माथवरसिंह थापा
श्री मुख्तियार कमाण्डर-इन-चिफ माथवरसिँह थापा | |
---|---|
![]() प्रधानमन्त्री माथवरसिंह शाही वस्त्र र श्रीपेचसहित | |
नेपालको प्रधानमन्त्री | |
कार्यकाल वि.सं १९०० सन् १८४३ – १९०२ जेठ ६ सन् १८४५ | |
शासक | राजा राजेन्द्र |
पूर्वाधिकारी | फत्तेजङ्ग शाह |
उतराधिकारी | फत्तेजङ्ग शाह |
नेपालको प्रधान सेनापति | |
कार्यकाल वि.सं १९०० पौष ५ – १९०२ जेठ ६ | |
पूर्वाधिकारी | रणजंग पाण्डे |
उतराधिकारी | अभिमान सिँह राना मगर |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं १८५५ असोज १८ सन् १७९८ बोर्लाङ, गोरखा |
मृत्यु | १९०२ जेठ ६ सन् १८४५ काठमाडौँ |
सन्तान(हरू) | रणोज्जल सिँह थापा |
आमा | रणजीत पाण्डेकी छोरी |
पिता | नयनसिंह थापा |
नातेदार | बडाबा भीमसेन थापा, जंगबहादुर राणा, ललितत्रिपुरसुन्दरी, |
माथवर सिंह थापा उच्चारण (सहायता जानकारी) (जन्म: सन् १७९८ - १८४५) सन् १८४३ दिसेम्बर २५ देखि १८४५ मे १७ सम्म नेपालको प्रधानमन्त्री थिए। उनी श्रीपेच धारण गर्ने नेपालको पहिलो प्रधानमन्त्री थिए र ब्रिटिस कन्भेन्सनले पनि पहिलो पटक प्रधानमन्त्रीको सम्बोधन गर्छ ।
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
छोटाकाजी अमरसिंह थापाका नाती, नयनसिंह थापाका कान्छा छोरा माथवरसिंह थापाको जन्म वि.सं १८५५ असोज १८ गते भएको थियो । वि.सं १८६४ मा काँगडा किल्लाको युद्धमा बडाकाजी अमर सिंह थापाको सहमति बिना नयनसिंह थापाले मनामुखी भै आक्रमण गर्दा शत्रु सेनाको गोलि लागि वीरगति पाउँदा माथवर सिंह थापा सानैमा टुहुरा भए । वि.सं १८६८ मा उनी दाजु उजिरसिंह र आफ्ना हजुरबा अमरसिंह थापासँग बस्न पाल्पा गए । वि.सं १८७१-७३ को नेपाल-अंग्रेज युद्धमा माथवरसिंह थापा पनि लडे । उनी वि.सं १८८६ सम्म पाल्पा मुकाम रहेको बुझिन्छ भने वि,सं १८८८ ताका सल्यान र प्युठान क्षेत्रको तैनाथवाला भएका थिए ।[१] वि.सं १८९० मा उनलाई सिंहनाथ पल्टनको नाइकेको रूपमा जनरल भीमसेन थापाले गोरखा मुकाम गर्न पठाए ।
परिवार[सम्पादन गर्ने]
उनी अमरसिंह थापा (सानुकाजी)का नाति र काजी नैनसिंह थापाका पुत्र हुन् । काजी नैनसिंह थापाको नेपालको पश्चिम किल्लामा एकीकरणका क्रममा लड्दा गोली लागि मृत्यु भएकाले उनी सानैमा अनाथ भएका थिए ।
उनी बगाले थापा कुलघरानका हुन् । उनका मावली हजुरबुवा रणजीत पाण्डे हुन् जो कालु पाण्डेका भाइ हुन्। सहोदरमा महारानी ललित त्रिपुरा सुन्दरी, उजीर सिंह थापा, गणेश कुमारी र कर्णेल शेरजङ्ग हुन्। यिनी भिमसेन थापाका भतिज तथा जंगबहादुर राणाका मामा थिए। दाजु उजीरसिंहको देहावसान भएको र भीमसेनको पुत्र सानैमा खसेकोले पूरै परिवारकै ज्येष्ठ सदस्य थिए ।
भारत पलायन[सम्पादन गर्ने]
उनी भिमसेन थापा का भतिज थिए र भिमसेन थापालाई विषमुद्दामा दण्ड दिइदा उनी भागेर भारत पुगेका थिए।
शक्तिमा उदय[सम्पादन गर्ने]
पछि उनी नेपाल बोलाईए र राजेन्द्र विक्रम शाहकी दोस्री रानी महारानी राज्यलक्ष्मी द्वारा नेपालका प्रधानमन्त्री बनाइए । रानीको भित्री मनसाय
प्रसिद्धि[सम्पादन गर्ने]
उनी श्रीपेच धारण गर्ने प्रथम प्रधानमन्त्री हुन् । उनले पहिलो पटक ३ निजी पल्टन राजदल गण, महेन्द्र गण सुरक्षाको लागि तयार पारेका थिए । उनलाई थापा परिवारको ज्येष्ठ, बुद्धिमान र धर्मात्मा भएको नाताले कान्छी महारानीले भारतदेखि आह्वान गरी बोलाएकी थिइन् । उनले पाँडे वंश विरूद्ध ठूलोबुवा मुख्तियार भीमसेनको अपमानजनक मृत्युको बदला त्रासदीपूर्ण रूपमा लिए । उनले पाँडेहरूलाई वसन्तपुरको चोकमा मृत्युदण्ड दिएका थिए ।
मुख्तियारी[सम्पादन गर्ने]
वि.सं १९०० को मंसिर महिनामा माथवर सिंह थापा नेपालको मुख्तियार भए । ८ महिना सम्म उनले आफ्ना मानिसहरूको कल्याण गर्ने काम गरेका थिए । आफू मुख्तियार भएपछी १७ महिना सम्म उनले दरबार मा आफ्नो सन्तुलित भूमिका खेली राजनीतिमा आफ्नो योग्यता प्रदर्शन गरे । त्यस बेलासम्म उनको क्रियाकलापबाट सबै सन्तुष्ट थिए ।
दरबारसंगको सम्बन्ध[सम्पादन गर्ने]
सुरुमा राजा रानी'संग यीनको सम्बन्ध राम्रो थियो तर पछि दरबारसंगको सम्बन्ध नराम्रो भयो र कालान्तर मा दरबारमा नै यिनको हत्या समेत भयो ।
राजासंगको सम्बन्ध[सम्पादन गर्ने]
उनको राजा संगको सम्बन्ध बिग्रदै गयो । युवराजलाई हत्या गरेर रनेन्द्र लाई राजा बनाउने रानीको षड्यन्त्रबाट युवराजलाई बचाउन उनले राजालाई गद्दी युवराजलाई सुम्पन आग्रह गरेकाले उनीसँग राजा रिसाएका थिए ।
रानी संगको सम्बन्ध[सम्पादन गर्ने]
उनले धर्म र न्याय अनुसार राजा सुरेन्द्र विक्रमको राजा हुने अधिकार विपरीत जान मानेनन् । र उनीसँग रानी राज्य लक्ष्मीदेवी रिसाएका थिए ।
युवराजसंगको सम्बन्ध[सम्पादन गर्ने]
माथवर सिंहलाई रानी लक्ष्मीदेवीले बोलाएर प्रधानमन्त्री बनाएको हुदा युवराज सुरेन्द्र पनि उनलाई विश्वास गर्दैनथे ।
हत्या[सम्पादन गर्ने]
उनले धर्म र न्याय अनुसार युवराज सुरेन्द्र विक्रमको राजा हुने अधिकार विपरीत जान मानेनन् । फलस्वरुप कान्छी महारानीको षड्यन्त्रको सिकार हुनुपर्यो। तदनुसार वि.सं १९०२ जेठ २ गते राति ११ बजे "महारानीलाई पेटमा शुल उठी बेहोस भएर घाट लानुपर्ने भएकाले तुरुन्त दरबार जाऔ " भनि कुलमान सिंह बस्न्यात बोलाउन गए। सोझो मनका माथवर बिना पहरेदार दरबार भित्र एक्लै गए र राजाको दर्शन गरे। पर्दा पछाडि लुकेका भान्जा जङ्गबहादुरले गोलि हाने र उनी ढले । [२] मर्ने पक्का भए भन्ने ठानी दूई हात जोडी राजारानी समू पुग्दा राजाले मुखमा थुके भने पछाडीबाट तरबारले रोपी पेट छेड्यो, राजाको खुकुरीले एक आठपहरियाले । अनि त बाच्ने कुरै भएन , माथवरसिंह थापाका हात काटिए । उनको लासलाई च्यादरमा लपेती झ्यालबाट चोकमा खसालियो। राति नै उनको लास जलाइयो जुन देख्ने सुन्नेलाई बाहेक अरुलाई थाहा भएन। [३]
सर्वस्व हरण[सम्पादन गर्ने]
जुन समयमा दरबारमा यो घटना घट्यो, त्यस समय माथवरसिंहका छोरा आफ्नो पिताको प्रत्यागमनको प्रतीक्षा गर्दै आफ्नो महलमा पासा खेलेर बसिरहेका थिए। आफू यस षड्यन्त्रबाट अलग रहेको आभास दिलाउदै काजी जंगबहादुर कुँवरले यिनका छोराहरूलाई " तत्कालै उज्यालो नहुँदै विदेशतिर भागिहाल्नू " भन्ने सन्देश भाइ रणोद्दिपसिंह कुँवर मार्फत पठाइदिए। यिनका युवक छोराहरूले प्रतिशोधको आँट गर्न सकेनन् र आफ्नो जे-जती धनसम्पत्ती बचाउने लोभमा परी उज्यालो नहुँदै रातैमा चार भञ्ज्याङ पार भए। रणोद्दिपसिंहले उनीहरूलाई नेपाल अधिराज्यको सिमानासम्म पुर्याउन सहयोग गरे। बचेखुचेका सुनचाँदी लिई परिवारका महिला सदस्य पनि भोलिपल्ट आफ्नो महलबाट पलायन भएकाले यिनका अचल सम्पत्तिहरू मात्र बाँकी थिए, ती सबै जफत भए।
सङ्ग्रह[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ शमशेरबहादुर थापा , रणवीरसिंह थापा (ललितपुर:जगदम्बा प्रकाशन २०२३) पृ. १०८।
- ↑ (स्रोत:श्रीकृष्ण श्रेष्ठको पुस्तक जंगबहादुर)
- ↑ नेपालको तथ्य इतिहास :साझा प्रकाशन , प्रा.डा. राजाराम सुवेदी , पृष्ठ २२४