महागुरु फाल्गुनन्द

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

महागुरु फाल्गुनन्द लिङदेन (वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महागुरु तथा समाज सुधार थिए।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छ। वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको 'सत्य धर्म मुचुल्का'को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन्।

जीवनी[सम्पादन गर्ने]

जन्मः

वि. सं. १९४२ साल कातिक २५ गते (सन. १८८५ नेभेम्बर ८) आइतवार राती नेपालको पूर्व लिम्बुवान (प्रदेश नं. १) माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ–५ चुक्चिनाम्बामा बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको कोखबाट साइँला छोराको रूपमा सामान्य किसान परिवारमा महागुरु फाल्गुनन्द लिङदेनको जन्म भयो । महागुरुको जेठी दिदि, जेठा र माहिला दाजुको जन्मपछि आमाबाट जन्मिएका सबै शिशुहरु जिवित रहेनन् । महागुरु जन्मदाँ आमाको स्तनमा घाउखिटरा आएको र जन्मिएको ३–४ घण्टासम्म नरुने, आमाको दूध नचुस्ने हुनाले जिवित रहने आशा झनै थिएन । तर अरुबेलाको भन्दा ठुलो र ३–४ घण्टासम्म जिबित नै रहेपछि भोकले मर्ला भन्ने डरले जबरजस्ती स्तनपान गराउन खोज्दा पनि नमाने पछि चार दिनअघि ब्याएको कालो बाख्राको दूध खुवाएर शिशुको पालनपोषण भयो । सो बालक मिनेट, घण्टा हुदै न्वारनको दिन सम्म पनि केही नभएकोले आमा बाबा, परिवार र छरछिमेकमा समेत हर्ष जागेर आयो । न्वारनको दिन नाम नरध्वज राखिए पनि उनि जन्मनुभन्दा पहिला धरै सन्तान जिवित नरहेकोले फलामे साधन लगाईदिए स्वस्थ्य र दीर्घायु हुन्छ भन्ने त्यस समयको प्रचलन अनुसार बाबाले फलामको चुरा र कल्ली लगाईदिए । फलामको चुरा र कल्ली लगाएको हुनाले उनको नाम “फलामसिं” रहन गयो । उनै फलामसिं नै किरात धर्मका महागुरु महिगुम अंसिमाङ फाल्गुनन्द हुनुभयो ।


बाल्यकालः

फलामसिंले आमाको दूध खान नपाउँदै आमा हंसमतिको निधन भयो । अबोध बालक सहित घरव्यवहार चलाउन संकट परेकोले घर–छरछिमेक, इष्टमित्रको करकापमा बाबा जगुनबाजले अर्को विवाह गर्नुभयो । कम बोल्ने, शान्त स्वभावको, एकान्तप्रेमी, मिष्ट–भाषी, हंसिलो, गम्भीर चाल–चलन भएको बालक सानीआमाको रेखदेखमा हुर्कंदै जानुभयो । गरिब खान, लाउन, बस्न दुःख भएको परिवारमा जन्मिएका बालक गाई बाख्रा गोठाला गर्दै वनजंगल, खोलानाला, डाँडाकाँडा चहार्दै ८ वर्षको हुनुभयो ।

एकदिन फलामसिंलाई सानीआमाले बुवालाई सातुसामल गोठमा पु¥याउन पठाउनुभयो । चामलसँगै मासु पनि भएको फलामसिंलाई थाहै भएन । चुक्चिनाम्बामा खान, लाउन, बस्न दुःख भएकाले जगुनबाजले पनि माइखोलापारि जितपुरको खत्रक्पा खोल्सीपारि दानाबारीको बोरुङ सहवीरे भन्ने ठाउँमा हिउँदमा गाई गोठ राखेर वस्नुभएको थियो । महागुरुको बाबा गोठ लगेर उतै बस्ने भएकाले समय–समयमा घरबाट सामलतुमल (खाद्यसामग्री) पु¥याउन जानुपथ्र्यो । फलामसिं डोको बोकेर खोला तरिसकेपछि उहाँलाई अचानक ज्वरो आउन थाल्यो । एकैछिनमा शरीरभरि फोकैफोका उठ्यो । हनहनी ज्वरो आयो, बोल्नै नसक्ने हुनुभयो । मुस्किलले गोठमा पुग्दा छोराको त्यस्तो अवस्था देखेर बुवाले आतिन्दै के भयो भनेर सोध्नुभयो । छोराले आँसु खसाउँदै टुलुटुलु हेरि मात्र रहेको देखेर सानीआमाले ८ वर्षका बिरामी छोरालाई वास्ता नै नगरी यत्रो भारी बोकाएर पठाएछ भन्ने सम्झनुभयो । छिमेकीहरूलाई परिस्थिति बुझाएर गोठ हेर्न लगाई छोरा बोकेर घरतिर फर्कनुभयो । श्रीमतीसँग रिसाउँदै छोरा बोकी घर पुग्दा आमाले आश्चर्य जनाउँदै घरबाट बाटो लाग्दा बिराम नभएको कुरा बताउनु भयो । घरबाट हिड्दा केही नभएको छोरा अचानक कसरी यस्तो भयो भनि अत्तालिदै फेदाङमा, बिजुवा लगाउनुभयो । त्यस समय त्यो भन्दा अरु कुनै विकल्प पनि थिएन । चार दिनसम्म फेदाङमा, बिजुवाहरु लगाउँदा पनि बिरामी फलामसिं विहोस नै थिए । विहोस फलामसिंलाई हरेक रात छिमेकीहरु भेला भएर बिरामी रुङ्ने क्रम चलिनै रहेको थियो । चौथो दिन बेलुकीपख गाउँलेहरूले रुँगिराखेको बेला बेहोस अवस्थामा लडिरहेको फलामसिं एक्कासी उठेर जंगलतिर दौडनुभयो । ३–४ जना युवाहरु ८ वर्षिय विरामी बालकको पछि–पछि दौडिए । उहाँ घर नजिकैको जंगलमा पस्नुभयो । हाराउनुभायो । सबै मिलेर भोलिविहान सम्म निरन्तर खोजे तर कतै फेला पारेनन् ।


दिब्य ज्ञान (धार्मिक ज्ञान) प्राप्तः

फलामसिं विरामीले विहोस भएर सुतेको ४ दिन भईसकेको थियो । साँझ पर्न लागको समयमा आफुजस्तै एक दिव्यपुरुष जंगलतिरबाट आएको देखे । फलामसिंलाई अत्यन्तै आकर्षक ढङ्गले आऊ भनि बोलाए । गाउँलेहरूले रुँगीरहेको भएपनि ती पुरुषलाई फलामसिंले बाहेक अरु कसैले पनि देखेनन् । दिब्यपुरुषको आकर्षक बोलाइले गर्दा विहोसी बालक एक्कासी जुरुक्क उठेर ति दिव्यपुरुष भएतिर दौडेर गए । दिब्यपुरुषको पछि पछि जाँदा जंगल हुदैं बिरामी हुनुअघिको खोलाको किनारमा पुग्नुभएछ । त्यसपछि महागुरुलाई दिव्यपुरुषले माइखोलामा नुहाउन लगाए । केहीमाथि खत्रक्पाको खोल्सीमा लगेर लामपाते रुखको फेदमा उभ्याई खुट्टानेर भुँई खोस्रेर सिमीको दाना रोपेजस्तो गरे । त्यो बीउ तत्कालै उम्रेर लहरा भई बालकलाई रुखसँगै चलमलाउन नसक्ने गरी बाँधेपछि त्यो दिव्य पुरुषले बालकलाई प्रश्न गर्न थाले ।

दिव्य पुरुषः ‘‘मलाई चिनिस् कि चिनिनस ?’’

बालकः ‘‘चिनिन ।’’

दिव्य पुरुषः ‘‘अघिल्लो जन्मको कुरा बिर्सिस ?’’

बालकः बिर्सें, ‘‘थाहा छैन ।’’

दिव्य पुरुषः ‘‘अघिल्लो जन्मको धर्म कर्महरु बिर्सिस ?’’

बालकः बिर्सें, ‘‘थाहा छैन ।’’

दिव्य पुरुषः ‘‘अघिल्लो जन्मको शिक्षा लिपी, सस्कार, स्कृतीहरु बिर्सिस ?’’

बालकः बिर्सें, ‘‘थाहा छैन ।’’

दिव्य पुरुषः ‘‘राम्रो सम्झी, सबै थाहा पाउँछस् ।’’

बालकः ‘‘अहँ थाहा पाइन ।’’

दिव्य पुरुषः ‘‘मासु बोकेर यो खोलामा किन पसेको? त्यो खानु हुँदैन भन्ने बिर्सिस? (माइखोलातिर औंल्याउँदै) ऊ आमासँग माफी माग’’ भन्दै दिव्य पुरुष त्यही अल्पिए ।

फलामसिंले खोलातिर फर्केर माफी माग्दा आफ्नो शरीर नै हल्का हुदै आयो । रुखसँगै बेरिएको लहरा आफै हरायो । शरीरको कम्प, पीडा सबै हराइसकेको थियो । अत्यन्तै आनन्द भयो । मन हलुङ्गो र शान्त भयो । फुर्ती बढेर आयो । केही गरौं–गरौं जस्तो भयो । रुखसंग छुट्टीएर खोलातिर फर्किदा कानमा फेरी दिव्य बाजागाजाहरु (माङबाजा)को ध्वनीले संसार गुञ्जिएको जस्तो हुन थाल्यो । त्यतिकैमा खोलाको बीचबाट सुकिलो आभूषणमा मौलिक गरगहनाले सुसज्जित दिव्यसुन्दरी (युमा साम्माङ वा युमामाङ अर्थात पारुहाङ/सुम्निामा, महादेवी जस्तै थिइन) निस्केर हल्का मुस्कानका साथ आई बालकको शरीरमा सुमसुम्याउँदै बडो सुमधुर स्वरमा धेरैबेर पहिलाको कुराहरु संझाए । हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नु पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने, शिक्षा, भाषा लिपि, संस्कार तथा मुन्धुमको पुर्नउत्थान गर्नुपर्ने जस्ता कुराको दीब्य ज्योती छोडेर ‘‘तपस्वी गुरु/महागुरु हुन्छौ, अगाडिको सर्तहरु सबै पूरा गर्नु । मैले नै तिमीलाई यहाँ बोलाउन पठाएकी हुँ’’ भनी मुस्कुराउँदै पुनः खोलातर्फ गइन् । त्यतिकैमा आनन्ददायी दिव्य माङबाजाहरु फेरि बज्न थाले । दिव्यस्त्री(युमा माङ)लाई पछ्याउँदै बालक खोलातर्फ बढ्दै जाँदा पानीमा पसी चुर्लुम्म डुब्नुभयो । दिव्यस्त्री त्यही लोप भइन् । बालक निथ्रुक्क भिजेर खोलाबाहिर निस्की दिव्यस्त्री कहाँ गइन् भनेर हेर्दै गर्दा पूनः अद्भूत दृश्य देखा प¥यो । मध्यरात भएपनि दिनको झैं उज्यालो देखियो । आकाशतिरबाट मुन्धुमका ठूल–ठूला मणीरत्न जडित सुनौला अक्षरहरु क्रमैसँग आफुतिर खस्न थाले । आँखै तिर्मिराउने मुन्धुमका मन्त्रहरूले भरिपूर्ण ती अक्षरहरु फलामसिंले दैवीशक्तिले पढ्दै जानुभयो । त्यसले बालकमा धार्मिक ज्ञानको बोध हुँदै गयो । सबै दृश्य सकिएपछि छर्लङ हुनुभयो । सपनाबाट ब्युँझे झैं हुनुभयो । आकाशमा जून ताराहरु मात्र देखिए । रातको जूनेली उज्यालो मात्र पाउँदा बालकलाई सपना हो कि बिपना झैं लाग्यो । त्यो रात मंसिर पूर्णिमाको रात थियो । केहिवेर पछि विस्तारै उज्यालो हुदैं गयो । आफ्नै गोठको वारिपट्टिको जंगलमा छु भन्ने थाहा पाउनुभयो । ज्वरो, विमार र शरीरको फोकाहरु सबै निको भएको पाउँदा महागुरु असाध्ये खुशी हुनुभयो । केही क्षणमा घरबाट खोज्न आउने मानिसहरूसँग भेट भयो । खोज्न आउनेहरूले बालकलाई देखेपछि फेरि भाग्ने हो कि भनेर छेक्दै नजिक पुगेर समाते । बालक मुसुक्क हाँसेर किन समातेको भन्दा उनीहरू छक्क परे । कसरी बिराम निको भयो ? रातभरी कहाँ बस्यो ? के गर्यो ? किन भागेर जंगल पसेको ? किन यो खोलामा आएको भनेर गाउलेहरूले सोध्न थाले । बालकले सबै बृत्तान्त बताइदिनुभयो । बालकलाई लिएर घरमा पुग्दा छोरा निको भएर हाँस्दै आएको देखेर अचम्म र खुशी हुँदै आमा–बुवाले के भएर यस्तो भयो भनी सोध्दा मासु बोकेर खोला तर्न नहुने रहेछ भन्दै छोटो उत्तर दिनुभयो । खोज्न जानेहरूले अघि फलामसिंले भन्नुभएको सबै कुराहरु दोहो¥याएर आमा–बुवालाई सुनाए । घर आएर पनि वर्षौं घरी–घरी रातको समयमा उनै दिब्य पुरुष लिन आइरहन्थे । खोलामा घाँटी–घाँटी आउने वरफ झैं चिसो हिउँदे पानीमा डुबाएर उनै दिब्यनारी (युमामाङ, पारुहाङ/सुम्निामा) आएर अगाडिका दिब्यउपदेश, मुन्धुमका अक्षहरु देखाइ रहन्थ्यो । आकाशतिरबाट झरेको सुनौलो मुन्धुमको अक्षरहरु पढिसक्दा नसक्दा बालकलाई एक्लै छोडेर सबै अन्र्तध्यान हुन्थे । धेरै पटक मध्यरात कटे पछि अन्र्तध्यान भै जान्थे र अध्यारोमा चार पाउ गर्दै घर आइपुग्नु हुन्थो । कहिलेकाही भगवाने दिएको पुर्व जन्मको सास्ती हो जस्तै लाग्थ्यो । फेरी ति दिब्य पुरुष लिन आउदा सबै विर्षेर रमाउदै जानुहुन्थो । ज्ञान लिनुहुन्थ्यो । त्यसरी, ८ वर्षको उमेरमै महागुरुले आर्जन गरेको ज्ञान नै किरात धर्मको मुल मुन्धुम बनेको छ ।   



छोटकारीः

महागुरु फाल्गुनन्द लिङदेनको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बु थिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लाई एको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो।

आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त गर्नुभएका फाल्गुनन्द लिङदेनले सेनामा रहदा पनि सांझ बिहान पूजा पाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो। लडाईबाट बिश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ज्ञान तथा समस्त किंराती जातीहरूका मौलिक धर्म संस्कृतिको प्रचार गर्दै उनी भारतका विभिन्न भाग लगायत भुटान हुदै पूर्वी नेपालको ईलाम आफ्नो जन्मस्थल आइपुगे।

आफ्नो गाँउ,ठाँउ आफ्नो जात तथा विशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाक २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिकलेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरी पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, बनाईयो र करीब हजारौका संख्यामा उपस्थितहरूले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन बांधेर छुट्टिए।

फाल्गुनन्नदले धर्म प्रचार प्रसार वा साँझ बिहान आ- आफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ गर्ने र सामुहीकरूपमा पनि ‘माङ सेवा’ गर्नका लागि मेची र कोशी अञ्चलका विभिन्न स्थानमा ७ वटा माङहिम (मन्दिर) बनाएका छन। र उनले कुम्भकर्ण हिमाललाई किँरातीहरूका पबित्र धार्मिक तथा तिर्थ स्थल मान्दै त्याँहा पनि एक ‘माङहिम’ बनाए। र उक्त कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजनहरू ‘माङसेवा’को लागि जाने क्रम दिनानुदिन बृद्धि भइरहेको छ।

फाल्गुनन्दले यसरी ‘सत्यहाङमा मुचुल्का’ मात्र बनाएनन् समय समयमा लिम्बुबान क्षेत्रका हरेक गाँउ,गाऊँमा निरिक्षण पनि गर्दै रहे, त्यसैक्रममा उनी पटक पटक आफ्ना चेला भुलाहरूसगं कुम्भकर्णका फेदीसम्म पनि पुगेका छन् र जंहा महिनौ दिन सम्म ध्यान तपस्या पनि गरेका छन्।

यसरी धर्म प्रचार तथा मौलिक्ताको पहिचान गराउदै हिड्दा तत्कालीन राणा सरकारले यसले राजनीति गरी राणा शासनको बिरोधमा जन्ताहरूलाई जागरुक तुल्याउदै छ कि भन्ने आशंकामा राणा शासकका तत्कालिन धनकुटा जिल्लाका बडा हाकिमको निर्देशनमा उनलाई काठमाण्डौमा पुर्याई सोधपुछ पनि गरिएको थियो।

त्यसैले आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, अन्नबाली होस, चाहे जस्तो सुकै खाने कुरा पनि ‘हिम साम्माङ’, ‘युमासाम्माङ’लाई नचढाइ खानु हुन्न, ‘हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउदा उनी खुशी हुदैनन् त्यसैले पशुबली नगर्नु, त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउने फाल्गुनन्नदलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योती अनि तत्कालिन सामाजिक अर्थ ब्यावस्थालाई राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजका लागि ब्यावहारीक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थबिदको रूपमा पनि लिन सकिन्छ। दोस्रो बिश्वयुद्धमा तत्कालिन ब्रिटिश साम्रज्यका सिपाहीका रूपमा भारत लगायत बर्मामा लडाई लड्दा लड्दै यो लडाईबाट बिश्वमा शान्ती स्थापना गर्न नसकिने यसले झनै रक्तपात, हत्या र हिंसामात्र निम्त्याउने वास्तबिक शान्ति भनेको शिक्षा,ध् यान, तप र धर्म तथा मौलिक्ताको पहिचान भएमा मात्र आउछ भन्ने कुराको ज्ञान उनले बाँडेका थिए। महागुरु फाल्गुनन्दले पाँचथर जिल्लामा गरेको धार्मिक भेलामा जम्मा भएका मानिसहरूलाई विभिन्न शुझाभहरू दिए । ती मध्ये केहि निम्न छन् :-

  • युमाठेवाको आराधना गर्ने,
  • श्रीजंगा लिपिमा अध्ययन गराउने,
  • नैवेध तथा फूलपातिबाट पूजापाठ गर्ने,
  • माङहिङ निर्माण गर्ने,
  • मादक पदार्थ सेवन नगर्ने,
  • छोराको बिहेमा दाम नलिने,
  • स्वदेशी कपडा लगाउने,
  • छोरा र छोरीलाई समान शिक्षा दिने,
  • मृतात्मालाई अदुवा, चामल तथा फलफुल चढाउने ।[१]

राष्ट्रिय विभूति[सम्पादन गर्ने]

महागुरु फाल्गुनन्दलाई बि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरियो ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]