भक्तराज आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्तराज आचार्य
जन्म१६ असोज १९९९
धनकुटा, नेपाल अधिराज्य
मृत्यु१४ फागुन २०८० (८१ वर्ष)
ललितपुर, नेपाल
अन्य नामभजन शिरोमणि
पेशागायक, सङ्गीतकार
कार्यकालसन् १९७३–१९८६
सन्तानसत्यराज आचार्य
स्वरूपराज आचार्य
मातापिताबलभद्र आचार्य
रेनुका आचार्य
पुरस्कारस्वामि नारायणाचार्य श्रुति सम्मान (सन् २०१०)
पद्मश्री साधना सम्मान (सन् २०२०)[१]

भक्तराज आचार्य (१९९९ असोज १६ - २०८० फागुन १४) भजन शिरोमणिको उपनामले परिचित उनी एक नेपाली गायक र सङ्गीतकार थिए, जसलाई व्यापक रूपमा नेपालमा सर्वकालिक महान गायकको रूपमा चिनिन्छ। उनी नेपालको धनकुटामा जन्मेका थिए र भारतको कालिम्पोङमा हुर्केका थिए। सन् १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा उनी नेपाल आएका थिए। सन् १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायक यात्रा सुरु भएको थियो। उनको जीवन सन् वि.सं २०४६ सम्म फैलिएको थियो। उनले ४५० वटा गीत रेकर्ड गरेका थिए भने २५–३० वटा गीत रचना गरेका थिए।[२][३]

२०८० फागुन १४ गते ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको थियो।[४]

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा भएको थियो। उनले साढे एक वर्षमै बुबा गुमाएका थिए। सोहि बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उनी भारतको डुअर्सको चियाबगान पुगेका थिए जहाँ उनका जीवनका ३१ वर्ष बिताएका थिए। बिस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गएपछि कम उमेरमै उनले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो। जस्तोसुकै विपत्तिमा पनि सङ्गीतप्रतिको उनको लगाव जारी नै रह्यो। 'सङ्गीत प्रभाकर' सम्म उनले अध्ययन गरेका थिए।

तीसको दशकको सुरुवातसँगै उनको साङ्गीतिक जीवनले मोड लिएको थियो। वि.सं. २०३० सालमा काठमाडौंमा भएको 'अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता'मा उनले गाएको 'होसियार यसबखत समयको मुखलाई चिन...' प्रथम भएको थियो र उनले स्वर्ण पदक प्राप्त गरेका थिए। यस गीतका संगीतकार तथा रचनाकार अम्बर गुरुङले पनिस्वर्ण पदक प्राप्त गरेका थिए।

प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागिरे भएका थिए। त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए। उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत कोएर, ब्यालेट, कविता गायन र चलचित्रको पाश्र्व गायनसमेत गरेका छन्। युगल गीत भने चारवटा मात्रै गाएका छन्।

वि.सं. २०४६ सालको एक साँझ बौद्धमा साङ्घातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो। त्यसयता लगभग उनको गायनयात्रामा विराम लागेको थियो।[५]

उनका दुई सुपुत्र सत्यराजस्वरूपराज पनि नेपाली सुगम सङ्गीतमा स्थापित गायक छन्।[६]

चर्चित गीतहरू[सम्पादन गर्नुहोस्]

  • जीवन भनुँ त घात छ...
  • मुटु जलिरहेछ, यो मन गलिरहेछ...
  • जति चोट दिन्छौ देऊ मायालु...
  • सबै बेहोसी नशा पिएर...
  • हजार आँखा हेर्ने मेरी मायालुलाई.......
  • भुल्नै सकिन त्यो क्षण मिलनको...
  • सबैबाट तिरस्कृत...
  • यो कथा सुरु गरेर...
  • आँसुजस्तो हो जीवन...
  • हजार सपनाहरूको माया लागेर आउँछ......
  • जहाँ छन् बुद्धका आँखा.....
  • कोही नगरोस् प्रेम अमर....

चर्चित भजनहरू[सम्पादन गर्नुहोस्]

उनका भजनहरू थुप्रै भएतापनि केहि चर्चित भजनहरू निम्नानुसार छन्:[७]

  • एकदिन मैले प्रभुसँग सोधेँ
  • तन मन बचनले
  • सब निदाए प्रभु
  • लौन अब मेरो प्रभु
  • जगत कि आमा
  • अन्नतदेखि बगिरहेको
  • जय गुरु गणपती मंगल मूर्ति
  • श्री राम प्रभुको चरणकमलमा
  • प्रेम प्रभुको शाश्वत धारा
  • बजिरहेछ बाँसुरी
  • भगवान जीवन नाऊ
  • भव सागरमा डुबी सकेँ म
  • रहेन छ केही
  • कति लिन्छौ परीक्षा भगवान
  • दु:खै दु:ख मिल्दा पनि
  • दुर्गे देऊ भक्त्ति मलाई
  • न धन त्यागेर त्यागी हुन्छ
  • हामी भुलेछौ धन जन मधले
  • हे मनमोहन मुरलीवाला
  • सजल सजल यो नैन भिखारी
  • राम यहीँ छन् श्याम यहीँ छन्
  • भगवान दर्शन कसरी पाऊँ?
  • इश्वर प्रभु नै अन्तर्यामी

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनले पाएका पुरस्कारः

उनको जीवनीमाथि 'आचार्य' नामक चलचित्र पनि बनेको थियो।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पद्मश्री पुरस्कार 'मोक्षभूमि'लाई, सम्मान गायक आचार्यलाई", कान्तिपुर (नेपालीमा), २०२१-०९-२८, मूलबाट २०२१-११-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०७-१८ 
  2. भक्तराज आचार्यका गीतहरू 
  3. शेर्पा, युमाश (२०२२-०५-०१), "जब 'भजनशिरोमणि'ले आँसु पुछे…", राजधानी राष्ट्रिय दैनिक (नेपालीमा), मूलबाट २०२२-०६-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०१ 
  4. "भजनशिरोमणि भक्तराज आचार्यको निधन", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  5. "३० वर्षदेखि एउटै दैनिकीमा थिए भक्तराज", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  6. हजार सपनाका जिन्दगी वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०७ मिति कान्तिपुर
  7. Alchetron (२०१७-०८-१८), "Bhakta Raj Acharya - Alchetron, The Free Social Encyclopedia", Alchetron.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-११-१९ 
  8. "पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, सम्मान गायक आचार्यलाई", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-११-१९ 
  9. "भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान प्रेमध्वज र शम्भूजितलाई", कान्तिपुर दैनिक, अन्तिम पहुँच ५ असार २०७६ 
  10. "Maestros life on screen", The Himalayan Times, २००९-११-१६, अन्तिम पहुँच २०२२-०८-०१ 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]