आम निर्वाचन २०१५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
आम निर्वाचन २०१५

वि.सं. २०१५ साल फागुन ७ (सन् १९५९ फेब्रुअरी १८) देखि वि.सं. २०१५ साल चैत्र २१ (सन् १९५९ अप्रिल ३)[१] २०४८ →
दर्ता मतदाता४२,४६,३६८[२]
कूल मतदान१७,९१,३८१ (४२.१८%)
  बहुमत दल अल्पमत दल
  BP Koirala.jpg Rastriya Janamukti Election Symbol.png
नेता बिपी कोइराला रणधीर सुब्बा
दल काङ्ग्रेस गोर्खा परिषद
नेताको सिट निर्वाचन क्षेत्र नं. ३२ (विजयी)[३] निर्वाचन क्षेत्र नं. २६ (हार)[४]
प्राप्त सिट ७४ १९
लोकप्रिय मत ६,६६,८९८ ३,०५,११८
प्रतिशत ३७.२%[५] १७.१%

Pratinidhi Sabha, Nepal, 1959.svg

प्रधानमन्त्री निर्वाचन पूर्व

सुवर्ण शमशेर राणा
काङ्ग्रेस

निर्वाचित प्रधानमन्त्री

बिपी कोइराला
काङ्ग्रेस

आम निर्वाचन २०१५, नेपालको संसद्को तल्लो सदन प्रतिनिधि सभाको लागि १०९ प्रतिनिधिहरूलाई निर्वाचित गर्नको लागि वि.सं. २०१५ साल फागुन ७ देखि वि.सं. २०१५ साल चैत्र २१ सम्म ४५ दिन लगाएर गरिएको नेपालको पहिलो प्रजातान्त्रिक निर्वाचन थियो।[६] वि.सं. २०१५ फागुन १ गते लागू गरिएको नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम यो निर्वाचन सम्पन्न गरिएको थियो।[७]

प्रतिनिधि सभाको लागि तय गरिएको १०९ वटा सिटको लागि जम्मा ७८६ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए। देशको कूल जनसङ्ख्या ८५ लाख ५० हजारमध्ये ४२ लाख ४६ हजार ३६८ जना मतदान गर्नको लागि योग्य रहेका थिए।[८] देशभर विभिन्न चरणमा सम्पन्न गरिएको यस निर्वाचानमा जम्मा ४२.१८% मतदान भएको थियो।[५][२]

१०९ मध्ये ७४ सिट जितेर नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बनेको थियो। नेपाली काङ्ग्रेसले उक्त निर्वाचनमा जम्मा मतदानको ३८% मत प्राप्त गरेको थियो।[९] चुनाव जितेपछि काङ्ग्रेसका सभापति तथा संसदीय दलको नेता बिपी कोइराला देशको पहिलो प्रजातान्त्रिक निर्वाचित र २२औँ प्रधानमन्त्री बन्न सफल भएका थिए।[१०]

पृष्ठभूमि[सम्पादन गर्ने]

राजतन्त्रको विरोध तथा आम निर्वाचनको मिति तय गर्नको लागि राजामाथि दवाव सिर्जना गर्न वि.सं. २०१४ साल साउन १४ गते काठमाडौंमा नेपाली काङ्ग्रेस, नेपाली राष्ट्रिय काङ्ग्रेसनेपाल प्रजा परिषद् (मिश्र) सम्मिलित प्रजातान्त्रिक मोर्चाको गठन गरिएको थियो।[११] राजनीतिक संक्रमणकाल झेल्दै आएको र जनताद्वारा निर्वाचित सरकार नभई राजाको प्रत्यक्ष शासन रहेको सो समयमा नेपाली काङ्ग्रेसको मुखपत्र 'नेपाल पुकार' मा वि.सं. २०१४ साउनमा राजाविरुद्ध एउटा स्तम्भ छापिएको थियो जसको प्रतिक्रियामा तत्कालिन राजा महेन्द्र वीर विक्रम शाहले आमचुनाव तत्कालै हुननसक्ने भनि आदेश गरेका थिए। जसको फलस्वरुप देशव्यापी विरोध प्रदर्शन गरिएको थियो।[१२]

नेपालमा आगामी ६ महिनाभित्र आम निर्वाचन गराउन माग गरिरहेको प्रजातान्त्रिक मोर्चाले वि.सं. २०१४ असोज २१ गते वीरगञ्जमा भेला आयोजना गरेको थियो।[११] सोही भेलाबाट मोर्चाले प्रथम आम निर्वाचनको मिति तोकाउन वि.सं. २०१४ मङ्सिर २२ बाट काठमाडौंमा 'भद्र अवज्ञा आन्दोलन' थाल्ने निर्णय गरेको थियो। प्रजातान्त्रिक मोर्चाले यहि विषयलाई समेटेर आफ्नो एकमात्र मागलाई 'भद्र अवज्ञा आन्दोलन' सुरु हुनुभन्दा अगावै वि.सं. २०१४ मङ्सिर २० गते राजदरबारलाई ६ महिना भित्र निर्वाचन सम्पन्न गर्ने विषयक पत्र पठाएको थियो। पत्रप्राप्त भएको भोलिपल्ट अर्थात् वि.सं. २०१४ मङ्सिर २१ गते राजा महेन्द्रले प्रजातान्त्रिक मोर्चाका शीर्षस्थ नेताहरू बिपी कोइराला, डिल्लीरमण रेग्मीभद्रकाली मिश्रलाई आमन्त्रित गरेका थिए। लगभग २ घण्टा ३० मिनेट चलेको उक्त छलफलपछि राजाले 'आफुँ निर्वाचनको लागि सकारात्मक रहेको र सबैको सहयोग प्राप्त भए छिट्टै निर्वाचन गर्ने' आश्वासन व्यक्त गरेका थिए।[१३]

मोर्चाले तय मिति अनुसार वि.सं. २०१४ मङ्सिर २२ बाट 'भद्र अवज्ञा आन्दोलन' थालेको थियो। सो आन्दोलनबाट मोर्चार्ले नेपाल कम्युनिष्ट पार्टीलाई टाढा राखेता पनि नेकपाले सो आन्दोलनलाई समर्थन गर्दै राजाबाट राजनीतिक सम्मेलन बोलाउनुपर्ने माग राख्दै आन्दोलनलाई सही दिशामा डोर्‍याएको थियो।[१४]भद्र अवज्ञा आन्दोलनले देशभर चर्को रूप लिएपछि[१५] अन्तत: राजा महेन्द्रले वि.सं. २०१४ पौष १ गते रेडियो नेपालबाट शाही घोषणा प्रसारण गरेर आम निर्वाचन वि.सं. २०१५ फागुन ७ देखि हुने तय गरेका थिए।[१६][१७][१८]

निर्वाचन क्षेत्र[सम्पादन गर्ने]

वर्तमान समयको जस्तो जिल्लागत संरचना नभएकोले स्थान विशेष वा स्थानभन्दा पूर्व, पश्चिम, उत्तर र दक्षिण गरेर निर्वाचन क्षेत्र छुट्याइएको थियो। वि.सं. २०१५ मा हिमालपहाड क्षेत्रमा २३ प्रशासकीय एकाई थियो भने तराई क्षेत्रमा १२ तहसिल भनिने प्रशासनिक एकाई रहेको थियो। एउटा निर्वाचन क्षेत्रमा न्यूनतम २३ हजार जनसङ्ख्या हुनैपर्ने र ५२ हजारभन्दा बढी जनसङ्ख्या हुन नहुने गरि जनसङ्ख्याको आधारमा १०९ वटा निर्वाचन क्षेत्र बनाइएको थियो।[१९] आम निर्वाचन २०१५ लाई सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोगका प्रधान निर्वाचन कमिश्नर सुवर्ण शमसेर राणालाई जिम्मेवारी दिइएको थियो।[२०][२१]

आयोजन[सम्पादन गर्ने]

निर्वाचन खर्च[सम्पादन गर्ने]

नेपाली काङ्ग्रेसले आफ्नो शीर्षस्थ नेताहरू बाहेकका उम्मेदवारहरूलाई जनही ५ हजार चुनाव खर्च दिएको थियो त्यस्तै गोर्खा परिषदले आफ्नो उम्मेदवारलाई चुनावमा प्रतिस्पर्धा गर्नको निमित्त जनही १० हजार रुपैया दिएको थियो। नेपाल कम्युनिष्ट पार्टीले भने रौतहटको तीन वटा निर्वाचन क्षेत्रबाट आफ्नो प्रत्यासी उम्मेदवारहरूलाई चुनाव लड्नको लागि जम्मा १२०० रुपैया दिएको थियो[४] जसमा उसको दुई जना उम्मेदवारहरू शेख फर्मान र हरदयाल महतो विजयी भएका थिए।[२२]

राजनीतिक दल[सम्पादन गर्ने]

कूल ९ वटा राजनीतिक दल र २६८ जना स्वतन्त्र उम्मेदवारहरूले १०९ सिटको लागि निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। नेपाली काङ्ग्रेसले १०८ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार उठाएकोमा ७४ स्थानमा जित्न सफल भएको थियो। गोर्खा परिषदले ८६ स्थानमा उम्मेदवारी दिएकोमा जम्मा १९ स्थानमा मात्र जीत निकाल्न सकेको थियो भने नेपाल कम्युनिष्ट पार्टीले ४७ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उतारेकोमा मात्रै ४ स्थानमा जीतको स्वाद पाएको थियो। निर्वाचन ऐन, २०१५ बमोजिम सम्पन्न गरिएको यो निर्वाचनपछि ४ वटा राजनीतिक दलले मात्रै राष्ट्रिय राजनीतिक दलको स्थान पाएको थियो। ९ वटा मध्ये ८ वटा राजनीतिक दलको अध्यक्षले निर्वाचनमा हार बेहोर्नुपरेको थियो। सो निर्वाचनमा नेपाली काङ्ग्रेसका सभापति बिपी कोइरालाले निर्वाचन क्षेत्र नं. ३२ (मोरङ दक्षिण विराटनगर पश्चिम)बाट जित्न सफल भएका थिए।[४]

नतिजा[सम्पादन गर्ने]

दल मत % सिट
नेपाली काङ्ग्रेस ६,६६,८९८ ३७.२ ७४
नेपाल राष्ट्रवादी गोरखा परिषद ३,०५,११८ १७.१ १९
संयुक्त प्रजातन्त्र पार्टी १,७७,४०८ ९.९
नेपाल कम्युनिष्ट पार्टी १,२९,१४२ ७.२
प्रजातान्त्रिक महासभा ५९,८९६ ३.३
नेपाल प्रजा परिषद (मिश्र) ५९,८२० ३.३
नेपाल प्रजा परिषद ५३,०३८ २.२
तराई काङ्ग्रेस ३६,१०७ २.१
नेपाली राष्ट्रिय काङ्ग्रेस १२,७०७ ०.७
स्वतन्त्र २,९१,२४७ १६.७
अवैध/अमान्य मत
कूल १७,९१,३८१ १०० १०९
स्रोत: निर्वाचन आयोग प्रतिवेदन[५][२]

सरकार गठन[सम्पादन गर्ने]

निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा उदाएको नेपाली काङ्ग्रेसले पार्टी सभापति बिपी कोइरालालाई संसदीय दलको नेता छानेर उनलाई नेपालको प्रधानमन्त्री बनाउन दावेदारी पेश गरेको थियो। वि.सं. २०१६ जेठ १३ तदनुसार सन् १९५९ मे २७ को दिन नेपाली काङ्ग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले तत्कालिन राजा महेन्द्र वीर विक्रम शाह समक्ष सपथग्रहण लिई आफ्नो कार्यभार सम्हालेका थिए। प्रतिनिधि सभाको पहिलो सभामुख नेपाली काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई र उपसभामुख महेन्द्र नारायण निधि भएका थिए।[२३][२४][२५] प्रतिनिधि सभाको कार्यकाल वि.सं. २०१६ जेठ १३ तदनुसार सन् १९५९ मे २७ देखि वि.सं. २०१७ साल पुस १ तदनुसार सन् १९६० डिसेम्बर १५ सम्म रहेको थियो।

प्रतिनिधि सभाको पहिलो बैठक वि.सं. २०१६ असार १६ गते बसेको थियो जसलाई कार्यकारी अध्यक्षको रूपमा गिरिप्रसाद बुढाथोकीले सञ्चालन गर्नुभएको थियो। प्रतिनिधि सभाको पहिलो अधिवेशन वि.सं. २०१६ असार १६ बाट सुरु भई वि.सं. २०१६ असोज २१ सम्म चलेको थियो जस अवधिमा कूल ४७ वटा बैठकहरू सञ्चालन भएको थियो भने प्रतिनिधि सभाको दोस्रो अधिवेशन वि.सं. २०१६ चैत्र १८ बाट सुरु भई वि.सं. २०१७ भदौ ३१ सम्म चलेको थियो जस अवधिमा कूल ९४ वटा बैठकहरू सञ्चालन भएको थियो।[२५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Joshi, Bhuwan Lal; Rose, Leo E. (१९६६), Democratic Innovations in Nepal: A Case Study of Political Acculturation (अङ्ग्रेजीमा), University of California Press। 
  2. २.० २.१ २.२ देवकोटा, ग्रीष्म बहादुर (१९७६)। "नेपालको राजनितीक दर्पण २"। भट्टराई बन्धु प्रकाशन। पृष्ठ १११। 
  3. "केवल एक पार्टी प्रमुखले जितेका थिए पहिलो आमनिर्वाचन"देशसञ्चार। २०१७-१२-०१। सङ्ग्रह मिति २०२०-०६-१७ 
  4. ४.० ४.१ ४.२ काफ्ले, चन्द्र। "४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव"सेतोपाटी। सङ्ग्रह मिति २०२०-०६-१७ 
  5. ५.० ५.१ ५.२ Parajulee, Ramjee P., 1955- (२०००), The democratic transition in Nepal, Lanham: Rowman & Littlefield, पृ: 46, आइएसबिएन 0-8476-9577-8, ओसिएलसी 41951317 
  6. Dieter Nohlen, Florian Grotz & Christof Hartmann (2001) Elections in Asia: A data handbook, Volume I, p629 आइएसबिएन ०-१९-९२४९५८-X
  7. Nohlen et al., p624
  8. Rama Devi Pant (१९५९-०४-०४), "First general election of Nepal 1959", The economic weekly, अन्तिम पहुँच २०२०-०६-१७ 
  9. Nohlen et al., p654
  10. "Timeline", constitutionnet.org, अन्तिम पहुँच २०२०-०६-१७ 
  11. ११.० ११.१ रिसाल, भैरव, "राजा झुक्किंदा भयो चुनाव", नेपाली हिमाल, अन्तिम पहुँच १९ जुन २०२० 
  12. रिमाल, अरविन्द, "बीपीविरुद्ध त्यो मल्ल युद्ध", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १९ जुन २०२० 
  13. देवकोटा ग्रीष्म बहादुर, नेपालको राजनीतिक दर्पण भाग-२ पृ.५६९–५७०
  14. केसी, सुरेन्द्र (वि.सं. २०५६), नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास (पहिलो संस्करण), काठमाडौं: विद्यार्थी पुस्तक भण्डार, पृ: ११३, अन्तिम पहुँच १९ जुन २०२० 
  15. भण्डारी, हरिबोल, "जागरण अभियानले जागेको कांग्रेस", काठमाडौं प्रेस, अन्तिम पहुँच १९ जुन २०२० 
  16. बस्नेत, पुरुषोत्तम, "तान्त्रिकको साइतमा संसद्को शपथ", गोरखापत्र दैनिक, अन्तिम पहुँच १९ जुन २०२० 
  17. "स्थानीय चुनावको यो १२औं प्रतिवद्धता, महेन्द्रीय शैलीकै गन्जागोल", हाम्रा कुरा, अन्तिम पहुँच १९ जुन २०२० 
  18. अधिकारी, बालकृष्ण, "कांग्रेसको संघर्षमय इतिहास", नागरिक न्युज, अन्तिम पहुँच १९ जुन २०२० 
  19. पोखरेल, विश्वमणि, "जनताको नजरमा राजनीतिक दल", शुक्रबार नागरिक न्युज, अन्तिम पहुँच २० जुन २०२० 
  20. "पूर्व प्रमुख निर्वाचन आयुक्तहरू", निर्वाचन आयोग नेपाल, अन्तिम पहुँच २० जुन २०२० 
  21. "निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदै, डा.अयोधीप्रसाद पदावधि सकिएर बिदा हुँदै", इनरुवा अनलाइन, अन्तिम पहुँच २० जुन २०२० 
  22. नेपालको जननिर्वाचित पहिलो प्रतिनिधि सभाका सदस्यहरू, श्री ५ को सरकार, बैशाख २८ गते २०१६ साल, अन्तिम पहुँच २० जुन २०२० 
  23. "‘चक्रव्यूह’मा सभामुख, किन हुन्छ काण्डैकाण्ड ?", जनता समाचार (नेपालीमा), अन्तिम पहुँच २०२०-०६-१८ 
  24. पौडेल, हरि, "नेपाली कांग्रेसको १३ रौं महाअधिवेशन", चार दिशा, अन्तिम पहुँच २० जुन २०२० 
  25. २५.० २५.१ नेपाल, सङ्घीय संसद् सचिवालय, (वि.सं. २०७६), संसद दर्पण १९ (१९), पृ: १४, अन्तिम पहुँच २० जुन २०२०