शारदा शर्मा
शारदा शर्मा | |
---|---|
शारदा शर्मा | |
जन्म | शारदा शर्मा १९ अक्टोबर १९५८ स्याङ्गजा |
वासस्थान | महाराजगञ्ज, धुम्बाराही, काठमाडौँ महानगरपालिका, नेपाल |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
पेशा | लेखन |
चिनारीको कारण | कविता, कथा, निबन्ध, उपन्यास, समालोचना |
उल्लेखनीय कार्य | सीमान्त अनुभूति आस्थाको भग्नावशेष, युद्धोपरान्त, ताप, कम्प |
गृहनगर | काठमाण्डौं |
जीवनसाथी | नरहरि आचार्य |
सन्तान | अनामिका, अपराजिता |
मातापिता | राधाकुमारी शर्मा र डा. महेश्वर शर्मा |
पुरस्कार | पद्मश्री साहित्य सम्मान – २०६९ |
शारदा शर्मा (अङ्ग्रेजी: Sharada Sharma जन्म सन् १९५८, अक्टोबर १९ विक्रम सम्बत्: २०१५, कार्तिक ०४) नेपाली भाषाकी साहित्यकार हुन् ।[१][२] उनी नेपाली साहित्यका कविता, कथा, उपन्यास, समालोचना, निबन्ध र यात्रा संस्मरण विधामा कलम चलाउने स्रष्टा हुन् ।[३][४][५]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]शारदा शर्माको जन्म वि.सं. २०१५ कार्तिक ४ गते माता राधाकुमारी शर्मा र पिता डा. महेश्वर शर्माकी पुत्रीरत्नका रूपमा थुम गाउँ, चिलाउनेबास स्याङ्जा जिल्लामा भएको हो ।[३][४][५] उनको प्रारम्भिक बाल्यकाल पोखरामा बित्यो । उनी हिमाल, ताल, जङ्गल, डाँडाकाँडा, नदीनाला, भीरपखेरामा लड्दैपड्दै हुर्किन् ।[६] स्याङ्जाको आँधीखोला, आठगह्रेमा जन्मेकी शारदाको दुई वर्षको उमेरदेखि ठेगाना फेरिँदै गयो । प्रशासक बाबु महेश्वर शर्माको जहाँ जहाँ सरुवा हुन्थ्यो, उनी त्यहाँ त्यहाँ पुग्थिन् । उनले नुवाकोट, स्याङ्जा, कास्की र काठमाडौँमा बाल्यकाल बिताइन् ।[७]
शिक्षा
[सम्पादन गर्नुहोस्]शारदा शर्माले १३ वर्षको उमेरमा कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कुल, प्याफलबाट एसएलसी उत्तीर्ण गरिन् ।[७] उनले विज्ञान विषय अन्तर्गत प्राणीशास्त्रमा स्नातक र नेपाली भाषा र साहित्यमा स्नातकोत्तरको अध्ययन गरेकी छन् ।[१][४]
कार्य जीवन
[सम्पादन गर्नुहोस्]शारदा शर्माले नेपाल परिवार नियोजन सङ्घमा आबद्ध भई कार्य गरिन् । उनले परिवार कल्याण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईपीपीएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा कार्यक्रम अधिकारीका रूपमा पनि कार्यरत भई सेवा गरिन् ।[६] जागिरबाटनै यौन तथा प्रजनन स्वास्थ्यका बारेमा फराकिलो दृष्टिकोण बनाउनुका साथै घर चलाउन सजिलो भएको उनको अनुभव छ ।[७]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]शारदा शर्मा जति शिक्षित छिन् त्यसभन्दा उनी बौद्धिक छिन् । उनको त्यो आकर्षक बौद्धिक व्यक्तित्व नेपाली राजनीति र साहित्यका अर्का बौद्धिक व्यक्तित्व नरहरि आचार्यसँग २०३५ सालमा लगनगाँठो कसियो । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेसामा संलग्न नरहरि आचार्य पछि नेपाली कांग्रेस पार्टीको सरकारमा मन्त्रीसम्म पनि भए । नरहरि आचार्य नेपाली राजनीतिक वृ्तका एक चिन्तकका रूपमा चर्चित र स्थापित व्यक्तित्व मानिन्छन् । यी दम्पत्तिका दुई सन्तान, अनामिका र अपराजिता छन् ।[६]
साहित्यिक यात्रा
[सम्पादन गर्नुहोस्]शारदा शर्माले आठ वर्षका उमेरदेखि लेख्न थालिन् । उनी सानैदेखि संवेदनशील, भावुक र बौद्धिक थिइन् । स्वाभिमान उनको शिरको ताज थियो, सङ्कोचीपन शारदा शर्माको जीवनसँगै टाँसिएको मौलिक गुण थियो । त्यसैले शारदा शर्मा जति बौद्धिक छिन् त्यति नै अन्तर्मुखी छिन् । उनका जीवनका यिनै आधारशिलाबाट उनले राम्रा शब्द कुँद्न सकेकी हुन् । उनका सृजनाका प्रत्येक शब्दमा विम्ब लहसिएको हुन्छ । सृजनाको इतिहासमा शारदा शर्मा कविताबाटै झुल्केकी थिइन् । उनको पहिलो प्रकाशित रचना पनि कविता नै थियो । २०३९ सालमा बी.पी. विशेषाङ्कका रूपमा प्रस्तुत ‘पूजा’ पत्रिकामा शारदा शर्माको ‘नहार्ने योद्धालाई मेरो बधाई’ शीर्षकको कविता प्रकाशित भएको थियो । साथै उनको प्रथम कृति ‘सीमान्त अनुभूति’ (२०४४) पनि कवितासङ्ग्रह नै थियो र यस कृतिबाट उनी झनै चर्चित बनिन् । यस सङ्ग्रहलाई प्रा.यदुनाथ खनालले आफ्ना न्यायोचित तराजुले जोख्ता शारदाको कवितात्मक मूल्यको गरिमा अझै बढेको देखियो ।[६]
लेखनशैली
[सम्पादन गर्नुहोस्]कवयित्रीका रूपमा प्रसिद्धि बटुल्ने शारदा शर्मा गीत पनि त्यत्तिकै ज्वलन्त लेख्छिन् । त्यसैले उनी नेपाली साहित्याकाशमा चर्चित छिन् । नेपाली भाषामा कविता, कथा र निबन्ध लेखेर ख्याति कमाउने स्रष्टामध्ये शारदा शर्मा पनि एक हुन् । शारदा शर्माका लेखनमा भावना र बौद्धिकताको बराबरी आत्मीयता जोडिएको हुन्छ । केही समालोचकहरूले शारदा शर्मालाई मुटु र विवेकको दोभान मानेका छन् । विभिन्न समालोचकहरूका भनाइअनुसार, शारदा शर्माका कलममा स्रष्टा, सृष्टि र दृष्टिको त्रिवेणी भेटिन्छ । उनका कवितामा जीवनको भोगाइ हुन्छ, मान्छेको रोजाइ हुन्छ र अदृश्य सोचाइ हुन्छ । उनी जसरी कथामा आफ्नो शिखर भावना प्रस्तुत गर्छिन्, त्यसै गरी कवितामा पनि जीवनको मोह अर्पित गरिरहन्छिन् । उनका कविताका दुःखात्मक कथा र निराशाका अभिव्यक्तिहरू जति जीवन्त छन् त्यहाँ त्यति नै आशाका ज्योतिहरू चम्किरहने गर्छन् । नेपाली साहित्यमा आफ्नो शब्दरचनाले उनी नेपाली पाखा, बेंसी र तराईका फाँटहरूमा चिनिएकी छिन् । उनी उत्कृष्ट बौद्धिकताका कुरा लेख्छिन्, लुकेका कुरा लेख्छिन्, दुःखेका कुरा लेख्छिन्, भावनाका कुरा लेख्छिन्, खुसी लेख्छिन् र चोट लेख्छिन् । अथवा उनी जे देख्छिन् त्यो लेख्छिन् । उनको लेखनको आफ्नै विशिष्ट शैली छ । छोटकरीमा भन्ने हो भने शारदा शर्मा नेपाली साहित्यकी एउटी सशक्त संवाहक हुन्, सृजनाकी मुहान हुन् र साहित्यिक धाराकी प्रवाह हुन् ।[६]
आख्यानको स्पर्शसहित यथार्थको रोचक प्रस्तुति रहेका उनका निबन्धहरूमा परम्परागत सामाजिक संरचनाले मानसिकतामा पारेको प्रभावको सूक्ष्म विश्लेषण गरिएको पाइन्छ । नारी, पुरुष, धर्म, कविता, अध्यात्म आदिप्रतिको आफ्नो धारणालाई जीवनका अति सामान्य लाग्ने घटना र प्रसङ्गसित जोडेर व्यावहारिक तथा तर्कपूर्ण ढङ्गले पुष्टि गरी गम्भीर चिन्तन प्रस्तुत गर्नु उनका निबन्धको सामथ्र्य हो । उनी तार्किक र सूक्तिमय भाषाका माध्यमबाट निबन्धमा पनि कवितात्मक अनुभूति प्रकट गर्दै पाठकमा विषयवस्तुप्रतिको स्पष्ट विचार प्रवाह गराउन सक्षम निबन्धकार हुन् ।[३]
उनका नियात्राहरू विचारवान कृति हुन् । प्रकृति वर्णन र ‘यसो गर्यौं, उसो गर्यौं’ भन्दा माथि उक्लेर उनका निबन्ध पाठकलाई सान्दर्भिक विषयमा आफ्नो विचार पनि पस्कन सफल छिन् । उनी परिस्थितिजन्य भावना पनि ज्यादै मीठो पाराले अभिव्यक्ति गर्छिन् जो स्वयम् सत्यका टुक्राहरूजस्ता लाग्छन्। आफू स्वयम् महिला हुनाले पनि हुनुपर्छ, उनलाई आफू पुगेका ठाउँका महिलाहरूका अवस्था र गतिविधिप्रति विशेष चासो छ।[८]
उनले उपन्यास 'कम्प'मा नारी पात्रलाई विशेष महत्त्व दिएर महिलाको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पाटो केलाउने प्रयास गरेकी छिन् र महिला हिंसा र यससँग जोडिएका आम मुद्दाको चर्चा गर्दै उनले महिलामा हुर्कंदै गएको विद्रोही चेत देखाएकी छिन् ।[९] केही समसामयिक यथार्थ, केही पौराणिक आख्यान, केही कल्पना र स्वैरकल्पनाको मिश्रणले बनेको ‘कम्प’मा उनका सुन्दर शैली, चिटिक्कको भाषा, सु-स्पष्ट विचार र गज्जबको यात्रा प्रसंगको मीठो समिश्रण पाइन्छ ।[१०]
लेखन एवम मुख्य कृतिहरू
[सम्पादन गर्नुहोस्]कविता सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- सीमान्त अनुभूति २०४४
- युद्धोपरान्त २०४९
- स्वर्णसूत्र २०५२
- यात्रामा २०७२
कथा सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- अग्नि स्पर्श - २०६३
- आस्थाको भग्नावशेष -२०४८
निबन्ध सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- भूईँफूलको देश २०६८[८]
उपन्यास
[सम्पादन गर्नुहोस्]समीक्षाग्रन्थ तथा समालोचना
[सम्पादन गर्नुहोस्]- विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका नारी पात्रहरु २०५३
पुरस्कार
[सम्पादन गर्नुहोस्]ताप उपन्यासका लागि शारदा शर्माले २०६८ सालमा पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिन् ।[२][१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "शारदा शर्मा : नेपाली लेखकहरूको वैयक्तिक विवरण पुस्तकालय", srrasta.blogspot.in, जनवरी ३१, २००८, अन्तिम पहुँच २०१८-०४-०९।
- ↑ २.० २.१ ""पद्मश्री साहित्य पुरस्कार शारदा र सत्यमोहनलाई प्रदान"", nepaljapan.com, २६ सेप्टेम्बर, २०१३, अन्तिम पहुँच २०१८-०४-०९।[स्थायी मृत कडी]
- ↑ ३.० ३.१ ३.२ शर्मा, बिन्दु (२५ आसाढ, २०६९), "अग्निस्पर्श’का निबन्धमा पुस्तान्तर चेतना", samakalinsahitya.com, अन्तिम पहुँच २०१८-०४-०९।
- ↑ ४.० ४.१ ४.२ ४.३ ""ताप’ उपन्यासमा अभिव्यञ्जित मानवीय रापहरू"", pallawa.com.np, अक्टोबर १८, २०१२, अन्तिम पहुँच २०१८-०४-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०८ मिति
- ↑ ५.० ५.१ ५.२ "'मस्तिष्कलाई झंकृत गराउने पुस्तक लेखिनुपर्छ'", nagariknews.com, शनिबार, ३१ असार २०७४, अन्तिम पहुँच २०१८-०४-०९।
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ LAMICHHANE, RABINS (MARCH २८, २०१०), "नारीचुली – उषा शेरचन – इन्दिरा प्रसाई – शारदा शर्मा – पुष्पलता आचार्य – सीता पाण्डे –", rabinsxp.com, अन्तिम पहुँच २०१८-०४-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०८ मिति
- ↑ ७.० ७.१ ७.२ "बिनाबर्दीकी सचेतक अर्थात् शारदा शर्मा", livenepalnews.net, डिसेम्बर २२, २०१७, अन्तिम पहुँच २०१८-०४-१०।[स्थायी मृत कडी]
- ↑ ८.० ८.१ लवोजु, नीरज (सेप्टेम्बर ४, २०१६), "पुस्तक समीक्षा : ‘भुइँफूलको देश’मा", sahityasangraha.com, अन्तिम पहुँच २०१८-०४-११।
- ↑ ९.० ९.१ भण्डारी, शंकर (शनिवार, मंसिर ११, २०७३), "दुःखको औसत कथा", annapurnapost.com, अन्तिम पहुँच २०१८-०४-०९। वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-२७ मिति
- ↑ १०.० १०.१ के.सी.’प्रमोद’, राजन, "पुस्तक चर्चा : शारदा शर्माको ‘कम्प’ !!!", sallerikhabar.com, अन्तिम पहुँच २०१८-०४-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-२२ मिति
- ↑ विक, बच्चु (कार्तिक १४, २०७३), "जिउँदै यमलोकको यात्रा", himalkhabar.com, अन्तिम पहुँच २०१८-०४-०९।
- ↑ "शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री", presschautari.com, २शुक्रवार, २०७० आश्विन १० गते, अन्तिम पहुँच २०१८-०४-१०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२७ मिति