थामा चौघेरा माईस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थामा चौघेरा माइ स्थान
थामा माइको मन्दिरमा लागेको भक्तहरूको ताँती
प्राथमिक विवरण
स्थान:तोलीजैसी, दैलेख
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
देशनेपाल

थामा चौघेरा माइ स्थान दैलेख जिल्लाको पश्चिम भेगमा पर्ने साविकका तिलेपाटा, तोलीजैसीसिंगौडी गा. वि. स.हरूको विचमा पर्ने मालिका पातलको रमणिय चुचुरामा अवस्थित छ। हाल यो मन्दिर ठाटिकाँध गाउँपालिका र आठबीस नगरपालिकाको सिमानामा अवस्थित छ । यहाँ माई भगवतीको मन्दिर छ। प्रत्यक वर्ष मालिका चतुर्दशीका दिन माईको पुजा गर्ने परम्परा छ। हुनत पश्चिम नेपालको मध्य तथा सुदूर पश्चिमका अधिकांस स्थानहरूमा माई स्थान (माइका मन्दिर) छन्। नेपालका प्रख्यात मन्दिरहरू तथा सुदूर पश्चिमको प्रसिद्ध बडिमालिका मन्दिर सुदूर पश्चिमको बाजुरा जिल्लामा अवस्थित छ। यहाँका अधिकांश अग्ला चुचुराहरूमा बडिमालिकामा पूजा गरिने बडिमाईको स्थापना गरेर बडिमालिकाको मुख्य पुजा गरिने दिन अथवा मालिका चतुर्दशीका दिन बडिमालिका जान नसक्ने मान्छेहरूले पूजा गर्ने परम्परा रहेको छ। थामा चौघेरा माईको थान पनि यिनै स्थानहरू मध्यमा पर्ने एक हो। यस ठाउँमा चतुर्दशीको पहिलो दिन त्रयोदशीका दिन रुद्री पाठ, चण्डी पाठ, गौदान गर्ने र जग्राम बस्ने परम्परा छ। जग्राम बस्दा रात्री भजन कृतन गर्ने र धमारी, झोडा खेल्ने गर्दछन्। यहाँ मनमा श्रद्धा राखेर जग्राम बसेर माईको दर्शन गर्नाले मनले चिताएको पुग्ने पूर्ण धारणा बोकेर दैलेख लगायत अछाम, कालिकोट, सुर्खेत, कैलाली, बर्दिया आदी अधिकांश ठाउँहरूबाट भक्तजनहरू भेला हुन्छन्।

पूजाको परम्परा[सम्पादन गर्नुहोस्]

थामा चौघेरा माईको पूजाआजा गर्ने परम्परा कहिले देखी चलेको हो भन्ने कुराको कुनै ठोस प्रमाण नदेखिए पनि थामा माईलाई आफ्नो कुल देवीको रूपमा पूजा गर्दै आएका सिंगौडी गा. वि. स. वडा नंवर ७ भाटगाउँ र अम्तलाका निवासी जैसीहरू (जसलाई भाट भनिन्छ तर यिनीहरू आफुलाई भाट स्विकार्दैनन्) र तोलीजैसी तोलीपाटाका ठकुरीहरू १५ औँ शताब्दीको आसपास देखी यो परम्परा चलेको दाबी गर्दछन् । यो परम्पराको आरम्भ भएको बारेमा निम्नानुसार किंवदन्ती रहेका छन् ।

  1. एक कथाअनुसार एक जना भाटगाउँ निवासी देवीका परम् भक्तले यो ठाउँमा भगवतीलाई भेटाएका थिए। उनैले यस ठाउँमा भगवतीको पूजाआजा गर्ने परम्परा चलाएका थिए । उक्त व्याक्तीले आफ्ना २ वटा थारा भैंसीहरूलाई जंगलमा छोडेर आफू बडिमालिकाको दर्शन गर्न गएका थिए । केही दिन पछि बडिमालिकाबाट आएर भैंसीहरू कहाँ गए भनि जंगलमा खोज्न जाँदा जुन ठाउँमा अहिले थामा माईको मन्दिर छ त्यसै ठाउँमा थारा भैंसीहरू ब्याएर पाडाहरू पाएका देखेकाले चकित भएका थिए । यसरी उनलाई चकित भएको देखेर देवी प्रकट भईन् । देविले भनिन् "ए मनुष्य किन अचम्म मानेको यी भैंसीहरू तिम्रै हुन् लिएर जाऊ, अबदेखी तिमीले बडिमालिका जानु पर्दैन, एक जना ठकुरीलाई ल्याएर मेरो पूजा यसै ठाउँमा गर्नु ।" यती भनेर देवी अन्तर्ध्यान भइन् । त्यस पछि ति भक्तले एक काफलको रुख मुनी पाषाण रूपमा भगवतीको शिला मूर्ती देखे । यो कुरा उनले यहाँका सबै ठकुरी सँग भन्दा कसैले पनि विश्वास गरेनन् । अन्तमा तोलिपाटाका ठकुरीसँग धर्म भाईको नाता जोरी दुबै जना मिलेर थामा माईको पुजा आजा आरम्भ गरेका थिए ।[१] यसैले कतै कतै थामा मालिकालाई "भाटकी मालिका" र "तोलिपाटाकी मालिका" पनि भनिन्छ ।
  2. एक अर्को कथा अनुसार वि.सं. १८१० भन्दा पहिले हालको सिंगौडी गा.वि.स. को भाटगाउँ टोललाई काँडागाउँ भनिन्थ्यो भने अम्तोला टोललाई आमबासा भनिन्थ्यो । भाटगाउँ , अम्तोलाको छेउमा बग्ने खालालाई "साङ्टा खोला" भनिन्छ । एक दिन त्यै साङ्टा खोलाको शिराना काँडाखेत निवासी लक्ष्मी प्रसाद उपाध्यायका जेठा छोरा विरुपतीले घाँस काट्न जाँदा पुडिना (एक प्रकारको जंगली लहरे घाँस) को लहरा काटेछन् । त्यो काटेको लहरा जती तानेपनि तान्न सकेनछन् । त्यसपछी विरुपतीले यो लहरा कती लामो रहेछ भनी लहराको टुपो खोज्न थाले । यसरी टुपो खोज्दै जाँदा हाल थामा माइको मन्दिर रहेको ठाउँमा एक टुनीको रुखलाई पुडिनाको लहराले बेह्रेको देखे । त्यसै टुनीको बोट नजिकै आफ्नो बाँठा भैंसीहरू ब्याएर पाडा पाएका र भर्खरै मात्र पकाएको खिरको टपरी देखे यसका साथै त्यो टुनीको फेदमा एक सुन्दर कन्या बसेकी पनि देखे । त्यो देखेर बिरुपतीलाई अचम्म लाग्यो । उनलाई सपना र विपनाको थाह भएन । त्यसका केही पछि देवीले आकासवाणी मार्फत विरुपतीलाई आफू भगवती भएको र आफ्नो पूजा गर्नाले सदैव कल्याण गर्ने कुरा सुनाइन् । त्यसपछी बिरुपतीले आफ्ना धनपती र पौमल्या नाम भएका दुइजना भाइहरूलाई ल्याएर कान्छा भाइलाई पूजारी बनाइ पूजा गर्ने चलन चलाए ।[२]

थामा माइको मन्दिरबाट चोरिएर कालिकोट र दैलेखको सिमाना स्थित भुवान थानमा लगेर लुकाएको शिला पाईनु, दन्द्वकालमा माओवादीहरूले नेपालका अधिकांश धार्मिक सम्पदाहरू भत्काउने क्रममा थामा माईको मन्दिर भत्काउन नसक्नुका साथै अधिकांश भक्तजनहरूले सोचे अनुसार फल पाईनु भगवतीको चमत्कार नै हो भन्ने कुरा थामा माईलाई कुलदेवीको रूपमा पूजा गर्ने जैसीहरू र ठकुरीहरू दावी गर्दछन् । यतीमात्र नभएर भगवतीको विश्वास नगर्ने र अपहेलना गर्नेहरूले ठुलो दु:ख पाएको पनि उनिहरू दावी गर्दछन् ।

पूजा विधी[सम्पादन गर्नुहोस्]

थामा मालिकालाई कुल देवीको रूपमा पूजा गर्ने ठकुरी र जैसीहरूले आफ्नै श्रम र श्रोतमा वि. स. २०६८-०६९ मा मन्दिरको जृणोद्धर मरम्मत गर्नुका साथै दुईवटा २-२ कोठे विश्राम गृहहरू निर्माण गरेका छन्। विश्राम गृहहरूमा एउटामा ढुङ्गाको छाना छ र अर्कोमा जस्ता पाताको छानो छ। मालिकामा ओईरो लाग्ने भक्तजनहरूको लागि यि विश्राम गृहहरू अप्रयाप्त छन् तै पनि भक्तजनहरू पाल टांगेर माताको जग्राम गरेर रमाउछन्। भगवतीको पूजा हुने दिनमा अथवा पहिलो दिन जैसी र ठकुरीहरू सबैले आफ्नो-आफ्नो घरमा भएका भारा (देवी पूजाका सामानहरू जस्तै:- शङ्ख, घण्ट, छत्र, मूर्ति, आदी) मन्दिरमा लगेर जान्छन्। देविको पूजा पश्चात आफ्नो आफ्नो घरका भाराहरू उठाएर ल्याई आफ्नो घरको पूजा कोठामा राखेर आश्विन नवरात्रचैत्राष्टमीका दिनमा विशेष पूजा गर्छन् भने बाँँकीका दिनहरूमा सामान्य नित्य पूजा गर्ने गर्दछन्। जैसी र ठकुरीहरूका जति घरधुरीहरू छन् ती सबैमा देवीका भाराहरू राख्ने परम्परा रहेको छ। थामा माईको मन्दिरमा भगवतीको पूजाआजा र दर्शन गर्न आउने श्रद्वालु भक्तजनहरूले आफ्नो घरमा भएको फलफूल, दुध, घ्यू, का साथै ध्वजा (शुद्ध कपडाको पताका), पर्गला (रातो अथवा सेतो कपडाको थान) र आफ्नो मनोकामना पुरा होस् भन्ने धारणाका साथ मूर्ति, भकारी (तामाको भकारी आकारको पात्र), छत्र (तामाको छाता आकारको पात्र) आदी वस्तुहरू ल्याएर आउँछन्। यी वस्तुहरूलाई माताका गहना भनिन्छ। रात्री जग्राम पछि बिहान स्नान आदी गरेर पूजारीले मन्दिरमा बत्ती बालेपछी भक्तहरू स्नान गरेर आफुले ल्याएका गहनाहरू हातमा राखी मन्दिर परिक्रमा गरेर उपरोक्त वस्तुहरू भगवतीलाई अर्पण गर्दिन भनि पूजारीको हातमा दिंदै हात जोरेर भगवतीसँग आफ्नो मनोकामना सिद्धीको पुकार गर्दछन्। त्यस पछि पूजारीले भगवतिसँग आगन्तुकको इछ्छा पुरा होस् भन्ने प्रार्थना गरी आगन्तुकले ल्याएको गहनाहरू माईलाई अर्पण गरी आगन्तुकलाई टिका लगाएर कुनै फलफूलको प्रसाद दिन्छन्। माताको प्रसादलाई भक्तहरू माइबाट प्राप्त भएको बर अथवा बरदान भन्ने गर्दछन्। पहिलेका दिनहरूमा पूजाको समाप्ती पछि पूजारीहरूले मन्दिरमा चढाएको फलफूल भक्तहरूको भिंडमा छर्ने गर्थे भक्तहरू बर समात्नको लागि भागा-भाग गर्ने र जसको हातमा जे पर्यो त्यही माताको बरदान स्विकार्ने गर्थे। तर श्रद्धालुहरूको बढ्दो संख्याका कारण यसो गर्दा कुनै अप्रिय घटना हुन सक्ने सम्भावना भएकाले अचेल भक्तजनहरूले चढावा दिन गएकै समयमा पूजारीले टिका लगाएर हातैमा बर दिन्छन्। श्रदालुहरू प्रसादमा आएको फलफूललाई सन्तानको बर मिलेको विश्वास गर्छन् त्यस्तै मकै, चामल, आदी अन्नलाई अन्नको बर मिलेको विश्वास गर्छन् भने पैंसा रुपैयाँलाई धनको बरदान पाएको विश्वास गर्छन्। त्यस्तै गहनाहरू अर्पण गर्दा अन्न प्राप्तिका लागि भकारी, धन प्राप्तीका लागि रूपैयाँ पैंसा, सन्तान प्राप्तिका लागि मुर्ति, विद्या प्राप्तीको लागि कलम, स्त्री प्राप्तीको लागि काँइयो, वस्त्र प्राप्तीको लागि धजा तथा सर्व सुख प्राप्तीको लागि घण्ट, छत्र, पर्गला आदी चढाउने गर्दछन्। यसै गरी बरमा पनि माथी उल्लेखित गहना आएमा सोही गहना अनुसारको बर प्राप्त भएको विश्वास गरिन्छ। यसरी सबै भक्तहरूलाई बर दिने काम भइसकेपछी दुईवटा बाँझका करिब १० मिटर लामा लिंगाहरू ल्याएर श्रद्धालुहरूले चढाएका धजा र पर्गलाहरू टाँगी मन्दिर पछाडी रहेको गबिरमा गाड्ने चलन रहेको छ। उक्त लिंगाहरूमा एक जैसीहरूले ल्याउँछन् भने अर्को ठकुरीहरूले ल्याउँछन्। यि लिंगालाई स्थानिय भाषामा टाँगा भनिन्छ। प्राय जसो यहाँका सबै मठ मन्दिरहरूमा टाँगा गाडिएको हुन्छ। थामा माईका टाँगाहरू थामा माईको जयकाराका साथमा भित्राउने र गाड्ने गरिन्छ। टाँङा गाडी सके पछि पूजारीहरूले वैदिक मन्त्रोच्चारणका साथ टाँगामा दुध र चामलको धार दिन्छन्। यसरी टाँगाको पूजा पछि भगवतिलाई पूजारीहरू खिरको भोग लगाएर वैदिक मन्त्रोच्चारणका साथ अग्नीलाई घृताहुती दिएर होम गर्दछन्। होम भएर होम तिलक बाँटे पछि यो वर्षको पूजा समाप्त भएको मानिन्छ। थामा माइ मन्दिरमा ३ जना पुजारी र एक पुरोहित ब्राह्मण गरी चार जना पूजारी हुने परम्परा छ। पूजारीहरूमा २ जना जैसी र एक जना ठकुरी हुन्छन्।

प्राकृतीक सौन्दर्यता[सम्पादन गर्नुहोस्]

थामा चौघेरा मालिकामा जत्तिको भगवतीको शक्ति रहेको छ त्यत्तिकै प्राकृतिक छटाले भरिपूर्ण यहाँको सौन्दर्यता रहेको छ। चारै तिर हरियाली पूर्ण जंगल विचमा सानो चिटिक्क परेको नाङ्गो चौरको विचमा अवस्थित मन्दिर देख्दा यहाँ पुग्ने मान्छे आफै भगवती प्रती नतमस्तक भएर भावुक हुन्छ। वरिपरी पाकेर रातै भएका घँगारु धर-धर झरेको देख्दा र काफल, चुत्रो, अयाँर, लाली गुराँस, उतिस बाँज आदी वनस्पतिका रूखहरूमा बसेका ढुकुर, कालिज, गौंथली आदी चराहरूको चिरविरे आवाज, मन्द मन्द हावा सँग कावा खाँदै हिडिरहने कुहिरोलाई देख्दा यहाँकी प्रकृतीले पनि भगवतिको पूजा गर्दैछिन् भन्ने लाग्दछ। उत्तर तिर देखिने सेतो हिमालको दृश्य बिहानी हुने वित्तिकै घाम लाग्दा चाँदी टल्किए झैँ लाग्छ। चारै तर्फ देखिने पहाडी चुचुराहरूले नुहेर भगवतिलाई प्रणाम गरिरहेका छन् भन्ने भ्रम हुन्छ। चौरको डिकमा उँभिएर पहाडलाई छिचोल्दै बग्ने कर्णाली नदीको दृश्य आफू स्वर्गमा भएको अनुभव हुन्छ। यहाँको प्रकृतीलाई स्याबासी नदिने मान्छे कोही नहोला। यहाँ पुग्नको लागि दुईवटा मार्गहरू छन्।

  1. पश्चिम नेपालको सुर्खेतबाट गाडीमा कर्णाली राजमार्गमा पर्ने राकम कर्णाली सम्मको यात्रा गर्नु पर्छ राकम कर्णालीबाट निर्माणाधिनमा रहेको राकम कर्णाली - दह मोटर मार्गमा पर्ने तिलेपाटा जानु पर्ने हुन्छ। तिलेपाटाबाट करिब एक घंटाको पैदल यात्रा पछि थामा माइस्थान पुगिन्छ।
  2. पश्चिम नेपालको दैलेख बजारबाट मध्य पहाडी मार्गमा पर्ने सिंगौडी सम्मको यात्रा गाडीमा गर्नु पर्छ। सिंगौडीबाट करिब एक घण्टाको पैदल यात्रा पछि मालिका पुगिन्छ। कैलालीको सुँगुरखालमा दैलेखबाट बसाईं सरेर गएका जैसी र ठकुरीहरूले थामा चौघेरा माइस्थान दैलेखमा पुग्न नसक्ने भक्तहरूका लागि थामा माईको स्थापना गरेर पूजा गर्दछन्।

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. रतीराम जैसी पुजारी थामा माई
  2. पूस्तक गौतम गोत्र वंश परिचय पृष्ठ संख्या १९९-२००

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]