सामग्रीमा जानुहोस्

मैदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मैदी (मैधी) धादिङ जिल्ला ज्वालामूखी गाउँपालिका (हाल वडा नं. १,२ र ३) मा पर्दछ । धादिङगोर्खाको दोसाँधको काम गर्दै बगेकी बुढीगण्डकी नदीको किनारमा अवस्थित साबिकको मैधी गाविस धादिङ जिल्लाको एक मनोरम र सघन बस्ती भएको ऐतिहासिक थलो हो ।

धादिङको जिल्ला सदरमुका धादिङवेशीबाट २ घन्टाको पैदल यात्रा र १ घन्टाको मोटर यात्राबाट पुगिने खड्गदेवी मन्दिर प्राचीनकालदेखि नै प्रसिद्ध छ। पृथ्वीनारायण शाहको व्रतबन्ध यही मन्दिरमा वि.सं. १७९० (११ वर्षको उमेर) भएको थियो ।

पढ्नुहोस्,यो लेख: इतिहासको सेरोफेरोमा ज्वालामूखीको मैधी

लेखक: विष्णुप्रताप शाह

प्राकृतिक बनोटः

धादिङ र गोर्खाको दोसाँधको काम गर्दै बगेकी बुढीगण्डकी नदीको किनारमा अवस्थित साबिकको मैधी गाविस (ज्वालामूखी गाउँपालिका वडा नं. १,२ र ३), धादिङ जिल्लाको एक मनोरम र सघन बस्ती भएको ऐतिहासिक थलो हो । यसको प्रशासकीय सीमाना पूर्वमा साबिकको ढोला गाउँ विकास समिति, पश्चिममा गोर्खा जिल्लाको साबिक दरवुङ र फुजेल, उत्तरमा साबिक खरी, दक्षिणमा साबिक नलाङ र सलाङ गाउँ विकास समितिहरू हुन् । त्यस्तै पश्चिममा बुढीगण्डकी नदी, उत्तरमा छोरीगण्डकी खोला, दक्षिणमा च्याडु ग्याल्मा खोलाहरू यसको प्राकृतिक सिमाना हो । पूर्वमा भने कुनै प्राकृतिक सिमाना छैन । सय सवा सय वर्ष अगाडि जाने हो भने खरी, ढोला र नलाङको पनि मौजा अर्थात् सामाजिक र अन्य कुराहरूमा समेत केन्द्रबिन्दु मानिआएको ठाउँ यही नै भएको बुझिन्छ । जनसङ्ख्याको दृष्टिले जिल्लाको घनाबस्ति भएको हाल ज्वालामूखी गाउँपालिका वडा नम्बर ३ पर्ने सबैभन्दा अग्लो ठाउँ अर्थात् मैधीकोटको उचाइ समुद्र सतलबाट पैँतालिस सय फिटभन्दा कम र चारहजार फिट भन्दा केही माथि छ । अत्यन्त फैलिएको डाँडा भएता पनि अग्लो लेकाली चुचुरो नभएकोले खोला नालाहरूको उत्पत्ति स्थलहरू कम छन् । तसर्थ यहाँ प्राकृतिक अन्तरकुन्तर र भीर पहरा पनि कम छन् । निकै लामो दूरीसम्म गाउँहरूको माझ माझै वल्लो छेउदेखि पल्लो छेउसम्म तेर्सै हिँड्न पाइन्छ । प्राकृतिक तथा बस्तीको हिसाबले जिल्लाभित्र मात्र होइन, अधिराज्य भरिकै पनि मनोरम गाउँहरू मध्ये यसलाई गणना गर्न सकिन्छ ।

इतिहास:

मैधीको जिल्लाभित्र मात्र होइन, अधिराज्यकै इतिहासमा पनि विशिष्ट स्थान छ । यहाँको ढुङ्गा माटोले बोल्न सक्ने भए इतिहासको धेरै कुराहरू बताउने थिए । लिखित श्रोतहरू तथा अनुमान प्रमाणहरूबाट पनि मैधीको इतिहासको धेरै पाटाहरू खुल्न आउँछ । लिखित इतिहासमा पहिलो पटक मैधीको नाम गोरखाका शाह वंशीय संस्थापक राजा द्रव्य शाहको छोरा राजा पूर्ण शाहले पूर्वतिर राज्य फैलाएको सिलसिलामा आउँछ । उनले जितेका नयाँ इलाकाहरूमा मैधी, खरी, सल्यानकोट र धादिङको नामहरू लेखिएको छ । पूर्ण शाहको राज्यकाल सम्वत १६२७ देखि १६६२ सम्म भएको देखिन्छ । मैधीको लिखित इतिहास यही समयबाट शुरु हुन्छ तापनि अलिखित इतिहास भने यो भन्दा धेरै पहिले परापूर्वकालसम्म पनि जान्छ । वंशावलीमा नेपालमा लिच्छवीहरूभन्दा पहिले किराँत वंशको शासनकालको उल्लेख छ । तर काठमाडौं उपत्यका र वरपरका जिल्लाहरूको प्रमाणिक इतिहास लिच्छवी शासनकालभन्दा पहिलेको भेटिँदैन । संस्कृतबाट उत्पत्ति नभएका निकै शब्दहरू जस्तै तलसिङ, खोप्रिङ जस्ता शब्दहरू पनि नेपाली भाषा र प्रशासनमा सोही समयदेखि चल्दै आउनु पनि त्यसभन्दा पहिले किराँतहरूले शासन गरेको प्रमाण हो भन्ने इतिहासकारहरूको मत छ । विष्णुपुराणमा महाकाली नदीदेखि टिष्टा नदीसम्मलाई किराँत प्रदेश भनेकोले मैधी स्वतः किराँत प्रदेशभित्र पर्ने नै भयो । वंशावलीमा उल्लेख भएको किराँतवंशीय राज्यको राजधानी पनि काठमाडौं उपत्यका नै भएको र नलाङ, सलाङ धादिङ जस्ता शब्दहरू संस्कृतबाट उत्पत्ति नभएको जस्तो देखिनाले पनि यो ठाउँ किराँत राज्य भित्र परेको अनुमान हुन्छ । अझ अगाडी जाने हो भने कौरव-पाण्डव युद्धमा नेपालबाट पाण्डवको पक्षमा युद्ध गर्न किराँती राजा गएको वंशावली र महाभारतमा उल्लेख छ । गोर्खाली राजा पूर्ण शाहको फौजसितको लडाइँमा मैधीका घलेहरूले अत्यन्तै वीरतापूर्वक लडेको इतिहासमा उल्लेख भएकोले उनीहरूमा वीरताको परम्परा रहेको थियो भन्न सकिन्छ । तसर्थ नेपालका किराँती राजा महाभारतको लडाइमा जाँदा लगेका सेनामा मैधेली मगरहरू गएका हुन सक्छन् । मैधी राजधानी काठमाडौं नजिक भएकोले पनि यो अनुमानलाई बल मिल्छ । यही कारणबाट उनीहरूमा वीरताको परम्परा बसेको पनि हुन सक्छ । किराँत वंश पछि आएको लिच्छवीहरूको शासनकाल विक्रमीय पाँचौँ शताब्दी (वा त्यसभन्दा केही पहिलेदेखि) तेह्रौँ शताब्दीसम्म रह्यो । उनीहरूको राज्यभित्र गोरखा पनि परेको प्रमाणहरू भएकोले मैधी पनि सोही अवधि भित्र लिच्छवी शासनभित्र रहेको स्पष्ट हुन्छ । लिच्छवी शासनपछि त्यो विशाल नेपाल विभिन्न राज्यहरूमा टुक्रियो । त्यसमध्ये कर्णाली प्रदेशको जुम्लाको सिजामा स्थापित राज्य एउटा थियो । यो राज्यले विक्रमीय चौथों शताब्दीको मध्येतिर पूर्वमा नुवाकोट र त्रिशूलीसम्म कब्जा जमाई सकेको प्रमाण भएकोले सो समयमा मैधी पनि जुम्लाको सिञ्जा राज्य भित्र परेको हुन सक्ने स्वतः सिद्ध छ । सिञ्जा कमजोर भएर पश्चिमतिर खुम्चँदै गएपछि गोरखा, मैधी, खरी, धादिङ चरङ्गे इत्यादि थुमहरू स्वतन्त्र थुम राज्यहरूमा परिणत भएको बुझिन्छ । पाल्पाली राजा मुकुन्द सेनले काठमाडौंमा पटकपटक हमला गरेको र यसो गर्दा मैधीकै बाटो प्रयोग गरी केही समय यस गाउँलाई पनि सेनाहरूको कब्जामा राखेको पनि हुन सक्छ । २००७ साल अगाडी मैधीथुम भित्र पर्ने साबिकको नलाङ गाउँ विकास समिति अन्तरगतको गरन्छाप गाउँमा धेरै र मैधीमा छापथोक र द्धारथोक गाउँहरूमा केही आफूलाई इस्माली भन्ने मगरहरू छन् । पश्चिम गुल्मी जिल्लामा मगरहरूको जनसङ्ख्या धेरै छ । त्यहाँ इस्मा भन्ने पनि गाउँ छ । सायद सेन फौजमा भएको कुनै इस्माली मगर मैधीमा बस्न थालेकाले उनैका सन्तान इस्माली मगर भनिएको हो कि ? यदि यो सत्य हो भने पाल्पाली राजा मुकुन्द सेन मैधीकै बाटो काठमाडौं हान्न गएको प्रमाण बलियो हुन्छ । जे होस, पूर्ण शाहले मैधी लगायत अन्य स्वतन्त्र थुमहरूलाई गोरखा राज्यमा गाभेर उनीहरूको स्वतन्त्र अस्तित्व समाप्त पारी दिए । पूर्ण शाह (कतै कतै पुरन्दर शाह) पनि लेखिएको छ । राजा भएपछि गोर्खाको पूर्वतिर बूढी गण्डकी पारी पनि राज्य विस्तार गर्न स्वतन्त्र नै बसेका सल्यान, खरी, मैधी, धादिङ हान्न फौज पठाए । खरी जितेपछि मैधी जित्न जाँदा गोखाली र मैध्याली (मैधेली) बिच भएको लडाइँबारे इतिहासमा लेखिएको वर्णन यस्तो छ,


“...खर्यालहरुलाई कत्तल गरि… तहाको चिज वस्तु ली सरासर मैधी तरफ गया । गोर्खाको लस्कर लडाइ गर्न आयाको देखि मैधीका सर्दार सिपाहीहरू पनि हतियार धनुकाड लिई जाई लाग्या । दुवै तरफको फौजले परस्पर तिरको हानाहान गर्दा अंग-अंगमा तीर लागि कोहि मर्या । कोहि घाइते भया । फेरि गोरखाको तरफबाट र मैध्यालका तरफबाट दोहरै तरबार षुकुरी हानाहान हुदा कसैको सिर कसैको गर्धन कसैका हात कसैका कम्बर कसैका गोडा काटिइ मर्या । कोइ घाइते भया । फेरि गोर्खालीबाट तरबार षुडा षुकुरी वाकला गर्दा मैध्यालहरू कत्तल भया । वाकि रहयाकालाई लषेट्दै मैधी पुयाई तहा अम्बल गरि जो भयाको चिजवस्तुली श्री ५ पुरन्दर शाहका हजुरमा दाषिल भै षरी मैधीको चिजवस्तु नजराना (उपहार) राषी दर्शन गर्दा श्री ५ महाराज प्रशन्न हुनु भै स्याावासि दिनु भयो ।

उपरोक्त युद्ध वर्णनबाट मैधेलीले अत्यन्त बहादुरीपूर्वक लडेर गोर्खाली फौजको निकै नोक्सानी पुर्‍याइदिएको र पछि गोर्खालीहरू धेरै भएकोले उनीहरूको अगाडी टिक्न नसकि पछि हट्दै गएको र आखिर हार स्वीकार गर्नुपरेको देखिन्छ । अन्य ठाउँहरूभन्दा मैधी जितेकोमा राजा विशेष खुसी भएका रहेछन् । सल्यान र अन्य ठाउँहरू विजय गर्दा स्याबासीमात्र दिएको उल्लेख भएकोमा मैधी विजय गर्दा प्रसन्न भई स्याबासी दिए भन्ने इतिहासमा उल्लेख छ । मैधी र गोर्खाको त्यस्तो भीषण लडाई भएको ठाउँबारे इतिहासमा कतै उल्लेख भएको छैन । तर अनुमान भने गर्न सकिन्छ । गोर्खालीहरू लड्न आएको देखेर मैधेलीहरू पनि हतियार लिएर जाइ लागे भनि लेखिएकोले गोर्खालीहरू मैधीको गाउँ आइपुग्नु अगाडी नै तिनलाई रोक्न गइहालेको देखिन्छ । त्यस समयमा मैधी डाँडाको दक्षिण पूर्व भेगमा मात्रै बस्ती भएकोले गोर्खालीलाई त्यहाँसम्म आउन नदिन खरीपट्टि फर्केको हालसम्म पनि पातलो बस्तीको पाखो काफलपानी गाउँ र छोरीगण्डकी खोलाको बिचमा वा गोर्खाबाट काठमाडौं जाने तत्कालीन मूलबाटोमा रहेको देवीथान र पिपलटारको बिचमा कतै लडाई भएको हुन सक्छ । ती ठाउँहरूको गौँडाहरू र पुराना वरपीपल भएका चौताराहरूको नाम बनोटहरूको सूक्ष्म खोज र अध्ययन भएमा यो पत्ता लाग्न सक्ने हुन्छ । अहिलेलाई अनुमान मात्र गर्न सकिन्छ । पृथ्वीनारायण शाहले नुवाकोट र काठमाडौं उपत्यका विजय गर्नुभन्दा अगाडी पश्चिमी राज्यहरूको र विशेष गरेर गोर्खा राज्यको उपत्यकातर्फ आवतजावत गर्ने मूलबाटो मैधी भएरै जान्थ्यो । गोर्खाबाट बुङकोट गाउँ हुँदै बुङकोटघाट तरेर बुढी गण्डकी किनारै किनार आई पिपलटारबाट उकालो चढेर वर्तमान देवीथान, सातदोबाटो, माथिल्लो हटिया, पौवा वन र अमराईबाट यो राजमार्ग धादिङको बाटो कल्लेरीघाट तरेर जीवनपुर हुँदै काठमाडौं उपत्यका आइपुग्थ्यो । बुङकोटघाटमा प्रधानमन्त्री भीमसेन थापाले महादेवको ठूलो मन्दिर र पाटी सत्तलहरू निर्माण गरेका थिए । त्यसको निमित्त ठूलो गुठी पनि राखी दिएका थिए । इँट र झिँगटीहरू प्रयोग गरी निर्माण गरिएका यी मन्दिर र पाटी सत्तलहरू यो लेखक कलेजमा अध्ययन गरिरहेको समयसम्म पनि थियो । त्यहाँ कार्तिकमा ठूलो मेला पनि लाग्दथ्यो । हाल यी मन्दिर र सत्तलहरूको भग्नावशेष मात्र छ । मूलबाटोको घाट नभएको भए बोर्लाङमा घर भएको भीमसेन थापाले बुङकोटघाटमा त्यत्रो खर्च गरेर निमार्णहरू गर्ने र गुठ राखी दिने थिएनन् । माथिल्लो हटियाको भीमसेन स्थान पनि भीमसेन थापाले स्थापित गरेको हो । पिपलटारबाट मैधीतर्फ लाग्ने बाटोमा केही ठाउँहरूमा इँटहरू भेटिन्छ । जसमध्ये केही देवीथानमा प्रयोग भएका थिए । यसबाट त्यो बाटोमा पाटी पौवाहरू निर्माण भएको प्रमाणित हुन्छ । त्यस्तै, पौवा वनको बिचमा पनि एउटा रमणीय चौताराको नजिकै इँट र झिँगटीबाट निर्मित सुन्दर पाटी थियो । लेखकले पनि बाल्यकालमा देखेको सो पाटी भत्केर पछि सो पाताल भयो । त्यो चौतारोबाट अमराई ओर्लने बाटोमा केही तलसम्म (हाल वनभित्र पर्ने) ढुङ्गाको सिँढीहरू लगाएको बाटो पनि बाल्यकालमा खेल्न जाँदा यो लेखकले देखेको हो । त्यस्तै, त्यो पाटी भएको चौताराबाट हाल पासाङल्हामु विद्यालय रहेको स्थानसम्म पनि सिँढीहरू बनाएका थिए जसको अवशेष अझै ठाउँ ठाउँमा बाँकी छ । अमराईदेखि कोटसम्म मूलबाटोमा दलमर्दन शाहले ढुङ्गाको सिँढी लगाएका थिए भने गाउँका बुढापाकाहरू र आफ्नै बाजेको पनि कथन यो लेखकले बाल्यकालमा सुनेको हो । मैधीबाट काठमाडौंं जाने मूलबाटोमा पर्ने लामिडाँडाको जीवनपुर भन्ने गाउँमा प्राचीन लिच्छवीकालीन बस्तीहरू भएका प्रमाण पनि भेटिएकोले पनि यो बाटो ज्यादै पुरानो हो भन्ने देखिन्छ । गोर्खाका राजा पृथ्वीपति शाहका साइँला पुत्र दलु शाह राजकाजी खटपटले निकाला भई मैधीमै निर्वासित जीवन बिताएका थिए । मैधीकोटमा २००६ सालसम्म भगवती मन्दिरको रूपमा कायम रहेको विशाल भवन उनैको दरबार थियो । श्री ५ पृथ्वीनारायण शाहको व्रतबन्ध कारणवश गोर्खामा नगर्ने निर्णय भएपछि त्यसको निमित्त सल्यानकोट जस्तो महत्त्वपूर्ण देवी मन्दिर हुँदाहुँदै मैधीलाई नै रोजिएको थियो । त्यस्तै ससुराली मकवानपुरबाट फर्कँदा चन्द्रागिरि पर्वतबाट (थानकोट माथि) काठमाडौं उपत्यका देखेपछि त्यो जित्ने अभिलाषा उत्पन्न भएको तथा त्यसपछि कल्लेरीघाट तरी मैधीमा आएर गोर्खाली भारदारहरू झिकाएर काठमाडौं जित्ने इच्छा प्रकट गरेको र भारदारहरूले पनि यसमा साथ दिने वचन दिएको कुरा श्री ५ पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा उल्लेख गरेका छन् । उपरोक्त तथ्यहरूबाट त्यस बखतको काठमाडौं पश्चिमको मूलबाटो मैधी भएर जान्थ्यो र मैधी त्यो मूलबाटोको महत्त्वपूर्ण थलो थियो भन्ने पुष्टि हुन्छ । यस सम्बन्धमा लेखकले अन्य लेखमा विस्तृत वर्णन गरिसकेकोले यस प्रसङ्गलाई यही टुङ्ग्याउनु उचित हुनेछ तापनि थप दुई तीन कुराहरू उल्लेख नगरेमा यो लेखको उद्देश्य पुरा हुने छैन । पृथ्वी नारायण शाहले नुवाकोट जितेपछि काठमाडौं जित्न २५ वर्ष लाग्यो । यस अवधिमा उनी सात तले दरबार बनाई त्यही बसेर राजकाज गर्न थाले । आफ्ना पुत्र र उत्तराधिकारी प्रताप सिंह शाहलाई काठमाडौंसित लडाइ परिरहने भएकोले नुवाकोटमा पनि राखेनन् र टाढा गोरखामा राख्न पनि चाहेनन् । तसर्थ ज्यामरुङमा दरबार बनाई उनलाई त्यहाँ राख्न थाले । काठमाडौं विजयपछि उनीहरू उतै बस्न थालेकोले त्यो ज्यामरुङ दरबारको रेखदेख गर्नेगरी धमला शाहहरूलाई त्यहाँ बस्न दिए । हाल सो दरबार माओवादीहरूले आगो लगाई ध्वस्त पारिदिएका छन् । यसप्रकार मैधीबाट एउटा मूलबाटो साबिक बमोजिम धादिङको बाटो उपत्यकातर्फ जान्थ्यो भने हालको डुडेभञ्ज्याङ, सुनखानी, ज्यामरुङ हुँदै नुवाकोटतर्फ जाने अर्को मूलबाटो पनि थपियो । अर्ज्यालहरूका पुर्खा नारायण अर्ज्याल गोसाईंकुण्ड जान आएको कुरा इतिहासमा उल्लेख छ । उनी कुन बाटो गएका हुन ? आरुघाटको बाटो त्यसबखत थिएन । यसकारण पश्चिमी भेगबाट गोसाईंकुण्ड जाने बाटो नै यही मैधी हुनसक्छ । डुडेभञ्ज्याङ र पुर्सुकमा भेटिने इट्टाहरू सायद बटुवा बस्ने सत्तलहरूको भग्नावशेष हुन सक्छ । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि विस्तारै गोर्खा आरुघाट, सल्यानटार चरङ्गे र नुवाकोट हुँदै काठमाडौं जाने पश्चिम तर्फको नयाँ मूलबाटो कायम भयो । अब मैधी मूलबाटोको दर्जाबाट वञ्चित भयो । पृथ्वी राजमार्ग निर्माण नहुन्जेलसम्म अर्थात् २०३०–२०३१ सालसम्म पनि मैधी, खरी, ढोला, चैनपुरका गाउँले यही धादिङ, कल्लेरीघाट र जीवनपुरको बाटो काठमाडौं उपत्यका आवतजावत गर्दथे । हाल मैधीमा शिक्षितहरू धेरै भइसकेकाले उनीहरू समेतको सहयोग लिएर मैधीको निर्वाचित जनप्रतिनिधिहरूले कल्पनाशील कार्यहरूद्वारा यो ठाउँका पुरानो महत्त्व केही अंशमा फर्काउन सके त्यहाँका जनताको आर्थिक उन्नतिमा समेत प्रभाव पार्न सक्नेछ । हालको पुस्तालाई ज्ञान नभएको अर्को स्थानीय तहको जानकारी पनि यहाँ उल्लेख गर्नु उपयुक्त हुनेछ । माथि उल्लेख गरिए जस्तै गोर्खाबाट काठमाडौं जाने मूल बाटो भ्यालहटिया, माथिल्लो हटिया, पौवा वन र अमराई हुँदै जान्थ्यो । यस लेखकको बडाबाजे जबरजङ्ग शाहले १९०३ सालदेखि आफू बस्दै आएको माथिल्लो हटियाको घर जेठा छोरा अमर जङ्ग शाहलाई (लेखकको बाजे) दिएर अन्य छोराहरू लिएर हालको गहिरी गाउँ वा धौखलामा बस्न गएपछि उनैले हाल अमराईबाट उखुबारी जाने उकालोमा भट्टगाउँ पुग्ने बेलाको एक्लो वरको रुखबाट शुरु गरी गाइखुरे पधेरो, धारापानी, बराम गाउँ हुँदै भ्यालहटियाको भीमसेन स्थानमा पुरानो बाटो भेटिने गरी नयाँ बाटो खनाएका थिए । त्यो नयाँ बाटो खन्न जाने थुप्रै बुढापाकाहरू यो लेखकले भेटेको थियो । मैधीको जस्तो गौरवमय इतिहास धादिङ जिल्लामा त के अन्य जिल्लाहरूमा पनि कमै गाउँपालिकाहरूलाई प्राप्त भएको होला । मैधीका वर्तमान पुस्ताले आफ्नो इतिहासमा गौरव गर्नु पर्दछ र थप खोजको प्रयास गर्नु पर्दछ ।


मैधीकोट भगवती

मैधीकोट भनिने मैधीको सबैभन्दा उच्च टाकुरामा अवस्थित भगवतिस्थान त्यस भेगको सबैभन्दा प्रसिद्ध मन्दिर हो । देवीको खास नाम खड्गदेवी हो । यो भगवती कहिलेदेखि स्थापना भएको हो भन्न सकिँदैन । देवीको पुजारी मगरहरू भएबाट मैधीलाई गोर्खा राज्यमा मिलाउनु भन्दा अगाडीदेखि नै यो देवीस्थान थियो होला भन्न सकिने सानो आधार देखा परेतापनि यसबारे कुनै अभिलेख भेटिँदैन । वर्तमान रूप र आकारको मन्दिर बन्नुभन्दा अगाडी त्यहाँ ७–८ कोठाहरू भएको निकै ठूलो बाटुलो घरको आकारको एक भवन थियो । पुरानो समयको घरको आकार यस्तै बाटुलो (गोल) हुन्थ्यो । चारपाटे घरको चलन पछि आएको हो । यो लेखक स्याङ्जा र कास्की जिल्लाहरूमा कार्यरत रहँदा त्यहाँका गाउँमा यस्ता बाटुले घरहरू भएको भेटिन्थे, जो विस्तारै लोप हुँदै गएको थियो । मैधीको पनि पहिले पहिले यस्तै बाटुलो (गोलाकार) घरहरू हुन्थे भनेर बुढापाकाहरूले कुरा गरेको सुनिन्थ्यो । मैधीकोटमा बनेको त्यो ठूलो बाटुले घर त्यस बेलाको दरबार भएको स्पष्ट थियो । यसलाई दलु शाहको दरबार पनि भन्ने गर्दथे । दलु शाह राजकाजी खटपटले गोर्खाबाट निकालिएर मैधीमा आइ बसेको प्रसङ्ग माथि नै उल्लेख भइसकेको छ । सो घर मन्दिर नभएर दरबार भएको कुरा मन्दिरभित्र धेरै कोठाहरू, त्यसको ठूलो पटाङ्गिनी र तलैदेखिको सिँढीहरू, ठूला छपनीहरू लगाइएको पर्खाल र घोडालाई पानी खुवाउने डुँड पनि मन्दिर परिसरमा भएकोबाट पुष्टि हुन्छ । दलु शाहले दरबारकै एउटा कोठामा नित्य पूजाको निमित्त स्थापना गरेको वा दरबार बन्नु अगाडी त्यही रहेको र मगरहरूले परम्परादेखि पूजा गर्दै आएको भगवतीलाई ल्याई आफ्नो दरबारमा राखेको पनि हुनसक्छ । यकिन भन्न सकिँदैन । राजा पृथ्वीपति शाहको मृत्युपछि राजा भएका उनका नाति नरभूपाल शाह (पृथ्वीनारायण शाहका पिताले मैधीकोट भगवतीको नाउँमा गुठी राखि बली जैसी (ज्योतिषी) भनिने वीरभद्र अर्ज्याल र उनको सन्तानलाई त्यसको मूल पुरोहित बनाएको कागजपत्रबाट देखिन्छ । यसबाट काका दलु शाहको मृत्युपछि यो दरबार बेवारिसे जस्तो भएकोले होला नरभूपाल शाहले अर्ज्याल (अर्याल)लाई मूल पुरोहित, मगरलाई पुजारी, नगरा लगाउनलाई र अन्य बाजा बजाउने दमैहरू र टहलुवा समेतले पाउने धानबाली ठेकेर गुठी राखी लालमोहर गरिदिए । यो गुठीको सञ्चालन एकजना थरिको जिम्मामा थियो जो मैधी अमाल खडा भएको धेरै वर्षपछि त्यसैको जिम्मा आयो । पूजा बन्दोबस्तको निमित्त गुठीको खेत कमाउने मोहीहरूबाट १७५ मुरी (लेखकलाई सम्झना भएसम्म) धान उठति हुन्थ्यो । उक्त धानबाट पुरोहितहरू, बाजा बजाउनेहरू, नित्य पूजा गर्ने पुजारीहरू, हतियार साँध लगाउने कामी, डोली डोको बोक्ने तथा नौरथा भर टहल गर्ने बराम जातिका टहलुवा सुसारेहरूले वार्षिक बालीको रूपमा ठेकिए अनुसार पाउँथे । घटस्थापना, सप्तमीदेखि दशमीसम्म प्रत्येक दिन (कालरात्रि पूजा समेत) र पूर्णिमाको दिन विसर्जनको निमित्त काटिने थुप्रै राँगा, बोकाहरू खरिद गर्ने कार्य पनि सोही धान बालिबाट खरिद गर्नु पर्दथ्यो । पहिले पूजाको लागि खरिद गर्नुपर्ने वस्तुको मोल किटानी थियो भने पछि बजार भाउमै किन्नु पर्दथ्यो । यसरी खर्च कटाउँदा १०–१२ मुरीदेखि २० मुरीसम्म बचत हुन्थ्यो । जसबाट कसरको रूपमा केही रकम (बाँकी) सरकारलाई बुझाइन्थ्यो । एकसमय (सायद श्री ३ चन्द्र समसेरको शासनकाल) धानको भाउ ज्यादै तल खसेकोले (विश्वव्यापी मन्दी आएको समयमा हो कि ?) २–३ वर्ष सरकारलाई कसर बुझाउन नसक्दा मालले गुठीवालाबाट गुठी झिकी आफै पनि चलाएको र त्यसपछि अमालको जिम्मा लगाएको थियो । गुठी खेत कमाउने मोहीहरू धेरैजसो ३ सय पट्टिको पदेलीथोक, छापथोक, द्वारथोकमा केही मात्र ४ सय पट्टिको काफलपानीमा छन् । ठूलो दशैंमा भगवतीको आराधना अत्यन्त भव्यताका साथ गरिन्थ्यो । घटस्थापनादेखि नै नित्य बलि दिइन्थ्यो भने फूलपातीको दिन कोटबाट सातदोबाटोसम्म बाजागाजा, धूपदीप हातमा लिएर डमरु र शङ्ख घण्टा बजाउँदै हिँडेको पुरोहित र ४ थरीहरू, टहलुवाहरूका साथै गाउँलेहरूको लस्कर सहित फूलपाती लिन पुग्दथे । जहाँ बराम जातिका टहलुवाहरूले डोलीमा फूलपानीहरू राखेर पर्खिरहेको हुन्थे । त्यहाँ पूजाआजा गरेपछि सो लस्कर बढाइँ गर्दै पुनः कोटतर्फ फर्कन्थ्यो । यो हेर्न गाउँलेहरू बाटोको दुवैतिर जम्मा हुन्थे । विशेष प्रकारको नगरा बाजा बजाएर तथा शंखध्वनी गर्दै लहरे बढाइँद्वारा भित्रिएको सूचना गाउँलेहरूलाई दिइन्थ्यो । अष्टमीको राती राँगो र बोकाहरूको बलि दिएर कालरात्रि पूजा गरिन्थ्यो । कालरात्रिको बलि दिनु अगाडी फूलपाती लिन गएको जस्तै (फूलको डोली बाहेक सबै बाजागाजा सहित मन्दिरको पश्चिमपट्टि (हटियातर्फ) केही तलसम्म गएर फर्कन्थे । यसलाई किन हो कुन्नि ‘गोर्खा जाने’ भनिन्थ्यो । नवमीको दिन पनि राँगो बोकाहरू बलि दिइन्थ्यो । बोकाहरू मूल पुरोहित, ४ थरीहरू र पाठ गर्ने ब्राह्मणहरूको पनि रोलक्रमले भाग लाग्दथ्यो । राँगाहरू भने दमाईहरू र राँगा खान हुने र टहलुवाहरूलाई बाँडिन्थ्यो । गुठीको बाली मोहीहरूले तिर्न छोडेको साबिकको गाविस. वा गुठी संस्थान वा जिल्ला प्रशासनबाट वैकल्पिक व्यवस्था पनि हुन नसकेबाट गोर्खा र काठमाडौं कै लघुरूपमा मनाइने बडा दशैको र चैते दशैको भव्यता घट्दै गयो । हाल केही वर्षयता आएर यो प्रथा बन्द प्रायः नै भएको स्थानीयको जनगुनासो छ । भगवती मन्दिर भनिने सो ठूलो दरबारको छाना खरको भएकोले प्रत्येक साल केही न केही छाउनु पर्ने भइरहन्थ्यो । त्यत्रो ठूलो छाना एकैपटक छाउन सम्भव पनि थिएन । छानाको जुन भाग जुन गाउँहरू पट्टि फर्केको हुन्थ्यो त्यतै पट्टीको गाउँलेहरूले खरसमेत लिएर छाउन आउने चलन थियो । यसबाट प्रत्येक वर्ष कुनै न कुनै गाउँलेहरूलाई झन्झट भई रहन्थ्यो । यही झन्झट हटाउने उद्देश्यले लालजङ्ग शाह (यो लेखकको पिता)ले तत्कालीन श्री ३ महाराज कहाँ सो मन्दिर पक्की रूपमा र एउटा पाटी थप समेत बनाउन बिन्तीपत्र हाल्दा एक पटकलाई झिँगटी र इँटको सानो मन्दिर आकारको भवन सरकारी खर्चमा बनाइ दिने तर पछि गुठीवालाले नै मर्मत गर्नुपर्ने र त्यो जिम्मा पनि दिइएकोले खर्च गरि बाँकी रहेको बालीबाट सरकारलाई कसर बुझाउन नपर्ने गरि हुकुम प्रमाङ्गी भयो । यसैअनुरूप धादिङ जङ्गी परेड अड्डाबाट स्वयं त्यसको लेफटिन्ट दर्जाका हाकिम कर्मचारीहरू सालको हिउँदभरि मैधी बसी इँट र झिँगटीबाट अहिलेको आकारको मन्दिर निर्माण गरे । यस कार्यको निमित्त कीर्तिपुरबाट झिँगटी र इँट बनाउने तथा गाह्रो लगाउनेहरू आएका र उनीहरूले धेरै खेतहरू हेरेर आखिरमा उपयुक्त माटो भएको भनी उखुबारी स्थित अधिकारी खलकहरूको ‘कामी बिरौटो’ भन्ने खेत रोजी त्यसैमा इँट झिँगटी बनाउने र पोल्ने काम गरेको हिउँदको स्कुल बिदामा मैधीमा नै भएकोले यो लेखकलाई जानकारी छ । यसबाट खेतको मालिकलाई त चित दुख्यो नै होला तर मन्दिरमा बर्सेनि छाउन खर र श्रम दिनुपर्ने झन्झटबाट भने गाउँलेहरू मुक्त भए । सो मन्दिर र पाटी पनि कालान्तरमा भत्केकोमा गाउँलेहरूको सहयोगमा ढुङ्गाको गाह्रो लगाएर थोरबहुत जीर्णोद्धार भएतापनि श्रद्धालुहरूले बत्ती बाल्न भनी बनाइएको पाटी पाताल अवस्थामा रहिरहेको थियो । पछि गुठी चलाउने यो लेखकको पालो परेको वर्ष यस अगाडि खडा रहेको अवस्थाको मन्दिर र पाटी निर्माण गरिएको हो । ढुङ्गाको छाना पनि त्यस्तै गरी पछि लगाइएको हो । वर्तमान अवस्थामा भुईँचालोपश्चात् मन्दिरको पुनर्निर्माण भइसकेको अवस्था छ । हाल हराएको फूलपाती लिन जाने र दशैको पूजा गर्ने चलन पुनः चलाइएमा यसबाट स्वदेशी पर्यटकहरू पनि आकर्षित नै ग्रामीण आयवृद्धिमा पनि भविष्यमा योगदान पुग्न सक्नेतर्फ कसैको ध्यान पुगेको देखिँदैन । मैधीको पश्चिमतर्फको पाखोमा रहेको देवीथानबारे केही भन्न सकिँदैन । सो मन्दिर पनि सरकारबाट कोट भगवतीको मन्दिर निर्माण हुँदा नै पुनर्निर्माण भएको हो । पुरानो मन्दिर पनि हालकै आकारको र खरको छानो भएको थियो । तर त्यसको गाह्रोमा स्थानीय ढुङ्गाहरूको अतिरिक्त इँटहरू पनि प्रशस्त प्रयोग भएको थियो । काठमाडौं जाने प्राचीन मूलबाटोमा रहेको यो मन्दिर सो मूलबाटोमै निर्मित भई भत्केको कुनै पाटी पौवाको इँटहरू प्रयोग गरि पछि बनाइएको जस्तो देखिन्छ । यसमा पुजारीहरू पनि मगर नभएर नेवार जातीको भएकोले पनि यो मन्दिरको उत्पत्ति समय पुरानो हो भन्न सकिँदैन । तर खोज अनुसन्धान गरे मैधी गोर्खा राज्यमा मिलाइनु अगाडी देखिनै स्थानीय रूपले मानी आएको पुरानो देवी प्रमाणित हुनसक्ने तथ्यलाई पनि इन्कार गरिहाल्न सकिँदैन । जिज्ञासु र उत्साही विकास प्रेमीहरूले खोजबिन गरेमा मैधीको धेरै ऐतिहासिक तथ्यहरू फेला पर्ने सम्भावना छ, जसबाट मैधीको पर्यटकीय सम्भावनालाई बल पाउनेछ । तर यस कार्यमा संस्थागत प्रयास र सहयोग पनि हुनुपर्दछ ।

सामाजिक र आर्थिक परिवेश

मैधीका बासिन्दाहरू खस बाहुन, मगर, नेवार, ठकुरी, माझी, तामाङ, दमै, सार्की र कामीहरू प्रमुख छन् । माझी बुढीगण्डकी किनारको समथल जग्गामा र अन्य जातीहरू माथि उचाइमा बस्ने गरेको भएतापनि विगत केही दशकदेखि अन्य जातीहरू पनि खेतीपातीको सुविधा र आर्थिक प्रगति हुने कारणबाट नदी किनारमा वा पहाडको फेदीतिर बसोबास गर्न थालेका छन् । उपरोक्त जातजातिहरूमध्ये प्राचीन अर्थात् शुरुका बासिन्दाहरूको होलान् ? भन्ने जिज्ञासा हुनु स्वाभाविक छ । यसको हामीसित कुनै अभिलेख नभएतापनि पुराण इतिहासको सहायताबाट अनुमान भने गर्न सकिन्छ । मैधीको सबैभन्दा प्राचीन बासिन्दा भने मगरहरू नै हुन् । पछि, तराईबाट नदी किनारकिनारै माझीहरू आएका हुनसक्छन् । खस बाहुनहरू लगायत अन्य जातीहरू मैधी गोर्खा राज्यको हातमा गएपछि मात्र आएका हुन भन्ने आधारहरू छन् । विष्णुपुराण इतिहासकारका वर्णन अनुसार भारत वर्षको मूल भाग वा मध्य भागमा कुरु र पाञ्चाल, पश्चिममा यवन,अझ पश्चिममा सौराष्ट्र र मालव, दक्षिणमा कलिङ्ग र आन्ध्र तथा पूर्वमा किराँत र कामरूप प्रदेशहरू थिए । यसअनुसार, हालको नेपाल भन्ने प्रदेश किराँतहरूको बसोबास थलो भन्ने बुझिन्छ । अन्य अभिलेख महाकाली नदीदेखि पूर्व भुटानसम्मलाई किराँत प्रदेश भन्ने गरेको ज्ञान हुन्छ । महाकाली पश्चिमको वर्तमान कुमाउ र गढवाल, हिमाञ्चल प्रदेश र काश्मीर खस बाहुनको प्राचीन थलो हो । वर्तमान समयमा नेपालको एक पहाडमा बसोबास गर्ने राई लिम्बुहरूलाई किराँती भनिन्छ । कुनै समयमा काठमाडौं उपत्यकामा एक किराँतहरूको राज्य भएको कुरा इतिहासमा उल्लेख छ । तर प्राचीन पुराण र अभिलेखहरूमा राई, लिम्बु, तामाङ ,मगर, गुरुङ इत्यादि सबै मङ्गोल नश्लका जातीहरूलाई नै किराँत भन्ने गरिएको बुझिन्छ । वर्तमान समय पनि मङ्गोल सङ्गठनले उक्त सबै जनजातिहरूलाई समेट्ने उद्देश्य राखेको छ । महाकाली नदी पूर्व भुटानसम्म पहाडी प्रदेशमा किराँत जातीको मात्र बसोबास थियो भने मगरहरू नै मैधीको सबैभन्दा पहिलो बसोवासी हुन भन्ने सजिलै बुझ्न सकिन्छ । खस बाहुनहरू इतिहासको पछिल्लो समयमा मात्र महाकाली पूर्वमा कर्णाली प्रदेश, कुमाउ र दक्षिणतिरबाट प्रवेश गरेका हुन् । वर्तमान समयमा पनि दक्षिणको महाभारत पर्वत शृङ्खलामा मगरहरू र उत्तरको लेकाली भेगतिर गुरुङ बस्तीहरू छन् । प्यूठान जिल्लादेखि पूर्व गुल्मी, पाल्पा, तनहुँ र गोर्खा तल्लो भेगमा (दक्षिण) मगरहरूको बस्ती र पर्वत, कास्की, लमजुङ र गोर्खाको माथिल्लो भेग (उत्तर) तिर गुरुङहरूको बस्तीको बाहुल्यता रहेको छ । मैधी पनि पाल्पा, तनहुँ र गोर्खाको मगर बस्तीहरूकै हाराहारीमा अवस्थित हुनाले पनि मैधीको आदिवासी मगरहरू नै हुन् भन्न सकिन्छ । पश्चिममा हिन्दू प्रणालीका राज्यहरूको स्थापना र ठकुरी वशको उदय भई यो क्रम पूर्वतिर जस्तै भिरकोटबाट सतौँ, नुवाकोट, कास्की, लमजुङ हुँदै आखिरमा गोर्खा सर्दै आएको र यही सिलसिलामा खस बाहुन पनि पूर्वतिर बसाई सर्दै आएको बुझिन्छ । लमजुङे राजाको कान्छा छोरा द्रव्य शाहले गोर्खामा शाह राज्यको स्थापना गरेपछि मात्र सर्वप्रथम पाण्डे र अर्ज्याल लगायत अन्य ब्राह्मणहरू त्यहाँ प्रवेश गरेको अनुमान हुन्छ । गोर्खा र मैधीको प्रमुख ब्राह्मण थर अर्ज्यालहरूको पुर्खा नारायण अर्ज्याल गोसाईंकुण्ड जान आउँदा पाल्पाली राजा मुकुन्द सेन उपत्यका हान्न आएको बखत साथै आएका र पछि उनीसित नफर्की घले राजा भएको गोर्खामै बसेका गणेश पाण्डेसित भेट भई त्यही बसेका थिए । उनैले द्रव्य शाहलाई गोर्खा जित्न मद्दत गरेको इतिहासमा उल्लेख छ । त्यसपछि मात्र गोर्खामा ब्राह्मणहरू आएका हुन । यस परिप्रेक्ष्यमा द्रव्य शाहको छोरा पूर्ण शाहको समयमा मैधी, गोर्खा राज्यमा मिलाइएपछि मात्र खस बाहुनको प्रवेश मैधीमा भएको पनि अनुमान गर्न सकिन्छ । द्रव्य शाहको छैटौँ पुस्ताका राजा पृथ्वीपति शाहका छोरा दलु शाह राजकाजी झगडाले गर्दा बुढीगण्डकी पारी निकालिएर मैधीमा बसेको हुनाले उनैको समयमा गोर्खाका अर्ज्यालहरूको एक वंश मैधीमा आएको हुन सक्छ । यी कुरा पृथ्वीपति शाहको मृत्युपछि राजा हुने उनका नाति नरभूपाल शाहले (श्री ५ पृथ्वीनारायण शाहको पिता) मैधीमा पुरोहित्याई गर्ने र चार पैसामात्र मालपोत तिर्नुपर्ने गरि घर, घडेरी, बेसी, डी बिर्ताको लालमोहर अर्ज्यालहरूलाई दिएकोबाट ज्ञात हुन्छ । भट्टहरू पनि त्यही समय या केही अघिपछि गरि मैधीमा आएको बुझिन्छ । मैधीको पौवाको बनभित्र इँट र झिँगटीले बनेको सुन्दर पाटी भट्टहरूले नै निर्माण गरेकोले पनि उनीहरूको पनि मैधीमा अर्ज्यालहरूको जस्तै महत्त्व भएको देखिन्छ । भट्टहरूले पनि आठ पैसामात्र मालपोत तिर्नुपर्ने लालमोहर गोर्खाली राजाबाट पाएका थिए । प्राचीन समयदेखि पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका नजितेसम्म गोर्खा लगायत पश्चिम भेगको काठमाडौं उपत्यका जाने मूल मार्ग पनि यही मैधीबाट जाने तथ्य माथि उल्लेख भइसक्यो । पाटनका राजा सिद्धी नरसिंह मल्ल र गोर्खाली राजा राम शाहको समयदेखि दुवै राज्यबिच निकै घनिष्ठता थियो । यसै घनिष्ठताको कारण उक्त दुवै राज्यबिच आवतजावत धेरै नै हुने हुँदा पाटनको नेवारहरू बन्द व्यापार र अन्य सिलसिलामा त्यो बाटो हिँड्ने गरेको र यही क्रममा पाटनका केही नेवारहरू मूलबाटोमा पर्ने हालको भ्यालहटिया भनिने स्थानमा व्यापार गर्न बसेको अनुमान हुन्छ । भ्यालहटियाका नेवारहरू आफूलाई पाटनबाट आएको भन्दछन् । उनीहरू पछिसम्म पनि गुठी माग्न पाटन जाने गर्दथे । हाल यो क्रम टुटेको छ । उनीहरू कहिलेदेखि मैधीमा बसोबास गरेका हुन् त्यो खोजकै विषय छ । जे होस्, उनीहरू पनि अर्ज्यालहरू पछिका पुरानै बासिन्दा हुन् भन्न सकिन्छ । मैदान भनिने माथिल्लो हटियाका नेवारहरू भने सबै एकै थर नभएर अलग अलग थरका छन् । उनीहरू पछि मैधीमा आएका हुन् । माथिल्लो हटियाका पुराना बासिन्दा मगरहरूलाई ग्याल्मामा पठाएर नेवारहरू त्यहाँ बसालिएका हुन् । ग्याल्माका बुढापाका मगरहरूबाट उनीहरू ग्याल्मामा झरेको केही पुस्ता अगाडीमात्र हो भन्ने कुरा यो लेखकले सुनेको थियो । मैधीमा ठकुरीहरू मूख्य रूपले दुई थरी छन् । त्यसमध्ये उखुबारीका मल्ल ठकुरीहरू कहिलेदेखि मैधीमा बस्न थालेका हुन् यो लेखकलाई थाहा छैन । शाह ठकुरीहरू भने १९०३ मालको कोतपर्वमा काठमाडौंबाट आई माथिल्लो हटियामा बसोबास गर्न थालेका चौतरिया जबरजङ्ग शाहका सन्तानहरू छन् । उनीहरूको पुर्खा त्यहाँ आएको अहिले १७७ वर्षमात्र भएको छ । मैधीमा नै जन्मेका दोस्रो पुस्ताका केही र बाँकी तेस्रो पुस्ताका धेरै छन् । दमाई जातीहरू मध्ये कोटथोकका दमाईहरू दलु शाहको दरबार अर्थात् हाल भैरवी मन्दिर भएको स्थान वरपर नै बस्ने गरेकोले दरबारमा बाजा बजाउन र लुगा सिउने समेतको कार्यको निमित्त दलु शाह आउँदा नै साथै आएको हुन सक्छ । उनीहरूलाई पनि मालपोत मिन्हा र बाजा बजाउने खान्की नरभुपालकै समयतिर व्यवस्था गरेको देखिन्छ । तसर्थ उनीहरू पनि बाहुन क्षेत्रीकै हाराहारीमा मैधीमा बसोबास गर्न थालेको देखिन्छ । अर्ज्याल र भट्ट बाहेक अन्य थरका ब्राह्मणहरू पनि धेरै छन् । तिवारी थरका ब्राह्मणहरू पनि पुरानै हुन सक्ने आधारहरू भेटिन्छन् । अन्यत्र सबै ठाउँमा तिवारीहरू कुमाईं मात्र छन् । तर मैधीका तिवारीहरू पूर्विया ब्राह्मण हुन् । यो पनि मैधीको विशिष्ठता देखिन्छ । यसबाहेक सार्की र कामीहरूको बस्ती पनि छन् । सबैभन्दा पछि (सम्वत् २०३० पछि) उत्तरतिरबाट बसाई सरेर आएका तामाङहरूको सङ्ख्या पनि प्रशस्त भैसकेको छ । मैधीनिवासी विभिन्न जातजातिहरू मध्ये सबैभन्दा तल्लो आर्थिक अवस्थामा दलित वर्गपछि मगर जातीकै नाम लिनुपर्ने हुन्छ । कानूनीरूपले स्थापित मैधी लगायत देशभरको खान्की प्रथा २००७ सालमा आएर समाप्त भयो । राज्यले नीजि रूपमा अमरजङ्ग शाहलाई दिएको बिर्ता समेत अधिराज्यको रैकरवाले बिर्ता २०१६ मालमा अन्त्य भयो । रु. ४०० भन्दा बढी सरकारी मालपोत उठ्न जति चाहिने हो त्यति खेत जग्गा अमरजङ्ग शाहलाई नीजि बिर्ता सरकारले दिएको थियो । २०१५ सालमा नेपाली काँग्रेसको निर्वाचित सरकारले जिन्सी तिरो तिरिआएको बिर्ता मोही लाग्ने गरि बिर्तावालकै नीजि जग्गा र नगद तिर्ने गरि आएको बिर्ता सरकारको हुने गरि अधिराज्य भरि बिर्ता खारेज गर्‍यो । यस प्रकार कानूनी रूपमा सामन्ती प्रथा समाप्त भयो । उपरोक्त दुवै व्यवस्था अन्तरगत मगरहरू मात्र थिएनन् । अन्य जातीहरू पनि थिए । तर पनि मगरहरूको आर्थिक अवस्था अन्य जातीहरू सरह देखिँदैन । मगरहरू र अन्य जातीहरूको स्वामित्वमा रहेको जमिनको प्रकृति हेर्दा पनि यो ज्ञान हुन्छ । मगरहरूको घना बस्ती भएको एक गाउँ उखुबारीमा गएर हेर्‍यो भने उनीहरूको जग्गा सुर्कासुर्की परेको र कम उब्जाउ तर धेरैपछि आएका विभिन्न अन्य जातिहरूको जग्गा जमिन भने ठूला ठूला पाटा र उर्वर भएको जो कोहीले पनि देख्न सक्छ । यो परम्परादेखि चल्दै आएको सामाजिक व्यवस्था र व्यक्तिको चतुर्याइबाट भएको शोषणको फल हो । सामाजिक र व्यक्तिगत चलाखीबाट उत्पन्न शोषण परम्परा भने परापूर्व कालदेखि हालसम्म चलिरहेकै छ । कुनै समयमा विश्वभरि नै सामन्ती प्रथा थियो । नेपालमा पनि २००७ सालमा प्रजातन्त्र आएपछि पनि देशभर यो व्यवस्था कानूनी रूपमा कायम थियो ।

स्थानीय प्रशासन

सो बेला मैधीको प्रशासकीय संरचना गाउँ विकास समिति नै हो । यो संरचना २०१८ सालमा मात्र खडा भएको हो । राणाकालभन्दा अगाडी र राणाकालमा भने मैधीको प्रशासकीय संरचना फरक थियो । यो मालपोत उठतीमा आधारित थियो । त्यस समयमा मालपोत उठाउने अधिकार जसलाई हुन्थ्यो, स्थानीय स्तरको प्रशासकीय अधिकार उसैलाई हुन्थ्यो । राणाकालभन्दा पहिले प्रशासनको जिल्ला तह थिएन । थुम वा गाउँहरू मात्र थिए । सो गाउँ वा थुमभित्र थरि, मुखिया र जिम्मावालले मालपोत उठाएर सरकारलाई बुझाउँथे । यसबापत मामुली प्रशासकीय अधिकार प्राप्त गर्दथे । मुख्य ब्राह्मण थरहरूको प्रमुखलाई थरि भनिन्थ्यो भने जातीय प्रमुखलाई मुखिया । यो सामाजिक व्यवस्था पनि थियो र खेतको मालपोत उठाउने सरकारी जिम्मेवारी पाएकालाई जिम्मुवाल भनिन्थ्यो । यो भने सरकारी व्यवस्था थियो । मैधीमा अर्याल, दवाडी, तिवारी र भट्टहरूका एक एक गरी चार जना थरि र गाउँ पिच्छेजस्तै एक एक मुखिया र सम्पूर्ण मैधीको निमित्त एउटा जिम्मुवाल थिए । उनीहरूले नै आफ्नो जिम्माका थर र गाउँबाट मालपोत उठाएर सरकारलाई बुझाउने, सरकारी उर्दीहरू जनतामा पुर्‍याउने र जनताबाट सरकारलाई चाहिएको सहयोग जुटाउने गर्दथे । उनीहरूले गाउँघरका स–साना झैँझगडा टुङ्गयाउने कार्य पनि गर्दथे । केन्द्रीय सरकारको स्थानीय प्रतिनिधिहरू पनि उनै थिए । १९१३ सालपछि यसमा एउटा तह थपियो । १९०३ सालमा मैधी आई बसेका जबरजंग शाहलाई जीविकाको निमित्त माना चामल खान्कीको रूपमा १९१३ मा सरकारले त्यस समयको प्रचलन अनुसार पाखो जग्गाको सरकारी मालपोत रु ७००/– निजले पाउने गरिदियो (जग्गा होइन मालपोत मात्र) । प्रत्येक धुरिले हलगोरु भएमा सो एउटामात्र गोरु (पाटे) हुनेले ७५ पैसा र गोरु नै नहुने (कोदाले) ले ५० पैसा तिर्नु पर्ने सरकारी नियम थियो ।

यति रकम पुर्‍याउन मैधीभरीको पाखा जग्गाको मालपोतले मात्र नपुगी साबिकको ढोला गाविस अन्तरगतको पुर्सुकको केही भाग, नलाङ गाविसको महादेवस्थान, आप्रिछाप र गरन्छाप गाउँहरू समेतको मालपोत समावेश गर्नुपर्ने भएकोले यो सबै गाउँहरू निजकै खान्कीभित्र पर्न गई प्रशासकीय संरचनाको दृष्टिबाट ती गाउँहरू पनि मैधी अन्तरगत भए । त्यस समयदेखि मैधीलाई ‘७०० मैधी’ भनिन थालियो । यस्तै, पेटिया खान्की पुर्सक, नलाङका शाहहरूलाई र देशका धेरै भागका कतिपय अन्य परिवारलाई पनि दिइएको थियो । एकातिर मालपोत उठाएर खान पाउने अधिकार पाएकोले अब थरि मुखियाहरूको नियुक्ति र खोसुवा पनि निजले गर्न पाउने भए भने अर्कोतिर अब सरकारी उर्दी इत्यादिको निमित्त सम्पर्क गर्ने र सरकारलाई थरि मुखिया मार्फत सहयोग जुटाइदिने तह पनि यही भयो । सानातिना झगडा, गाउँ तहमा हुने कुनै पनि निर्णय गर्ने थलो पनि निजको घर दलान नै भयो । यसलाई अमाल (सरकारी काम गर्ने) भनिन्थ्यो । यसरी थरि मुखियाभन्दा माथि यो तह थपियो । पहिले थरि मुखियाहरूले पाउने गरेको झारा बेठी र वलकहरू पनि केही थरि मुखियाहरूलाई छोडी अरु थप समेत अमालले पाउन सक्ने भयो । यो अधिराज्यभर तत्कालीन कानून र प्रचलन अनुसार नै थियो । यस्तै चलन पुर्सुक, नलाङ ज्यामरुङमा पनि थियो । तर यहाँ एउटा अपवाद याद गर्नु जरुरी छ- मैधीको सबै तिरो सो अमालमा जाँदैनथ्यो । उच्च राणा पदाधिकारी मध्ये तेस्रो नम्बरमा पर्ने पदाधिकारी लाई (श्री ३ महाराज चिफ साहेब पछि) पश्चिम तर्फका कमाण्डिङ्ग जनरल वा प.क.ज (चल्तीमा लाठ साहेब) भनिन्थ्यो । काठमाडौं पश्चिमका जिल्लाहरू सबैको ठाउँठाँउका गाउँहरूबाट उठ्ने तिरो उनको निजी आय हुने व्यवस्था थियो । यस्तो प.क.ज को बान्की भएको गाउँलाई ’इजारा’ भनिन्थ्यो । अमराईमा १, माथिल्लो हटिया र तल्लो हटिया बिचको सार्की गाउँ १ र पोखरीथोक १ गरि ३ गाउँहरू इजारा खान्कीभित्र पर्दथ्यो । र बोलचालमा ती गाउँहरूलाई इजारा भनिन्थ्यो । ती गाउँका बासिन्दाहरूले बेठ बेगारी र बलक इत्यादि केही पनि अमालमा तिर्नु पर्दैनथ्यो ।

श्री ३ रणोद्धिप सिंह राणाको समयसम्म (पश्चिम १ नम्बर जिल्ला बन्नु भन्दा अगाडी) मैधी गोर्खाको तालुक (मातहत) अन्तर्गत थियो । उक्त जिल्ला बनेपछि मैधी नुवाकोटको अन्तर्गत भयो । मैधी श्री ३ चन्द्र शमशेरको समयमा प.१ नुवाकोट गोश्वारा (बडाहाकिमको कार्यालय) अन्तर्गत धादिङमा माल र अदालत रहने गरि धादिङ छोटी जिल्ला गठन भएपछि मैधी पनि धादिङ छोटी जिल्ला अन्तर्गत हुन पुग्यो । २०२२ सालमा धादिङले पनि जिल्लाको दर्जा पायो । जस अन्तर्गत मैधी रहेको छ । केही कारणवश सरकारले जबरजंग शाहको उक्त ७०० खान्की झिकिदिएको थियो । केही समयपछि ४०० खान्की अलग्गै बसेको निजको जेठा छोरा अमरजङ्ग शाहको नाममा थामिदियो । त्यसको पनि केही समयपछि बाँकी ३०० खान्की निज जबरजंग शाहले नै पुनः पाउनेगरि थामिदिए । उनको मृत्युपछि सो खान्की उनका ६ भाइ अन्य छोराहरूमा बाँडिदियो । यस समयदेखि ७०० मैधी ४०० मैधी र ३०० मैधीमा परिणत भयो । मैधीका बासिन्दाहरूले आफ्नो घर गाउँ बताउनु पर्दा मैधी बाहिर भए ७०० मैधी भन्ने र भित्र भए ४०० पट्टिको वा ३०० पट्टिको भन्ने प्रचलन २००७ सालमा सो खान्की प्रथा खारेज भएपछि पनि केही वर्ष कायमै थियो । ४०० र ३०० मैधीको सिमाना चिलाउने चौतारा भन्ने ठाउँमा (काफेलपानी ओर्लने ठाउँ भन्दा केही सय गज पश्चिमपट्टि) थियो । यसप्रकार मैधीको अमाल अड्डा (केन्द्र) ४०० र ३०० मा विभाजित भयो । ४ थरीमध्ये अर्याल, तिवारी र भट्ट थरका थरीहरू ४०० पट्टि र दवाडी थरका थरीमात्र ३०० पट्टि परेका थिए । धेरैजसो मुखियाहरू स्वभावतः ४०० पट्टि हुने नै भए । यो ४०० र ३०० को विभाजन निजी व्यक्तिको मालपोत उठतीमा मात्र होइन की स्थानीय प्रशासन, सामाजिक कार्यहरू र मानसिकतामा समेत प्रभाव पारेको थियो । जात्रामा झगडा गर्दा पनि ४०० र ३०० दृष्टिबाट पक्ष लिने गर्दथे । पछिका पुस्तालाई पनि यो तथ्य जानकारी होस भन्ने उद्देश्यले यहाँ उल्लेख गरिएको हो । खान्की प्रथा सरकारले २००७ सालमा अन्त्य गरेपछि थरि मुखियाहरूले मालपोत सिधै मालमा बुझाउन थाले । प्रजातन्त्रको आँगमनपछि २००९/१० सालतिर पनि गाउँपञ्चायत स्थापना गरिएको थियो । तर यसको संरचना फरक थियो । गाउँपञ्चायतमा दुई जना प्रमुखहरू निर्वाचित हुन्थे । मुद्दा मामलाको निर्णय प्रधानपञ्चको अध्यक्षताक हुन्थ्यो भने विकास निर्माण कार्यको विषयमा अध्यक्षता सभापतिले गर्दथ्यो । गाँउपञ्चायतमा २ जना प्रमुखहरू निर्वाचित हुन्थिए । मुद्दा मामिलाको निर्णय प्रधानपञ्चले गर्नु पर्दथ्यो । पहिलो प्रधानपञ्च र उप–प्रधानपञ्च क्रमशः उखुबारी डाँडा गाउँका चिरञ्जीवी भट्ट र उपप्रधानपञ्च गहिरीगाउँका उद्धवजंग शाह भएका थिए भने पहिलो सभापति थिए– मोती गाउँका प्रेमजंग शाह । २०१८ मालमा गाउँ पञ्चायत गठन भई मालपोत उठाउने अधिकार पनि पाएकोले थरि मुखिया र जिमुवाल प्रथा सदाका लागी अन्त्य भयो । हाल मैधीमा हुलाक, स्वास्थ्य केन्द्र, प्रहरी चौकी र साना किसानका कार्यालयहरू ल्याउनमा यो लेखकको पनि प्रयास रहेको थियो ।

सांस्कृतिक चाडपर्व र जात्राहरू

मैधीमा हिन्दुहरूले मनाउने दशैं, तिहार, माघे सक्रान्ती, साउने सक्रान्ती लगायत आफ्नो जातजाति अनुसार मनाउने चाडपर्वहरू पनि छन् । यसमध्ये मगरहरूले चण्डिपूर्णे ताक मनाउने घाटु चाड मुख्य छ । यस पर्वमा उखुवारी मगरगाउँमा घाटु नचाउने पनि गरिन्थ्यो, जसको महत्व अहिले घट्दै गइरहेको छ । यसवाहेक अर्याल भट्ट र सेडाइहरूले आफ्नो कुलदेवताको पुजा अर्थात देबाली पनि आ–आफ्नो परम्पराअनुसार मनाउछन् । अर्यालहरूको देवाली १२ वर्षमा एकपटक र भट्टहरूको देवालीमा बली पूजा एक वर्ष विराएर गरिन्छ । शाह ठकुरीहरुको देवाली पूजा प्रत्येक वर्ष काठमाडौं पुख्यौली थलोमा गएर मनाउछन् । नेवारहरू मध्ये भ्यालहटियाका नेवारहरूको थकाली केही दशक पहिलेसम्म पनि गुठी मनाउन उनिहरूको पुख्यौली थलो पाटन जाने गर्दथे । माथिल्लो र तल्लो हटियाका नेवारहरू आ–आफ्नो गाउँको भिमसेन स्थानमा राँगो काटेर दशैंको चाड मनाउछन् । माघे संक्रान्तिमा भ्यालहटिया र गहिरी गाउँमा गोरु जुधाउने गरिन्थ्यो । यस्तै, साउने सक्रान्तीमा बेलुका आ– आफ्नो चोकमा गएर फलाकेर ‘लुतो लैजा हैं’ भन्दै कराएर कुकुरडाइनोको टुका घर आगनबाट फ्याकिन्थ्यो । सेडाइ ब्राम्हणहरू आगो माथी गोरेल नाच नाच्दथे । उखुबारी रानीस्वाराको अर्याल गाउँ र सेढाइ गाउँको विचमा रहेको ठूलो पिपलको रुखमुनिको चउरमा नाच्ने गोरेल नाच यो लेखकले पनि सानु उमेरमै हेरेको र भर्भराउदो आगो माथी नाचेको देखेर अचम्म परेको झझल्को छ । त्यसपछि त्यस्तो नृत्य मैधीमा भएको छैन ।

धार्मिक जात्राहरू मध्ये मैधीकोटमा आश्विन महिनामा अष्टमीको रानी कालरात्रिमा र सोही समयको चतुर्दशीको राती लाग्ने जात्राहरू तथा देवीथानमा कार्तिक पञ्चमीमा लाग्ने जात्राहरू मुख्य छन् । यो लेखक केटाकेटी हुँदा कालरात्रिमा लाग्ने जात्राको चतुर्दशीमा लाग्ने जात्राको भन्दा बढी महत्त्व थियो । चतुर्दशीमा भीड हुँदैनथ्यो । पछि गएर चतुर्दशीमा ज्यादै भीड र कालरात्रिमा कम भीड हुन थाल्यो । चतुर्दशीमा जुनेली रात हुने तथा मैधीमा ससुराली, मावली वा नातेदारहरू हुने अन्यत्रका मानिसहरू पनि चतुर्दशीको जात्रा हेर्ने गरि मिलाएर टीका थाप्न आउन थालेकोले चतुर्दशीको भाषामा मानिसहरूको भीड ज्यादा भई यसको महत्त्व बढेको थियो । देवीथानको जात्रामा भने वरपरका गाउँलेहरू मात्र जम्मा हुने हुनाले यसको रूप सानै थियो । कार्तिक एकादशीको अघिल्लो दिन राती बुङ्कोटघाटमा र कार्तिकको कुनै दिन सुनखानी ज्वालामुखीदेवी मन्दिरमा हुने जात्रामा पनि प्रत्येक वर्ष मैधीबाट निकै मानिसहरू जान्थे । त्यस्तै साबिक नलाङ गाविसको सिद्धको स्थानमा लाग्ने जात्रामा पनि मैधलीहरू जान्थे । मार्ग महिनामा सल्यानटारमा हुने सल्यानकोट देवीको बेसी आगमनको न्वागी जात्रामा पनि मैधीबाट निकै मानिस जाने गर्दथे । त्यस समयमा यस्तो जात्राहरू मनोरञ्जन र विधामा मुख्य साधन थियो । आजकाल मनोरञ्जनका साधन भएकोले यसको महत्त्व घटेको छ भने कतिपय चलन लोप भइसकेका छन्, जसको खोजी गर्न जरुरी छ ।

श्रावणमा गठेमङ्गलको चाडपछि कृष्णाष्टमीसम्म लाखे नचाइन्थ्यो । मैधीमा दुई लाखे नाचहरू थिए । जसमध्ये एउटालाई ४०० पट्टिको, अर्कोलाई ३०० पट्टिको लाखे भनिन्थ्यो । ४०० पट्टिको लाखेको व्यवस्था माथिल्लो हटियाबाट गरिन्थ्यो भने ३०० पट्टिको लाखेको व्यवस्था द्वारथोकबाट हुन्थ्यो । यी दुवैथरी लाखेहरू आपसमा भेट भएमा एक दोस्रो माथि चुरिएर जाई लाग्थे र झगडा गर्दथे । त्यसैले सकभर दुवैलाई भेट हुन दिइँदैनथ्यो । दुवैथरी लाखेहरूलाई पहिले अमालमा (यो लेखकको घर) ल्याएर नचाइन्थ्यो । कृष्णाष्टमी पछि पनि लाखे नचाएमा अमालले जरिवाना गर्न सक्थ्यो । कृष्णाष्टमीको दिन माथिल्लो हटियाका नेवारहरूले मकैको ढोडको रथ बनाएर त्यसमा कृष्णजीको मूर्ति राखेर शोभायात्रा गर्दै पहिले अमालमा ल्याएर पूजा गराउँथे र त्यसपछि गाउँ घुमाउँथे । भाइटिकाको दिन बेलुका अमालमा आएर गाउँलेहरू देउसिरे खेल्दथे तथा उखुबारीका मगरहरूले सोरठी नृत्य प्रश्न गर्दथे । त्यो दिन रातभरि यो लेखकको घरमा (अमाल) नाचगान हेर्न भिड लाग्दथ्यो । त्यसको भोलिपल्टदेखि हप्तौँसम्म गाउँका घरघरै देउसिरे र सोरठी नृत्यहरू लगाइन्थे । कालरात्रि र चतुर्दशीमा तथा सत्यनारायणको पूजा लगाइएको घरहरूमा भजन र चुड्का नृत्य पनि लगाइन्थ्यो । काफलपानी गाउँकी भजन प्रसिद्ध थियो । आजकाल उक्त सबै चाडपर्व र नाचगान या त लुप्त भइसके या त तिनको महत्त्व घट्दै गएको छ । आफ्नो गाउँको संस्कृति हराउँदै जानु राम्रो कुरा होइन । वर्तमान गाउँपालिका, सङ्घ संस्थाहरू तथा युवा वर्गले समसामयिक सुधार गरि यसलाई पुनरुत्थान गर्नु पर्ने हो । आफ्नो संस्कृतिमा गर्वबोध नगर्ने हमालले प्रगति गर्न गराउन सक्दैन ।

शिक्षा

राणाकालीन समयमा सम्पूर्ण देशभरी शिक्षाको प्रसार थिएन । धादिङ जिल्लाभरि २/३ भाषा पाठशालाहरू मात्र थिए । त्यस समयमा काठमाडौं आवत जावत गर्न २/४ दिन लाग्दथ्यो । यो लेखक मिनपचासको छुट्टिमा (हिउँद) काठमाडौंबाट मैधी आवत जावत गर्दा कतै एउटा प्राथमिक पाठशाला पनि थिएन । मैधीमा पनि हुने कुरा भएन । तर परम्परागत पुराण र पुरोहित्याई गर्ने शिक्षितहरू भने थिए । मैधीको पुरोहित्याइको निमित्त लालमोहोर पाएकोले अर्याल वंशका ब्राम्हणहरूमा यो शिक्षा धेरै हुनु स्वभाविक हो । पुराणवाचक शिक्षाको परम्परा भट्ट थरमा थियो । संस्कृतको अनौपचारिक शिक्षाको निमित्त मैधीमा धादिङ जिल्लाबाट मात्र होइन अन्यत्रवाट पनि विद्यार्थीहरू आउथे । भट्ट गाउँका पण्डित पुर्णान्द भट्टको घर यस कुरामा अग्रणी थियो ।

उनी स्वयं पनि पण्डित र शिक्षक थिए भने उनका छोराहरूमा ३ जना पुराणवाचक पण्डितहरू थिए । सबैभन्दा कान्छा छोरा टिकादत्त भट्टसित पढ्न जिल्ला भित्रका विभिन्न गाउँहरूबाट मात्र होइन गोर्खा, मकवानपुर इत्यादि जिल्लाहरूबाट पनि आउँथे । उखुबारीको भट्ट गाउँको घरहरूमा थुप्रै विद्यार्थीहरू डेरा लिएर बसेका हुन्थे । धेरै समयसम्म मैधी धादिङ जिल्लाको काशी (बनारस) भनेपनि हुने भएको थियो । ती विद्यार्थीहरू मध्ये घनश्याम कँडेल जस्तो विद्यार्थीहरू विज्ञान प्राध्यापक पनि भएर राष्ट्रिय जीवनमा नाम कमाएका छन् । सामान्य पुरोहित पण्डित त धेरै भएका छन् । प्राचीन समयमा विद्वान ब्राम्हणरूलाई भट्ट उपाधि प्रदान गरिने हुनाले उनीहरूले सन्तान भट्टहरूमा विद्याको परम्परा रहेको अन्यत्र पनि भेटिन्छ । भट्टहरू कुमाईं ब्राह्मण भित्रको थर हो । सुदूरपश्चिम विशेष गरेर डोटी, बैतडी भट्टहरूको मूल थलो हो । त्यतातिर उनीहरूमा नै अझै पनि यही शिक्षित र विद्वानहरू पाइन्छन् । मैधीका भट्टहरू कुमाईं भनिने ब्राह्मण होइनन् । यसबाट पूर्विया थरकै कुनै विद्वान ब्राह्मण विद्धान भएका कारणले भट्ट उपाधि पाएका र उनका वंशहरू पनि भट्ट भनिन थालेका र उनीहरूले विद्याको परम्परा धेरथोर धानेर आएको जस्तो देखिन्छ । मैधीमा लालमोहर पाएर बस्न आउने भट्ट पनि विद्वान नै थिए । अर्याल र भट्ट पछि घिमिरे र दवाडीमा पनि पण्डित र पुरोहित्याइको परम्परा रहेको देखिन्छ । यसप्रकार त्यस अन्धकार युगमा पनि मैधी तत्कालीन परम्पराको शिक्षा ज्योति फैलाउने केन्द्र थियो । यो लेखक एसएलसी पास गरुन्जेलसम्म पनि जिल्लाभरि कुनै माध्यमिक विद्यालय थिएन । अहिले त्यस गाउँमा पिएचडी गरेर डाक्टरको उपाधि प्राप्त गर्नेदेखि लिएर अनगिन्ती उच्च शिक्षा प्राप्त व्यक्तिहरू छन् । त्यस्तै उच्च पदमा पुग्नेहरू पनि धेरै जना छन् । आजभन्दा ४०-५० वर्ष अगाडी उच्च पदमा त के कुरा मध्यम पदमा पनि कोही थिएनन् । तर राणाकालमा मैधीका कुनै पनि पुरुष उच्च पदमा नपुगेको भएता पनि माथिल्लो हटियामा जन्मेकी एकजना महिला भने त्यस समयको अलि उच्च पदमा पुगेकी थिइन् । ती थिइन जवरजङ्ग शाहकी छोरी, अमरजंग शाहको दिदी जसको विवाह राणा प्रधानमन्त्री श्री ३ महाराज भीमशमशेर जङ्ग बहादुर राणासित भएको थियो । उनी त्यही कारणले श्री ३ बडामहारानीको उपाधिले विभूषित थिइन् । महिलाहरू पुग्न सक्ने त्यस समयको राष्ट्रकै यो श्री ५ बडामहारानी पछिको दोस्रो सबैभन्दा ठूलो पद थियो । सुधारवादी प्रधानमन्त्री श्री ३ महाराज पद्म शमशेर जबरा उनै महारानीबाट पैदा भएकी हुन् । शिक्षा र खुबीको कारणले नभै विवाहको कारणले त्यस पदमा पुग्न सफल भएकी भएतापनि हटिया जस्तो सानो वस्तिमा पैदा भएकी मैधीको छोरी देशभरिकै महिलाहरूमध्ये दोस्रो ठूलो पदमा पुग्नु कमसेकम तथ्याङ्कको दृष्टिले महत्त्वपूर्ण नै भएकोले यहाँ उल्लेख गरिएको हो ।

अन्तमा

धादिङ जिल्ला भित्र मात्र होइन, अधिराज्यमै मैधीको एक विशिष्ठ हैसियत छ भन्ने कुरा माथि उल्लेखित ऐतिहासिक वृत्तान्तबाट ज्ञान हुन्छ । वर्तमान समयमा पनि यसले विकासको प्रशस्त सम्भावना बोकेको छ । हरेक कुराको विकास हरेक ठाउँमा हुँदैन । मानिसलाई उसको खुबी र स्वभाव अनुसार काम सुम्पेमा सफल भइन्छ । त्यस्तै मैधीको विकास अन्य ठाउँको जस्तै ढङ्गले गर्छु भनेर हुँदैन । यसको आफ्नै विशिष्ठताहरू हुन सक्छ । त्यसको पहिचान गर्न सक्नु पर्दछ । मैधीमा प्रशस्त पर्यटकीय सम्भावनाहरू छन् । यसको पनि पहिचान गर्न सक्नुपर्दछ । पर्यटकीय विकासले त्यहाँका जनताको आयश्रोतमा वृद्धि गरि आर्थिक स्तर उकासिन्छ । पर्यटनको विकासले पर्यटनसित प्रत्यक्ष सम्बन्धितहरूको मात्र आयवृद्धि हुने होइन त्यसबाट यातायात, कृषि, पशुपालन, फलफूल उत्पादन र घरेलु उद्योगमा पनि प्रभाव पार्दछ । व्यवसायमा वृद्धि हुन्छ । विश्वसित परिचित भएर मानसिक घेरा फराकिलो हुन्छ र त्यहाँका युवाहरूले अन्यत्र गएर जीविकाको निमित्त प्रतिस्पर्धा गर्न सक्छन् । हो, नकारात्मक प्रभाव पनि पर्दछ । यसतर्फ सचेत भई नियन्त्रण पनि गर्नुपर्दछ । पर्यटन विकासको निमित्त मैधीलाई कल्पना शक्ति, शिक्षित व्यक्ति र राम्रो योजना आवश्यक छ । मैधीको वर्तमान पुस्तामा कल्पनाशील र बौद्धिक वर्गको खाँचो छैन । राम्रो योजना भएमा नीजि वा सरकारी आर्थिक साधन पनि आउनेछ । आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त हुन सक्छ । आवश्यक त के कुराको छ भने सबैको सहयोग जुटाउन सक्ने उदार र कल्पनाशील स्थानीय नेतृत्वको । सहयोग आफै जुट्दैन । जुटाउन सक्नुपर्दछ । चामल, दाउरा, आगो, पानी छ भन्दैमा भात स्वयम् आफै जुटेर पाक्दैन । कसैले ती सामाग्रीहरू जुटाएर कुनलाई कसरी उपयोग गर्ने हो गर्नु पर्दछ । त्यसपछि मात्र केही बेरमा भात बनेर पाक्दछ । मैधीमा सामलतुमल सबै छ । तर जुटाउने कसले सबै आफ्नै धन्दामा व्यस्त छन् । त्यसैले संविधानले स्थानीय निकायहरू र निर्वाचित जनप्रतिनिधिहरूको व्यवस्था गरेको छ । जो केही गर्ने गराउने कबुल गरेर निर्वाचित हुन्छन् । उनीहरूले केही गरेनन् भने गर्ने कसले दाउरा आफै आएर बल्न थाल्ने चामल आफै आएर कसौँडीमा बस्ने ? दुर्भाग्यवश पञ्चायत व्यवस्थामा या प्रजातन्त्र आएपछि पनि अधिकांश स्थानीय निकायहरूको नेतृत्व वर्गले जिल्लाबाट प्राप्त रकमलाई मात्र यताउति खर्च गरेर बसेको देखिन्छ । अरूले दिएको रकम मात्र खर्च गर्न त पहिलेकै थरि मुखिया वा अमालले पनि सक्दथ्यो । निर्वाचित नेतृत्वको आवश्यकता पर्दैनथ्यो । निर्वाचित स्थानीय नेतृत्वले स्थानीय जनशक्ति र साधनलाई परिचालन गर्दै सबैको सहयोगमा गाउँको ऐतिहासिक, सांस्कृतिक, खोज अनुसन्धान तथा शैक्षिक, आर्थिक, सामाजिक र भौतिक योजना तयार गर्नु पर्छ र कहाँ पुग्ने भनेर भविष्यको स्पष्ट तस्बिर जनतालाई देखाउनु पर्छ । पालिकामा जनशक्ति र साधन छैन भने जानकार व्यक्ति तथा गैह्रसरकारी संघसंस्थाहरूको सहयोग पनि लिनुपर्दछ । अन्य निकायबाट प्राप्त रकम बाडेर आफ्नो पदावधि समाप्त पार्ने होइन । उम्मेदवार हुँदा एउटा पक्षको भए पनि अध्यक्ष वा बडा सदस्य जितेपछि त गाउँभित्रको सबै जनताको हुनु पर्दछ । विकासको निमित्त स्थानीय नेतृत्वमा शिक्षा भन्दा पनि भावना उदार दृष्टिकोणको आवश्यकता पर्ने रहेछ भन्ने कुराको उदाहरण देशको धेरै ठाउँहरूमा देखिएको छ । यो लेखको मूल उद्देश्य मैधीको ऐतिहासिक परिचय दिनु हो । आफ्नो गाउँको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक र सामाजिक परिचय पुस्तिकाको रूपमा वा अन्य कुनै प्रकारले स्थानीय निकायले दिनु पर्ने हो । यस सम्बन्धमा खोज तलास पनि हुनु पर्ने हो । यो विकास कार्यको पूर्वाधार र प्रारम्भिक कदम नै हो । तर यस्तो हालसम्म भएको नदेखिएकोले यो लेखमा परिचयसम्म दिने प्रयास भएको छ । यस्ता कार्यहरू पनि भविष्यमा स्थानीय निकायबाट हुनेछ भन्ने आसा छ । सबैले सहयोग पुर्‍याउनु पनि कर्तव्य हो । सहयोग लिने र दिने वातावरण भने हुनै पर्दछ । अस्तु:


(यो लेख शाहले स्वर्गीय हुनुअघि नै लेखेका हुन् । लेख २०६० सालको भाद्र महिनामा प्रकाशित मैधीको चिनारी ‘आफ्नो माटो, स्मारिका-१’ प्रकाशित भएको थियो । वर्तमान अवस्थामा पनि यो लेख सान्दर्भिक छ । सोही अनुरूप यो लेखमा लेखकले पहिलेको राज्य संरचना अनुसार उल्लेख गरिएका केही प्राविधिक शब्द हालको राज्य संरचना अनुसार सम्पादन बाहेक अरू सबै जस्ताको त्यस्तै हालिएको छ- सम्पादक राजु झल्लु प्रसाद, टुरशाला मिडिया नेट्वोर्क प्रा.लि. (Tourshala.com))

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

मैदी गाविस

शक्तिपीठ