झलनाथ खनाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झलनाथ खनाल
Jhala Nath Khanal 2011-03-20.jpg
झलनाथ खनाल
३५औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
वि.सं. २०६७ माघ २३ – वि.सं. २०६८ भदौ ११
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीमाधवकुमार नेपाल
उतराधिकारीबाबुराम भट्टराई
व्यक्तिगत विवरण
जन्मवि.सं. २००६ चैत ६
इलाम जिल्ला, साँखेजुङ
राजनीतिक दलनेकपा (एकीकृत समाजवादी)
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

झलनाथ खनाल (जन्म: वि. सं. २००६ चैत ६) एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी वि. सं. २०६७ माघ २३ देखि वि. सं. २०६८ भदौ ११ सम्म नेपालको ३५औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व अध्यक्ष तथा संविधान सभामा नेकपा (एमाले)का संसदीय दलका नेता रहेका थिए। नेकपा (एमाले) टुक्रिएपछि उनी नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेताको जिम्मेवारी बहन गरिरहेका छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

खनालको जन्म इलाम जिल्लाको साँखेजुङको पण्डित गाउँमा वि. सं. २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घर परिवारले 'जन्तरे' भनेर बोलाउने गरेका थिए।[१] रवी लक्ष्मी चित्रकारसँग अन्तर जातीय विवाह गरेको खनालको एक छोरा छन्।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

प्रारम्भिक राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

खनाल १५ वर्षकै किशोर अवस्थामा राजनीतिमा आवद्ध भएका थिए। मेची विद्यार्थी सङ्गठनको अध्यक्षबाट उनको राजनीतिक यात्रा सुरु भएको थियो।[२] वि. सं. २०२३ सालमा उनी मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए। वि. सं. २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेपछि उनी सक्रिय राजनीति थालेका थिए।

जेल तथा भूमिगत जीवन[सम्पादन गर्नुहोस्]

शिक्षण पेशामा रहेकै अवस्थामा राजद्रोहका आरोपमा केही महिना जेलपछि उनीलाई धौलागिरी अञ्चलाधीशले निलम्बन गरेका थिए।[३][२] राजनीतिक संलग्नताको अभियोगमा पक्राउ भई खनाल जेल परेका थिए। उनी वि. सं. २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना जेल परे भनें राजा बीरेन्द्रको राज्याभिषेकको समयमा पनि ६ महिना जेल परेका थिए। जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका खनाल वि. सं. २०३३ सालमा झापामा पक्राउ परेका थिए। खनाल वि. सं. २०३६ सालको प्रजातान्त्रिक आन्दोलनपछिको आम माफीमा झापा जेलबाट रिहा भएका थिए। पार्टीले जनमत सङ्ग्रह वहिष्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भएका थिए। झापा विद्रोहपछि उनी वि. सं. २०३१ सालमा गठित 'क्रान्तिकारीहरूको सङ्गठन' को ओर्डिनेसन कमिटिको संस्थापक सदस्य भएर काम गरेका थिए। वि. सं. २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले)का सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भएका थिए।[२]

वि. सं. २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले वि. सं. २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी वि. सं. २०४६ सालको आन्दोलनको सफलतासँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। वि. सं. २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेको थियो। वि. सं. २०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमान्डमा मालेका प्रतिनिधिको रूपमा रहेका थिए। वि. सं. २०५९ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि उनी केही समयको लागि पुनः भूमिगत भएका थिए। सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गरेका थिए। खनालको राजनीतिक जीवनीका बारेमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका भिष्मराज काफ्लेले स्नातकोत्तर तहको शोधपत्र गरेका छन्।

पेशागत जीवन[सम्पादन गर्नुहोस्]

खनालले विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि वि. सं. २०२७/२८ सालतिर बागलुङ जिल्लास्थित गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रूपमा काम गरेका थिए। सोही विद्यालयमा नेपाली राजनीतिज्ञ चित्रबहादुर केसी पनि पढाउने गरेका थिए। उनी इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारेमा समेत अध्यापन गराएका थिए।

शिक्षण पेशा छोडेपछि उनले राजनीतिक शास्त्रइतिहास विषय लिएर त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गरेका थिए।

महत्वपूर्ण जिम्मेवारी[सम्पादन गर्नुहोस्]

जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्थावन तथा वातावरण मन्त्रीको जिम्मेवारी निर्वहन गरेका थिए। वि. सं. २०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री भएकाथिए।

वि. सं. २०६४ चैतमा भएको संविधान सभा निर्वाचनमा पार्टीको लज्जास्पद पराजयपछि तत्कालीन महासचिव माधवकुमार नेपालले पद छाडेपछि उनी महासचिव भएका थिए। संविधान सभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भएका थिए। वि. सं. २०६५ साल फागुन बुटवलमा भएको नेकपा एमालेको आठौँ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका थिए।

प्रधानमन्त्री निर्वाचित भएपछि झलनाथ खनाल

निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

वि. सं. २०४८ सालको आम निर्वाचनमा खनाल इलाम १ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। वि. सं. २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट पुनः निर्वाचित भएका थिए। वि.सं. २०५६ को निर्वाचनमा उनी पराजित भएपनि पहिलो तथा दोस्रो संविधान सभा निर्वाचनमा उनी इलामबाटै निर्वाचित भएका थिए। उनी पहिलो प्रतिनिधि सभा निर्वाचनमा समेत विजयी भएका थिए। प्रतिनिधि सभा निर्वाचन, २०७९मा उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार भएर इलामबाट २१,८०२[४]मत प्राप्त गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार महेश बस्नेतसँग २,५०२ मतान्तरले पराजित भएका थिए।[५]

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा मत राजनीतिक दल स्रोत
प्रतिनिधिसभा निर्वाचन २०७९ वि.सं. २०७९ इलाम १ पराजित २१,८०२ नेपाल कम्युनिष्ट पार्टी (एस) [५]
प्रतिनिधिसभा निर्वाचन, २०७४ वि.सं. २०७४ इलाम १ विजयी ३६,८०५ नेपाल कम्युनिष्ट पार्टी (एमाले)
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० सर्लाही १ पराजित ८,७९१ नेपाल कम्युनिष्ट पार्टी (एमाले) [६]
संविधानसभा निर्वाचन २०७० वि.सं. २०७० इलाम १ विजयी १७,३४२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) [७]
संविधान सभा निर्वाचन, २०६४ वि.सं. २०६४ इलाम १ विजयी १७,६५५ नेपाल कम्युनिष्ट पार्टी (एमाले) [८]
आम निर्वाचन २०५६ वि.सं. २०५६ इलाम १ पराजित १८,५०२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) [९][१०]
आम निर्वाचन २०५१ वि.सं. २०५१ इलाम १ विजयी १४,३८३ नेपाल कम्युनिष्ट पार्टी (एमाले) [११]
आम निर्वाचन २०४८ वि.सं. २०४८ इलाम १ विजयी २५,५४० नेपाल कम्युनिष्ट पार्टी (एमाले) [१२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. संविधान सभा निर्वाचन पोर्टल
  2. २.० २.१ २.२ नागरिक न्यूज डट कम
  3. झलनाथ खनालको जीवनी, हिमालय टेलिभिजन, २०६७ माघ २०
  4. "इलाम : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९ 
  5. ५.० ५.१ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९ 
  6. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ 
  7. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ 
  8. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  9. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  10. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 
  11. "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  12. आम निर्वाचन २०४८ नतिजा, नेपाल रिसर्च। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]