मौनाबुधुक
मौनाबुधुक | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°०७′N ८७°२०′E / २७.१२°N ८७.३३°Eनिर्देशाङ्कहरू: २७°०७′N ८७°२०′E / २७.१२°N ८७.३३°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,५६९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
मौनाबुधुक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, धनकुटा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५६९ रहेको थियो जसमध्ये १११४ पुरुष र १४५५ महिला रहेका थिए भने यहाँ ५८४ घरधुरी रहेको थियो।[१][२] यो हाल चौबिसे गाउँपालिकामा पर्दछ। यो जिल्ला सदरमुकाम धनकुटाबाट करिब ३५ किलोमीटर पूर्व-दक्षिण दिशामा अवस्थित छ भने धरानबाट करिब २४ किलोमीटरको दूरिमा पर्दछ।
नामाकरण
[सम्पादन गर्नुहोस्]यस गा.वि.स.को मेलबोटे टाहारमा एउटा सानो पोखरी रहेको थियो ।जसलाई लिम्बू भाषामा “मावना” भन्ने गरिन्थ्यो । त्यहा एउटा सानो हाट लाग्ने गर्दथ्यो जसलाई मौनागोला भनियो । “मा व ना” शब्दको अर्थ लगाउँदा लिम्बू भाषामा 'मा' भनेको श्रोत, 'व' भनेको पानी छ र ना भनेको माछा अर्थात माछा भएको पोखरी भन्ने अर्थ लाग्दछ । यसरी “मावना” शब्द अपभ्रंस भएर मौना भएको हो । यसरी उक्त स्थानमा पहिला माछा पोखरी रहेको भएता पनि हाल पोखरी नभएर ढुङ्गेस्तम्भ अध्यावधी छ ।
अर्कोतिर बुधुकको नामकरण “पुधुक” भन्ने लिम्बू शब्दबाट भएको भनाई छ । पु भनेको चरा र धुक भनेको वासस्थान अर्थात चरा बस्ने वासस्थान भएकोले “पुधुक” भनियो जुन शब्द अपभ्रंस भएर बुधुक भएको भन्ने भनाई रहेको छ । यसरी नामाकरण भएका मौना र बुधुक शब्दले यस क्षेत्रको परिवेसलाई चरितार्थ गर्ने भएकोले उक्त मौना र बुधुक शब्दलाई एकै शब्दमा जोडी मौनाबुधुक भन्न थालिएको हो भन्ने आख्यान रहेको छ ।
राजनीतिक विभाजन र सिमाना
[सम्पादन गर्नुहोस्]यस मौनाबुधुक गा.वि.स.को पूर्वमा कुरुलेतेनुपा र बसन्तटार गा.वि.स., पश्चिममा खुवाफोक गा.वि.स, उत्तरमा बोधे गा.वि.स. र दक्षिणमा राजारानी गा.वि.स. पर्दछ । यस गा.वि.स.मा नौ वटा वडाहरु रहेका छन् । गा.वि.स.को कार्यालय वडा नं. २ मा रहेको छ । मौनाबुधुक धनकुटा जिल्लाको इलाका नं. २ मा पर्दछ भने निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नं. १ अन्तर्गत पर्दछ ।
ऐतिहासिक पृष्टभूमि
[सम्पादन गर्नुहोस्]इतिहासकारहरूको मत अनुसार छैंटौ सताब्दीका आठ किराँतहाँङ्गहरु माथि ताईसेनवंसी दश सरदारहरूले विद्रोह गरी दश लिम्बुवान सङ्घिय राज्य स्थापना गरे । दश सङ्घिय राज्य मध्ये लदोहाङ्ग राज्य एक हो । लदोहाङ्गको यक सागुरियक हो । कालान्तरमा गएर यस प्रदेशलाई चौबिस मिकलुङ्गथुम भनियो । यही ऐतिहाँसिक सङ्घिय राज्य र पछिको थुमको सीमा भित्र मौनाबुधुक पर्छ । अरुण नदी पूर्वको लिम्बुवान राज्य विं सं. १८३१ श्रावण २२ गतेको संधिपत्र, सम्झौता (लालमोहर) पूर्व स्वतन्त्र थियो । तत्कालिन लिम्बुवान राज्यमा दश सङ्घिय राज्य थिए जसको केन्द्रिय सदरमुकाम विजयपुर थियो । वि. सं. १८३१ पश्चातका केन्द्रिकृत शाहवंशी राजाहरूबाट लिम्बुवानको सन्धि पत्रमा उल्लेख भएका राजनीतिक, आर्थिक स्वायत्तता र आत्म निर्णयको अधिकार कटौती गर्दै प्रशासनिक जिल्ला स्थापना गर्ने क्रममा धनकुटा गौडाको स्थापना भयो । स्वार्गवासी पूर्व राजा महेन्द्र विरविक्रम शाहले प्रजातन्त्रको गला रेटी वि. सं. २०१७ पौष १ गते पञ्चायती शासन व्यवस्था लादे पश्चात देशलाई प्रशासनिक १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो । उक्त ७५ जिल्ला मध्येको धनकुटा जिल्लामा विं सं. २०१९ सालमा ३६ गाउँ पञ्चायत गठन भयो ।
अवस्थिती
[सम्पादन गर्नुहोस्]धनकुटा जिल्लाका ३६ गाउँ विकास समिति मध्ये मौनाबुधुक गाउँ विकास समिति एक हो । धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारबाट पूर्व– दक्षिणमा पैदल यात्रा गर्दै तमोर नदीको याक्चाना घाटमा घिर्लिङ्ग तरेर नौकोषको पैदल यात्रा तथा सदरमुकामबाट बसको यात्रा गर्दा धनकुटा देखि ३८ कि. मि. र भेडेटारबाट २३ कि. मि. पूर्व बसको यात्रा पूरा गर्दा उत्तर मोहोडाको भूगोलमा सुन्तलाको जंगलभित्र अवस्थित ग्रामिण बस्तिमा पुगिन्छ । त्यही सुन्तलाको जंगलभित्र अवस्थित गाविसको नाम हो मौनाबुधुक । जिल्ला भरिका ३५ गाविसहरु मध्येमा जिल्ला विकास धनकुटाले गरेको भौतिक तथा चेतना विकास र सामुदायिक संस्था परिपक्वता मूँयाङ्कका आधारमा जिल्लामा उत्कृष्ट छानिएका गाविसहरुमध्ये यो गाविस एक हो । प्राकृतिक सुन्दरतालाई संरक्षण गरिएको र कञ्चनजंघा हिम श्रृंखलाको मनमोहक दृश्यावलोकन गर्न सकिने रमणिय गाउँको रूपमा यो गाउँ रहेको छ । यस गाविसको वडा नं. २ र ३ को सिमानामा अवस्थित बुधुक बजार यस गाविसको सदरमुकाम हो ।
भौतिक पूर्वाधार
[सम्पादन गर्नुहोस्]यस मौनाबुधुक गाविसमा आधारभूत सबैखाले विकासका पूर्वाधारहरूको विकास भएको छ । सडक यातायात, बिजुली, खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारहरूको राम्रो विकास भएको छ । यस गाविसमा एउटा स्वास्थ्य चौकी तथा उच्च अध्ययनका लागि दश जोड दुई बुधुक उच्च माध्यमिक विद्यालय र स्नातकको पठनपाठन हुने त्रिभुवन विश्वविद्यालयबाट संम्बन्धन प्राप्त बुधुक क्याम्पस पनि रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति