यशोधरा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


राजकुमारी यशोधराको जन्म आज भन्दा २५५० वर्ष पूर्व बैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्मको दिन अर्थात् बैशाख पूर्णिमाका दिन कोलिय ग्राममा भएको हो । यो स्थान हाल देवदह रुपन्देहीमा पर्दछ ।

कोइलीहरुको दरबार[सम्पादन गर्ने]

जसरी बुद्ध शाक्यहरुको राजमहलमा सुखपूर्वक हुर्के, राजकुमारी यशोधरा पनि त्यतिकै लाडप्यारले कोइलीहरुको दरबारमा हुर्किन् । अत्यन्त सुन्दरी, वीणावादनमा निपुण र करुणापूर्ण भएकीले अनेक सुन्दर राजकुमारहरुबाट प्रणय र विवाहको प्रस्ताव आएको थियो । सिद्धार्थको बारेमा यो चर्चित थियो कि उनी घण्टौं दरबारबाट अलोप भई रुखको मुनि बसी ध्यान गर्थे र भविष्यमा जोगी हुने संजोग थियो । यो सब थाहा पाउंदापाउंदै र आफन्तहरुले रोक्दारोक्दै पनि स्वयंवरमा राजकुमारी यशोधराले राजकुमार सिद्धार्थलाई नै चुनिन् ।

बुद्धको गृहत्याग र यशोधरा[सम्पादन गर्ने]

बुद्धको गृहत्याग पछि कत्ति पनि विचलित नभई यशोधराले राहुललाई हुर्काइन्, शुद्धोधनप्रजापति गौतमीलाई ढाढस दिई उनीहरुको सेवा गरिन् । प्रसिद्ध भियतनामी बौद्ध विद्वान थिक् न्यात् हन्ह र ओशोको भनाई के छ भने बुद्धलाई साधना मार्गमा लाग्न र सांसारिक आकर्षणमा नफस्न यशोधराले बराबर स्मरण गराइ रहन्थिन् । गृहत्यागको दिन बुद्धको प्रिय घोडा कन्थकलाई तयार गरी सारथी छन्दकलाई त्यो रात दरबारमै सुत्न लगाइन् । राती गृहत्याग पूर्व आफ्नो आजै जन्मेको बच्चा र पत्नीलाई अन्तिम पटक हेर्ने लालसा लिई जब बुद्ध खोपीमा आउनु भयो, बुद्ध साहित्य अनुसार देवताहरुद्वारा बुद्ध मोहमा नफसुन् भनी यशोधराको आंचलले राहुलको मुख छोपियो तर ओशो र थिक् न्यात् हन्हको भनाइ के छ भने वास्तवमा यशोधरा जागेकै थिइन् र उनले जानेरै बुद्ध ममता मोहमा नफसुन् भनी आफ्नो र बच्चाको मुख छोपी दिइन् ।
बुद्धले वनमा गरेका तपस्याहरु यशोधराले दरबारमा गरिन् । जब यशोधराले खबर सुनिन्- बुद्ध एक छाक खानुहुन्छ, भुईंमा सुत्नु हुन्छ र साधारण चीवर लागउनु हुन्छ । उनले पनि दरबारमै बसी सोही अनुसरण गरिन् ।
बुद्धत्व प्राप्त भए पछि जब बुद्ध कपिलवस्तु आउनु भयो, बुद्धलाई दर्शन गर्न सबै आए तर यशोधरा आइनन् । बुद्ध नै सारिपुत्रलाई भेट्न जानु भयो । त्यहां यशोधराले बुद्धको पाउ स्पर्श गरिसके पछि एक गहन प्रश्न गरिन्- जुन सत्य तपाईंले निरन्जना नदीको तटमा बोधिवृक्षको मुनि प्राप्त गर्नु भयो के त्यो सत्य यहां छैन ? र यहां त्यसको बोध हुन सक्दैन ?
बुद्ध निरुत्तर हुनु भयो । यो प्रश्नले यशोधराको समझ र प्रज्ञाको गहिराई देखाउंछ । राहुलले प्रव्रज्या लिंदा यशोेधराले विरोध गरिनन् । बरु स्वयं आफैंले पनि प्रव्रज्या मागिन् ।

यशोधराको यो पक्ष[सम्पादन गर्ने]

बुद्ध साहित्यमा अनेक साधिकाहरु बिशाखा, आम्रपाली, प्रजापति गौतमी, खजुतरा, कृषा गौतमी इत्यादिको बारम्बार उल्लेख आउंछ तर प्रव्रज्यापछि यशोधराको कहीं उल्लेख भेटिंदैन । यशोधराले संघमा आफुलाई म बुद्धकी पत्नी हुं भनेर कुनै आदर मागिनन् र अति साधारण जीवन व्यतीत गरिन् । उनी आश्रममा सफाइ र रोगीहरुको सेवाको कार्यहरु गर्थिन् । राहुल अर्हत्व प्राप्ति पछि बुद्धका दश गन्धर्वहरु मध्येका एक प्रमुख आचार्य भइसकेका थिए । एक बुद्ध पुरुषकी पत्नी तथा प्रमुख आचार्यकी आमा यशोधराले संघको कुनै महत्वपूर्ण पद नलिइ नेपथ्यमै रहन स्वीकार गरिन् । बुद्धसंघमा पूर्णरुपले आफुलाई विलीन गरेकी यशोधराको यो पक्ष आफैंमा अति प्रशंसनीय छ ।

यशोधराको अन्तिम वार्तालाप[सम्पादन गर्ने]

यशोधराले बैशाख पूर्णिमाकै दिन ७८ वर्षको उमेरमा आफ्नो आराध्यसंग राजगृहीको बेनुवनमा गरेको अन्तिम वार्तालाप बडो मार्मिक छ । उनले आग्रह गरेकी थिइन्, अब म वृद्ध भएं, शरीरका सबै अंग प्रत्यंगहरु थाके । मैले कोइलीकी राजकुमारी र शाक्यकी युवराज्ञी र बुद्धसंघकी भिक्षुणीको आफ्नो स्वधर्म निष्ठापूर्वक पूरा गरेकी छु । मलाई जातीय स्मृति भयो । विगतका अनेक जन्ममा कुनै न कुनै रुपमा मैले अनन्य प्रेम र समर्पणले तपाईंको सेवा गरेकी छु ।तपाईंको अनुमतिले शरीर छोड्न चाहन्छु । बुद्धसंघ तथा तपाईं प्रति आफुले जीवनमा कुनै भूल गरेकी भए माफी पाउंm । यति भनी बुद्धलाई तीन पटक परिक्रमा गरी आफ्नो कुटीमा आई बुद्धप्रति श्रद्धाले दियो बालेर हृदयले बारम्बार प्रणाम गरी यशोधराले शान्त भावले शरीर त्याग गरिन् । [१]

राहुल मार्फत भेट[सम्पादन गर्ने]

सात वर्ष पछि जब बुद्ध कपिलवस्तु फर्के, त्यसबेला यशोधराले राहुल मार्फत बुद्धलाई भेट्ने प्रयास गरिन् । सोझै आफै भेटघाट गर्न गइनन् बरु राहुललाई सुन्दर वस्त्र पहिराएर बुद्धले भोजन गरिरहेको ठाउँमा लगिन् र बुद्धलाई देखाउंदै भनिन्, बाबु, के तिमीले उहांलाई चिन्छौ ?
बुद्ध कपिलवस्तु आएको सात दिन मात्र भएको थियो । राहुलले त्यसै आधारमा भन्यो, हो चिन्छु, उहां बुद्ध हुनुहुन्छ ।
यो सुनेर यशोधराले गहभरि आंसु गराउंदै भनिन्, बाबु, त्यो सज्जन पुरुष जसको शरीरबाट सुनौलो तेज निस्कीरहेको छ र जो लस्करै बसेका भिक्षुहरुको माझमा बस्नु भएको छ, उहां नै तिम्रो पिता हुनुहुन्छ । भिक्षु हुनु अघि उहां यस राज्यका उत्तराधिकारी हुनुहुन्थ्यो । उनको नजीकमा जाउ र सोध, बुबा, म राजकुमार हुं । त्यसैले भविष्यमा म राजा बन्नेछु । राजामात्र होइन राजाहरुको पनि राजा बन्नेछु । त्यसैले मलाई मेरो अधिकार दिनुहोस किनभने छोरालाई बाबुको सम्पत्ति लिने अधिकार हुन्छ ।सात वर्षको राहुल आफ्नी आमाको आज्ञा अनुसार बुद्धको नजीक पुग्यो र भन्न थाल्यो, महाश्रमण, तपाईंको छाया बडो शीतल छ ।
त्यसबेला बुद्धले खाना खाइवरि उठ्न थालेका थिए । उनले राहुललाई ध्यानले हेरे । अनि राहुलले आफनी आमाले सिकाएको कुरा जस्ताको तस्तै भन्न थाल्यो । बुद्ध केही बोलेनन्, बोल्न सकेनन् । उनी जुरुक्क उठेर हिंड्न थाले । राहुल पछि पछि हिंड्दै आमाले सिकाएको कुरा दोहोर्याउंदै जान थाल्यो ।
बुद्ध सोझै विहारमा पुगे र उपतिष्यलाई भने, राहुललाई यहां ल्याउ र तुरुन्तै प्रव्रज्जित गराउ । बुद्धले उत्तराधिकारमा दिने सम्पत्ति भनेकै संन्यास दिनु थियो । पछि बुद्धले आफ्ना दश प्रमुख शिष्य मध्ये राहुललाई एक प्रमुख शिष्य नियुक्त गरे । [२]
थाइ भिक्षु बुद्धदास भिक्खुले बुद्धको जीवनीको सानो विवरणमा कपिलवस्तुमा यशोधरासंगको पुनः भेटको प्रसंलाई यस प्रकार लेखेका छन्, यशोधरा पति वियोगबाट धेरै मर्माहत भएकी हुनाले भगवान् बुद्धको दर्शन गर्न आउन सकिनन् । अरुहरुले जस्तै धर्मदेशना सुन्न पनि आउन सकिनन् । राजा शुद्धोधनका अनुरोध अनुसार बुद्ध भगवान आफैं यशोधरादेवीलाई दया राखी दर्शन दिन जानु भयो । राजाले भगवान बुद्धका समक्ष यशोधरादेवीका असल गुणहरुको बखान गर्नु भयो । भगवान बुद्धको दर्शन तथा धर्मदेशना सुन्न पाएर तिनी प्रफुल्लित भइन् । जीवनभर धर्मको आचरण गर्ने पनि निर्णय गरिन् । [३]

उपसंहार[सम्पादन गर्ने]

यशोधराको बारेमा बौद्ध साहित्यमा छिटपुट संवाद मात्र प्राप्त छन् तर ती संवादले यशोधरा पनि गार्गीमैत्रेयी जस्तो विदुषी थिइन् भन्ने अनुमान गर्न सकिन्छ । पातिव्रत्य धर्ममा उनको स्थान महाभारतमा वर्णित सावित्री सरह छ जसले आफ्नो त्याग र तपस्याले आफ्नो घर र माइती दुवै कुलको यश बढाएकी छन् भने आफ्नो सेवाले आफ्नो पतिलाई अमर बनाएकी छन् । त्यागको उनी अनुपम नमूना हुन् किनभने उनले विवाह गरे देखि प्रव्रज्या हुंदा सम्म कहिल्यै केही कुरा माग गरिनन् बरु आफ्ना पतिको व्यक्तित्व विकासमा योगदान मात्र गरिन् । आफुलाई मेटाउनमा नै गौरव अनुभव गरिन् । कहांसम्म भने उनको जन्म र मृत्युको तिथि पनि आफ्नो छैन ।
यशोधराका बारेमा पछिका साहित्यकारमध्ये रवीन्द्रनाथ ठाकुर तथा मैथिली शरण गुप्तले काव्य रचना गरेका छन् । गुप्तले यशोधरा नाम गरेको एउटा महाकाव्य नै रचना गरेका छन् । [४]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]


  1. स्वामी आनन्द अरुण–सन्त दर्शन
  2. सद्धातिस्स– बुद्धः जीवन और दर्शन
  3. भिक्षु बुद्धदास भिक्खु बुद्धको जीवनी
  4. यशोधरा महाकाव्यका लागि हेर्नु होस् http://www.kavitakosh.org/kk/index