हृदयचन्द्रसिंह प्रधान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हृदयचन्द्रसिंह प्रधान
जन्मचन्द्रप्रसाद प्रधान
(१९१६-०१-२६)जनवरी २६, १९१६
मरुहिटी, काठमाडौं
मृत्युजनवरी २४, १९६०(१९६०-०१-२४) (४३ वर्ष)
मृत्युको कारणक्षयरोग
वासस्थानताहाचल, काठमाडौं महानगरपालिका, नेपाल
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
पेशालेखन, सरकारी सेवा
चिनारीको कारणनिबन्ध, समालोचना, उपन्यास
प्रशिद्ध कार्यजुँगा-२००९, कुरा साँचो हो-२०११, तीस रुपैयाँको नोट-२००४, अफसोस-२०२१, भू-स्वर्ग निबन्ध संङ्ग्रह-२००३, एक चिहान-२०१७, हृदयचन्द्रका कथाहरु-२००५, गङ्गालालको चिता-२०११ इत्यादि
गृहनगरकाठमाडौं
जिवनसाथीरुक्मिणादेवी
सन्तानचार छोरी एक छोरा
मातापितासूर्यप्रसाद प्रधान (बुबा), सूर्यमाया (आमा)
पुरस्कार२००५ मा नेपाल साहित्य परिषद्द्वारा साहित्य सम्मेलनमा पुरस्कृत

हृदयचन्द्रसिंह प्रधान (अङ्ग्रेजी: Hridaya Chandra Singh Pradhan) (वि.सं. १९७२ - वि.सं. २०१६) नेपाली साहित्यका उपन्यास, नाटक, निबन्ध, समालोचना, कथा, व्याकरणजस्ता वाङ्मयका विविध क्षेत्रमा कलम चलाउने बहुमुखी व्यक्तित्व हुन् ।[१] उनको जन्म वि.सं. १९७२ माघ १२ गते तदनुसार सन् १९१६ जनवरी २६ मा भएको हो ।[२]

जीवनी[सम्पादन गर्ने]

बाल्यकाल[सम्पादन गर्ने]

बहुमुखी प्रतिभाका धनी प्रगतिवादी साहित्यकार हृदयचन्द्रसिंह प्रधानको जन्म आमा सूर्यमाया र बुबा सूर्यप्रसादको कोखबाट काठमाडौंको ढोकाटोल मरुहिटीमा भएको थियो । उनको न्वारनको नाम चन्द्रप्रकाश प्रधान थियो । उनको घरको आर्थिक अवस्था कमजोर कमजोर थियो भने मावलीघर सम्पन्न थियो । जन्मेको दुइ वर्षपछि एघार उमेरसम्म उनको पालनपोषण मामाघर नरदेवीमा भएको थियो । मावलीमा उनको समय गुच्चा, तास र पैयाँ खेलेर बिन्थयो । पाँच वर्षको हुँदा यिनी दमको रोगी भए । बाल्यावस्थामा यिनी रोगी र गरिबीका कारणले पढ्नबाट वञ्चित भए । उनका बुबाको जागिर बाँके जिल्लाको रानीगञ्जमा थियो । यसैले उनी १२ वर्षको उमेरदेखि आफ्ना आमाबासँगै बस्न रानीगञ्ज गएका थिए । [३]

शिक्षा[सम्पादन गर्ने]

प्रधानले स्कूल वा कलेजमा पढ्ने अवसर पाएनन् तापनि १८ वर्षको उमेरमा अक्षर चिन्न थाले । लगनशील भइ स्वअध्ययन गर्न थाले र साहित्य पनि लेख्न थाले । साहित्यकार बन्ने धुनमा त्यति बेलाका चर्चित कवि लेखनाथ पौड्याललाई कविता लेख्न सिकाइदिन अनुरोध गरे तर लेखनाथले नपढेको मान्छे, शुद्ध बोल्न पनि नसक्ने नेवारको छोरो भएकाले कविता लेख्न सम्भव छैन भनी फर्काएको तीतो अनुभव गरेका हृदयचन्द्रसिंले कडा मेहनतका साथ अध्ययन र लेखन गर्न लागिपरे ।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

वि.सं. १९९४ सालमा उनको विवाह रुक्मिणादेवीसँग भएको थियो र उनीहरुको कोखबाट चार छोरी र एक छोराको जन्म भएको थियो ।[३]

कार्य जीवन[सम्पादन गर्ने]

आफ्नो जीवनवृत्तिका लागि २३ वर्षको उमेरदेखि यिनले नोकरी गर्न थाले । त्यही क्रममा दरबार हाइस्कुलमा समेत अध्यापन गरे र नेपाली भाषानुवाद परिषदमा ग्रन्थकारको पदमा नियुक्ति भइ कार्य पनि गरे । उनले नौसिन्दा, राइटर, मुखियाजस्ता पदमा सरकारी जागिर खाए ।[३]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

स्वअध्ययनकै क्रममा घरमै उनले साहित्यका गहन पुस्तक पढे र उनी एक सफल लेखक, सम्पादक र समालोचक समेत बने । नेपाली मात्रै नभइ नेवारी र हिन्दी भाषामा पनि उनको कलम उत्तिकै राम्ररी चलाउथे । तीन वटै भाषामा उनले किताबहरु लेख्ने गर्दथे साथै नेपाली र नेवारी भाषाको व्याकरणसमेत लेखे । हृदयचन्द्रसिंलाई आफ्नो न्वारानको नाम धेरै जनासँग मिलेकोले गर्दा त्यति मन परेको थिएन । आफ्नो पहिलो रचना ‘भातृस्नेह’ नामको निबन्ध वि.सं. १९९९ मा शारादामा छपाउँदा हृदयचन्द्रसिंह प्रधानको नामबाट छपाए । त्यही हृदयचन्द्रसिंह प्रधान नाम नै नेपाली साहित्याकाशमा अहिले पनि चम्किरहेको छ ।[३]

हृदयचन्द्रसिंह प्रधानको प्रमुख लेखन विषय निबन्ध हो । नेपाली आधुनिक निबन्धकारमा देवकोटापछि आउने नाउँ हो- हृदयचन्द्रसिंह प्रधान । प्रधानले आफ्ना निबन्धहरूमा नेपालको परिवेश लेखे, आफ्नो समाजको स्थिति लेखे र आफ्नो जिन्दगानी पनि लेखे । उनले प्रगतिशीलताको फेटा गुथेर निबन्धहरूको निर्माण गरे । सामन्ती प्रथालाई निचोरेर उनले जनजनका क्रन्दनका बेहोरालाई आफ्ना कृतिहरूमा अङ्कित गराए ।[२]

लेखनशैली[सम्पादन गर्ने]

प्रधानले आफ्नो कृतित्वलाई निष्पक्ष, निडर र प्रस्ट रूपमा जनसमक्ष राख्ने गर्दथे । उनका निबन्ध अत्यन्नै मर्मान्तकारी हुन्थे । निबन्धहरुमा उनले प्रायः आफ्नै जीवनकहानी प्रस्तुत गरेका हुन्थे । त्यसैले उनका निबन्ध तथा लेखमा वेदना, कष्ट, र दुःखको त्रिवेणी पाइन्छ ।[२]

उनका साहित्यको उपन्यास विधामा ‘स्वास्नीमान्छे’ (२०११) र ‘एक चिहान’ (२०१७) गरी दुई मात्र कृति प्रकाशित छन् । यी उपन्यासका माध्यमबाट प्रधानले लेखनकालीन नेपाली समाजका नारीहरूले भोग्नु परेका पुरुषका यातना, किसानहरूमाथिको आर्थिक शोषण, सामाजिक अन्ध विश्वास र त्यस प्रकारका विकृतिहरूबाट मुक्तिको मार्ग निर्देश गरेका छन् । प्रधानका उपन्यासले सामाजिक विकृतिका विभिन्न पक्षलाई केलाएका भएपनि प्रस्तुत लेखमा उनका उपन्यासका विषयमाथि सामान्य प्रकाश पार्दै नारी समस्याको चित्रण र तत्सम्बन्धी मुक्तिको सन्देशको पक्षलाई मात्र केलाउने प्रयत्न गरिएको छ ।[१]

मृत्यु[सम्पादन गर्ने]

करिब दुई दर्जनजति पुस्तकहरू नेपाली माटोमा समर्पण गरेका प्रगतिवादी सिद्धान्तअन्तर्गत लेख्ने एक धुरन्धर लेखक क्षयरोगका कारण २०१६ साल माघ १० गते दिवङ्गत भए ।[२]

कृतिहरू[सम्पादन गर्ने]

प्रधानको साहित्यिक व्यक्तित्व कथा, कविता, उपन्यास, निबन्ध, नाटक र समालोचना एवं व्याकरण लेखनसम्म पनि विस्तारित भएको पाइन्छ । उनका पुस्तकाकार कृतिहरू यस प्रकार छनः [४]

निबन्ध[सम्पादन गर्ने]

  • भूस्वर्ग (२००३)
  • तीस रुपियाँको नोट (२००४)
  • जुँगा (२००९)
  • कुरा साँचो हो (२०११),
  • अफसोच (२०१४),

नाटक[सम्पादन गर्ने]

  • केही नेपाली (२००२)
  • छेउ लागेर (२००६)
  • गङ्गालालको चिता (२०११),
  • उनी देवता हुन् (२०१५),

उपन्यास[सम्पादन गर्ने]

  • स्वास्नी मान्छे (२०११)
  • एक चिहान (२०१७)

समालोचना[सम्पादन गर्ने]

  • साहित्य एक दृष्टिकोण (२००४)
  • भानुभक्त एक समीक्षा (२०१३)
  • नेपाली काव्य र उसका प्रतिनिधि कवि (२०२१)

समालोचकीय विशेषता[सम्पादन गर्ने]

  • प्रभाववादी परम्पराबाट प्रभावित समालाेचक,
  • नेपाली समाज र वर्ग अनुकूल चिन्तन गरी साैन्दर्यपरक समालाेचना गर्ने समालाेचक,
  • नेपाली समालाेचनामा वर्गीय चिन्तन भित्र्याउने समालाेचक,
  • कला र चिन्तनकाे समीकरण गर्ने समालाेचक,
  • सामाजिक परिवर्तनका सम्बाहक ।

पुरस्कार, सम्मान तथा अलङ्कार[सम्पादन गर्ने]

२००४ सालमा सम्पन्न प्रतियोगितात्मक साहित्यसम्मेलनमा पनि उनले 'जुँगा' भन्ने निबन्ध प्रस्तुत गरेका थिए । परिणामस्वरूप उनी त्यस सम्मेलनमा प्रथम घोषित भई पुरस्कृत भए ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ उपाध्याय, यदुनन्दन (आईतबार, २३ भाद्र, २०७०), "हृदयचन्द्रसिंह प्रधानका उपन्यासमा नारी मुक्तिको बाटो", samakalinsahitya.com, समकालिन साहित्य, अन्तिम पहुँच २०१९-३-३१ 
  2. २.० २.१ २.२ २.३ २.४ प्रसाई, नरेन्द्र, "हृदयचन्द्रसिंह प्रधान", nai.com.np, नई प्रकाशन, अन्तिम पहुँच २०१९-३१ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ आचार्य, विजयराज (२०६७), "हृदयचन्द्रसिंह प्रधानः बहुप्रतिभाशाली साहित्यकार", in विनय कसजू, अग्ज स्रष्टाहरु, विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौं, पृ: १४–१९, आइएसबिएन 9789937523905 
  4. सुवेदी, राजेन्द्र (२०६१), नेपाली समालोचना परम्परा र प्रवृत्ति पृष्ठ २३२, वाराणसी - भूमिका प्रकाशन

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]