हरिभक्त कटुवाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

हरिभक्त कटुवाल (Assamese হৰিভক্ত কটুৱাল)एक प्रसिद्ध साहित्यकार तथा गीतकार हुन्। हरिभक्त कटुवालको जन्म १९३५, जुलाई २ (विस १९९२ असार १८ गते) असम राज्यमा वीरबहादुर कटुवाल र विष्णुमाया कटुवालको छोरोको रूपमा भएको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

कटुवाल जन्मेको डेढ़ वर्षमा ब्रह्मपुत्रमा आएको बाढीले उनको घरै भत्काइदियो। त्यसपछि कटुवालको परिवार घरबिहीन बन्यो। घरबिहीन बनेर कटुवाल परिवार यताउति भौंतारिहिड्यो। त्यतिमात्र होइन, त्यो घरमा सँधैभरि आर्थिक हाहाकारको बादल मड़ारिरह्यो। विवश थिए बीरबहादुर कटुवाल। आफ्नो श्रीमती र छोरा हरिभक्त कटुवाललाई बिरालुले बच्चा सारेजस्तो कहिले यता, कहिले उता सारिहिँड़े बीरबहादुरले। तर, यो सायदै दैवको परीक्षा थियो, तिनीहरू जतासुकै गए पनि आर्थिक अभावको बादल तिनीहरूमाथिनै मड़ारिरह्यो। त्यतिखेरदेखिको त्यो अवस्था पछिसम्मै रहिरह्यो। आर्थिक अभावको खाड़ल झन् ठूलो, झन् ठूलो हुँदै गइरह्यो, घटेन, सानो भएन। यद्यपि, बीरबहादुर कटुवालले छोरालाई अक्षर चिन्हाउनुपर्छ भन्ने कुरा बिर्सेनन्। यस्तो स्थितिमा पनि तिनले छोरालाई स्थानीय स्कूलमै भए पनि पढ्न पठाए। कटुवालले स्थानीय स्कूलमै क, ख पढ़े। असमियाभाषामै स्कूले शिक्षा ग्रहण गरे। जसोतसो कक्षा 10 को बोर्ड परीक्षा उत्तीर्ण गरे। त्यसपछि पनि उनले उच्चतर माध्यमिक पढ्न चाहेका थिए, तर पार लगाउन सकेनन्। किनभने उनले उच्चतर माध्यमिक पढ्दापढ्दै डिगबोईको नेपाली स्कूलमा पढ़ाउन थाले। त्यो उनको वाध्यता नै थियो। स्कूल नपढ़ाएर पनि घरको भारमा काँध थाप्नुपर्ने स्थिति थियो र भनौंनै भने त यो उनको निम्ति एउटा अवसर थियो। तिनले अवसर आत्मसात गरे। त्यो स्कूलमा उनी चित्र अनि खेलकूदको गुरू थिए। त्यसैबेला उनले आफ्ना विद्यार्थीलाई नृत्य र सड्गीत पनि पढ़ाए। बड़ो गर्वको कुरा, उनले त्यहाँ सोरठी नृत्यको पनि प्रचलन गराए। उनैका कारणले त्यो ठाँउमा सोरठी नृत्यले पनि लोकप्रियता हासिल गरेको थियो। डिगबोईको विष्णुमन्दिर समितिमा उनले पढाएका विद्यार्थीहरूले पछि नृत्य र गायनमा ख्याति कमाएका थिए। यसको एउटा अलग्गै अध्याय छ। उनले जेसुकै गरे पनि उनको प्रतिभा स्फूरण हुनमा कसै, केहीले रोकेन। कटुवालमा वाड्मयको बहुआयमिक प्रतिभा थियो। त्यसताकको कालखण्डमा उनले त्यहाँ साहित्य लेखन अनि मूर्त र अमूर्त चित्रकलामा ख्याति आर्जन गरे। उनैले डिगबोईमा नेपाली भाषामा आधारित नाटक र एकाड्की नाटक खेल्ने र खेलाउने प्रथाका जग पनि खनेका थिए। उनको कलम सबै विधामा बराबर चलेको छ, यसले तिनलाई बहुआयामिक साहित्यकार बनाइदिएको छ भन्दा अत्युक्ति नहोला। कटुवालले असमकै सनकसिंह ठकुरी र माया ठकुरीकी छोरी जयकुमारीसँग बिहे गरे। यी दम्पतिबाट तीन छोरी र एक छोरा जन्मे। त्यसपछि स्वास्नी, छोराछोरी हुर्काउन, पाल्न यिनी क्रियाशील भए। कटुवालको एउटा नराम्रो बानी थियो, त्यसैले तिनी जता गए पनि अन्ततः हारेरै फर्कन्थे। त्यसैले हो तिनको स्कूलको जागिर पनि गयो। एकचोटि तिनी हेल्थ इन्सपेक्टर भए, तर त्यो जागिर पनि गयो। यहाँसम्म कि, केही सीप नचलेर तिनले एकचोटि सब्जी पसल पनि थापे। तर अन्तमा, यसमा पनि तिनी टिकेनन्। तिनको यही नटिक्ने बानी अथवा चञ्चले स्वाभावले गर्दा तिनको यो स्थिति भएको थियो। निक्कै क्रियाशील भएर तिनले सब्जीको व्यापार गरेका हुन्। सब्जी ब्यापार गर्दा तिनी मिर्मिरेदेखि रातिसम्म सब्जीमण्डीमानै पलेँटी कसेर बस्थे। तरकारी व्यापारमा पनि उनी टिकिरहन सकेनन् र अर्को व्यवसायको खोजिमा लागे। परिणामस्वरूप उनले परदेशी होटल खोले। उनको होटलमा पनि उधारो भात खानेको जनसंख्या बढ्न थाल्यो। अनि होटल सुकेनासझैं गल्न थालेपछि उनले त्यस ठाँउबाट पनि आँसुले हात धोए। यतिहुँदाहुँदै पनि उनी साहित्य र संस्कृति गतिविधिमा लागि बस्थे। कटुवालले आफ्नै बुताले साँस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठीहरूको आयोजना गरिरहन्थे। उनको हरेक सास फेराईमा वाड्मय हुन्थ्यो। त्यसैले उनको भोकतीर्खै वाड्मयमा नै समर्पित थिए। त्यसैबेला उनैको सम्पादनमा मूक्ति र हिमालय साहित्यिक पत्रिका प्रकाशित भए। त्यसबेला उनी नेपाली साहित्य, सड्गीत र पत्रकारिताका क्षेत्रमा सुप्रसिद्ध भइसकेका थिए। त्यही रौनकले उनको सर्वत्र चर्चा र परिचर्चा पनि हुन थालेको थियो।

नेपाल आगमन[सम्पादन गर्ने]

दार्जीलिङका प्रतिभाहरू नेपाल भासिएझौं हरिभक्त पनि नेपाल भित्रिए। विस 2024 -मा नेपालमा राष्ट्रव्यापी साहित्य सम्मेलन भएको थियो। त्यस सम्मेलनमा असमबाट हरिभक्त कटुवालले भाग लिएका थिए। त्यतिबेला केदारमान व्यथितले उनलाई काठमाडौं आउने निम्ता दिएका थिए। 2026 सालमा उनी असमबाट काठमाडौं गए। काठमाडौंमा प्रवेशसँगसँगै कटुवालले काम पनि पाए। त्यसबेला उनलाई व्यथितको पहलमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको मुखपत्र प्रज्ञाको प्रबन्ध सम्पादकमा भर्ना गरियो। त्यही समयमा उनी सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, ईश्वरवल्लभ, भूपी शेरचन, उत्तम कुँवर र अम्बर गुरुडका सम्पर्कमा पनि पुगे। केदारमान व्यथितले स्थापना गरेको नेपाली साहित्य संस्थानमा पनि कटुवाललाई सचिव बनाइएको थियो। अनि त्यस ठाँउमा साहित्यिक व्यक्तिहरूसँग कटुवाल रक्सी खाई बस्थे। त्यतिबेला उनीसँग साँगी लाग्न घरीघरी भूपी शेरचन र ईश्वरवल्लभ पनि पुग्नेगर्थे। रक्सी खाएका बेला कटुवाल निहुँमात्रै खोज्थे। त्यसैले बिजुली खाएका बेला उनका छेउ स्रष्टाहरू प्रायः जान मान्दैन थिए। रत्नशमशेर थापाका अनुसार रक्सी खाएर मातेका बेला एकपटक कटुवालले भूपी शेरचनको लुगानै च्यातिदिएका थिए। धेरै ठेस लागेपछि कटुवालले जीवन बुझ्दै गए। उनको जीवनको विशेषता हो, उनी इमान्दार थिए। जस्तै कठोर जरीमाना भोग्नु परे पनि उनी असत्य बोल्दैन थिए। यस्तो राम्रो मान्छे पनि जिन्दगीमा सफलता नपाएर रक्सीमा डुब्नथाले। तर त्यही रक्सीले उनलाई डुबाइदियो। 20 वर्षको उमेरदेखि कटुवालले आफ्ना रचना पत्रपत्रिकामा छपाउन थालेका हुन्। लेख्तालेख्तै यिनले काठमाडौं जाँदा एउटा गीतसड्ग्रह, एउटा कविता सड्ग्रह र एउटा खण्डकाव्य लिएर गएका थिए। काठमाडौं गएपछि उनले ‘यो जिन्दगी खै के जिन्दगी’ प्रकाशनमा ल्याए। त्यसै कवितासड्ग्रहले यिनलाई चर्चाको शिखरमा पुर्‍यायो। त्यसपछि उनले कथासड्ग्रह ‘स्पष्टिकरण’ प्रकाशित गरे। अनि उनको शेषपछि भीमकान्त उपाध्यायको सङ्कलन र सम्पादनमा ‘बदनाम मेरा यी आँखाहरू’ प्रकाशनमा आयो। त्यस कृतिमा पनि उनका कलजयी गीतिकविता सङ्ग्रहित भए। उनका धेरै कविताहरू गीत बनेका छन्, कर्णप्रिय।

प्रकाशित कृतिहरु[सम्पादन गर्ने]

कविता/गीतसंग्रह :- सम्झना (२०१६), भित्रि मान्छे बोल्न खोज्छ(२०१८), यो जिन्दगी खै के जिन्दगी?(२०२९) र बदनाम मेरा आँखाहरु(२०४४)
खण्डकाव्य  :- सुधा(२०२१)
कथासंग्रह  :- ऐतिहासिक(सह-२०२०), स्पष्टीकरण(२०३०)
एकांकीसंग्रह  :- म मरेको छैन
सम्पादन  :- पूर्व किरण(२०२१)
अनुबाद  :- चरित्रपाठ ब्याकरण, शिशुबोध ब्याकरण
कविता यो जिन्दगी खै के जिन्दगी?
यो जिन्दगी खै के जिन्दगी!
भित्र भित्रै खोक्रिएर बाहिर बाहिर बाचेको
एटमको त्रासलेचुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी!
बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ
खुकुरीको धारमा पाईला टेकेर जीउनुपर्छ यहाँ
आँखा चिम्लिन पनि जग्जगी
आँखा उधार्न पनि जग्जगी
यो जिन्दगी खै के जिन्दगी!
पसलमा सोकेशभित्र सजाईराखेको
काँचको चूरा जस्तो यो जिन्दगी
कुनै युबतीको हातमा चढदा चढ्दै-
प्याट्ट फुट्न सक्छ यो जिन्दगी!
रबरका सस्ता चप्पल जस्तै यो जिन्दगी
बाटामा हिड्दा हिड्दै-
च्याट टुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी!

मृत्यु[सम्पादन गर्ने]

हरिभक्त कटुवाल नेपालबाट असम फर्के पछि १० सेप्टेम्बर १९७९ (वि.सं. २०३७ भदौ २५ गते) ४५ बर्षको उमेरमा अल्सरको कारणबाट मृत्यु भयो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]