सुवर्ण शमशेर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुवर्णसम्शेर राणा
Subarna samser Rana.jpg
२१ औं प्रधानमन्त्री (नेपाल)
कार्यकाल
२०१४ – २०१६
शासक राजा महेन्द्र
अग्रज कुँवर इन्द्रजित सिंह
उतराधिकारी विश्वेश्वर प्रसाद कोइराला
व्यक्तिगत विवरण
जन्म 1967
ललिता निवास
मृत्यु 2034 kartik 24
कलकत्ता
राजनीतिक पार्टी नेपाली कांग्रेस

सुवर्ण सम्शेर राणा नेपालका एक बरिष्ठ राजनीतिज्ञ हुन्। यिनी २०१५ सालमा १ वर्ष नेपालको प्रधानमन्त्री बनेका थिए। राणा परिवारमा जन्मेका यिनी राणा शासन विरूद्धको आन्दोलनमा व्यापक रूपमा लागेका थिए। यिनी नेपाली कांग्रेसको कोषाध्यक्ष र पछि पञ्चायतकालमा बी. पी. जेलमा हुँदा कार्यवाहक सभापति बनेका थिए। यिनी नेपालका विद्वान राजनीतिज्ञ कहलाउँछन्।

२३ वर्षको उमेरमा स्नातकोत्तर गरेका सुवर्ण शमशेर राणा परिवारका प्रथम स्नातकोत्तर थिए । केही समय राजा महेन्द्रलाई राजदरबारभित्र गई पढाउने काम गरेका सुवर्णको स्वभाव अन्य राणाको भन्दा नितान्त फरक थियो ।

नेपाली कांग्रेस[सम्पादन गर्ने]

२००४ चैत ३१ गते श्री ३ मोहन शमशेरले नेपाली राष्ट्रिय कांग्रेसलाई अवैध घोषणा गरेपछि नेपालजस्तो मुलुकमा राणाशासन फाल्ने सशस्त्र संघर्षमात्रै उपयुक्त औजार हो भन्ने तर्कमा २००६ सालसम्म वीपी पनि सहमत भए । २००६ चैत २७ गतेदेखि कलकतामा दुवै दलको संयुक्त अधिवेशन बोलाइयो । दुवै पार्टीले 'राष्ट्रिय' र 'प्रजातन्त्र' शब्द झिक्ने सहमतिपश्चात पार्टी एकीकरण भयो । र एकीकृत पार्टीको नाम नेपाली कांग्रेस बनेपछि सुवर्ण कोषाध्यक्ष बने ।

राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि बीपीसहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन कलकत्ता गएकाले जोगिएका थिए । महेन्द्रले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान संकेत गरेका थिए ![१]

२००७ सालको क्रान्ति[सम्पादन गर्ने]

एकीकरणपश्चात सुवर्णका भान्जा थिरबम मल्लको नेतृत्वमा पूर्णसिंह खवास, डीबी राई, दिलमान सिंह लगायतका सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता गठन गरियो । उनीहरूलाई भारतका विभिन्न स्थानमा फौजी तालिम दिन थालियो र हतियार संकलन द्रुतगतिमा सुरु भयो । सशस्त्र क्रान्तिको सम्पूर्ण जिम्मा सुवर्ण शमशेरलाई दिइयो । अनि कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । सशस्त्र क्रान्तिलाई विधिवत रूपमा अनुमोदन गर्न २००७ असोज १० र ११ भारतको बैरगनियाँमा कांग्रेसले विशेष सम्मेलन बोलायो । सम्मेलनपश्चात एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न वीपीगणेशमान भएको स्थानमा उनी पुगे । कुराकानीकै क्रममा सुवर्णले 'क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ' भन्ने प्रश्न राख्दा वीपीले 'त्यही २५/३० लाख' भने । जवाफमा सुवर्णले 'त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड दिन्छु' भने ।

२००७ कात्तिक २५ र २६ को राति शून्य समयमा मुक्ति सेनाले वीरगन्ज आक्रमण गरेर सशस्त्र संघर्षको सुरुवात गर्‍यो र तेजबहादुर अमात्यलाई त्यहाँको प्रमुख बनायो । सशस्त्र संघर्षको पहिलो आक्रमणमा नै थिरबम मल्ल मारिए । छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो ।

संयुक्त सरकार[सम्पादन गर्ने]

२००७ फागुन ७ गते प्रजातन्त्रको घोषणासँगै गठन भएको संयुक्त सरकारमा क्रान्तिनायक सुवर्ण शमशेर अर्थमन्त्री बने । २००८ माघ १९ गते अर्थमन्त्रीको हैसियतले सुवर्ण शमशेरले नै पहिलोपटक बजेट प्रस्तुत गरे ।

बजेट[सम्पादन गर्ने]

नेपालको बजेट इतिहासमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेर राणा हुन् । १ सय ४ वर्षे राणा शासनको अन्त्य भएपछि गठन भएको सरकारका अर्थमन्त्री सुवर्णशमसेरले २००८ सालका लागि बजेट ल्याएका थिए । राणा शासनकालमा र मुलुकको आम्दानी–खर्च विषय जनतालाई थाहा हुँदैन थियो ।

प्रजातन्त्रको स्थापनापछि पहिलोपटक मुलुकको आम्दानी के कति हुन्छ, केमा खर्च हुन्छ यसको सार्वजनिक गरिएको थियो । २००८ मा सरकारको सामान्य आम्दानी ३ करोड ५ लाख सोह्र हजार अनुमान गरिएको थियो । खर्च भने ५ करोड ६९ लाख १५ हजार हुने अनुमान गरिएको थियो । जनताको जीवनस्तर उठाउनु र जनताको सांस्कृतिक तथा सामाजिक जीवन उकास्नु बजेटको उद्देश्य थियो । सरकारले मिश्रित आर्थिक प्रणाली अपनाउने नीति लिएको थियो । निजी उद्योग र व्यापारलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले तय गरेको थियो [२]

कांग्रेस सभापति[सम्पादन गर्ने]

२०१२ माघमा वीरगन्जमा सम्पन्न् महाधिवेशनले गणेशमान सिंहलाई पराजित गर्दै सुवर्ण शमशेरलाई सभापतिमा निर्वाचित गर्‍यो । यो महाधिवेशनले कांग्रेसको इतिहासमै अति महत्त्व राख्ने समाजवादी सिद्धान्तलाई अनुमोदन गर्‍यो । त्यसपछि कांग्रेस समाजवादी पार्टी बन्यो । समाजवादी नीतिको प्रस्ताव सुवर्ण शमशेरले नै गरेका थिए ।

भद्र अवज्ञा आन्दोलन[सम्पादन गर्ने]

संविधानसभा लगायतको माग गर्दै २०१४ मङ्सिर २२ देखि भद्र अवज्ञा आन्दोलन प्रारम्भ गर्‍यो । ठूलो दबाबपछि २०१५ जेठ २ गते सुवर्ण शमशेरको अध्यक्षतामा सर्वदलीय चुनावी मन्त्रिपरिषदको गठन भयो । २०१५ भदौ ३ गते मन्त्रिपरिषद अध्यक्ष एवं अर्थमन्त्री हुँदा उनले दोस्रो बजेट रेडियो नेपालमार्फत सार्वजनिक गरेका थिए [३]

आमचुनाव[सम्पादन गर्ने]

सुवर्णकै नेतृत्वमा २०१५ फागुन ७ देखि पहिलो आमचुनाव सुरु भयो । १०९ स्थानमध्ये कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्‍यो भने उनी बाराको मध्यउत्तर क्षेत्र. नं. ५२, पर्साको पूर्व क्षेत्र. नं. ५३ र गुल्मीको दक्षिण-पश्चिम क्षेत्र. नं. ९१ गरी तीन स्थानबाट चुनाव जिते । चुनावपछि राजा महेन्द्र सुवर्णलाई प्रधानमन्त्री बनाउन चाहन्थे [३]

२०१७ पुष १ गतेको शाही घोषणा[सम्पादन गर्ने]

२०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार र प्रतिनिधिसभा भंग गरी सम्पूर्ण शासन हत्याउँदा सुवर्ण शमशेर भारतमा थिए । महेन्द्रको तानाशाही कदमबाट अत्यन्त क्रुद्ध हुँदै २०१७ साल माघमा भारतको पटनामा उनले पार्टीको सम्मेलन बोलाए । सम्मेलनले प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय गर्‍यो । संघर्षको सम्पूर्ण जिम्मेवारी सुवर्णलाई सुम्पियो । सोही कारण निरंकुश पञ्चायती सरकारले उनको बालुवाटारको दरबार, ललिता निवास (हालको राष्ट्र बैंक भवन) जफ्त गर्‍यो ।

दलमाथि प्रतिबन्ध लागेपछि विदेशिन बाध्य पार्टीका नेता तथा कार्यकर्ताको विदेशी भूमिमा विचल्ली हुनथालेपछि सुवर्णको काँधमा फेरि तिनको भरणपोषणको थप जिम्मेवारी थपियो । कार्यकर्ताको भरणपोषण र २०१८ को सशस्त्र संघर्षका लागि उनले कलकत्तामा रहेको आफ्नो निजी सम्पत्ति र घरसमेत बिक्री गरे । २००७ को सशस्त्र क्रान्तिले जस्तो उचाइ लिन नसकेपछि ८ वर्षको निर्वासनपश्चात २०२५ मा उनी स्वदेश फर्के र जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता छुटाउन पहल गरे ।

वीपीको नेतृत्वमा प्रजातन्त्रको पुनःस्थापनानिम्ति २०२९ मा पुनः दोस्रोपटक सशस्त्र क्रान्ति सुरु भयो । नाजुक स्वास्थ्यका कारण यो क्रान्तिमा सुवर्ण त्यति सक्रिय हुनसकेनन् ।

मृत्यु[सम्पादन गर्ने]

२०३४ कात्तिक २४ गते सुवर्ण शमशेरको कलकत्तामा निधन भयो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. http://himalkhabar.com/news/8036
  2. http://motivatenews.com/archives/14744 कुन अर्थमन्त्रीका पालामा कस्तो बजेट ? सुवर्ण शमशेर देखि बिष्णु पौड्यालसम्म
  3. ३.० ३.१ https://www.kantipurdaily.com/opinion/2014/02/26/384775.html

बाहिरी कडीहरू[सम्पादन गर्ने]