामल र रूपैयाँ पैसा भेला गरी सबै चीज दुर्गा पूजाका लागि राखिन्छ। कार्तिक पूणिर्माका दिन 'जाहेरखण्ड थान'मा गाउँले जम्मा भएर अलुवा चामल, चिनी, केरा, आदि चढाएर प्रसाद खान्छन्। माघ पूणिर्माको दिन 'सोहराय पूजा' गर्छन। यस दिनदेखि सबैका घरमा जाँड-रक्सी बनाइन्छ र आपसमा डुलीडुली खाने चलन छ। फागु पूणिर्माका दिन 'वाह पूजा' गर्छन्। यस दिन जाहेरखण्डमा फूल चढाउँछन्। त्यसपछि सबै गाउँले खुट्टा धोएर नाइकेका घरमा बसी जाँड खाने कामको सुरूआत हुन्छ। यिनीहरू दशैं पर्वसँगै आफ्नो 'दिवी' चाड मनाउँछन्। दशैंको षष्टीदेखि विजयदशमीसम्म मनाइने उक्त चाडमा सन्थाल जातीले मिष्ठान्न भोजनसहित दुर्गा र कालीको पूजाआजा गर्छन्। उक्त चाडमा सन्थालका कला र संस्कृतिसमेत प्रस्तुत गरिन्छ। एकापसमा सुख र समृद्धिको कामना गर्दै ढोल बजाएर चार दिनसम्म नाचिने नाचलाई 'दशाए' नाच भनिन्छ। सन्थाल संस्कृतिअनुसार उक्त नाचमा सहभागी हुन आउनेलाई घरधनीले केराको पातमा सिन्दुर र कलश भिक्षादान दिइन्छ। उक्त भिक्षालाई सन्थाल गुरुले सुरक्षित रूपमा राखी दशमीका दिन काली तथा दुर्गा स्थानमा चढाउने परम्परा छ। देवी शक्तिका रूपमा मानिने उक्त चाड सन्थाल जातीले फूलपातीको अघिल्लो दिनदेखि मनाउँछन्।

संस्कार, संस्कृति र रहनसहन[सम्पादन गर्ने]

यस जातिभित्र बिहे छोरा-छोरी भएपछि पनि गर्न सकिन्छ। बिहेपछि आइमाई पोइल गएमा जारी (दोवडा) पनि लिइन्छ। विवाहपछि छोरीले आफ्नो माइती थर राख्छे भने उसबाट जन्मेकाले बाबुको थर राख्नुपर्छ। गाउँमा कसैको बच्चा जन्मे नाइकेले सबै गाउँलेलाई खबर गर्छ। सबैको उपस्थितिमा केश वा दारी (थोरै भए पनि) काटिन्छ। त्यसपछि नाइकेले बच्चाको अलिकति केश काटेर त्यहाँ छुराद्वारा नै तेल लगाइन्छ। सुडेनीको काम गर्नेलाई 'दुर्गिन बुढी' भनिन्छ। पहिलोपल्ट जन्मेको छोरा वा छोरीको नाम हजूरबुबा वा हजूरआमाको नाम नै हुन्छ। दुई जनापछि केटाकेटीले मावलीका हजूरआमाको नाम पाउँछन्। त्यसपछि जन्मिएकाले घरपट्टीको आफन्तहरूको नाम पाउँछन्। नाम राख्ने काम बच्चा जन्मेको बिजोर दिन पारेर गरिन्छ। नाम दर्गिन बूढीले नै मिलाउँछिन्। त्यसपछि मात्र सुत्केरीले इनार र पानी छुन पाउँछन्। खानपिनको काम गर्न पाउँछन्। यस जातिभित्र मृत्युपछि गरिने काजक्रिया पनि अलग प्रकारको छ। मान्छे मरेपछि खबरे (गूडित)ले अरूलाई पनि अराई-खटाई गरेर सबै आफन्त कहाँ खबर पुर्‍याउँछन्। आफन्तहरू भेला भएपछि लाशलाई नदीको छेउमा पुरिन्छ। मृतकको केश र नङलाई अस्तु मानी नदीमा बगाइन्छ। मलामी जानेले मृतकको एउटा थाल पनि बोकेर गएका हुन्छन्। उक्त थालमा इच्छा र गच्छेअनुसारको पैसा चढाइन्छन्। त्यही पैसाले मलामीलाई जाँड-रक्सी खुवाइन्छ। त्यसपछि मलामीलाई घरमा मासु र चामलको खिच्री पकाएर खुवाइन्छ। क्रियामा नातागोतालाई निम्ता गरिन्छ। नातेदारहरूले क्रियामा आउँदा जाँड, पाठी र कुखुरा ल्याउँछन्। हरेक पर्व तथा जन्म-मरणका काममा जाँड र मासुको प्रयोग सतार(सन्थाल) जातिमा ज्यादै पाइन्छ। यस जातिभित्र 'किस्कु', 'मर्डी', 'सोरेन', 'मुर्मु', 'हेमरम', 'हास्दा', 'टुडू', 'बास्के', 'बेस्रा', 'चोडे', 'पाउरीया' र 'बेदिया' गरी बाह्र थर छन्। पछिल्ला तीन जात अति लोप अर्थात न्यून संख्यामा छन्।

लोक बाजाहरू[सम्पादन गर्ने]

आदिवासि जनजाति सन्थाल जातिले मादल, ट ढोल, बटा, ढुल्की, राहाड, बसी, दोत्रो बनाम, ठाप, घुक्क्रो, कुर्ताल, सन्थालसिटी, जुरी र सियार जातिले रोल्मू, लिङबू, ढम्ङेन, मुरली आदिको प्रयोग गर्दछन्।[१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]