यदुनाथ खनाल
यदुनाथ खनाल सरदार | |
---|---|
लोकसेवा आयोगको अध्यक्ष | |
कार्यकाल २०३२–२०३४[१] | |
एकाधिपति | राजा बिरेन्द्र |
परराष्ट्र सचिव | |
कार्यकाल २०२४–२०२७ | |
एकाधिपति | राजा महेन्द्र |
संयुक्त राज्य अमेरिकाको लागि नेपाली राजदुत | |
कार्यकाल २०३०–२०३२ | |
एकाधिपति | राजा बिरेन्द्र |
राष्ट्रपति | रिचार्ड निक्सन |
पूर्वाधिकारी | कुल शेखर शर्मा |
उतराधिकारी | विश्वेश्वर प्रसाद रिमाल |
भारतको लागि नेपाली राजदुत | |
कार्यकाल २०१९–२०२४ | |
एकाधिपति | राजा बिरेन्द्र |
पूर्वाधिकारी | नरप्रताप थापा |
उतराधिकारी | झरेन्द्रनारायण सिंह |
चीनको लागि नेपाली राजदुत | |
कार्यकाल २०३५–२०३९ | |
एकाधिपति | राजा बिरेन्द्र |
पूर्वाधिकारी | मेजर जनरल क्षेत्र बिक्रम राणा |
उतराधिकारी | जनरल गुण शमशेर जबरा |
व्यक्तिगत विवरण | |
जन्म | वि. सं. १९७० साउन २८ गते तनहुँको मानुङ |
मृत्यु | २०६१ असोज १६ गते |
नागरिकता | नेपाली |
जीवन साथी | कमला |
अभिभावकs |
|
वि. सं. १९७० साउन २८ गते तनहुँको मानुङमा नरनाथ र माता तारादेवी खनालका सुपुत्रका रूपमा जन्मेका सरदार प्रो. यदुनाथ खनाल नेपालको शिक्षा, कूटनीति, प्रशासन र साहित्य क्षेत्रका विशिष्ट व्यक्ति मानिनुहुन्छ । उहाँलाई नेपालको पुनर्जागरणकालमा परराष्ट्र मामिला, प्रशासन र शिक्षाक्षेत्रमा धरोहरकै रूपमा लिइन्छ ।
खनाल विद्वान्, समालोचक, कूटनीतिज्ञ र प्रखर बुद्धिजीवी थिए । उनले पहिला संस्कृत, अनि कलकत्तामा विज्ञान र अङ्ग्रेजी साहित्य पढेर फर्की १९९९ देखि २०१२ सालसम्म त्रि–चन्द्र कलेजमा पढाए । २०१२ मा प्रधानमन्त्री टंकप्रसाद आचार्यले आफ्नो प्रमुख सचिवका साथै गृहसचिव बनाएर सिंहदरबार लगे पनि खनाल कर्मचारी होइन, स्वतन्त्र विद्वान्का रूपमा परिचित रहे । उनको कूटनीतिक क्षमतालाई बीपी कोइराला, राजा महेन्द्र र राजा वीरेन्द्रले मात्र होइन, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले प्रयोग गरे । नेपालमा दुईपटक परराष्ट्रसचिव र नेपालका लागि अत्यन्त महत्त्वपूर्ण देशहरू भारत, चीन र अमेरिकामा राजदूत हुने एक मात्र व्यक्ति खनाल नै भए ।[२]
वाल्यकाल
[सम्पादन गर्नुहोस्]छ वर्षका खनालले घरमै अमरकोश, चण्डी पढ्नुभयो । ११ वर्षका खनाल हिंडेर काठमाडौँ आउनुभयो । उहाँको अध्ययनमा दाजु हरि खनालको विशेष सहयोग थियो । उहाँ १९९२ सालको एसएलसी परीक्षामा बोर्ड प्रथम हुनुहुन्थ्यो । बनारस विश्वविद्यालयबाट संस्कृतमा मध्यमा, कलकत्ता विश्वविद्यालयबाट बीएस्सी र अङ्ग्रेजीमा स्नातकोत्तर तह उत्तीर्ण सरदार खनाल २००० सालदेखि २०१३ सालसम्म त्रि-चन्द्र कलेजमा प्राध्यापन सेवापछि २०१३ साल माघ १३ देखि स्व. टंकप्रसाद आचार्य प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको सचिवका रूपमा नियुक्त गर्नुभएको थियो ।
वृति विकास
[सम्पादन गर्नुहोस्]चिकित्सक बन्न चाहने खनाल विशेष कारणले गर्दा निजामति सेवामा पो लाग्नुभयो । गृह, परराष्ट्र, सूचना र यातायात मन्त्रालयको सचिव हुनुभयो । उहाँ प्रधानमन्त्रीको सचिवालयको प्रमुख निजी सचिव, पटक पटक राष्ट्रिय योजना आयोगका सदस्य तथा लोकसेवा आयोगका अध्यक्ष समेत हुनुभयो । उहाँले २०१७ देखि २०१९ सालसम्म परराष्ट्र सचिव, २०१९ देखि २०२४ सम्म भारतका लागि राजदूत, २०२४ देखि २०२७ सम्म पुनः परराष्ट्र सचिव, २०३० देखि २०३२ सम्म अमेरिकाका लागि राजदूत, २०३२ देखि २०३५ सम्म लोकसेवा आयोगको अध्यक्ष र २०३५ देखि २०३९ सम्म चीनका लागि राजदूतको हैसियतमा काम गर्नुभएको थियो । उहाँ २०१७ सालमा तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वमा राष्ट्रसंघको महासभामा भाग लिन जानुभएको थियो भने २०४८ सालदेखि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार समेत हुनुहुन्थ्यो।
प्रजातन्त्र आगमन पछिका प्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाका परराष्ट्र मामिला सल्लाहकार रहेका खनालले त्यसपछि भने अवकाश जीवन बिताउँदै आउनुभयो । आधुनिक नेपालको परराष्ट्रनैतिको व्याख्या गर्ने महफ्वपूर्ण व्यक्तिका रूपमा परिचित खनाल चीन, भारत तथा संयुक्त राज्य अमेरिकाका लागि शाही नेपाली राजदूत पदमा रहनुभयो ।
अत्यन्त शालीन व्यक्तित्वका धनी प्रो. खनाल नेपाली, अङ्ग्रेजी र संस्कृतका विद्वान् मानिनुहुन्छ ।
लेखन
[सम्पादन गर्नुहोस्]खनालका 'समालोचनाको सिद्धान्त' (२००३), 'साहित्य चर्चा' (२०३२), 'सूक्ति सञ्चय' (संस्कृत पद्यकृति), 'रिफ्लेकसन अन नेपाल-इन्डिया रिलेसन्स', 'स्ट्रे थट्स', 'नेपाल ट्रान्जिसन फ्रम आइसोलेसनिजम', 'एसेज अफ नेपाल अफेयर्स', 'नेपाल आफ्टर डेमोक्रेटिक रेस्टोरेसन र नेपाल्स नन् आइसोलेसनिस्ट फरेन पोलिसी' आदि कृति प्रकाशित छन् । उहाँले शिशुपालवधको ११ औँ सर्गको अनुवादसमेत गर्नुभएको छ । स्वर्गीय खनाल नेपाली, संस्कृत र अङ्ग्रेजी तीनै भाषाको अध्येता हुनुका साथै उहाँले पूर्वी र पश्चिमी साहित्यको विशेष अध्ययनसमेत थियो। उहाँ चिन्तनशील तथा समन्वयवादी लेखक, कूटनैतिक क्षेत्रका ज्ञाता, सैद्धान्तिक समालोचनाका प्रथम कृतिकार, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, भूपी शेरचनलगायतका बारेमा विश्लेषणात्मक परिचय अङ्ग्रेजी भाषामा गराई अन्तर्राष्ट्रियजगतमा चिनाउने व्यक्तिका रूपमा समेत चिनिनुहुन्छ ।
सम्मान
[सम्पादन गर्नुहोस्]उहाँको कदरस्वरुप राजा बीरेन्द्रबाट रेखाचित्रसमेत निर्माण भएको थियो । खनाललाई त्रिभुवन विश्वविद्यालयले २०५४ साल मंसिर ८मा सम्मानार्थ स्नातकोत्तर महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो भने उहाँले गोरखा दक्षिण वाहु प्रथम (२०१९), त्रिशक्तिपट्ट (२०२१), नेपाल श्रीपद द्वितीय (२०२७), अमेरिकाबाट अनरेरी डाक्टर अफ ल (सन् १९७४), २०३३ सालमा सरदार उपाधि, आदिकवि भानुभक्त पुरस्कार (२०५४ साल) र नेपाली शिक्षा परिषद्बाट एक लाख एक रुपैयाँ राशि (२०५५), वेदनिधि पुरस्कार (२०४४) पनि प्राप्त गर्नुभएको थियो ।
पूर्वीय र पश्चिमी साहित्यको विशेष अध्ययन गरेका खनालले राजा महेन्द्रसँग वाङ्डुङमा सम्पन्न पहिलो ऐतिहासिक अफ्रो-एसियाली सम्मेलनमा पनि भाग लिनुभएको थियो । उक्त सम्मेलनमा युवराजका हैसियतले स्वर्गीय राजा बीरेन्द्रले भाग लिइबक्सेको थियो भने मुख्य सचिवका रूपमा शोभागजंग थापा र परराष्ट्र सचिवका रूपमा खनालले भाग लिनुभएको थियो। सन् २००५मा उक्त सम्मेलनको ५० औँ वर्षगाँठ पुग्ने हुँदा त्यति बेला सम्मान गर्ने कार्यक्रम कतिपयले तय गरिसकेको भए पनि सहभागी तीन जना मध्ये खनालको समेत निधन भयो । थापाको भने २०६० माघ १८ मा नै निधन भएको थियो ।
उहाँ हार्वर्ड विश्वविद्यालयमा २०२७ सालमा एक वर्ष फेलो पनि हुनुभएको थियो । उहाँका बारेमा डा. जयराज आचार्य 'यदुनाथ खनाल - जीवनी र विचार' शीर्षक कृति केही वर्षअघि साझाबाट प्रकाशित भइसकेको छ ।
व्यक्तिगत पारिवारिक जीवन
[सम्पादन गर्नुहोस्]सन् १९२६ मा १३ वर्षे यदुनाथको कमलासँग विवाह भयो । श्रीमती कमलाको २०४७ साल माघ १२ गते निधन भयो । यदुनाथ केही दिन अघिसम्म पनि साहित्यिक लेखनमा सक्रिय हुनुहुन्थ्यो ।
मृत्यु
[सम्पादन गर्नुहोस्]खनालको २०६१ असोज १६ गते बिहान ३.३४ बजे आफ्नै निवासस्थान पुरानो बानेश्वरमा निधन भयो । बिहान तीन बजे उठेर नित्यकर्म सकी पुनः सुत्न लागेका खनालको छातीमा अचानक सामान्य पीडा उत्पन्न भएपछि छोरा बुहारीले सोधपुछ गर्दागर्दै उहाँको तत्काल निधन भएको थियो । उहाँले असोज १५ मा मात्रै छातीसम्बन्धी समस्याका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । स्वर्गीय खनाल ९२ वर्षका हुनुहुन्थ्यो । उहाँको असोज १६ मै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न भयो । छोरा प्रा. उदयराज खनालले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो । उहाँले आफ्नो अन्त्येष्टि धेरै सजधज र हल्लीखल्ली गरेर नगर्नु भन्नुभएकाले त्यसैअनुरुप अन्त्येष्टि गरिएको थियो । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।