शारदा शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शारदा शर्मा
जन्मशारदा शर्मा
(१९५८-१०-१९) अक्टोबर १९, १९५८ (उमेर ६१)
स्याङ्गजा
वासस्थानमहाराजगञ्ज, धुम्बाराही, काठमाडौं महानगरपालिका, नेपाल
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
पेशालेखन
चिनारीको कारणकविता, कथा, निबन्ध, उपन्यास, समालोचना
प्रसिद्ध कार्यसीमान्त अनुभूति
आस्थाको भग्नावशेष, युद्धोपरान्त, ताप, कम्प
गृहनगरकाठमाण्डौं
जीवनसाथीनरहरि आचार्य
सन्तानअनामिका, अपराजिता
मातापिताराधाकुमारी शर्मा र डा. महेश्वर शर्मा
पुरस्कारपद्मश्री साहित्य सम्मान – २०६९

शारदा शर्मा (अङ्ग्रेजी: Sharada Sharma जन्म सन् १९५८, अक्टोबर १९ विक्रम सम्बत्: २०१५, कार्तिक ०४) नेपाली भाषाकी साहित्यकार हुन् ।[१][२] उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा संस्मरण विधामा कलम चलाउने स्रष्टा हुन् ।[३][४][५]

शमरदा शर्मा भिर्कुटीमन्ड्पमा

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

शारदा शर्माको जन्म वि.सं. २०१५ कार्तिक ४ गते माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा थुम गाउँ, चिलाउनेबास स्याङ्जा जिल्लामा भएको हो ।[३][४][५] उनको प्रारम्भिक बाल्यकाल पोखरामा बित्यो । उनी हिमाल, ताल, जङ्गल, डाँडाकाँडा, नदीनाला, भीरपखेरामा लड्दैपड्दै हुर्किन् ।[६] स्याङ्जाको आँधीखोला, आठगह्रेमा जन्मेकी शारदाको दुई वर्षको उमेरदेखि ठेगाना फेरिँदै गयो । प्रशासक बाबु महेश्वर शर्माको जहाँ जहाँ सरुवा हुन्थ्यो, उनी त्यहाँ त्यहाँ पुग्थिन् । उनले नुवाकोट, स्याङ्जा, कास्की र काठमाडौंमा बाल्यकाल बिताइन् ।[७]

शिक्षा[सम्पादन गर्ने]

शारदा शर्माले १३ वर्षको उमेरमा कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कुल, प्याफलबाट एसएलसी उत्तीर्ण गरिन् ।[७] उनले विज्ञान विषय अन्तर्गत प्राणीशास्त्रमा स्नातक र नेपाली भाषा र साहित्यमा स्नातकोत्तरको अध्ययन गरेकी छन् ।[१][४]

कार्य जीवन[सम्पादन गर्ने]

शारदा शर्माले नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भई कार्य गरिन् । उनले परिवार कल्याण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत भई सेवा गरिन् ।[६] जागिरबाटनै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा फराकिलो दृष्टिकोण बनाउनुका साथै घर चलाउन सजिलो भएको उनको अनुभव छ ।[७]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

शारदा शर्मा जति शिक्षित छिन् त्यसभन्दा उनी बौद्धिक छिन् । उनको त्यो आकर्षक बौद्धिक व्यक्तित्व नेपाली राजनीति र साहित्यका अर्का बौद्धिक व्यक्तित्व नरहरि आचार्यसँग २०३५ सालमा लगनगाँठो कसियो । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा संलग्न नरहरि आचार्य पछि नेपाली कांग्रेस पार्टीको सरकारमा मन्त्रीसम्म पनि भए । नरहरि आचार्य नेपाली राजनीतिक वृ्तका एक चिन्तकका रूपमा चर्चित र स्थापित व्यक्तित्व मानिन्छन् । यी दम्पत्तिका दुई सन्तान, अनामिका र अपराजिता छन् ।[६]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

शारदा शर्माले आठ वर्षका उमेरदेखि लेख्न थालिन् । उनी सानैदेखि संवेदनशील, भावुक र बौद्धिक थिइन् । स्वाभिमान उनको शिरको ताज थियो, सङ्कोचीपन शारदा शर्माको जीवनसँगै टाँसिएको मौलिक गुण थियो । त्यसैले शारदा शर्मा जति बौद्धिक छिन् त्यति नै अन्तर्मुखी छिन् । उनका जीवनका यिनै आधारशिलाबाट उनले राम्रा शब्द कुँद्न सकेकी हुन् । उनका सृजनाका प्रत्येक शब्दमा विम्ब लहसिएको हुन्छ । सृजनाको इतिहासमा शारदा शर्मा कविताबाटै झुल्केकी थिइन् । उनको पहिलो प्रकाशित रचना पनि कविता नै थियो । २०३९ सालमा बी.पी. विशेषाङ्कका रूपमा प्रस्तुत ‘पूजा’ पत्रिकामा शारदा शर्माको ‘नहार्ने योद्धालाई मेरो बधाई’ शीर्षकको कविता प्रकाशित भएको थियो । साथै उनको प्रथम कृति ‘सीमान्त अनुभूति’ (२०४४) पनि कवितासङ्ग्रह नै थियो र यस कृतिबाट उनी झनै चर्चित बनिन् । यस सङ्ग्रहलाई प्रा.यदुनाथ खनालले आफ्ना न्यायोचित तराजुले जोख्ता शारदाको कवितात्मक मूल्यको गरिमा अझै बढेको देखियो ।[६]

लेखनशैली[सम्पादन गर्ने]

कवयित्रीका रूपमा प्रसिद्धि बटुल्ने शारदा शर्मा गीत पनि त्यत्तिकै ज्वलन्त लेख्छिन् । त्यसैले उनी नेपाली साहित्याकाशमा चर्चित छिन् । नेपाली भाषामा कविता, कथा र निबन्ध लेखेर ख्याति कमाउने स्रष्टामध्ये शारदा शर्मा पनि एक हुन् । शारदा शर्माका लेखनमा भावना र बौद्धिकताको बराबरी आत्मीयता जोडिएको हुन्छ । केही समालोचकहरूले शारदा शर्मालाई मुटु र विवेकको दोभान मानेका छन् । विभिन्न समालोचकहरूका भनाइअनुसार, शारदा शर्माका कलममा स्रष्टा, सृष्टि र दृष्टिको त्रिवेणी भेटिन्छ । उनका कवितामा जीवनको भोगाइ हुन्छ, मान्छेको रोजाइ हुन्छ र अदृश्य सोचाइ हुन्छ । उनी जसरी कथामा आफ्नो शिखर भावना प्रस्तुत गर्छिन्, त्यसै गरी कवितामा पनि जीवनको मोह अर्पित गरिरहन्छिन् । उनका कविताका दुःखात्मक कथा र निराशाका अभिव्यक्तिहरू जति जीवन्त छन् त्यहाँ त्यति नै आशाका ज्योतिहरू चम्किरहने गर्छन् । नेपाली साहित्यमा आफ्नो शब्दरचनाले उनी नेपाली पाखा, बेंसी र तराईका फाँटहरूमा चिनिएकी छिन् । उनी उत्कृष्ट बौद्धिकताका कुरा लेख्छिन्, लुकेका कुरा लेख्छिन्, दुःखेका कुरा लेख्छिन्, भावनाका कुरा लेख्छिन्, खुसी लेख्छिन् र चोट लेख्छिन् । अथवा उनी जे देख्छिन् त्यो लेख्छिन् । उनको लेखनको आफ्नै विशिष्ट शैली छ । छोटकरीमा भन्ने हो भने शारदा शर्मा नेपाली साहित्यकी एउटी सशक्त संवाहक हुन्, सृजनाकी मुहान हुन् र साहित्यिक धाराकी प्रवाह हुन् ।[६]

आख्यानको स्पर्शसहित यथार्थको रोचक प्रस्तुति रहेका उनका निबन्धहरूमा परम्परागत सामाजिक संरचनाले मानसिकतामा पारेको प्रभावको सूक्ष्म विश्लेषण गरिएको पाइन्छ । नारी, पुरुष, धर्म, कविता, अध्यात्म आदिप्रतिको आफ्नो धारणालाई जीवनका अति सामान्य लाग्ने घटना र प्रसङ्गसित जोडेर व्यावहारिक तथा तर्कपूर्ण ढङ्गले पुष्टि गरी गम्भीर चिन्तन प्रस्तुत गर्नु उनका निबन्धको सामथ्र्य हो । उनी तार्किक र सूक्तिमय भाषाका माध्यमबाट निबन्धमा पनि कवितात्मक अनुभूति प्रकट गर्दै पाठकमा विषयवस्तुप्रतिको स्पष्ट विचार प्रवाह गराउन सक्षम निबन्धकार हुन् ।[३]

उनका नियात्राहरू विचारवान कृति हुन् । प्रकृति वर्णन र ‘यसो गर्‍यौं, उसो गर्‍यौं’ भन्दा माथि उक्लेर उनका निबन्ध पाठकलाई सान्दर्भिक विषयमा आफ्नो विचार पनि पस्कन सफल छिन् । उनी परिस्थितिजन्य भावना पनि ज्यादै मीठो पाराले अभिव्यक्ति गर्छिन् जो स्वयम् सत्यका टुक्राहरूजस्ता लाग्छन्। आफू स्वयम् महिला हुनाले पनि हुनुपर्छ, उनलाई आफू पुगेका ठाउँका महिलाहरूका अवस्था र गतिविधिप्रति विशेष चासो छ।[८]

उनले उपन्यास 'कम्प'मा नारी पात्रलाई विशेष महत्व दिएर महिलाको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटो केलाउने प्रयास गरेकी छिन् र महिला हिंसा र यससँग जोडिएका आम मुद्दाको चर्चा गर्दै उनले महिलामा हुर्कंदै गएको विद्रोही चेत देखाएकी छिन् ।[९] केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले बनेको ‘कम्प’मा उनका सुन्दर शैली, चिटिक्कको भाषा, सु-स्पष्ट बिचार र गज्जबको यात्रा प्रसंगको मीठो समिश्रण पाइन्छ ।[१०]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्ने]

कविता सङ्ग्रह[सम्पादन गर्ने]

  • सीमान्त अनुभूति २०४४
  • युद्धोपरान्त २०४९
  • स्वर्णसूत्र २०५२

कथा सङ्ग्रह[सम्पादन गर्ने]

  • ‍‍‍ अग्नि स्पर्श - २०६३
  • आस्थाको भग्नावशेष -२०४८

निबन्ध सङ्ग्रह[सम्पादन गर्ने]

  • भूईँफूलको देश २०६८[८]

उपन्यास[सम्पादन गर्ने]

समीक्षाग्रन्थ तथा समालोचना[सम्पादन गर्ने]

पुरस्कार[सम्पादन गर्ने]

ताप उपन्यासका लागि शारदा शर्माले २०६८ सालमा पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिन् ।[२][१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "शारदा शर्मा : नेपाली लेखकहरुको वैयक्तिक विवरण पुस्तकालय", srrasta.blogspot.in, जनवरी ३१, २००८, अन्तिम पहुँच २०१८-०४-०९ 
  2. २.० २.१ ""पद्मश्री साहित्य पुरस्कार शारदा र सत्यमोहनलाई प्रदान"", nepaljapan.com, २६ सेप्टेम्बर, २०१३, अन्तिम पहुँच २०१८-०४-०९ 
  3. ३.० ३.१ ३.२ शर्मा, बिन्दु (२५ आसाढ, २०६९), "अग्निस्पर्श’का निबन्धमा पुस्तान्तर चेतना", samakalinsahitya.com, अन्तिम पहुँच २०१८-०४-०९ 
  4. ४.० ४.१ ४.२ ४.३ ""ताप’ उपन्यासमा अभिव्यञ्जित मानवीय रापहरू"", pallawa.com.np, अक्टोबर १८, २०१२, अन्तिम पहुँच २०१८-०४-०९ 
  5. ५.० ५.१ ५.२ "'मस्तिष्कलाई झंकृत गराउने पुस्तक लेखिनुपर्छ'", nagariknews.com, शनिबार, ३१ असार २०७४, अन्तिम पहुँच २०१८-०४-०९ 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ LAMICHHANE, RABINS (MARCH २८, २०१०), "नारीचुली – उषा शेरचन – इन्दिरा प्रसाई – शारदा शर्मा – पुष्पलता आचार्य – सीता पाण्डे –", rabinsxp.com, अन्तिम पहुँच २०१८-०४-०९ 
  7. ७.० ७.१ ७.२ "बिनाबर्दीकी सचेतक अर्थात् शारदा शर्मा", livenepalnews.net, डिसेम्बर २२, २०१७, अन्तिम पहुँच २०१८-०४-१० 
  8. ८.० ८.१ लवोजु, नीरज (सेप्टेम्बर ४, २०१६), "पुस्तक समीक्षा : ‘भुइँफूलको देश’मा", sahityasangraha.com, अन्तिम पहुँच २०१८-०४-११ 
  9. ९.० ९.१ भण्डारी, शंकर (शनिवार, मंसिर ११, २०७३), "दुःखको औसत कथा", annapurnapost.com, अन्तिम पहुँच २०१८-०४-०९ 
  10. १०.० १०.१ के.सी.’प्रमोद’, राजन, "पुस्तक चर्चा : शारदा शर्माको ‘कम्प’ !!!", sallerikhabar.com, अन्तिम पहुँच २०१८-०४-१० 
  11. विक, बच्चु (कार्तिक १४, २०७३), "जिउँदै यमलोकको यात्रा", himalkhabar.com, अन्तिम पहुँच २०१८-०४-०९ 
  12. "शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री", presschautari.com, २शुक्रवार, २०७० आश्विन १० गते, अन्तिम पहुँच २०१८-०४-१०