सामग्रीमा जानुहोस्

दिनेश अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:लबज

दिनेश अधिकारी
जन्मवि.सं २०१६ मङ्सिर २२ गते
बानेश्वर (बत्तीस पुतली), काठमाडौँ
राष्ट्रियतानेपालनेपाली
शिक्षास्नातक (कानुन), स्नातकोत्तर (मानविकी शास्त्र)
पेशासाहित्यिक लेखन, कानुन व्यवसायी (अधिवक्ता)
कार्यकाल२०३२ साल देखि
कामदार२०३८ साल भदौ देखि वि.सं. २०७१ साउनसम्म निजामती सेवामा
संस्थाननेपाल सरकार
चिनारीको कारणकविता, गीत,
उल्लेखनीय कार्य
इन्द्रजात्रा (काव्य)
अतिरिक्त अभिलेख ( कविता सङ्ग्रह)
गृहनगरहरिवन नगरपालिका
जीवनसाथीउषा अधिकारी
सन्तानलिपि अधिकारी, शब्द अधिकारी
मातापितानन्दनहरि अधिकारी, शारदादेवी अधिकारी
पुरस्कारमदन पुरस्कार २०५६
साझा पुरस्कार २०५१
युगकवि सिद्धिचरण पुरस्कार, २०४५
छिन्नलता गीत पुरस्कार २०५९

दिनेश अधिकारी विक्रम सम्बत: (२०१६ साल मङ्सिर २२ गते) एक नेपाली कवि तथा गीतकार हुन्।[][] नेपाली कविता एवम् गीति क्षेत्रका श्रष्टा हुन्। वि.सं. २०५६ मा उनका कृति "अतिरिक्त अभिलेख" ले कविता विधामा मदन पुरस्कार प्राप्त गरेको थियो।[][] कवि अधिकारीका कवितामा एकातिर समकालीन सन्दर्भप्रतिको यिनको संवेदनशीलता प्रखर ढङ्गले उजागरित भएको पाइन्छ भने अर्कोतिर मानवजीवनका शाश्वत र नैसर्गिक भावहरूू पनि उत्तिकै टड्कारोसित अनुगुञ्जित भएको सुन्न सकिन्छ ।[] उनको मन पर्ने गीतकार तथा लेखक हेमन्त खतिवडा हुन् ! उनको फुटकर कविताहरूको सङ्गालो "अतिरिक्त अभिलेख" एक मनमोहक काव्य-पुञ्जको रूपमा आएको छ। विम्व, प्रतीक, व्यञ्जना, वक्रोक्ति, व्यंग, सूक्ष्महास विद्रोह, पीडा, बुद्धि र भावनाबीचको समन्वय, लयसंवेदना आदि सबैको सम्यक् सन्तुलनको कारण दिनेश अधिकारी एक आकर्षक कवि मानिन्छन्।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

अधिकारीको जन्म बाबु नन्दनहरि अधिकारी र आमा शारदादेवीका पुत्रका रूपमा वि.सं. २०१६ साल मंसिर २२ गते सोमबारका दिन बानेश्वर, काठमाडौँमा भएको हो। उनको वास्तविक नाम दिनेशहरि अधिकारी हो। उनको बाल्यकाल पढाईको प्रकृयासँगसँगै कहिले काठमाडौँ त कहिले सर्लाहीको हरिऔँनमा बितेको थियो। उनी तीन वर्षको हुँदा अर्थात २०२० सालमा सपरिवार सर्लाहीको हरिऔँनमा बसाईं सरेको कारण बाल्यकाल समयको बसाइ अवधि काठमाडौँको तुलनामा सर्लाहीको हरिऔँनमा बढी भएको छ ।[]

किशोरावस्थामा कवि
पत्नी उषा अधिकारीका साथमा कवि
राजा वीरेन्द्रबाट कविता महोत्सव २०४० को प्रथम पुरस्कार ग्रहण गर्दै, असार २०४०
२०५१ सालको साझा पुरस्कार ग्रहण गर्दै
२०५६ सालको मदन पुरस्कार ग्रहण गर्दै कवि दिनेश अधिकारी, १३ असोज २०५७
राष्ट्रपति रामवरण यादवबाट सुप्रबल जनसेवा श्री को विभूषण ग्रहण गर्दै, बैशाख २०७२

 "सिपाही"

पर्ख ! अहिल्यै हातका खनखनाउँदा चुराहरु नफोर
बच्चा–मुख आमा–छातीमा टाँसिनुको भाँतिमा
चुल्ठीमा अल्झेको लालीगुराँस
तिम्रो यौवनलाई असाध्यै सुहाएको छ
सिन्दूर पखालेर–
इच्छाहरूमा भो ! आफूलाई नमार
निधारमा झलमलाएको
बाटुलो सिन्दूरे टीको
तिम्रो गालाको लालीसँग खुबै खुलेको छ

काँचो धागोले बाँधेको
जाबो एउटा चिठी आयो भन्दैमा
म भन्दिनँ–तिम्रो लोग्ने मरेको छ
र, कसैले मरेकै हो भन्छ भने पनि
निरर्थकमा मरेको छैन तिम्रो लोग्ने
गर्व गर !
ऊ–
तिमीले अन्न उब्जाउने
यो देशको माटोलाई मलिलो पारेर गएको छ
निधारको अक्षता पखालेर सामल जुटाउनुपर्ने यो अभावमा
कोक्रोमै खोक्रो पेट बाँचिरहेको एउटा नानीलाई
उसले एक पेट ‘रासन’ छुट्टयाएर गएको छ
तिमी त सिपाहीकी स्वास्नी पो हौ
के यत्ति पनि थाहा छैन–
म¥यो भनेको तिम्रो लोग्ने
बाफबाट पानी र पानीबाट बाफ जस्तै
अहिले–
तिम्रो सुरक्षित देश भएर फर्केको छ

र, मसँग सोध्छ्यौ भने त
सुन !
सिपाही कहिल्यै पनि मर्दैन
कि त ऊ–
नियुक्ति लिएकै दिन मरिसकेको हुन्छ !!

सिपाही

उनको औपचारिक शिक्षाको सुरुवात काठमाडौँको धुम्बाराही मन्दिर परिसरमा रहेको हालको धुम्रबराह माध्यमिक विद्यालयबाट भएको थियो। कक्षा १ र २ सोही विद्यालयमा अध्ययन गरी कक्षा ३ र ४ उनले हरिऔन, सर्लाही स्थित हालको महादेव जनता माध्यमिक विद्यालयबाट पुरा गरेका हुन् भने कक्षा ६ र ७ हरिऔन, सुखेपोखरी स्थित चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन्। कक्षा ८ काठमाडौँको नक्सालमा अवस्थित नन्दीरात्रि माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरी ९ र १० का लागि उनी फेरि सर्लाही, हरिऔन कै चतुर्भुजेश्वर माध्यमिक विद्यालयमा पुगी सोही विद्यालयबाटै प्रवेशिका उत्तीर्ण गरेका उनले २०३४ सालमा नेपाल ल क्याम्पस, काठमाडौँमा भर्ना भई २०३५ सालमा प्रवीणता प्रमाणपत्र तह २०३९ सालमा कानुन विषयमा स्नातक गरेका हुन्। २०४५ सालमा मानविकीतर्फ राजनीतिशास्त्र विषयमा स्नातकोत्तर (एम.ए.) पास गरेका छन् । []

साहित्यिक लेखनका अतिरिक्त कवि/गीतकार दिनेश अधिकारी सरकारी निजामती सेवामा पनि आबद्ध भई २०३८ साल भदौ २८ गतेदेखि ना.सु. पदबाट सरकारी सेवामा स्थायी रूपमा प्रवेश गरेका हुन् भने २०४१ सालमा अधिकृत स्तरमा न्याय सेवामा प्रवेश गरी बेलाबेलामा बढुवा पाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव र महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्ताको पदमा कार्यरत रहँदै आएका अधिकारी नेपाल प्रशासन सेवामा आफ्नो सेवा परिवर्तन गरी स्वास्थ्य मन्त्रालयमा सहसचिवको पदमा समेत कार्यरत रहेका थिए। २०६६ सालदेखि सचिव पदमा बढुवा भई नेपाल सरकारको विभिन्न मन्त्रालयमा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै वि.सं. २०७१ साउनमा सेवा निवृत भएका हुन् ।[]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

उनि २५ वर्ष हुँदा अर्थात विक्रम सम्वत २०४१ साल माघ २५ मा उषा आचार्यसँग विवाह भएको थियो। यी दम्पत्तीका पहिलो छोरी लिपि अधिकारीको वि.सं. २०४३ मा र दोस्रो छोरा शब्द अधिकारीको २०४६ मा जन्म भएको थियो।[]

साहित्यिक यात्रा

[सम्पादन गर्नुहोस्]

उनले १० वर्षको उमेरदेखिनै कविता लेख्न थालनी गरेका थिए।[] कवि अधिकारी र कवि विष्णु विभु घिमिरेद्धयले संयुक्त रूपमा लेखिएको कविता समय मिति २२ माघ २०३८ सालको राष्ट्रपुकार (साप्ताहिक) मा छापिए वापत उनीहरूको तात्कालीन व्यवस्थाले मुद्दासमेत चलाएको थियो।[][]

अधिकारीका कविता सङ्ग्रह "संवेदनाको स्वर" लाई भारतको अग्रणी प्रकाशन संस्था राजकमल प्रकाशनले हिन्दीमा प्रकाशन गरेको थियो। अधिकारीका कवितालाई डा. गङ्गाप्रसाद अकेलाले हिन्दीमा अनुवाद गरेका थिए। अधिकारीकै प्रतिनिधि कविता "मोड अफ लाइफ" सन् २००९ मा अङ्ग्रेजी भाषामा प्रकाशन भइसकेको छ।[१०] वि‍.सं. २०७४ साउन २६ मा जारी गरिएको फरक धारको पुस्तक 'तस्वीरको कथा' कवि तथा अधिकारीले सार्वजनिक गरेका थिए। नेपालमा पहिलोपटक लेखिएको र सबै वर्ग, पेशा र उमेरका मानिसले रुचाउने पुस्तक भनेर अभि सुवेदीले र प्रसिद्ध गायक प्रेमध्वज प्रधानले ऐतिहासिक महत्त्व भएको पुस्तक भनेर पुस्तकबारे टिप्पणी गरेका थिए।[११][१२][१३] दिनेश अधिकारीले पुराना तथा नयाँ आफ्ना चर्चित गीतहरूको सङ्ग्रहलाई पुस्तकको आकार दिई २०७५ सालमा साङ्ग्रिला बुक्सद्वारा प्रकाशनमा ल्याएका थिए। उनले पुस्तकको नाम आफ्नो चर्चित गीत ‘यो सम्झिने मन छ म बिर्सु कसोरी’बाट राखेका छन्।[१४]

आफ्नो स्थापनाकालको दुईसय वर्ष मनाउने क्रममा अमेरिकास्थित लाइब्रेरी अफ कङ्ग्रेसले विश्वका कृति सङ्कलन गर्दै आइरहेको छ र विश्व साहित्यलाई स्वराङ्कन गर्ने थालनी दक्षिण एसियाबाट थालेसँगै नेपालका पहिलो चरणमा छानिएका ११ जना सहित्यकारमध्ये अन्य केही साहित्यकार लगायत कवि दिनेश अधिकारीको स्वराङ्कन गरिसकिएको थियो।[१५][१६]

अहिलेसम्म ५ सयभन्दा बढी उनका गीत रेकर्ड भइसकेको छ। विभिन्न कालजयी गीतका सर्जक अधिकारीले मदन पुरस्कारलगायत अन्य थुप्रै पुरस्कार पाएका छन्।[१०][१७]

उनको कविताको मियोमा मान्छे उभिएको हुन्छ भने कविताभरि मानवता धड्किएको हुन्छ। समग्रमा कविताको विषय, उद्देश्य र धड्कन सम्पूर्णतः मान्छे नै रहेको उनका कविताहरु मान्छेकै परिधिमा महकिन्छन् अर्थात अहङकारहीन प्रेमजस्तो ईश्वरत्वको अनुभूत गर्न सकिने उनका कविताहरु स्वयम् प्यास र पानी दुवै हुन्। उनका कविताको रसास्वादनपछि भावकका आँखामा अत्मतुप्तिको चमक प्रसारित हुनु कविताले मोक्ष प्राप्त गर्नु हो र यही सत्यकवितको काव्यिक सफलताको जीवन्त साक्ष्य पनि हो। कवि अधिकारी जीवनका विसङ्गत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्। यद्यपि नाम छोपेर पढे पनि उनका कविताको आत्मगत सौन्दर्यले सम्मोहित पारिरहन्छ र उनको काव्यिक अस्तित्वले स्वतः पाठकको मनमस्तिष्कमा उच्च आसन ग्रहण गरेको हुन्छ। उनी सरल विम्बात्मक प्रस्तुतिभित्र सामयिक बोधको सहजसम्प्रेषणसहित गम्भीर भावप्रकाशन गर्नमा अत्यधिक रमाउँछन्। कुनै वाद र विवादको पछि लागेर भन्दा केवल मान्छे हुनुको अर्थमा लेख्ने मानवीय सूक्ष्म संवेदनका कवि अधिकारकिा कविताहरु निश्चय नै प्रकृति र जीवनसंगको सुरुचिपूर्ण संवाद हुन्ः समयचेतनाको प्रेमपूर्ण तादाम्त्य हुन्। यसर्थमा उनका कविताहरु केमल छन्, सौम्य छन्, बौद्धिकभन्दा बढी हार्दिक छन् र भावकका अन्तर्मनका कन्दरामा शालीन भएर ध्वनित भइरहन्छन् ।[१८]

उनका अनुज पुस्ताका कवि श्रवण मुकारुङ भन्छन्, दिनेश अधिकारी मेरा सबभन्दा मनपर्ने कवि हुन्। आधुनिक नेपाली कविताका चार प्रमुख नामहरुमध्ये दिनेश अधिकारी चौथो प्रतिनिधि नाम हो। समय, समाज र मानिका अनेकौँ आयामहरूलाई अत्यन्तै सुक्ष्म, सरल तर गम्भीरभावद्धारा अभिव्यक्ति दिने कवि दिनेश अधिकारी उनका रचना शिल्पकै कारण सम्भवतः भूपिपछिका एकमात्र लोकप्रिय कवि भएका हुन्। आम जनताको सामान्यभाषामा पनि आफूलाई अभिव्यक्त गर्नसक्नु उनको अर्को विशेषता हो। कविता र गीतलाई समान ढङ्गले न्याय दिनसक्ने उनी समाजमा व्याप्त विसङ्गति, शोषण दमन, अन्यायविरुद्ध साम्यरूपमा प्रस्तुत हुनछन्। समसामयिक भन्दा सार्वकालिक विषयहरुसित बढी रमाउन चाहने कवि दिनेशका अधिकांश रचनाहरूले विद्रोहभन्दा शिष्ट व्यङ्ग्य, कान्तिभन्दा, उच्च मानव्य, प्रेम र दार्शनिकता बढी बहन गरेका हुन्छन् ।[१९]

लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू

[सम्पादन गर्नुहोस्]

कवि एवं गीतकार अधिकारीका प्रकाशित कृतिहरुः[]

कविता सङ्ग्रहः

[सम्पादन गर्नुहोस्]
-- वर्ष -- संग्रहको नाम प्रकार प्रकाशक
२०३७ अन्तरका छिटाहरु कविता सङ्ग्रह युवा साहित्यिक समाज, काठमाडौँ
२०४४ धर्तीको गीत कविता सङ्ग्रह साझा प्रकाशन, ललितपुर
२०४५ आदिम आवाज कविता सङ्ग्रह ने.रा.प्र.प्र., काठमाडौँ
२०५१ इन्द्रजात्रा काव्य साझा प्रकाशन, ललितपुर ।[२०]
२०५६ अतिरिक्त अभिलेख कविता सङ्ग्रह साझा प्रकाशन ललितपुर
२०६५ मोड अफ लाइभ नेपालीबाट अङ्ग्रेजी भाषामा अनुदित कविता सङ्ग्रह उषा अधिकारी, काठमाडौँ[२१][२२]
२०६७ सीमान्त सपना कविता सङ्ग्रह साझा प्रकाशन, ललितपुर
२०७१ (२०१५) संवेदना के स्वर नेपालीबाट हिन्दी भाषामा अनुदित कविता सङ्ग्रह राजकमल प्रकाशन, नयाँ दिल्ली भारत
२०७२ एउटा बस्तीको कथा संयुक्त लामो कविता, अन्य तीन जना सहित बुकसेलर प्रकाशन, काठमाडौँ
२०७३ (सन् २०१७) भरियाको भूगोल कविता सङ्ग्रह नेपा-लय, काठमाडौँ[२३][२४][२५][२६]
२०८१ (सन् २०२५) पानीको परेड कविता सङ्ग्रह नेपा-लय, काठमाडौँ[२७][२८][२९]

गीत सङ्ग्रह

[सम्पादन गर्नुहोस्]
-- वर्ष -- संग्रहको नाम प्रकाशक
२०४८ अविराम यात्रा वाणी प्रकाशन, काठमाडौँ
२०५४ आफ्नै मन: आफ्नै आगन जीवा लामिछाने, काठमाडौँ
२०६३ मन र मोडहरू साझा प्रकाशन ललितपुर
२०७५ म बिर्सुँ कसोरी साङ्ग्रिला बुक्स, काठमाडौँ[१४]

क्यासेट तथा कम्प्याक्ट डिस्क (सिडी)

-- वर्ष -- एल्बमको नाम प्रकार प्रकाशक
२०४० कविताको मौसम कविता क्यासेट— अन्य ३ जना सहित म्युजिक नेपाल काठमाडौँ
२०४७ भावनाका मातहरु आधुनिक गीतहरूको एकल क्यासेट एल्बम म्युजिक नेपाल काठमाडौँ
२०५० सुख दु:ख आधुनिक गीतहरूको एकल क्यासेट एल्बम म्युजिक नेपाल, काठमाडौँ
२०५४ बोल बोेल पाखाहरु चलचित्रका गीतहरूको एकल क्यासेट एल्बम म्युजिक नेपाल, काठमाडौँ
२०५५ विरानो मन चलचित्रका गीतहरूको एकल क्यासेट एलवम म्युजिक नेपाल, काठमाडौँ
२०५६ परेलीको डिलमुनि आधुनिक गीतहरूको एकल सि.डि तथा क्यासेट एल्बम) मास्टर रेकडिङ्ग इडष्ट्रिज, काठमाडौँ
२०५७ यात्रा आधुनिक गीतहरूको एकल सि.डि एलवम म्युजिक नेपाल, काठमाडौँ
२०५७ अनुभूति आधुनिक गीतहरूको एकल सि.डि तथा क्यासेट एल्बम म्युजिक नेपाल, काठमाडौँ
२०५९ लिपि आधुनिक गीतहरूको एकल सि.डि तथा क्यासेट एल्बम म्युजिक नेपाल, काठमाडौँ
२०६३ शब्द आधुनिक गीतहरूको सि.डी. तथा क्यासेट एलबम म्युजिक नेपाल, काठमाडौँ
२०६५ सुन्ने कविता एकल कविता वाचनको सि.डी. एलबम दृष्य काठमाडौँ
२०६७ रचना आधुनिक गीतहरूको एकल सि.डी. एल्बम विन्ध्यवासिनी म्युजिक प्रा.लि. काठमाडौँ
२०६९ देशको गीत राष्ट्रिय भावनाका गीतहरूको एकल सी.डी. एल्बम विन्ध्यवासिनी म्युजिक प्रा.लि. काठमाडौँ
२०७१ निखिता आधुनिक गीतहरूको एकल सि.डी. एलबम टुवेल्भ नोटस प्रा.लि. काठमाडौँ

(उल्लिखित एलबमहरूमा नारायण गोपाल, तारादेवी, गुलाम अली, भक्तराज आचार्यको पुस्तादेखि पछिल्लो पुस्ताका प्रतिनिधि गायक, गायिकाहरु र नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, गोपाल योञ्जनको पुस्तादेखि पछिल्लो पुस्ताका प्रतिनिधि सङ्गीतकारहरुका स्वर/सङ्गीत रहेको)

उनले जीवनज्योति (पत्रिका, सर्लाही) र मिलन (पत्रिका, बारा)को सम्पादन पनि गरे। उनले करिब ६ दर्जन नेपाली चलचित्रमा गीत लेखेका छन्।

वाल गीति-नाटक

[सम्पादन गर्नुहोस्]
  • जङ्गलको कथा जङ्गलको व्यथा, २०५८, विश्व वन्यजन्तु कोष नेपाल ।

तस्वीर संस्मरण

[सम्पादन गर्नुहोस्]

सिर्जना यात्रा

[सम्पादन गर्नुहोस्]
  • कविताको कथा, गीतको कथा, २०७९[३१][३२]

संस्थागत संलग्नता

[सम्पादन गर्नुहोस्]

सरल, सशक्त, सफल गीत कविता लेख्नसक्ने खुबी भएका कवि तथा गीतकार अधिकारी नेपाली भाषा बाहेक अङ्ग्रेजी, हिन्दी, उर्दू आदि भाषामा समेत आफ्ना रचनाहरू पुर्‍याएका छन्।[३३] लेखनबाहेक सम्पादन, साहित्यिक सङ्घ संस्थासँगको संलग्नताले पनि उनलाई सक्रिय बनाएको पाइन्छ।[]

  • नाट्य संस्था ‘सर्वनाम’, काठमाडौँको संस्थापकहरू मध्ये एक।
  • संस्थापक सल्लाहाकार नेपाल साङ्गितिक सङ्घ, काठमाडौँ।
  • सदस्य, सगरमाथा वाङ्मय प्रतिष्ठान, काठमाडौँ ।
  • सदस्य, भानु प्रतिष्ठान, काठमाडौँ।

पुरस्कार/पदक/विभूषण/सम्मान/स्वीकृति

[सम्पादन गर्नुहोस्]

युवा साहित्यकारको भीडमा धेरै पुरस्कार पाउने स्रष्टाको रूपमा परिचित दिनेश अधिकारी साहित्य लेखनमा सशक्त हस्ताक्षरको रूपमा परिचित नाम हो ।[] नेपाली साहित्यको विकासमा २०३० को दशकदेखि अनवरत रूपमा सेवा पुर्याउदै आएका कवि गीतकार दिनेश अधिकारीको उचित मुल्याङ्कन गर्दै राज्यका अधिरिक्त विभिन्न साहित्यिक, साङ्गीतिक तथा अन्य संघसंस्थाहरूबाट विभिन्न मान, पदवी, पुरस्कार तथा उपहारहरु प्रदान गरिएको देखिन्छ । उनको अतिरिक्त अभिलेख शीर्षकको कविता संग्रहका लागि नेपालको नोबेल पुरस्कार मानिने २०५६ सालको मदन पुरस्कार समेत प्राप्त गरेका छन् । वि.सं. २०५१ सालमा इन्द्रजात्रा (काव्य) का लागि साझा पुरस्कार, वि.सं. २०५८ सालमा छिन्नलता गीत पुरस्कार आदिबाहेक उनले पाएका पुरस्कार, पदक र सम्मानहरूः[]

(क)

क्र०सं० पुरस्कारको नाम प्राप्त भएको साल (वि०सं०)
रत्नश्री स्वर्ण पदक२०३८
व्यथित काव्य पुरस्कार२०३९
प्रथम पुरस्कार, कविता महोत्सव२०४०
सर्वश्रेष्ठ गीतकार, रेडियो नेपाल२०४०
सर्वश्रेष्ठ गीतकार, रत्न रेकडिङ्ग संस्थान२०४०
युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार२०४५
सर्वश्रेष्ठ गीतकार, दोस्रो राष्ट्रिय भिडियो चलचित्र महोत्सव२०४८
मोती पुरस्कार२०४९
साझा पुरस्कार[२०]२०५१
१०गङ्गालक्ष्मी पुरस्कार२०५२
११गद्दी आरोहण रजतमहोत्सव पदक२०५३
१२प्रबल गोरखादक्षिणबाहु२०५५
१३भुपालमानसिंह कार्की युवा पुरस्कार२०५५
१४राष्ट्रिय गौरव युवा सम्मान२०५५
१५राष्ट्रिय प्रतिभा पुरस्कार२०५६
१६सर्वनाम सम्मान२०५६
१७मदन पुरस्कार२०५६
१८मानश्री पुरस्कार२०५७
१९छिन्नलता गीत पुरस्कार२०५९
२०सुप्रवल जनसेवाश्री (तृतीय)२०७१
२१विन्ध्यवासिनी लाईफटाईम एचिभमेन्ट अवार्ड२०७१
२२नारायण गोपाल स्मृति सम्मान२०७५
२३सुकिर्तिमय राष्ट्रदीप२०७५
२४अरूण थापा स्मृति सम्मान[३४]२०७९
२५कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार[३५]२०७९

(ख) केही विद्यालयहरुद्वारा कविको नाममा छात्रवृत्तिको स्थापना ।
(ग) केही सामाजिक तथा शैक्षिक संस्थाहरूबाट अभिनन्दित ।
(घ) त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्का विभिन्न तहका पाठ्यक्रमहरूमा कविता तथा गीतहरु समावेश भएको ।
(ङ) अमेरिका स्थित विश्वकै सबभन्दा ठूलो पुस्तकालय लाइब्रेरी अफ काङ्ग्रेसले आफ्नै स्वरमा आफ्ना रचना पाठ गराई आफ्नो वेबसाइट मा राख्ने गरी नेपालबाट मनोनयन गरिएका प्रतिनिधि नेपाली साहित्यकार मध्ये एक। यस आयोजना अन्तर्गत रेकर्ड गरिएका दुई दर्जन भन्दा बढी कविताहरू लाइब्रेरी अफ काङ्ग्रेस को वेबसाइट मा राखिएको।[१६]
(च) त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहका लागि जीवनी, कविता र गीतको क्षेत्रमा करिव १० वटा शोध अनुसन्धान भएको।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 4 5 6 7 जीवलाल बन्जाडे, "दिनेश अधिकारी: गीत र सवेदना".- २०६१, उषा अधिकारी, बत्तीस पुतली, काठमाडौँ.- ISBN 99946-33-40-6.
  2. 1 2 3 जयदेव भटृराई, पुरस्कारका अधिकारीः दिनेश अधिकारी, गोरखापत्र, शुक्रबार असोज ६ गते २०५७.
  3. राजेश्वर रेग्मी, "किन पायो मदन पुरस्कार अतिरिक्त अभिलेखले?".-हिमालय टाइम्स, शनिबार, मसिर ३०, २०५८
  4. कृष्ण धाराबासी, "कवि दिनेश अधिकारीको एकल कविता वाचन", कविता यात्राः हरेक महिनाको १५ गते, २०६५ साउन १५, बुधबार
  5. डा. ज्ञानु पाण्डे (२०६८), अक्षरहरुका माझमा कवि दिनेश अधिकारी (एकल कविता वाचन), अक्षर समूह, चितवन, ९ असोज २०७२
  6. डा. डी.पी. भण्डारीसंग अन्तरङ्ग, दिनेश अधिकारीका दुइ पत्नीहरु, साप्ताहिक, २०५७ जेठ १३
  7. विष्णु निष्ठुरी, गीत र कविता एउटै रुखका दुइटा हांगा हुन्, स्वतन्त्रता, २०४९ असार ११
  8. कविता लेखेर झण्डै जेल गइयो, कान्तिपुर कोसेली, शनिबार १० भर्दा, २०५७
  9. अमर न्यौपाने, समय र सम्बन्धको साक्षी, एउटा बस्तीको कथा, बुकसेलर, २०७२ असोज, पृ. १०
  10. 1 2 राजधानी समाचारदाता, अधिकारीका कविता हिन्दीमा, राजधानी, काठमाडौँः शुक्रबार, ८ फाल्गुन २०७१.
  11. 1 2 "गीतकार अधिकारीले ल्याए तस्वीरको कथा", newsofnepal.com, नेपाल समाचारपत्र, अगस्ट १५, २०१७, अन्तिम पहुँच २०१७-०८-१५
  12. 1 2 "गीतकारको अभिरूचि अभिलेखनतर्फ", lokaantar.com, लोकान्तर, शनिवार, श्रावण २८, २०७४, अन्तिम पहुँच २०१७-०८-१५
  13. 1 2 "दिनेश अधिकारीको तस्बिरको कथा सार्वजनिक", srastakhabar.com, स्रष्टाखबर, अन्तिम पहुँच २०१७-०८-१६
  14. 1 2 "कवि दिनेश अधिकारीको ‘म बिर्सुँ कसोरी’ सार्वजनिक", lokpath.com, लोकपथ, मंसिर १३, २०७५ बिहिबार, अन्तिम पहुँच २०१९-०२-२४
  15. जयदेव भटृराई, स्रष्टाको स्वर र सिर्जनाको स्वराङ्कन, गोरखापत्र २०६१ साल साउन १४ गते बिहीबार
  16. 1 2 Dinesh Adhikari, 1959- ,The South Asian Literary Recordings Project, Library of Congress New Delhi Office
  17. Kamala B.Sarup, Poetry gives Expression, WEBCommentary, March 1, 2016
  18. मोमिला, "सल्लेरीको काखमा दिनेश अधिकारीः एकल कविता वाचन", धनकुटा २०७२ माघ ९ गते
  19. श्रवण मुकारुङ, "कवि दिनेश अधिकारीको एकल कविता वाचन", कविता यात्राः हरेक महिनाको १५ गते, २०६५ साउन १५, बुधबार
  20. 1 2 Kavita Sherchan, A Legnedary Epic, The Kathmandu Post, Sunday, August 25, 1996.
  21. Kumari Lama, I will unveil my own sky, The Kathmandu Post, Sunday, March 15, 2009
  22. Chandi Raj Kafle, Quality Combination, The Rising Nepal, Friday Supplement, February 13, 2009
  23. भूगोल’मा दिनेश
  24. कवि अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक
  25. भरियाको भूगोल’ को पश्चिम नेपाल यात्रा पूरा
  26. गीत र कविताको पलेँटी बसाइमा ‘भरियाको भूगोल’
  27. उकेरा, अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक[स्थायी मृत कडी]
  28. शिलापत्र, अधिकारीको ‘पानीको परेड’ कवितासङ्ग्रह सार्वजनिक[स्थायी मृत कडी]
  29. कवि अधिकारीको ‘पानीको परेड’ कवितासङ्ग्रह सार्वजनिक
  30. महरा, जयसिंह (११ अगस्ट २०१७), "फेसबुकले जुराएको अधिकारीको 'तस्बिरको कथा'", thahakhabar.com, थाहाखबर, अन्तिम पहुँच २०१७-०८-१२
  31. मास्के ‘मुस्कान’, भुवन (३२ असार २०७९), "‘कविताको कथा, गीतको कथा’ भित्रको अन्तरकथा", nagariknews.nagariknetwork.com, नागरिक, अन्तिम पहुँच २०२२-१२-०७
  32. भुमरी, भावेश (२ श्रावण २०७९, सोमबार), "नवीन विधाको पुस्तक ‘कविताको कथा, गीतको कथा’", surprabhapost.com, सुरप्रभा पोष्ट, अन्तिम पहुँच २०२२-१२-०७ अभिलेखिकरण २०२२-१२-०७ वेब्याक मेसिन
  33. घनेन्द्र ओझा। "सिर्जनाले पहिचान बनाएका प्रशासक दिनेश अधिकारी" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२
  34. "अरूण थापा स्मृति सम्मानद्वारा वरिष्ठ गीतकार अधिकारी सम्मानित", safalawaj.com, सफल आवाज , श्रावण ७ गते २०७९, अन्तिम पहुँच २०२२-१२-७ अभिलेखिकरण २०२२-१२-०७ वेब्याक मेसिन
  35. "कृष्णभूषण सिर्जना पुरस्कार समर्पण", .harekpalnews.com, हरेकपल , मार्च ७, २०२३, अन्तिम पहुँच २०२३-३-१५ अभिलेखिकरण २०२३-०३-१५ वेब्याक मेसिन

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]