बराम जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

बराम (बालबाङ्ग/ब्रह्मपात किराँत) जाति

बराम जाति नेपालमा बसोबास गर्ने एक जाति हो। बराम, बरामु, बरामो, ब्रामु, ब्राह्मु, भ्रामु जाति भन्नासाथ कर्मठ, श्रमजीवित, होचा कदका हासिला प्रकृतिका नेपालका पुराना बासिन्दा मध्ये एक समुहको स्मरण हुन्छ । बरामहरुको बसोवास खास गरेर गोरखा, धादिङ्ग, तनहुँ, मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, नवलपरासी, बारा र सर्लाहीमा पाईन्छ । यिनको मुल थलो गोरखा हो र यहाँबाट बसाई सराईको क्रममा अन्य जिल्लाहरुमा पुगेका हुन् । आफ्नो मौलिक संस्कृति, धर्म, भाषा र संस्कारका धनि बरामहरुको उत्पत्ति र विकासको विषय अत्यन्तै रोचक एवं महत्वपुर्ण छ । विभिन्न विद्धान, मानवशास्त्री एवं समाजशास्त्रीहरुले बराम जातिको बारेमा विभिन्न प्रकारका व्याख्या र विश्लेषण गरेको पाईन्छ । विभिन्न खोज तथा अनुसन्धानहरुले बराम जाति नेपालको एक प्राचिन आदिवासी हुन् भन्ने पुष्टि हुन्छ । बराम जातिलाई ब्राह्मु, भ्रामु, बरामो आदिले पनि चिनिन्छ । ग्रियर्सनका अनुसार बरामहरु तराईमा बसोवास गर्ने जाति भनेका छन् । यसैगरि हड्सनका अनुसार बरामहरु कालीगण्डकी भन्दा पुर्व घाग्रा क्षेत्रमा बसोवास गर्दथे । सन् १८५७ मा हड्सनद्धारा लिखित इल अन हिमालयन आन्थ्रोपोलोजी (On Himalayan Anthropology) मा भ्रामु भाषाको शब्द संकलन गरेका छन् । नेपालको पछौटे कविला जातिमा राख्दै उनले करिव ४०० जति शब्द संकलन गरेका थिए । भ्रामु भाषा भनेर संकलन गरेको यो भाषा पछि बराम भाषा बालकुरासाग मिलेको देखिन्छ । माईकल विट्जेल (Michael Witzel) ले मध्य नेपालको जातिको रुपमा भ्रामु जातिलाई राख्दै हड्सनका शब्दलाई साभार गर्दै थामी र बराम जाति पश्चिमको हुम्लाबाट बसाई सराई गरेको उल्लेख गरेको छ । यसैगरि स्टेन कोनोवले ग्रियर्सनको सामाग्रीलाई साभार गर्दै थामी र बराम जातिलाई सागसागै एउटै शाखामा वर्गिकरण गर्दै भोट बर्मेली खलकको पुर्वी उपशाखाको रुपमा राखेका छन् । उनले थामी जातिलाई सुनुवार जाति भन्दा नितान्त भिन्न रुपले लिदै बराम, धिमाल, याक्खा, लिम्वुसाग भाषिक समानता रहेको बताएका छन् । रोबर्ट शेफरले थामी र बराम जातिको वंशाणुगत सम्वन्धलाई योजनावद्ध रुपले भाषिक समानताहरु प्रस्तुत गरेका छन् । यी प्रसंगहरु जे जस्तो रुपबाट व्याख्या गरिएपनि बराम भोट बर्मेली खलकको किराँती जाति हो ।

 ईमानसिंह चेम्जोङ् (सन् २००३) द्धारा लिखित किराँती जातिको ईतिहास र संस्कृति (चौथो संस्करण) मा सुनुवार जातिको सम्वन्धमा वर्णन गर्दै सुनुवार जातिहरुको दावी अनुसार तिब्बतबाट नेपाल प्रवेश गर्ने समुहहरु तीन समुहमा प्रवेश गरेको उल्लेख गरेका छन् । जस अनुसार पहिलो समुह तिब्बतबाट काश्मिर, पञ्जाब बिहार हुदै सिमाङ्ग गढ क्षेत्रमा पुगि त्यहाँबाट पुन मध्य नेपालमा प्रवेश गर्ने समुह जुन जिरी खोला र सिरी खोलामा आवाद हुन पुग्यो । तिनीहरु क्रमश: जिरेल र सुरेल भएको । यसैगरि अर्को दोश्रो समुह तिब्बतबाट चाङ्पो वा ब्रम्हपुत्र नदिको मार्ग हुदै सिमाङ्ग गढ तथा हिमालय मुलुकमा छरिएर पुर्वी नेपालको सुनकोशीमा आवाद गर्न पुगे तिनीहरु सुनुवार जातिका रुपमा परिणत भयो । सुनुवारहरु बाह्र जातिमा वर्गिकृत भयो, जस अनुसार बाह्र थरी सुनुवार गुरुङ्ग र मगर जातिसाग धेरै समानता रहेको उल्लेख गरेका छन् ।  तेश्रो समुह पनि तिब्बतबाट सिमाङ्गगढ हुदै पुर्वी खुम्वु क्षेत्रमा प्रवेश गर्‍यो, सो जाति राईको रुपमा परिणत भएको र तिनीहरुको भाषा सुनुवारसाग समानता रहेको उल्लेख गरेका छन् । यसैगरि राम बहादुर सुनुवार (लुंखिच) द्धारा लिखित दीपक प्रेस, नदेसर बनारस (भारत) बाट प्रकाशित सुनुवार जातको वंशावली तेश्रो भाग लाई साभार संक्षेप गर्दा महाभारतको युद्धमा समेत किराँतहरुको सहभागिता भएको प्रमाणिक प्रसंगहरुलाई केलाएर हेर्दा जव कृष्णार्जुनले युद्धमा किराँत राजा अर्थात् श्याम कर्ण वंशका राजा र सेना माथि विजय प्राप्त गरेपश्चात् किराँतका सन्तानहरुलाई खोजी खोजी मार्ने तथा दमन गर्ने काम भएपछि किराँतीहरु श्यामगढ (हाल सिलगुढी), आसाम आदि क्षेत्रमा लुकेर बसि चण्डेश्वरी भगवतिको ध्यानमा बस्न थाले । साथै सन् १७३५ मा हिन्दु र मुशलमान वीच युद्ध भएपश्चात् मुशलमानहरुले जितेपछि हिन्दुहरुको मठ, मन्दिर, देवालय तोडेर हिन्दु धर्म नष्ट अभियानमा लगेको । यसै क्रममा मुशलमानहरुको अत्याचारबाट किराँतहरु समेत विस्थापित भई उत्तर तर्फको हिमालय तर्फको कन्टक जङ्गल तर्फ अगाडि बढ्दै गई नेपाल (हालको काठमाण्डौं) मा आई पुगे । त्यस समयमा किराँतहरुले चण्डेश्वरी भगवतिको प्रतिकका साथै लक्षणको एउटा चरी (सुरी ढुकुरी) समेत ल्याएको थियो । नेपालमा आई पुगेपछि किराँती दाजुभाईहरु सागसागै हिड्दा खान लगाउन नपुग्ने भन्दै किल्ला रोकेर छुट्टिने प्रवन्ध गरि छुटेमानु (छाकखल) खाएपछि फेरि फेरि भेट्दा जुठो, पिण्ड बार्न नपर्ने भन्दै सल्लाह गरि छुटेमानु खाई भक्तपुर पुग्दछ । जव भक्तपुरमा पुगेपछि दाजुभाई वीच लक्षणकी चरी कसले लाने भन्ने विषयमा विवाद भएपछि सो लक्षणकी चरी अलप हुन्छ । हाल भक्तपुरको तलेजु मन्दिर यसै चरीको प्रतिकको रुपमा मानिन्छ । चरी अलप भएपछि किराँती दाजुभाईसाग चण्डेश्वरी भगवतिको प्रतिक मात्र बाँकी रहन्छ र चण्डेश्वरी भगवतिलाई साथैमा बोकेर बनेपामा पुग्दछ । सो दिन वैशाख शुक्ल पुर्णिमा हुन्छ र चण्डेश्वरीलाई भोग (प्रसाद) चढाउनको लागि किराँतीहरुले धनुवाणको सहायताले राँगोलाई मारि भोग दिने क्रममा पुन: विवाद भएपछि चण्डेश्वरी भगवति समेत गुप्त भएको आख्यान छ । यसरी लक्षणकी चरी र चण्डेश्वरी भगवति अलप भएपछि केवल आफ्नै कुलपित्रीलाई मात्र मानी सर्व धर्म कर्म चलाउला भनि यस प्रकार किराँतीहरु छुट्टियो । 

(क) जेठा लालसिंहका सन्तान भोटेकोशी भई उत्तर तिब्बतको ल्हासा पुगे । (ख) माईला भाई सुरसिंह सुनकोशी भई सुरखार खोलामा सुरेल र जिरी खोलमा जिरे ल जातिको रुपमा बस्न पुगे । (ग) साईला भाई रामसिंह सुनकोशी भई लिसंखु, चिसंखु, दोलखा, खिम्ती हुदै पुर्व तिर कोशी वारिपारी बुँह्यो राईको रुपमा बसोवास गर्न पुगे । (घ) काईला भाई मानसिंह चिसंखु पुर्व अरुण वारी दुधकोशी, भोजपुर दिङ्गला पुगि किपट तुल्याई बस्न पुगे । (ङ) कान्छा भाई धनसिंह जेठा दाजु लालसिंहको पछि लागेर भोटेकोशी हुदै तिब्बत नाघेर ल्हासा (भोट) मा पुगि बसेको । रहादा बस्दा भोट स्थित तासी रवका भन्ने स्थानमा चौरी गाईको गोठ थियो । एक चौरी भागेर वालेङचुङबाट याङ घाटी तिर आएकोमा यसै चौरी गाई (याक) को पछि गोठालाहरुको एक समुहले हिमालयको उब्जाउ दक्षिणी फाँटमा आएर बसोवास गरेको । वर्तमान सप्तकोशीको नजिक तमोर वारिपारि धनकुटा, ताप्लेजुङ्ग, ईलाम, तेह्रथुम लगायतका क्षेत्रमा बस्न पुगे । कोही किराँत चितलाङ्ग, हेटौडा पुगी थुम, थुम विभिन्न भागमा पुगे पछि आफ्ना रितिरिवाज, चालचलन, बोली मात्राहरु बेग्ला बेग्लै बन्दै गयो । साथै थर, गोत्र, प्रवर शाखा समेत मावाली (मामा तर्फ) बाट छुट्टिदै गयो । यसै गरि जुन चितलाङ्ग, गोरखा आसपासका क्षेत्रमा बस्ने किराँत थियो, त्यो किराँतको नाम ब्रह्मपात किराँत थियो । यो किराँत र यसका सन्तान गोरखा, चितलाङ्गबाट कान्तिपुर तर्फ निस्क्यो । कान्तिपुरको जङ्गलमा धनुवाणको सहायताले शिकार खेल्ने गर्दथ्यो र भगवान् महेश्वरको भक्त भई पशुपतिनाथ को मन्दिर समेत खडा गरेको आख्यान पाईन्छ । यसरी ब्रह्मपात किराँतले कान्तिपुर, किर्तिपुर, ललितपुर (पाटन) का राजा गोपाललाई लडेर जिती आफ्ना छोरा श्री एलाम्वादी (यलम्वर) लाई राजा बनाई २८ किराँती राजाहरुले १६९५ वर्ष किराँत शासन किराँती शासनकाल ईसापुर्व ९०० देखि ईसाको ३०० सम्म रहेको विभिन्न समाजशास्त्री, भाषाशास्त्री तथा ईतिहासकारहरुको आख्यान रहेको छ । जब किराँतीहरुको राज्यकाल पतन भयो तत्पश्चात् किराँतीहरु प्राय:जसो पुर्व तर्फ लागेको तथा अन्य विभिन्न भागहरुमा छरिएर रहि जहाँ जहाँ गए त्यहाँ किपट तुल्याई बसोवास गर्न पुगे । केही कालपछि पश्चिम बागलुङ्ग, डोटी, गोर्खाबाट पहिलेको नेपाल हाल कान्तिपुर (काठमाण्डौं), ललितपुर (पाटन), भादगाँउ (भक्तपुर) को राज्यलाई किराँतीहरुको समेत सहायताले पृथ्वीनारायण शाहले हान्न आई तीन शहरको एकै राजा हुन पुगे । यसै गरि सन् १८१६ मा नेपाल र गोर्खा राज्यमा धावा (युद्ध) पर्न गयो र किराँतीहरुले राजा गिर्वाणयुद्ध शाहलाई सहयोग गरि युद्ध जिताएपछि राजा खुशी भएर आफुले भोगचलन गरेका भुमी आफ्नै नाममा भएको घोषणा गर्नु भयो तथा मुखियाको रुपमा आफ्ना किपट, आवादमा मान सम्मान प्राप्त भएको थियो ।

 यसैगरि  यी माथिका प्रासंगिक प्रमाणहरुलाई साभार संक्षेपमा अध्ययन गर्दा चित्लाङ्ग वरिपरिका पर्वतीय क्षेत्रमा बसोवास गर्ने जातिहरु चेपाङ्गको रुपमा रहन गयो । साथै चेपे खोला चेपाङ्ग जातिसाग समेत सम्वन्धित रहेको पाउन सकिन्छ । यसैगरि बराम जातिको सम्वन्ध ब्रम्हपात किराँत साग थियो भन्ने आधारहरु धेरै रहेको तथा बराम पुर्खाहरुको आख्यानबाट समेत सो कुरा पुष्टि हुन्छ । ब्रम्हपात शब्द पछि गएर अपभ्रंश भएर बराम, ब्राह्मु, बरामु, भ्रामु, बरामो हुन पुग्यो भने किराँत शब्द किरा भनि गलत रुपले परिभाषित हुन पुग्यो । जसले गर्दा अन्य जातिहरुले बराम जातिलाई किरा भन्ने गर्दछ तर यसको शाब्दिक उत्पत्ति किराँतबाट भएको हो ।
 प्राचीनकाल देखि नै बराम जाति वीर र ईमान्दार थिए । नेपालको एकिकरणको समयमा समेत पृथ्वीनारायण शाहलाई ब्रह्मपात किराँतहरुले सहयोग गरेको अभिलेखहरु पाईन्छ । यसैगरि विगतमा बरामहरुले मुखिया, जिमुवालको कामकाज गर्ने गरेको ताजा उदाहरणहरु पाउन सकिन्छ । हालसम्म पनि मुखिया जिमुवाल कार्य गर्ने बराम सदस्यहरु जीवितै रहेका छन् । साथै बराम जातिको तत्कालीन राज्य संयन्त्रसाग सम्वन्ध रहेको कुरा संवत् १३७८ को आदित्य मल्लको गोरखा अभिलेखलाई लिन सकिन्छ । राईका भाष् पासकि अक्रि । वासगावा लामा सपरिवारी । हाम्रो इ छत्रु नास हो । हामी दान् पति हो । हाम्रा रख्या स्वस्ति पायि थान रक्षा वाँ छन् । कडक आउदा जाँदा गुम्वा घच्नकिय । कोही जे घच् कर त्र सोन तोला १०० को थारो । तास भलो नहुँ । बराम चल्या भाष् पसा भई ।

भाषाशास्त्री बालकृष्ण पोखरेलद्धारा लिखित साझा प्रकाशनबाट २०४८ मा सातौ पटक प्रकाशित राष्ट्रभाषा नामक पुस्तकको पेज नं. २४ मा यस अभिलेखलाई यसरी अथ्र्याएका राजाले भाकापत्र जारी गरि कर विहिन तुल्याएर सपरिवार वास गावा लामालाई दिए । हाम्रा यी शत्रुहरु नासियुन् । हामीलाई दान पति हवौं । हाम्रो रक्षा एवं कल्याणको लागि र पादस्थान (गुम्वा) को रक्षाको लागि त्यहाँ (वासगावा लामा सपरिवार) छन् । त्यसैले पल्टन आउदा जाँदा गुम्वामा आघात् नपुर्‍याईयोस् । कसैले यदि आघात पुर्‍यायो भने त्यसलाई १०० तोला सुनको दण्ड । त्यसको भलो नहोस् । फौजखानाबाट लस्कर (बराम) हिडेको बेला भाकापत्र जारी भयो । उक्त अभिलेखमा बराम भन्ने शब्द प्रयोग गर्नु तथा भाषाशास्त्रीले पनि बरामको शाब्दिक अर्थलाई लस्करको रुपमा परिभाषित गर्नु र बरामहरुको पुर्खाहरु फौजदारी कार्यमा देश तथा विदेश लाग्नुले बरामहरु तत्कालीन अवस्थामा राज्य संयन्त्रसाग नजिक रहे र फौजदारी कार्य गरेको हुन सक्ने आधार श्रृजना भएको देखिन्छ ।

 मानवशास्त्रीय एवं समाजशास्त्रीय अध्ययनबाट भोटबर्मेली खलकको रुपमा परिचित ब्रामु, ब्राह्मु, भ्रामु, बरामु, बराम जातिको उत्पत्तिको विन्दुलाई केलाउदा बरामको उद्गम स्थल ब्रम्हपुत्र नदिलाई नै यकिनका साथ लिन सकिन्छ । किनकी ब्रम्हपुत्र नदिको तिरैतिर लागेर दक्षिण तर्फ लागेको जाति भोट बर्मेली खलक हो, जुन किराँतसँग सम्वन्धित छ । बरामको उत्पत्ति बिन्दुमा किराँत जोडिनु चरितार्थ रहेको छ । अझ भन्न पर्दा ब्रम्हपुत्र नदिको किनारबाट जब नेपालको हिमाली क्षेत्रमा जुन जाति प्रवेश गर्‍यो, उ नेपालको आदिवासी हो । यसैले नेपालको पश्चिम गोर्खामा ब्रम्हपात किराँतको आख्यान पाईनुले बरामहरु ब्रम्हपुत्र नदिसाग तार्किक रुपमा सम्वन्ध रहेको छ । बरामहरुको मुल थलो पहाडी क्षेत्र गोरखा नै हो । संभवत बरामहरु पहिले किराँतको रुपमा गोरखाको साथै काठमाण्डौं उपत्यकामा आवाद थिए र यस उपत्यकामा बाहिरिया मानिसको आगमन शुरु भएपछि तथा किराँत शासनको अन्त्य भएपछि किराँतहरु यहाँबाट बाहिर समिपका पर्वतीय क्षेत्र, खोलाको किनारमा जान बाध्य भएको हुन सक्ने आधारहरु धेरै रहेको छ । वि.सं. २०३४ सालमा तत्कालीन श्री ५ को सरकार र सोभियत संघ (रुस) सरकारका वीच भएको साँस्कृतिक सम्झौता अन्र्तगत लेनिनग्रद विश्व विद्यालयको पुरातत्व संस्थानका प्राग ऐतिहासिक पुरातत्वविद् डा.एन्तोलिया याकोब्लेभ सेन्टेनको जनवरी १५ देखि २४ तारिख १९७८ सम्म नेपालको पुरातात्विक अध्ययन भ्रमणमा नेपाल आउनु भएको थियो । उनले गरेको अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पुर्व तिर बानियाँ पाखा र पण्डित गाँउको वीचमा रहेको धोवी खोलाको किनारमा ढुंगे युग (स्टोजन एज) का हतियार अर्थात् ढुंगे उपकरण फेला पारे । 
यो खोजीबाट काठमाण्डौं उपत्यकामा मानवीय बस्तीको इतिहास प्राचीन मध्यपाषाण युग देखि नै चलि आएको थियो भन्ने प्रमाणित भएको छ । यसबाट ईशापुर्व ३०,००० वर्ष भन्दा पहिले देखि नै मंगोलहरु काठमाण्डौं उपत्यकामा उत्तर तिरबाट आएर आवाद भएको स्वत:सिद्ध हुन आउछ । हामी सवै भन्दा पुराना बासिन्दा (आदिवासी) मध्येका एक हौं भन्ने बरामहरुको धारणालाई यसले निकै पुष्टि गर्दछ । त्यसकारण काठमाण्डौं उपत्यकालाई आवाद गर्ने मञ्जुश्री बोधिसत्व आफ्ना चेलाहरुका साथ चीनबाट आएका हुन् भन्ने विभिन्न वंशावलीहरुको यस कथनले डा.सेन्टेनको भनाई र बरामहरुको भावनालाई पुष्टि गर्दछ । विभिन्न समाजशास्त्री, मानवशास्त्री तथा ईतिहासकारहरुले तत्कालीन नेपालको कान्तिपुरमा मल्लकालीन शासकहरुले किराँतीहरुलाई लखेटेको आधारहरु प्रशस्त भेटिन्छन् । जसले गर्दा किराँती जाति भित्रको विभिन्न अन्य जातिले आफ्नो जातिय पहिचानलाई गुमाएर जात ढाँटेर अन्य जाति लेख्ने गरेको प्रशस्त प्रमाणहरु पाईन्छ ।
यसै क्रममा किराँती बरामहरु पनि यसको प्रभावबाट टाढा रहेको छैन । फौजदारी कामकाज गर्दा आफ्ना जात ढाँटेर अन्य जातिको नाम लिएर सेवारत एवं सेवा अवधि समाप्त गरि हालसम्म पनि आफ्नो जातिको सट्टामा अन्य जातिको नाममा निवृत्तिभरण प्राप्त गरेका बरामहरु धेरै मात्रामा रहेको छ । वर्तमान समयमा बराम जातिको अस्तित्व कायमै रहेको पाईन्छ । बरामहरु विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, कृषि, व्यापार, फौजदारी पेशामा आवद्ध छन् । शैक्षिक, सामाजिक, आर्थिक, भाषिक विकास विना बरामको जातिय उत्थान प्राय: असंभव नै छ । शैक्षिक, आर्थिक, प्रशासनिक क्षेत्रमा बराम जातिको जातिय उत्थान गर्नु टड्कारो समस्या हो । कुनैपनि जातिको पहिचान भनेको त्यस जातिको भाषा, संस्कृति र कला हुन् । बराम जाति पनि आफ्नै मौलिक संस्कृति, परम्परा, धर्म र भाषामा समृद्ध छन् । तर पनि वर्तमान अवस्थामा मुलुकमा आधुनिकीकरणको नाममा पाश्चात्य संस्कृतिले अन्य जातिहरुको जस्तै बरामको मौलिक संस्कृति माथि पनि प्रभाव पर्दै गएका छन् । पुराना परम्पराहरु लोप हुदै गएका छन्, घर घरमा मातृभाषा बालकुरा बोल्ने परम्परा अनि किराँत धर्म अनुसार गरिने विविध संस्कार, कर्म काण्ड, पुजाआजा विस्तारै–विस्तारै सुस्ताउदै गएका छन् । कतै हामी भोलीको दिनमा आफ्नो मौलिक धर्म, भाषा, संस्कृतिलाई चटक्कै छोडेर साँस्कृतिक परजीवि बराम त हुने होईनौ । यो बढि संवेदनशील कुरा छ । राम्रा कुरालाई शिरोधार्य गर्दै नराम्रा कुरालाई परित्याग गर्नु मानिसको मानवीय गुण हो । त्यसैले हामी बराम जातिको पनि केही रुढीवादी संस्कारहरुमा परिवर्तन ल्याउनु अपरिहार्य छ । फोस्रो आडम्वरलाई भन्दा मौलिक पहिचानलाई जीवन्त राख्ने प्रयास गर्नुपर्दछ । बराम भएकामा गर्व गर्न सिक्नु पर्दछ । आफ्नो बराम जातिको अस्तित्वलाई जोगाई राख्नुपर्दछ । तिम्रो र मेरो भन्ने अहमताको धरातलबाट एक कदम माथि उठेर हाम्रो भन्ने भावनामा समाहित हुने प्रयास गरिनु पर्दछ । तब मात्र हामी र हाम्रो बराम जातिको अस्तित्व सदैव जीवन्त रहन सक्दछ ।
 नेपाल बराम संघ, केन्द्रीय समितिले बराम आदिवासीहरुको ऐतिहासिक मुल थलो गोरखा जिल्ला सदरमुकाममा मिति २०७२ वैशाख पहिलो हप्तामा आयोजित अग्रज बरामहरुको तीन दिने भेलाले बराम आदिवासीको उत्पत्ति र धर्म सम्बन्धी गोरखा जिल्ला आरुपोखरी—१ स्थायी निवासी दिल बहादुर बरामुको समन्वय र सहयोगमा गोरखा जिल्ला आरुपोखरी—१ स्थायी निवासी अम्मर राज बरामुले तयार गरेको अनुसन्धानमुलक कार्यपत्रको आधारमा निम्न लिखित बुँदाहरुमा बराम जाति सम्वन्धी नयाँ तथ्यको पहिचान गरेको जानकारी गराउन चाहन्छौ :

१‍. बराम आदिवासी जनजातिको मुल थलो गोरखा हो । २. बराम आदिवासी जनजाति ब्रह्मपात किराँत आदिवासी जाति हो । ३. बराम आदिवासी जनजातिको उत्पत्ति विन्दु ब्रह्मपुत्र नदि हो । ४. बराम आदिवासी जनजातिको मुल धर्म किराँत हो ।

यसैगरि उक्त भेलामा नेपाल बराम संघको संस्थापक सचिव भद्रकुमारी बरामले तयार गर्नु भएको कार्यपत्रकाे अाधारमा बराम आदिवासीको संस्कृति, भेषभुषा, गोत्र तथा थरहरु सम्वन्धमा नयाँ तथ्य पहिचान गरेकाे छ । नेपाल बराम संघका केन्द्रीय उपाध्यक्ष किरण बरामले तयार पारेकाे कार्यपत्र बराम जातिको भाषा (बालकुरा) को वर्तमान अवस्था र सम्भावना तथा नेपाल बराम संघका संस्थापक अध्यक्ष होम बहादुर बरामको बराम जातिको सशक्तिकरण योजना सम्वन्धी प्रस्तुतीले उक्त भेला नेपाल बराम संघको ऐतिहासिक गोरखा घोषणापत्र २०७२ सार्वजनिक गर्दै महत्वपुर्ण बन्न पुगेको छ ।
 लोपोन्मुख बराम जातिले मादल, खैँजडी, मुरली, झुरूम्मा, ढ्याङग्रो प्रयोग गर्दछन् । [१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]