सामग्रीमा जानुहोस्

माधवी (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माधवी
लेखकमदनमणि दीक्षित
देशनेपाल
भाषानेपाली
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.स. २०३९ (सन् १९८३)
पुरस्कारमदन पुरस्कार

माधवी मदनमणि दीक्षितद्वारा लेखिएको र साझा प्रकाशनले २०३९ मा प्रकाशित गरेको  एक नेपाली भाषाको उपन्यास हो ।[१] यो उपन्यासले पूर्वीय समाजबाट दासप्रथा उन्मूलन भएको देखाएको छ ।[२] यस उपन्यासले २०३९ सालको मदन पुरस्कार तथा साझा पुरस्कार जित्न सफल भएको थियो । यो उपन्यास पञ्चायती शासन व्यवस्थाको विरोधमा २०३४सालदेखि २०३९ सालसम्म गरी लेखिएको हो ।[३]

सारांश[सम्पादन गर्नुहोस्]

माधवी उपन्यासको बारेमा केही बुझ्दा आज भन्दा तीन हजार वर्षअघिको उत्तरभारतीय समाजको राजनीतिक, सामाजिक, आर्थिक अवस्था देखाउनका लागि उनले गालब र माधवीको प्रेमकथालाई माध्यम बनाएका छन्। दीक्षित भन्छन्, 'यो प्रेमोख्यान होइन, सामाजिक वा राजनीतिक उपन्यास पनि होइन। यो तीनै पक्षको समान सम्मिश्रण हो। तीनमध्ये एक पक्षलाई हटाउने हो भने उपन्यास अपूर्ण हुन्छ।'

उपन्यास माधवीका चार सम्राट पुत्रले संयुक्त रूपमा आयोजना गरेको यज्ञबाट सुरु हुन्छ। ७५ वर्षीया माधवी र ८० वर्षीय गालव यज्ञस्थलमा आइपुग्छन्। उनीहरूले ती सम्राटलाई सुनाएको गाथा नै माधवी उपन्यासको मूल कथा हो। वेदव्यासद्वारा रचित महाभारतको उद्योग पर्वमा भएको गालव र माधवीको कथालाईनै दीक्षितले उपन्यासको रूप दिएका हुन् । गालबले आफ्ना गुरु विश्वमित्रसँग गुरुदक्षिणाका लागि हठ गर्छन्। गालबको हठबाट आजित भएर विश्वमित्रले उनलाई 'काला कान भएका चारवटा सेता घोडा ल्याउनू' भन्छन्। योनै गालवसँग विश्वमित्रले मागेको गुरुदक्षिणा हो। विश्वमित्रले दासविमोचन (दासमुक्ति) महायज्ञ गराउन श्याकर्ण घोडा चाहेका हुन्छन्। महायज्ञमार्फत् भारतवर्षका सबै दासदासीलाई मुक्ति दिने तयारीमा विश्वमित्र हुन्छन्। गालव गुरुदक्षिणा दिनका लागि श्यामकर्ण घोडाको खोजीमा हिमालयको काखमा रहेको ययातीको मुलुक अहिछत्र पुग्छन्। राजा ययातीसँग श्यामकर्ण घोडा थिएनन्। उनले आफ्नी पुत्री माधवी नै गालवलाई सुम्पिन्छन्।

श्यामकर्ण घोडा भएका राजासँग सम्भोग गरी तेजस्वी सम्राट पुत्र जन्माउने र गालवलाई चारवटा श्यामकर्ण घोडा दिलाउने जिम्मा माधवीको हुन्छ। यही सर्तमा माधवीलाई लिएर गालव अहिछत्रबाट विदा हुन्छन्।

उनीहरूको पहिलो यात्रा हर्यश्व राजा भएको अयोध्यामा हुन्छ। हर्यश्वसँग एउटा मात्रै श्यामकर्ण घोडा थियो। त्यसैले एक घोडाका लागि एक पुत्र जन्माउन माधवी तयार हुन्छिन्। हर्यश्वबाट माधवीले वसुमनालाई जन्म दिन्छिन्।

काशीमा गालवले दोस्रो श्यामकर्ण घोडा प्राप्त गर्छन्। काशी नरेश दिवोदास र माधवीबाट प्रतर्दनको जन्म हुन्छ। तेस्रो श्यामकर्ण घोडाका लागि उनीहरू भोजनगर जान्छन्। भोजनगरमा शिवीसँगको समागमबाट माधवीले शिवीलाई जन्मदिन्छिन्।

उनीहरूले चौथो श्यामकर्ण घोडा भेट्टाउन सक्दैनन्। तीनवटा श्यामकर्ण घोडा बुझाइसकेको गालवले चौथो घोडाको सट्टा माधवीलाई नै विश्वमित्रसमक्ष अर्पण गर्छन्। वृद्ध विश्वामित्रले आफ्ना भानिज प्रमतकलाई माधवीसँग सम्भोग गर्न लगाउँछन्। प्रमतक र माधवीबाट अष्टकको जन्म हुन्छ। पछि अष्टक चम्पा महाजनपदका सम्राट बन्छन्।

गुरुदक्षिणाको भारबाट मुक्ति पाएपछि गालव माधवीलाई ययाती दरबारमै फिर्ता गर्छन्। तर, ययातीले आयोजना गरेको माधवीको स्वयम्वरमा सहभागी हुँदैनन्। गालवलाई नदेखेपछि माधवी स्वयम्वर छाडेर वन प्रस्थान गर्छिन्। गालव पनि माधवीको खोजीमा वनवन भट्किरहन्छन्।

यस अवधिमा लेखकले अहिच्छत्र, अयोध्या, काशी, भोजनगरको सामाजिक र आर्थिक अवस्था चित्रण गरेका छन्। ती राज्यमा दासहरूको अवस्था कस्तो थियो भन्ने चित्रण गर्दै दास विमोचन गरेका राज्यमा कसरी दासहरूले मुक्ति पाए भन्ने देखाइएको छ।

बीचबीचमा विभिन्न गणको प्रसंग आउँछ। ती जनजातीय गणमध्ये कतिपयमा मातृसत्ता हुन्छ। उनीहरूका आर्थिक क्रियाकलाप पनि आदिम किसिमका हुन्छन्।

समीक्षा[सम्पादन गर्नुहोस्]

उपन्यासमा दीक्षितले थुप्रै उपकथा गाँसेका छन् भने अधिकांश शब्द माधवी र गालवका लागि खर्चिएका छन्। धेरै पात्र, फरक भौगोलिक परिवेश तथा विभिन्न धार्मिक सम्प्रदाय उपन्यासमा भेटिन्छन् । उनी कथालेखनमा यति मग्न थिए । उनी कथा र पात्रसँग यसरी जोडिए, पाण्डुलिपि पढ्दा धेरैपटक रोए। कहिले पात्रको दुःख देखेर रोए, कहिले लेख्दालेख्दै सोचेभन्दा कैयौं गुणा राम्रो लागेर रोए। उनी भन्छन्, 'मदनपुरस्कार पुस्तकालयमा पाण्डुलिपि छँदैछ। पाँचसय वटा पाना आंशुले भिजेका छन्।'

एक किसिमले उनको माधवीसँग लभ नै परेको थियो। उपन्यास लेखिसकेपछि पनि सपनामा 'माधवी... माधवी' भनेर बर्बराउँथे। ऐँठन हुन्थ्यो उनलाई सपनामा।

एकपटक मस्कोबाट लेनिनग्राद जाँदै गर्दा यस्तै भएछ। उनी रेलको माथिल्लो सिटमा थिए। त्यसको तल्तिर रुसी भाषाका इन्टरप्रेटर थियोे। राति त्यो दोभाषेले उनलाई झक्झकायो। उसले सोध्यो, 'ए दीक्षित! कोसँग कुरा गरिहेका छौ?'

'म त निदाइरहेको छु, कोसँग कुरा गर्नु?' उनले जवाफ दिए।

'मैले तिम्रो भाषा त बुझिनँ तर माधवी माधवी जस्तो के भन्दै थियौ।'

अनि पो दीक्षित झस्यांग भए।

अर्को एउटा कार्यक्रममा ओखलढुंगा गएका बेला उनले लामै समय माधवीसँग बात मारेछन्। भोलिपल्ट छेउमा सुतेका नगेन्द्रराज शर्माले सुनाउँदा थाहा पाएछन्। दीक्षितपत्नीले पनि धेरैपटक उनलाई सपनाबाट ब्युँझयाएकी छन्।

माधवी लेखनमा उनको समर्पण थियो, यो उनको साधनाको उपज हो।

तै पनि माधवी उनलाई सबैभन्दा मन पर्ने किताब होइन। उनलाई त आफूले लेखेकामध्ये सबैभन्दा मन पर्ने किताब 'मेरी नीलिमा' हो। भूमिसुक्त र त्रिदेवी पनि माधवी हाराहारीकै लाग्छ उनलाई। माधवीको जति चर्चा र प्रसिद्धी भने अरू पुस्तकले पाएनन्। यतिका पाठक र प्रशसंक कमाएनन्। अनि आलोचक पनि कमाएनन्।

माधवी साह्रै क्लिष्ट र नबुझिने छ भनेर धेरैले गुनासो गरेका छन् उनीसँग। 'मैले पढ्नै सकिनँ' भन्ने पाठक पनि धेरै भेटिसके उनले। उनलाई स्वाभाविक लाग्छ।

'प्राचीन समयमा मात्रै प्रयोग हुने संस्कृतका २५० शब्द मैले कौटिल्यको अर्थशास्त्रबाट लिएको छु,' उनी भन्छन्, 'ती शब्दपछि संस्कृतमै पनि उति चल्तीमा रहेनन्।'

अरबी फारसी शब्द पनि प्रशस्तै प्रयोग गरेका थिए उनले। यी शब्दले पनि उपन्यासलाई अप्ठ्यारो बनाएका थिए। २०६७ सालमा पाँचौं संस्करण प्रकाशन गर्नुअघि व्याकरणीय त्रुटी सच्याउने सल्लाह भएछ।

उपन्यासमा ऋगवेदका मात्रै ५५ वटा सुक्त उद्धृत गरिएको छ। उपनिषदका सुक्तहरू पनि छन्। आजभन्दा तीन हजार वर्षअघि प्रयोग हुने संस्कृत शब्दका कारण यो उपन्यासको भाषा निकै जटिल भएको हो। तर दीक्षित भन्छन्, 'त्यो नभएको भए माधवी जन्मिने नै थिएन। तीन हजार वर्ष पहिलाको समाजलाई देखाउन सक्ने नै थिएन।'

यो उपन्यासको स्तरीय अनुवाद गरेर हिन्दी एवम् अंग्रेजीमा प्रकाशन गर्न पाए हुने भन्ने उनलाई छ। तर अनुवादका लागि उपयुक्त व्यक्ति उनले भेटेका छैनन्।

पञ्चायत र नगेन्द्रप्रसाद रिजालसँगको इखका कारण उनले माधवी लेखेका हुन्। समीक्षानामक पत्रिका बन्द नभएको भए उनी यता लाग्ने थिएनन्।

जवाफमा उनी धेरैबेर मौन बसिदिए। प्रस्ट शब्दमा उनले स्वीकार गर्न चाहेनन्। केही बेरपछि भने, 'साहित्यिक सिर्जनामा लेखकको मनोभाव जोडिएकै हुन्छ। त्यो संसारका महानभन्दा महान लेखकको सिर्जनामा पनि हुन्छ।'

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]