प्रश्नोत्तर
स्वरूप
प्रश्नोत्तर भानुभक्त आचार्यबाट लेखिएको एक पद्य कविता हो। यस कवितामा कविले जीवनजगतका विभिन्न पक्षमाथि प्रश्न पठाएर तिनको उत्तर दिने प्रयास गरेका छन्। उपजाति छन्द र वसन्ततिलका छन्दमा रचित कवितामा कविले जीवनोपयोगी विभिन्न प्रसंगमा समाजलाई नैतिक चेतना तथा आदर्शतिर उन्मुख गराउने प्रयत्न गरेका छन्। कतिपय आलोचकको भनाइअनुसार, प्रश्नोत्तर उनको मौलिक कृति नभई अनुदित कृति हो। उनले संस्कृत साहित्यका विद्वान् शङ्कराचार्यद्वारा रचना गरिएको संस्कृतको ‘मणिकरत्नमाला’को अनुवादका क्रममा तत्कालीन समाजलाई नैतिक शिक्षा प्रदान गरेका हुन्।[१] यस कृतिमा तत्कालीन समयको आदर्शलाई प्रस्तुत गरिएको छ।[२] [३][४]
"प्रश्नोत्तर" कविता
- कस्लाइ हो शत्रु भनेर जान्नु?
- आफ्ना दसै इन्द्रिय शत्रु मान्नु।
- कस्लाइ खूब् मित्र भनेर जान्नु?
- जीत्या तिनै इन्द्रिय मित्र मान्नु।
- दरिद्र नाऊँ नरमा छ कस्को?
- विशाल तृष्णा घरमा छ जस्को।
- कुन् हो धनी सब् नरले कह्याको?
- सन्तोषले जो छ खुसी रह्याको।
- ज्युँदै मर्याको भनी नाऊँ कस्को?
- उद्यम विना बित्तछ काल जस्को।
- कुन् हो सबैले गुरु भन्नु पर्न्या ?
- जो हो हितैको उपदेश गर्न्या ।
- कुन धन्य हो? जुन् छ परोपकारी।
- कुन् पुज्य हो? तत्व लिन्या विचारी।
- कौनै बखतमा पनि के नगर्नु?
- पापका अगाडि कहिल्यै नसर्नू।
- कुन् हो जगतको गहना बन्याको?
- विध्यै छ सबको गहना बन्याको।
- कुन् सत्य हो सत्य कसरी जान्नु?
- जुन् प्राणीको हित छ उ सत्य मान्नु।
- शोभायमान भई बस्छ सभा बिषेको?
- सब्को मन प्रसन्न गर्दछ शास्त्रले जो।
- मातासरी सुख दिन्या कुन् चिज छ जान्नु
- विद्यै छ त्यस्तो अरू कौन खोज्नु ?
- कुन् हो जति दियो उति बढ्न जान्या?
- बिध्यै रहेछ बुझि निश्चय तेहि मान्या।
- कुन् काम हो अति डरायर दुर सार्नु?
- लोकापवाद् छ घटिया कहिल्यै नधार्नू।