लेखनाथ पौड्याल
लेखनाथ पौड्याल |
---|
लेखनाथ पौड्याल (वि.स. १९४१ – २०२२) नेपाली साहित्यका छन्दोबद्ध कवि तथा नेपाली साहित्यको परिष्कारवादी धाराका थालनीकर्ता थिए। उनलाई आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण ल्याउने तथा आध्यात्मिक मानवता वादी कविका रूपमा नेपाली साहित्यमा चिनिन्छ। विक्रम सम्वत् २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो। उनको जन्मस्थल लेखनाथ नगरपालिकाको अर्घौ अर्चलेमा पर्ने भएकोले नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टामा नामबाट गठित एउटै मात्र नगरपालिका हो।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]लेखनाथको जन्म बाबू दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा वि.स. १९४१ पुष शुक्ल एकादशीको दिनमा भयो।[१] ५ वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो; उनले घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढे। उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए, त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा उनलाई पुर्याएको मानिन्छ।
दश वर्षको उमेरसम्ममा उनले आफ्नो गाउँमा नै संस्कृतको प्रारम्भिक शिक्षा ग्रहण गरे। १५ वर्षको भए पछि आफ्नो अध्ययन अघि बढाउन उनी काठमाडौँ आए, काठमाडौँमा आएपछि केही समय तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृतको थप अध्ययन गरे। यहाँ बस्दा नै उनमा कविता सिर्जनाप्रति विशेष चाख जागृत हुँदै गयो। तीन वर्ष पढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए, तर उनी असफल भए।
उनको बनारसबाट प्रकाशित 'सूक्तिसूधा' र 'कविताकल्पद्रुम'मा नेपाली र संस्कृत भाषामा कविता छापिए। साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे।
पौड्याल पठनपाठनमा नभएकाले बरालिन पनि थाले। त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुर पुगे। त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिदै भारतको आसामतिर लागे। त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो। घटराज भट्टराईका अनुसार त्यसैताका "हलन्त बहिष्कार अभियानमा आचार्य र पौडयालको सहमति बन्यो। पछि राममणि राणाका दरबार घुस्रेपछि पौडयाल उनलाई पछ्याउँदै काठमाडौँ आए। तर सुरुका दिनमा उनले काठमाडौँमा राम्ररी टेक्ने ठाउँ भेटेनन्। पछिचाहिँ उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागीर पाए। राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहान बेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो। त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए। उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरिया बनाए। तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमा बल्लबल्ल लागेको घाम पनि अस्तायो।
उनी बनारसबाट नेपाल आएपछि नेपाली भाषामा कविता सिर्जना गर्ने क्रम तीव्र रूपमा अघि बढ्न थाल्यो। यसैबीच १९६१ सालमा उनकी धर्मपत्नीको निधन भयो। उनीमाथि अर्को पीडा थपिन पुग्यो। वि.सं. १९६१ देखि १९७२ सम्म विभिन्न किसिमका विरह, वेदना, छटपटी, अभाव, वैराग्य आदिले उनलाई नराम्ररी गाँजेको थियो। यस अवस्थामा अत्यन्त विरक्त भएर उनी छप्कीवास र मुग्लानसम्म पनि पुगे। यसैबीच १९७२ सालमा उनको भेट स्वर्गद्वारी महाप्रभुसँग हुन गयो। लेखनाथ जोगी बन्ने मनशायले त्यहाँ पुगेका थिए। स्वर्गद्वारी महाप्रभुले उनलाई हरेक तरिकाले सम्झाए। उनको मार्गदर्शनबाट उनले जोगी बन्ने मनशाय चटक्कै छाडिदिए। आफूलाई कर्मशील तुल्याउनुपर्ने आवश्यकता बुझे। उनको जीवनपद्धतिमा ठूलो परिवर्तन देखा पर्न थाल्यो। यसैबीच उनले सत्यदेवीसँग विवाह पनि गरे।
साहित्यिक यात्रा
[सम्पादन गर्नुहोस्]कवि शिरोमणि लेखनाथ पौड्यालको कवितायात्राको प्रारम्भ वि.सं. १९६१ सालमा प्रकाशित 'कविता कल्पद्रुम'मा सङ्ग्रहित उनका दुई कविताबाट भएको पाइन्छ। १९६९मा प्रकाशित 'लालित्य' भित्र सङ्ग्रहित कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गर्यो। यसपछि १९७० मा प्रकाशित उनको 'शोक प्रवाह' शीर्षकको शोक काव्य, १९७३ मा प्रकाशित 'ऋतु विचार' खण्डकाव्य र १९७३ मा नै प्रकाशित 'बुद्धि विनोद' शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो। नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो। उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले।
यसैबीच १९७६ साल जेठ २६ गते उनका बुबा दुर्गादत्त पौड्यालको निधन हुनपुग्यो। यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो। उनले आफूलाई आफैँले बुझाए। यसै साल अर्थात् वि.सं. १९७६ सालमा नै उनको 'सत्य-कलि संवाद' शीर्षकको अर्को कृति प्रकाशित भयो। यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो। साहित्य सिर्जनामा नै उनी निमग्न हुनथाले। उनले अनेकौँ फुटकर कविताहरू रचना गरे। पुस्तकहरू लेखे। यसमध्ये 'पिजराको सुगा', 'कालमहिमा', 'सत्य-सन्देश', 'जीवन-चङ्गा', 'गौँथलीको चिरिबिरि' आदि कविता अविस्मरणीय बनेका छन्। त्यस्तै उनको प्रकाशित कृतिमध्ये 'गीताञ्जली' -१९८६), लक्ष्मीपूजा -नाटक-१९९४), 'त्याग र उदयको युगल प्रकाशन' -स्तुतिकाव्य-२००२,) 'अमर ज्योतिको सत्य स्मृति', -शोक काव्य-२००८), तरुण तपसी -नव्य काव्य -२०१०), 'मेरो राम' -खण्डकाव्य-२०११), अभिज्ञान शाकुन्तल-नाटक-२०१५), 'भतर्हरि निर्वेद' -नाटक-२०२०) र 'गङ्गा गौरी' महाकाव्य आदि अमर र अमूल्य कृति मानिन्छन्। राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो। राम्रा सृजना पनि आगोमा झोस्नुपर्थ्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपर्थ्यो। त्यसैले पौड्यालले जति लेखे धेरै लेखे। यसै प्रसङ्गमा उनी आफै भन्थे "मेरो समयमा त म एक्लो जस्तै थिएँ। त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो। तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !"
२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रूपियाँ आजीवन भत्ता प्रदान गरेका थिए। लेखनाथ पौड्यालले 'कविशिरोमणि'को पद पाएपछि उनले र्सवप्रथम आफ्ना गुरु दधिराम मरासिनीलाई एउटा चिठी लेखे
मेरा पूज्य गुरु ! तपाईंँले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु।
वि सं २०११ सालमा नेपाली शिक्षा परिषद्को आयोजनामा, पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्य्यमा, उनलाई रथमा राखेर उनको शोभायात्रासहित नागरिक, अभिनन्दन गरिएको थियो। यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम। साथै यस कार्यमा छाता ओडाउने काम चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए। त्यस दिन पौडयालका हातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रूपियाँको थैली पनि राखिएको थियो। त्यस घटनाको खुसीयालीमा पौड्याल रोएका थिए।
पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तम कुँवरले लेखेका छन्
२०११ पुस २० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए। शिरोमणिका आँखामा आँसु थियो, जनता हर्षोल्लासमा चुर्लुम्म डुबेका थिए। नेपालको निम्ति मात्र होइन सारा विश्वकै निम्ति यो साँच्चै नै ठूलो ऐतिहासिक घटना थियो
पौडयालका मनपर्ने लेखक कालिदास थिए। उनका मनपर्ने अर्का स्रष्टा मैथीलिशरण गुप्ता थिए। साथै नेपाली भाषासाहित्यमा पौड्यालका मन पर्ने स्रष्टा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरे थिए। लेखनाथलाई सबैभन्दा पहिला कविसम्राट्को उपाधी लेख्ने पनि देवकोटा नै थिए। वास्तवमा पौड्याल आधुनिक नेपाली भाषासाहित्यका कविहरूका पनि कवि थिए।कवि शिरोमणि लेखनाथले त्यसबेलाको गोरखा भाषा प्रकाशिनी समिति र नेपाल साहित्य परिषद् (आहिलेको प्रज्ञा प्रतिष्ठान)को सदस्यको रूपमा पनि आफ्नो सेवा अर्पण गरेका थिए।महाकवि देवकोटाका जोडले पौडयाल नेपाल एकेडेमीको पनि सदस्य भए। एकेडेमीमा पौडयाललाई नपढेको भनेर पढ्दै नपढेका राजा महेन्द्रले ल्याउन खोजेका थिएनन भन्ने भनाई छ; तर देवकोटाले राजालाई सन्देश पठाए "ती ऋषिकल्प प्राज्ञ नभएको ठाउँमा मैले खुट्टा टेक्न मिल्दैन। त्यसपछि पौडयाल पनि सदस्यमा मनोनीत भए। त्यस्तो संबन्ध रहेकोले , देवकोटाको अन्तिम स्थितिमा उनले "बरु कालले मलाई लगेर तिमी लाई छोडेको भए नेपाली साहित्य लाई धेरै सेवा पुग्ने थियो" भनेका थिए।
हलन्त बहिष्कार आन्दोलनेपाली भाषाका अक्षरमा खुट्टा काटी लेख्ने चलन लेखक अनुसार फरक पर्थ्यो। लेखनाथले जथाभावी खुट्टा काटी लेख्ने शैलीको विरोधमा राममणी आ.दीको हलन्त बहिष्कार आन्दोलनमा सामेल भए। तसर्थ उनी हलन्त बहिष्कारका समर्थक पनि थिए।
मृत्यु
[सम्पादन गर्नुहोस्]२०२० सालपछि उनको देब्रे आँखालाई मोती विन्दूले ढपक्कै छोपेको थियो; त्यसैले उनी एउटा आँखामात्र देख्थे। २०२२ सालमा उनी तीर्थ गर्न बनारस लागे। तर भारतको रक्सौलमा पुगेपछि उनी थला परे। त्यसपछि उनलाई रातोरात नारायणगढको नारायणी नदीमा ल्याइपुर्याइयो।अन्ततः २०२२ सालको शिवरात्री अर्थात् फागुन ७ गते, ८२ वर्षको उमेरमा चितवनको भरतपुरस्थित देवघाटमा कविशिरोमणि लेखनाथ पौड्याल दिवंगत भए।[स्रोत नखुलेको]
उनलाई मरणोपरान्त वि सं २०२६ मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कारद्वारा सम्मान गरेको छ। उनको स्मृतिमा सरकारले हुलाक टिकट पनि प्रकाशित गरेको छ।
मौलिक कृति
[सम्पादन गर्नुहोस्]- ऋतु विचार (खण्डकाव्य) - १९७३
- वुद्धिविनोद (कविताकृति) - १९७३
- सत्यकलि संवाद (कविताकृति) - १९७६
- सत्यस्मृति - २००९
- मेरो राम - २०११
- त्याग र उदयको सन्देश - २००१
- गीताञ्जली (कविताकृति) - १९८६
- तरुण तपसी (नव्यकाव्य) - २०१०
- लक्ष्मीपूजा (नाटक) - १९९४
- गौरी-गौरव (नाटक)
- लालित्य (कविता सङ्ग्रह भाग १, २)
- भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार
- भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४
- पञ्चतन्त्र (नेपाली अनुवाद)
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ शर्मा, ऋषिराम (२०६३), आधुनिक नेपाली निबन्धमाला, काठमाडौँ, नेपाल: एकता बुक्स, पृ: २१५, आइएसबिएन 9993318736।