गौतम बुद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गौतम बुद्ध
सारनाथमा रहेको बुद्धको मूर्ति
जन्म ५६३ ई.पू.
लुम्बिनी, नेपाल
मृत्यु ४८३ ई.पू.(उमेर ८०)
कुशीनगर, भारत
जातीयता शाक्य, क्षेत्री
चिनारीको कारण बौद्ध धर्मका प्रवर्तक
अग्रज कस्यप बुद्ध
उत्तराधिकारी मैत्रेय बुद्ध

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।

गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।[१] पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ ।[२] तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनी मा भएको थियो भन्ने कुरामा दुईमत छैन ।[३] उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।

जन्म र नामकरण[सम्पादन गर्ने]

बुद्धको जन्म भएको शीला, लुम्बिनी[४].
रानी मायादेवी कुमार सिध्दार्थलाई जन्म दिदै

सिद्धार्थ गौतमका बाबु सुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य छेेतृ बंशका राजा थिए। यिनकी आमाको नाम मायादेवी थियो । भनिन्छ रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बसिन् । त्यहीँ उनलाई पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा सुस्ताउँदै गर्दा बालक सिद्धार्थको जन्म भएको थियो । असित ऋषिले बालकको नाम सिद्धार्थ नामकरण गरेका थिए । सिद्धार्थको अर्थ हुन्छ– सबै मनोकामनाले पूर्ण ।[५]
उनी केही ठूला भए पछि उनको विधिवत् यज्ञोपवीत संस्कार गरिएको र सिद्धार्थलाई गायत्री मन्त्र सुनाउन स्वयं विश्वामित्रलाई नै आह्वान गरिएको कुरा आर्नोल्डले द लाइट अफ् एसिया पुस्तकमा उल्लेख गरेका छन् । [६]

बाल्यकाल र विबाह[सम्पादन गर्ने]

सामान्य राजकुमारको झैं यिनको पनि उमेर पुगेपछि यशोधरा नामकी युवती सँग विवाह भएको थियो । यशोधराबाट राहुल नामका एक पुत्रको पनि जन्म भएको थियो । गौतम बुद्ध युवा छँदै बिरूढक नामका एक राजासित यिनले युद्ध पनि लडेको इतिहासले बताउँछ ।

बैराग्यता र प्रयाण[सम्पादन गर्ने]

बाल्यकालदेखि नै गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई हरेक कुराले चिन्तनशील बनाउँथ्यो। दैनिकीकै क्रममा उनले बुढो, रोगी मानिसलाई देखे । उनले मानिस मरेको पनि देखे । यसबाट उनमा बैराग्य पैदा भयो। मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उनलाई बैरागी बनायो । यीनै प्रश्नको समाधान खोज्न बाबूको उत्तराधिकारमा आउने आफ्नो राज्यको समेत पर्वाह नगरी २९ वर्षको उमेरमा उनी एकदिन राति सुटुक्क दरवार छोडेर निस्किए ।

तपस्या र बुद्धत्त्व[सम्पादन गर्ने]

बैराग्यका कारण विभिन्न ठाउँमा भौंतारिँदै सिद्धार्थ गौतम भारतको बोधगया पुगेर त्यहाँ तपस्या गरेको इतिहासले देखाउँछ ।

बौद्ध धर्म उत्थानको कारण[सम्पादन गर्ने]

अशोकले बुद्ध धर्मको प्रचारमा सर्वाधिक महत्त्वपूर्ण योगदान गरेको विवरण पाइन्छ । आफुले बौद्ध धर्म धर्म ग्रहण गरे पछि उनले आफ्ना सबै छोरा छोरीलाई बुद्धका उपदेश प्रचार गर्न चारैतिर पठाए । बौद्ध धर्मलाई राजकीय धर्म बनाएर बौद्ध विहार बनाउने, भिक्षुसंघलाई रावकीय सम्मान प्रदान गर्ने कार्य गरे । यस बाट बुद्ध धर्मको उत्थान हुन गयो । परवर्ती कालमा हिन्दु पण्डितहरुलाई शास्त्रार्थ गरेर हराउने परम्परा बस्यो । फलस्वरुप बौद्ध धर्ममा तार्किकताका सिद्धान्त विकसित भए । वैभाषिक, शून्यवाद इत्यादि दर्शनको विकास गर्न पछिल्ला बौद्ध अनुयायीहरुको योगदान रहेको छ ।

वैदिककालमा विषेश गरि दुई प्रकारको धार्मिक वादको मान्यता रहेको देखिन्छ - ब्राह्मणवाद र स्रमणवाद।ब्राह्मणहरु वेदमा विश्वास गर्थे भने स्रमणहरु अवैदिक थिए। स्रमणहरु आस्तिक र नास्तिक दुवै थिए । स्रमणहरु ब्रह्मचर्य पालन गर्थे तर ब्राह्मणहरु गृहस्थ थिए र वैदिक विधिनुसार मन्त्र ,जप ,दान, होम आदि अनुष्ठान गर्थे । होम आदिमा पशुबलिको प्रथा फस्टाएको थियो । विधि पुर्वक भएकोले यसलाई हिंसा मानिदैन थियो। पुरोहितहरु समाजमा उच्च बर्गमा गनिन्थे र वर्णाश्रम व्यवस्था फस्टाएर गयो । ब्राह्मणहरु विस्तारै सम्पत्ति र विलासी जिवनको मोहमा फस्दै गए । धर्मको डर ,त्रास देखाएर मानिसबाट अनियोचित दान माग्थे । मानिस सरल र दार्शनिक जगतमा व्याप्त विभिन्न वाद र मतको अराजकताबाट छुटकारा चाहन्थे । जनचाहनेको यहि तथ्यबाट गाैतम बुद्धले मध्यमार्गी धार्मिक र दार्शनिक धार प्रतिपादन गरेका थिए । समाजमा हिसाविरोधी मत बलियो देखिन थाल्यो , होमादिको सार्थकतामाथि प्रश्न उठाउन थालियो ,होमाथिबाट मुक्ति नहुने रहेछ भन्ने चेतना जागृत हुन थाल्यो ।यसरी विस्तारै मानिसहरु कर्मकाण्ड भन्दा विभिन्न दार्शनिक प्रश्नमा विचारविमर्स गर्न थाले र यस्तै परिवेशमा नेपालको लुम्विनीमा गाैतम वुद्धको जन्म भएको थियो।

बुद्धले आफ्ना शिक्षालाई धम्म-विनय भन्ने नाम दिए । विनय भन्नाले भिक्षुहरूका लागि बनाईएको नियमहरूको संग्रह बुझिन्छ भन्ने धम्म भन्नाले दु:खमुक्तिका लागि भिक्षु र गृहस्थ सबैका लागि बुद्धले दिएका शिक्षा भन्ने बुझिन्छ । बुद्धका लगभग सारा शिक्षा र उपदेशलाई त्रिपिटकको रूपमा संग्रहित गरिएको छ जसमा बुद्धका ८२,००० र उनका प्रमुख शिष्यहरूका २००० गरी ८४,००० सुत्र संग्रहित छ्न् ।

बुद्धले दु:ख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्व दिदैंनथे । उनी भन्दथे, "भिक्षुहरू म दुई कुरा मात्र सिकाउंछु: दु:ख र दु:खमुक्तिको उपाय ।" बुद्धको प्रयोगत्मक् शिक्षालाई ३ किसिमले वर्गिकरण गर्ने चलन छ: शील, समधि र पज्ञा। शीलको जगमा रहेर ध्यानद्वारा समधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो। शील, समधि र पज्ञाको मार्गमा पुष्ट हुने क्रममा चार आर्यसत्यलाई पूर्णरूपले बुझ्दै जान सकिन्छ। चार आर्यसत्यहरू यस प्रकार छन्:

  1. दु:ख सत्य: दु:ख छ भन्ने कुरा र यसको अवस्थाको बोध
  2. दु:खको कारण सत्य: दु:खको कारण आसक्ति र अन्तत: अविद्या हो भन्ने बोध
  3. दु:खको निवारण सत्य: दु:खको अन्त्य छ भन्ने कुरा र यसको साक्षात्कार
  4. दु:खको निवारणको मार्ग सत्य: दु:खको निवारण गर्ने आर्य अष्टांगिक मार्गको बोध र यसको पालना। आर्य अष्टांगिक मार्गलाई शील, समधि र पज्ञाको रूपमा पनि वर्गिकरण गर्ने गरिन्छ।

धार्मिक सिद्धान्त[सम्पादन गर्ने]

बुद्धको केन्द्रिय दार्शनिक सिद्धान्त प्रतित्य-समुत्पाद हो। बुद्धले सम्पुर्ण आधारभुत गुणहरु अनित्य, दु:ख र अनात्मका बारेमा प्रकास पार्नु भयो। जसलाई बुद्धको आधारभुत सिद्धान्त रुपमा चिनिन्छ। चार आर्य सत्य

निर्वाण[सम्पादन गर्ने]

भारतको कुशीनगरमा ईशापूर्व ४८३को बैशाख शुक्ल पूर्णिमाको दिन नै बुद्धले निर्वाण प्राप्त गरेका थिए ।

बुद्धको ख्याती[सम्पादन गर्ने]

बुद्धको ख्याती हाल विश्वभर फैलिएको छ ।आज भोलि धेरै देश का मानिस गौतम बुद्ध लाई मान्दछन् ।

धार्मिक सहिष्णुता[सम्पादन गर्ने]

गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतार मध्यको एक अवतार मानेर पूजा गर्छन्[[त्यो हिन्दु मान्ने हरुको आफ्नो विचार हो, तर बुद्ध भनेको न हिन्दु हुन् न अन्य कुनै धर्म सम्बन्धि नै, बुद्ध त मात्र केवल एक शिक्क्षा हो ]] भने बौद्ध धर्मावलम्बी हरूले सम्यक सम्बुद्धको रूपमा पूजा गर्दछन् । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. L. S. Cousins (1996), "The dating of the historical Buddha: a review article", Journal of the Royal Asiatic Society (3)6(1): 57–63.
  2. The Date of the Historical Śākyamuni Buddha (२००३) सम्पादन: A. K. Narain. B. R. Publishing Corporation, New Delhi. ISBN 81-7646-353-1.
  3. नेपालको इतिहास र संस्कृति
  4. "Lumbini, the Birthplace of the Lord Buddha", UNESCO, अभिगमन मिति २६ मे २०११ 
  5. भिक्षु अश्वघोष, बुद्ध चरित, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  6. आर्नोल्ड, एडविन, सन् १९०४, लाइट अफ् एसिया, बुद्ध धर्म एजुकेशन इन्कर्पोरशन, यु एस ए, पृ. २०