महेन्द्र वीर विक्रम शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
महेन्द्र वीर विक्रम शाह
नेपालका राजा
Mahendra Bir Bikram Shah.jpg
राजा महेन्द्र
शासनकाल १३ मार्च १९५५ – ३१ जनवरी १९७२
राज्याभिषेक ३ मे १९५६[१]
पुर्वाधिकारी राजा त्रिभुवन
उत्तराधिकारी राजा वीरेन्द्र
जीवनसाथी इन्द्र राज्यलक्ष्मी देवी शाह
(वि. १९४०–१९५०, मृत्यू)
रत्न राज्यलक्ष्मी देवी शाह (m. 1952–1972, his death)
सन्तान शान्ति शाही
शारदा शाह
वीरेन्द्र वीर विक्रम शाह
ज्ञानेन्द्र शाह
शोभा शाही
धिरेन्द्र शाह
पुरा नाम
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेव
वंश शाह वंश
वंश नारायणहिटी दरवार
पिता त्रिभुवन वीर विक्रम शाह‎
आमा कान्ति राज्यलक्ष्मी देवी शाह
जन्म (१९२०-०६-११)११ जुन १९२०
नारायणहिटी दरवार,[१]काठमाडौं, नेपाल
मृत्यु ३१ जनवरी १९७२(१९७२-०१-३१) (५१ वर्ष)
दियालो बंगला, भरतपुर, नेपाल
धर्म हिन्दु

महेन्द्र वीर विक्रम शाह नेपालका नवौं शाहवंशीय राजा हुन्। राजा महेन्द्रले २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरे। २०२२ सालमा नवलपरासी जिल्लाको गैडकोटमा महेन्द्र राजमार्गको उदघाटन गरेका थिए।

महेन्द्र उच्च कोटीको राजनीतिक र कुटनीतिक चातुर्यता भएका दूरदर्शी राजा थिए । आजको विन्दूबाट इतिहासलाई फर्केर हेर्दा उनले चालेका प्रत्येक कदम दुरदर्शी एवम् राष्ट्रिय भावनाबाट प्रेरित रहेको अनुभव गर्छौ ।

अर्थतन्त्रको कायापलट[सम्पादन गर्ने]

महेन्द्र आउनु अगाडि नेपालमा राज्यका न्यूनतम पूर्वधारहरु समेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो । २००७ सालदेखि २०११ सम्मको बीचमा भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनलेे नेपाललाई स्वाबिलिम्ब अर्थतन्त्र उन्मुख गराए ।

राजा हुनासाथ महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरुको निर्माणमा आफ्नो सारा ध्यान केन्द्रित गरेका थिए । उनले नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे । विदेशी राष्ट्रहरुको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम गरे । स्वदेशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना भएका हुन् ।

महेन्द्रले स्थापना गरेका यी यावत् उद्योग धन्दाहरुलाई भारतीय चालवाजीमा ०४६ सालपछि बनेको नेपाली कांग्रेसको सरकारले सखाब बनाइदिएको छ ।

पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।  महेन्द्रको चतुरता कति थियो भने उनले सुरुमा यो राजमार्गका निर्माणका लागि भारतलाई अनुरोध गरेका थिए ।

तर, भारतले नमानेपछि रुसको सहयोग लिएका हुन् । ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकषिर्त भएको थियो । ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौडा नारायणघाट खण्ड एशियाली विकास बैंक, नारायणघाट-बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतले बनाइदिएको थियो ।

अहिले हामीले चर्चा गरिहेको व्यापार विविधीकरणको सोच महेन्द्रले उतिबेलै व्यवहारमा अपनाएका थिए । कोदारी अरनिको राजमार्गको निर्माण यसको ज्वलन्त उदाहरण हो । यही कोदारी राजमार्ग अहिले हाम्रा लागि एउटा आशाको त्यान्द्रो बनिरहेको छ । चीनले कोदारी राजमार्ग निर्माण गर्ने भनेपछि भारत तीव्ररुपमा आक्रोशित बनेको थियो । चीनले नेपालमा प्रभुत्व सिर्जना गर्न खोजेको भनेर उसले हौवा पिटे पनि उनी डग्मगाएनन् । राजमार्ग निर्माण सम्पन्न गरेरै छाडे । यसरी राजा महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरुपमा वैदेशिक सहयोग हासिल गर्न सफल भए ।

राष्ट्रियताको सम्वर्द्धन[सम्पादन गर्ने]

राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्रको भूमिका अविस्मरणीय रहेको छ । जतिबेला हिन्दी भाषाको नेपालमा अत्यधिक दबदबा थियो, उनले नेपाली भाषालाई राष्ट्रभाषाका रुपमा स्थापित गरेर यसलाई देशव्यापी बनाए । उनले त्यतिबेला लागू गरेको एउटै भाषा एउटै भेषको नीति कति दूरदर्शी थियो भन्ने आज आएर सान्दर्भिक भएको छ । अहिले नेपाललाई जातको आधारमा, भाषाको आधारमा विभाजन गर्ने दुस्प्रयासहरु भइरहेका छन् । जबकि उनले भाषा र भेषभुषाकै आधारमा समेत देशलाई एक सूत्रमा बाँध्ने काम गरे ।

नेपाल राष्ट्र बैेंकको स्थापना गरेर राजा महेन्द्रले नेपाली मुद्रालाई अधिराज्यभरि अनिवार्य गरिदिए । जबकि त्यतिबेला नेपालमा ९० प्रतिशत भारतीय मुद्राको चलनचल्ती थियो । ०१७ साल अगाडि नेपालको भूमि खरिद-विक्री गर्न भारतीयहरु स्वतन्त्र थिए । महेन्द्रले कुनै पनि विदेशीलाई नेपालको भूमि खरिद गर्न रोक लगाइदिए ।

अन्तर्राष्ट्रिय जगतमा नेपाललाई स्थापित गराउन महेन्द्रले खेलेको भूमिकालाई पनि स्मरण नगरिरहन सकिन्न । संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउनेदेखि लिएर नेपाललाई शान्तिक्षेत्रका रुपमा स्थापित गराउने सोच उनैको हो । पञ्चशीलको सिद्धान्तलाई अंगीकार गर्दै उनले छिमेकी देशहरुसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखे ।

कूटनीतिक सरसफाइ अभियान[सम्पादन गर्ने]

राजा त्रिभुवनको सरल स्वभावबाट फाइदा उठाएर राणा शासनपछिको चार वर्षे प्रजातान्त्रिक कालखण्डमा भारतले गर्नु–नगर्नु ग¥यो। गृह, परराष्ट्र, रक्षा, अर्थ, लोकसेवा आयोग, राजदरबार र सिंहदरबारबारे रायसल्लाह दिने विज्ञको भेषमा गोविन्दनारायण सिंहलाई नेपाल पठाइयो। उनलाई प्रधानमन्त्रीलाई जस्तै पूर्ण अधिकार प्रदान गरिएको कुरा २००८ कात्तिक ७ गते प्रकाशित राजपत्रमा अध्ययन गर्दा बुझ्न सकिन्छ।

भारतीय वा कुनै पनि विदेशीलाई नेपालमा ढलीमली गर्न दिनै हुँदैन भनेर तत्कालीन युवराजाधिराज महेन्द्र दृढ थिए। पिताको स्वर्गवास भएपछि उनी राजा भए। त्यसपछि सुरु गरे उनले कूटनीतिक सरसफाइ अभियान। गोविन्दनारायणलाई तुरुन्त लखेटे। कैयन् भारतीय गुप्तचरलाई लखेटे। तराईमा भारतीयले थिचोमिचो नगरून् भनेर झापादेखि कञ्चनपुरसम्म ठाउँठाउँमा नेपालीहरूको बस्ती बसाए। हतियार चलाउन जानेका भूपू सैनिकदेखि लिएर बर्माबाट लखेटिएका नेपालीहरूलाई जमिन दिएर राखे। आफ्नै देशको एक कुनाबाट अर्को कुनामा पुग्न भारतको भूभागबाट आवतजावत गर्नुपथ्र्यो। नेपालको तराईमा मेची–महाकाली जोड्ने बाटो थिएन। २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरे।

भारतीय रुपियाँ नेपाली नोट सरह चलिरहेकामा उनले त्यो बन्द गराए। भारतीय पाठ्यपुस्तक हटाइदिए। पचहत्तरै जिल्लामा नेपाली भाषा, साहित्य, संस्कृति, संगीत र कला फैलिदै गयो तर स्थानीय परम्परा, धर्म–संस्कृति, रहनसहन, पर्व तथा भाषाहरू बचाउन उनले प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघरलगायतका संस्थाहरूलाई सक्रिय गराए। डडेलधुरा निवासी पुराना पत्रकार पदम ठकुराठी (हाल काठमाडौँ) सम्झिन्छन्, “केटाकेटी छँदा मैले पनि हमारा राष्ट्रपतिका नाम राजेन्द्रप्रसाद है” भन्ने पढेको हुँ, गाउँको स्कुलमा। राजा महेन्द्रले राष्ट्रवादी आन्दोलन र जागरण नै ल्याए। त्यसैले उनी पृथ्वीनारायण शाहपछिका सबैभन्दा स्वाभिमानी र राष्ट्रवादी राष्ट्रनायक हुन्। नेपाललाई कसैले केही कुरामा हेप्न नसकून् भनेर उनले सयौँ काम गरेर उदाहरण देखाए।”

नेपाल स्वाधीन राष्ट्र हो भन्ने कुरा संसारलाई बुझाउन राजा महेन्द्रले २०१२ सालमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्य बनाए। २०१३ सालमा राष्ट्रिय योजना आयोग बनाए। २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र शाही नेपाल वायुसेवा निगम स्थापना गरे। कर्मचारीको वृत्ति विकास गर्न नेपाल निजामती ऐन ल्याए। प्रहरी ऐन बन्यो। सेनाको मनोबल उठाइयो। राष्ट्रवादको लहर आयो। जातिभेद उन्मूलन गर्न छुवाछूत विरोधी ऐन ल्याइयो। किसानलाई मोहियानी हक दिलाइयो। धर्म–संस्कृति र परम्पराको रक्षा गर्ने अभियान नै चलाइयो। ५३ देशसँग राजा महेन्द्रले कूटनीतिक सम्बन्ध स्थापना गरे। युरोप, अमेरिका, अफ्रिका र एसियाका धेरै राष्ट्रको भ्रमण गरेर एउटै सन्देश दिए, “चीन र भारतका बीचमा हामी छौँ, तर कतै ढल्केका छैनौँ, असंलग्न बसेका छौँ र असंलग्न रहन्छौँ, आफ्नो निर्णय आफँै गर्छाैं ।” यी सबै कुरा भारतलाई मन परेन। त्यसैले राजा महेन्द्रमाथि चौतर्फी रूपमा वैचारिक हमला गराइयो।

राजा महेन्द्रले धेरै विश्वास गरेका प्रधानमन्त्री टंकप्रसाद आचार्यले चीन र जापानको भ्रमण गरेर मैत्री सम्बन्ध स्थापना गरे।

सामाजिक सुधार[सम्पादन गर्ने]

सामाजिक सुधारका क्षेत्रमा पनि राजा महेन्द्रले प्रशस्तै योगदान दिएका छन् । ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।

त्रिभूवन विश्वविद्यालयको आधुनिकीकरण गर्दै उच्च शिक्षा नेपालमै हासिल गर्ने अवस्था सिर्जना गरे भने पाठ्यक्रमबाट भारतीय पुस्तकहरु विस्थापित गरिदिए ।

भारतीय सेना फिर्ता[सम्पादन गर्ने]

महेन्द्रले भारतविरुद्ध चालेको सबैभन्दा साहसिक कदमका रुपमा लिन्छु, ०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरु हटाउने कार्य । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा भारतभक्तका रुपमा खुल्दै गएपछि उनले ०२६ सालमा थापालाई अपदस्थ गरेर कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाएका थिए । भारतीय चेकपोष्ट हटाउने विषयमा उनी आफैं संलग्न नभईकन कीर्तिनिधिलाई अघि सारे । कीर्तिनिधिले सुरुमा भारतलाई आफ्नो चेकपोस्ट फिर्ता लैजान अनुरोध गर्दै लिखित पत्र पठाए ।

नेपाल एउटा स्वाधीन राष्ट्र भएकाले विदेशी सैनिकको उपस्थिति हाम्रो र हाम्रा छिमेकीको हित अनुकलमा छैन भन्दै उनले पत्र लेखे । तर, भारतले कुनै सुनवाइ गरेन । त्यसपछि कीर्तिनिधिले भाषण गरे कि १९५० को सन्धीको कुनै वैधानिकता छैन भनेर । नेपालले आफैं ती चेकपोष्टहरु हटाउने तयारी गरेपछि तत्कालीन भारतीय परराष्ट्रमन्त्री विनयसिंह नेपाल आए । उनले सरकारलाई प्रष्ट शब्दमा भने कि यसको नतिजा राम्रो हुने छैन ।

तर, सरकार आफ्नो अडानबाट पछि नहटेपछि यो विषय अन्तर्राष्ट्रियकरण हुने डरले भारतले ती चेकपोष्टहरु फिर्ता लग्यो । नेपाल सरकारले भारतलाई झुकाएको दुर्लभ घटनाका रुपमा यसलाई लिन सकिन्छ । अहिलेको जस्तो परिस्थिति हुँदो हो त यो कल्पनाभन्दा टाढाको कुरा हुन जान्थ्यो । कोशी ब्यारेज भत्किएपछि ०६५ सालमा भारत हुँदै चल्ने सवारी साधनलाई रुट परमिट दिनका लागि लागि भनेर बिराटनगरमा अस्थायीरुपमा खडा गरिएको कन्सुलर कार्यालयसम्म नेपालको सरकारले अझै हटाउन सकेको छैन । जबकि उक्त कार्यालय खोल्नुको प्रयोजन उतिबेलै समाप्त भइसकेको हो ।

चेकपोष्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि ०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो । तर, त्यो बेलाको नाकाबन्दीले नेपालाई अहिलेजसरी हल्लाउन सकेन । पेट्रोलियम बाहेकमा भारतीय निर्भरता खासै थिएन । पेट्रोलियमको खपत पनि अहिलेको जस्तो व्यापक थिएन । त्यसैले भारतीय नाकाबन्दीले ठूलो असर सिर्जना गर्न नसकेपछि भारत पछि हट्न बाध्य बन्यो ।

राजा महेन्द्रले चालेका प्रत्येक कदमहरु एकपछि अर्को गर्दै भारतलाई धक्का दिने खालका थिए । उनले नेपालमा भारतीय प्रभावलाई पहिलेको तुलनामा ४० प्रतिशतभन्दा तल झारेका थिए । जसको फलस्वरुप भारतले उनलाई नरुचाउनु स्वभाविक नै हो ।

खलनायक[सम्पादन गर्ने]

महेन्द्रलाई खलनायकको रुपमा नेपाली जनमानसमा स्थापित गराउन भारतले खतरनाक पब्लिसिटी गर्दै आएको छ । महेन्द्रविरुद्ध उसले प्रयोग गरेको सबैभन्दा ठूलो गोटी नै नेपाली कांग्रेस र यसका नेताहरु हुन् । वीपी कोइराला असल राजनीतिज्ञ हुँदाहुँदै पनि भारतपरस्त थिए । उनले एकपटक होइन, दुईपटक बोलेका छन्, नेपाल भारतको अभिन्न अंग हो भनेर । पछि अलिकति सच्याएर उनले भने, नेपाल भारतमा आश्रति स्वतन्त्र मुलुक हो ।

०१७ सालको कदम[सम्पादन गर्ने]

महेन्द्रले ०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरुमाथि प्रतिवन्ध लगाएर एकतन्त्रीय शासन चलाए । यही आधारमा उनलाई प्रजातन्त्रविरोधी, निरंकुश, तानाशाह जस्ता आरोपहरुले सिंगार्ने गरिएको छ ।

महेन्द्र एक महत्वाकांक्षी राजा थिए । आफैंले प्रत्यक्ष शासन चालाउने मोह उनमा थियो नै । ०१७ सालको ‘कु’मा यसबाहेकका कारणहरुसमेत छन् । मूल कारण भनेको नेपाललाई भारतीय हस्तक्षेप र प्रभावबाट जोगाउनु थियो ।

वीपी कोइराला आधारभूत रुपमा भारत परस्त नै हुन् । कांग्रेस पार्टी नै भारतले जन्माएको र हुर्काएको पार्टी हो । त्यसैले अहिले हेर्दा त्यो कांग्रेस र विपी कोइरालालाई प्रयोग गरेर भारतले नेपालमा आफ्नो स्वार्थसिद्द गर्नबाट जोगाउन महेन्द्रले उठाएको वाध्यकारी कदम थियो भन्ने मलाई लाग्छ । महेन्द्रका हरेक काम व्यवस्थित, योजनावद्ध र दुरदर्शिताले भरिएका हुन्थे । उनले पूरा तयारीका साथ गरेका थिए । त्यसैको प्रतिफल हो कि उनले देशमा पञ्चायती शासन लागू गरेर जीवनपर्यन्त अकन्टक शासन चलाए ।

जनकपुर बम काण्ड[सम्पादन गर्ने]

२०१८ साल माघ ९ गते राजा महेन्द्र पूर्वी भ्रमण पुरा गरी जानकी मन्दिरको दर्शनमा गए । दर्शन गरी रङ्गभूमितर्फ फर्किरहेको अवस्थामा दुर्गानन्द झाको नेतृत्त्वमा अरविन्दकुमार ठाकुरलगायत पञ्चायत विरोधी युवाहरूले उनी सवार गाडीमा बम प्रहार गरे । दुर्गानन्द झा, अरविन्दकुमार ठाकुर र दलसिंह थापालाई मृत्युदण्डको घोषणा गरियो । २०२० माघ २५ गते दुर्गानन्द झालाई फाँसी दिइयो भने बाँकी दुई जनालाई जन्मकैदको घोषणा गरियो ।

राजा महेन्द्र एवम् रानी रत्न सन् १९५७ मा

स्रोत[सम्पादन गर्ने]

https://www.onlinekhabar.com/2015/12/363243

पूर्वाधिकारी
त्रिभुवन वीर विक्रम शाह
नेपालको राजा
सन् १९५५ -- १९७२
उत्तराधिकारी 
बीरेन्द्र वीर विक्रम शाह