सल्यानकाेट देवी मन्दिर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालकाे मध्यपहाडी जिल्ला धादिङ जिल्लाको सल्यानकाेट गाउँमा सल्यानकाेट देवी मन्दिर रहेकाे छ । याे मन्दिर करीब साढे चारसय वर्षअघि स्थापना भएकाे तथ्य प्राचीन गाेरखाकाे इतिहास नामक पुस्तकका विभिन्न पृष्ठमा संकलित सन्दर्भहरूबाट प्रस्ट हुन्छ ।[१]

मन्दिरको स्थाफना[सम्पादन गर्ने]

गाेरखाका राजा राम शाह युवराज हुँदैमा धादिङकाे सल्यान भन्ने ठाउँमा मावली आएका थिए भन्ने कुरा इतिहासमा उल्लेख छ । उनकी आमा गाेरखाका तत्कालीन राजा पुरेन्द्र शाहकी कान्छी रानी थिइन् र यिनलाई राजपरिवारमा हेला भएकाले यिनी माइती हिँडेकी थिइन् भनी अनुमान गरिएकाे छ । पुरन्दर शाहकाे देहावसानपछि उनका जेठा छाेरा र राम शाहका दाइ छत्र शाह गाेरखाका राजा भए । तर उनी राजा भएकाे छ महिनामै उनकाे निधन भएकाले राम शाहलाई गाेरखा बाेलाएर राजा बनाइयाे भनी इतिहासमा उल्लिखित पुस्तकमा लेखिएकाे छ । आफू राजा भएपछि राजा राम शाहले गाेरखालाई पूर्वतर्फ विस्तार गर्दै जाने क्रममा मावली रहेकाे राज्य सल्लानमाथि आक्रमण गर्न सल्यान डाँडामा काेत ( हतियार जम्मा गर्ने किल्ला ) खडा गरेकाे र त्यहीँ सेनालाई तालिम गराएकाे भनिन्छ । पछि घले राज्यमाथि विजय गरेपछि राम शाहले सल्यान डाँडामा मन्दिर बनाई देवीकाे स्थापना गरेकाे इतिहासमा उल्लेख छ । काेत खडा गरेकाे सल्यान क्षेत्रलाई सल्यानकाेट भनियाे र त्यहाँ राम शाहले स्थापना गरेकी देवीकाे नाम सल्यानकाेट देवी नामकरण भयाे भनिन्छ ।[१]

पौराणिक तथ्य[सम्पादन गर्ने]

पाैराणिक तथ्यअनुसार सल्यानकाेट देवीलाई श्री त्रिपुरासुन्दरी भगवती मानिन्छ । परापूर्वकालमा सतिदेवीकाे मृतशरीर बाेकेर महादेवले विश्वभ्रमण गर्ने क्रममा उद्यानमा पुग्दा क‌ड्याउलाे पतन भई त्रिपुरासुन्दरी देवी उत्पत्ति भएकी हुन् भनिन्छ । स्कन्द पुराणकाे स्वस्थानी व्रतकथामा उल्लेख भएका सबै स्थान र सन्दर्भहरू सल्यानकाेट वरपरका स्थानसित मेल खान्छन् । राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नुवाकाेट आक्रमण गर्ने क्रममा यात्रा गर्दा नियमित सल्यानकाेट देवीकाे दर्शन र आराधना गर्ने गरेकाे सन्दर्भ उनीबाटै सिर्जित दिव्याेपदेशमा उल्लेख छ । [१]

पूजा विधी[सम्पादन गर्ने]

सल्यानकाेट देवीका तीन मन्दिरहरू छन् । वर्षभरिका विभिन्न अवसरमा देवीलाई फरकफरक मन्दिरमा विराजमान गराई दैनिक पूजाआरती र विशेष पर्वमा विशेष कर्म गरिन्छ । रानामगर पुजारी छन् । तिमल्सिना र सापकाेटाहरू मूल पुराेहित छन् । देवीकाे मन्दिरमा पुजारी र मूल पुराेहितबाहेक अरुले प्रवेश गर्न पाउँदैनन् । देवीकाे स्वरुपकाे दर्शन गर्न पाइँदैन । देवीलाई पुजारीले पीठमा बाेकेर एक मन्दिरबाट अर्काे मन्दिरमा विशेष सवारी चलाउँदा भने सर्वसाधारणले देवीकाे दर्शन पाउँछन् ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ शिशिर शर्माबाट लिखित वि सं २०६२ सालमा काठमाडाैँबाट प्रकाशित सल्यानकाेट देवीकाे संक्षिप्त परिचय नामक पुस्तक

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]