मुक्तिनाथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुक्तिनाथ
मुक्तिनाथ मन्दिर
प्राथमिक विवरण
स्थान:मुक्तिनाथ, जोमसोम
सम्बन्धनहिन्दुत्व
जिल्लामुस्ताङ
देशनेपाल
वेबसाइटmuktinath.org
वास्तुकला प्रकारद्रबिडीयन शैली
मुक्तिनाथ मन्दिर

मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्त्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्‍णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रूपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्‍यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति अथवा मोक्ष प्राप्‍त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो ।

पौराणिकता[सम्पादन गर्नुहोस्]

मुक्तिनाथ १०८ दिव्‍य देशहरूमा एक स्थान हो । यो 'दिव्‍य देश' वैष्‍णवहरूको पवित्र मन्दिर हो ।[१] पारम्परिक रूपमा भगवान विष्‍णुको शालिग्राम शिलाको रूपमा पूजा गरिन्छ । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्‍मबाट भएको थियो, जो मुख्‍यत: टेथिस सागरमा पाइन्थे । जहाँ टेथिस सागर अवस्थित थियो त्यहाँ अब हिमालय पर्वत छ । पौराणिक मान्‍यताहरूका अनुसार शालिग्राम शिलामा विष्‍णुको निवास हुन्छ । यस सम्बन्धमा अनेक पौराणिक कथाहरू पनि प्रचलित छन् । यिनै कथाहरूमा एक कथाका अनुसार जब भगवान शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान विष्‍णुले उनको मद्दत गरेका थिए । कथाहरूमा भनिएको छ कि जबसम्म असुर जालन्धरकी पत्‍नी वृन्दाले आफ्नो सतीत्‍व बचाएर राखेकी थिइन् तबसम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैन थ्यो । यो अवस्थामा भगवान विष्‍णुले जालन्धरके रूप धारण गरेर वृन्दाको सतीत्‍वलाई नष्‍ट गर्ने काममा सफल भएका थिए । जब वृन्दालाई यस कुराको थाह भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको बध गरिसकेका थिए । यसैले वृन्दाले भगवान विष्‍णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्‍यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । फलस्‍वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्‍य हुन् ति विष्णुले भगवान शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो [२] । पुराना दंतेकथाहरूका अनुसार मुक्तिक्षेत्र त्यस्तो स्‍थानहो जहाँ मोक्षको प्राप्ति हुन्छ । यसै स्थानमा भगवान विष्‍णु शालिग्राम शिलामा निवास गर्दछन् । मुक्तिनाथ बौद्ध धर्मावलम्बीहरूका लागि पनि एक महत्‍वपूर्ण स्‍थान हो । यसै ठाउँको बाटो भएर उत्‍तरी-पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार-प्रसारका लागि तिब्‍बत गएका थिए ।

वि. सं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गङ्गाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए । यसरी सवा लाख गाईको दूधले शालिग्राम नुहाएको समयमा गङ्गाजीको पानी पुरै सेतो देखिएको थियो भने सवा करोड बत्ती बालेको समयमा रातीमा पनि पुरै गङ्गाको तट दिनको उज्यालो झैं झिलिमिली देखिएको थियो र शहर भरी घिउको बत्ति बालेको वासना फैलिएको थियो । [३] नभन्दै मुक्तिनाथको पूजापछी लामो समयसम्म चलेको गृहयुद्वबाट नेपालले मुक्ति पाएको थियो ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. https://www.trsiyengar.com/id260.shtml वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२२ मिति
  2. स्वस्तानी व्रत कथा
  3. प्रत्यक्ष दर्शी राम प्रसाद जोशी

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]