दामुपालको शिलालेख
दामुपालको शिलालेख | |
---|---|
सामान्य विवरण | |
स्थान | दुल्लु, नेपाल |
दामुपालको शिलालेख दैलेख जिल्लाको दुल्लु नगरपालिकामा पर्ने कृतिखम्ब बजारमा कीर्तिस्तम्भको साथमा राखिएको छ।[१][२] यो शिलालेखस्तम्भ पश्चिम नेपालको इतिहासमा सर्वाधिक विवादित रहेको स्तम्भ हो। यो स्तम्भ एक अभिलेखस्तम्भ नभएर वीरस्तम्भ हो। यो स्तम्भलाई विक्रम सम्वत २०१२ सालमा दुल्लु बाहुनगाउँका गणेशबहादुर शाहको घरपछाडिबाट शरणसिंह सार्की, चुसो सार्की र वीरसिंह सार्कीको सहयोगमा हालको स्थानमा राखिएको विवरण योगी नरहरिनाथको इतिहास प्रकाश दोस्रो अङ्क पहिलो भाग २०१३ पृष्ठ २२४ मा उल्लेख गरिएको छ। त्यही पुस्तकमा यसमा उत्कृण गरिएको अभिलेख समेत पहिलो पटक प्रकाशित गरिएको छ।[३][४] नेपाली भाषामा उत्कृण गरिएको ६ पंक्तीको अभिलेखमा यसको तिथिमिति अझैँ पनि एकीन हुन सकेको छैन।
परिचय
[सम्पादन गर्नुहोस्]यो शिलास्तम्भलाई नेपाली भाषामा लेखिएको नेपालकै सबैभन्दा पुरानो शिलास्तम्भ भनिएको छ। नेपाली भाषाको प्रादुर्भाव जुम्लाको सिंजालाई मानिएको अवस्थामा यस क्षेत्रमा नेपाली भाषामा लेखिएका शिलास्तम्भ भेटिनु अस्वाभाविक होइन, यस्ता अभिलेखहरू यस क्षेत्रमा अन्य स्थानहरूमा पनि हुन सक्दछन्। धेरै विद्वानहरूले यस स्तम्भको अध्यायन अनुसन्धान गरिसक्नुभए तापनि यसको प्राचीनताका सम्बन्धमा विवाद कायमै रहेको छ।[५][६]
स्तम्भमा उत्कृण गरिएका शब्दहरू
[सम्पादन गर्नुहोस्]यस स्तम्भमा उत्कृण गरिएको अभिलेखलाई तल लेखिएबमोजिम पढिएको छ।[४]
- ॐ स्वस्ति (श्री शाके १....
- (२) हु....त....(व)
- (३) सुपालसुपुत्र.....ि.....स्थि...
- (४) रंस्भः॥ केल्हु अ....
- (५) डको भाइ ॥ राज
- (६) पाल उं (ॐ) ड भाइ ३
--(योगी नरहरिनाथको इतिहास प्रकाश दोस्रो अङ्क पहिलो भाग, २०१३, पृष्ठ २२४)
- ॐ............सा
- (२) हु...........दा
- (३) सु पा ल.....
- (४) रे ष भः ॥ के ल्द अ
- (५) द को भा इ ॥ स उ
- (६) पा ल अ ड भा इ ३
--(डिल्लीराज शर्मा, पश्चिम नेपालको मुर्ति तथा वास्तुकला, २०५८ पृष्ठ १०६)
- ॐ (स्वस्ती)....
- (२) हुल... (व)
- (३) सुपाल अडको वि
- (४) रषंभः॥ केल्हु अ..
- (५) डको भाइ ॥ सउ
- (६) पाल अड :॥ इत ॥।
--मोहन प्रसाद खनाल, नेपाली भाषाको हजार वर्ष, २०६८ पृष्ठ ७६ (अ.सं. १८) सरसर्ति हेर्दा यस स्तम्भमा तिथिमिति लेखिएको देखिदैन र अन्य विद्वानहरूले पनि यस कुराको पुष्ट्याई गर्नुभएको छैन। पूर्णप्रकाश नेपाल 'यात्री' ले राजा गगनिराजको यात्रा नामक किताबमा यस अभिलेखमा "ओं (मणि) पद्मे हुं।..... दामुपाल भुपाल रेख भई। किष्णु अडैको भाइ सउंपाल अडै सा (के) ९०३ पढेको आधारमा नेपाली भाषामा लेखिएको पहिलो अभिलेखस्तम्भको रूपमा व्याख्या गरिदिएकाले यसको प्राचीनतामा विवाद उत्पन्न हुन गएको छ।[४]
वास्तविकता
[सम्पादन गर्नुहोस्]यस स्तम्भमा उत्कृण गरिएको र त्यसको भाषा लिपि विशुद्ध रूपमा पूर्व-मध्यकालिन नेपाली भाषा मानिन्छ। अहिले स्तम्भमा उत्कृण गरिएको अभिलेखको माथिल्लो भाग समाप्त भइसकेको छ भने तल्लो भागमा उत्कृण गरिएका र बाँकी रहेका केही हरफहरू मात्र देख्न र पढ्न सकिन्छ। विभिन्न विद्वानहरूले विभिन्न समयमा गरेको अध्यायन अनुसान्धान यस स्तम्भको तिथिमितिमा एकरूपता नभए तापनि यो स्तम्भमा उल्लेख गरिएको पाल शब्दका सम्बन्धमा भने सबैको एक मत रहेको छ। यस स्तम्भमा योगी नरहरिनाथले सुपाल र राजपालको नाम पढेका छन्। पूर्णप्रकाश नेपाल "यात्री" ले दामुपाल, भुपाल, र साउँपालको नाम पढेका छन्। यसैगरी इतिहास तथा संस्कृति प्राध्यापक डा. डिल्लीराज खनालले यसमा दासुपाल र साउँपालको नाम पढेका छन्।[४]
महत्त्व
[सम्पादन गर्नुहोस्]तिथिमितिका सम्बन्धमा विद्वानहरूका बीच मत भिन्नता देखिए पनि स्तम्भमा उत्कृण गरिएको पाल शब्दले यसको निर्माणकाल पहिल्याउने प्रसस्त आधारहरू अझैँ जीवित रहेका छन्। उक्त शब्दले यो स्तम्भ खस मल्लकाल अघि नै निर्माण भएको हो की भन्ने बोध गराउँछ। यो अवस्थामा यस स्तम्भको स्थापना शाके ९०३ मा भएको हो अथवा अघि पछि भएको हो भन्ने निचोड निकाल्नु जरुरी छ। यदी यो स्तम्भलाई शाके ९०३ कै मान्ने हो भने नेपाली भाषाको विकास कत्युरी शाषणकालमा नै भइ सकेको थियो भन्ने सङ्केत मिल्छ। कर्णाली प्रदेशमा खस मल्लहरूले जग बसाल्नु पूर्व नेपालको पश्चिमी भु-भाग लगायत भारतको कुमाउँ र गढवाल समेतका क्षेत्रहरू कत्यूरीहरूको अधिनमा रहेको थियो। [४] राज्यको शाषण केन्द्र भारतको उत्तराखण्डमा पर्ने कात्तिकेयपुर अथवा जोशीमठमा रहेको थियो। कत्यूरी वंशका पहिला राजा भनेर ललितसुरलाई मानिएको भएपनि कत्यूरी वंशावलीले ललितसुर भन्दा पहिले वसन्तनको नाम उल्लेख गरेको छ।[४] कत्यूरी राजा ललितसुरले सन् ९४५ देखी सन् ९६० (विक्रम सम्वत १००२ देखी विक्रम सम्वत १०१७) सम्म यस क्षेत्रमा शासन गरेका थिए। कत्यूरी वंशलाई हिमालय क्षेत्रमा राज्य गर्ने प्रथम राजवंश समेत भनिएको छ। तिब्बतका शासक श्रोङचोङ गम्पोको शासनकालपछिको राजनीतिक विखण्डनका कारण तिब्बत क्षेत्र कमजोर भएको कारण कत्यूरीहरूले आफ्नो अधिकार हिमालय क्षेत्रमा विस्तार गर्ने मौका पाएको थिए। यो कत्यूरी राजाहरूको समय विक्रम सम्वत ११०७ सम्म मात्र कायम रह्यो।[४] लगभग यसै समयमा तराइ प्रदेशमा पाल राजाहरूको शासन कायम रहेको थियो। यी पाल राजाहरू मध्य भोजपाल प्रथम (विक्रम सम्वत ८९३-९४९), महेन्द्रपाल (विक्रम सम्वत ९४९-९७१) र मोहनपाल (विक्रम सम्वत ९७१-१००२) सम्मले शक्तिशाली राजाको रूपमा शासन गरेका थिए। कत्यूरी राजा बसन्तनले राज्य विस्तारको क्रममा यिनै पाल राजाहरूको सहायता लिएर तिब्बतीहरूमाथि विजय प्राप्त गरेका थिए। डोटीको वंशावलीमा कत्यूरी वंशका ३९ पुस्ताले यो क्षेत्रमा शासन गरेका थिए भन्ने देखिएको छ भने कुमाउमा पर्ने अस्कोटको वंशावलीमा ५१ पुस्ताको नाम उल्लेख गरिएको छ।[४] डोटीको वंशावलीका अनुसार पालवंशी राजाका ३६औँ पुस्ताका राजा त्रिलोक पालका दुईवटा छोराहरू भएका थिए। तिनमा जेठा निरन्जन देव डोटीमै बसे भने कान्छा अभयपाल अस्कोटमा बसे। यसै वंशवालीका शक्तिशाली राजा अजयपालले डोटी प्रदेशको राजधानी डडेलधुरा जिल्लाको अजयमेरु गा.वि.स अन्तर्गत पर्ने अजयमेरु कोटको इतिहास अझैँ पनि भग्नावस्थामा यत्रतत्र छरिएर रहेको पाइन्छ। विक्रम सम्वत १३०८ मा मात्र अशोक चल्लले कत्यूरीहरूको भूमीमाथि विजय पाएका थिए। यो स्तम्भ यिनै पाल राजाहरूमध्य कसैले स्थापना गरेको हुनुपर्छ भन्ने मान्ने आधार देखिएको छ। यो स्तम्भमा उत्कृण भएका पंक्तीहरूलाई विद्वानहरूले आफ्नो आफ्नो अध्यायनमा ५ वटा नामहरू पढेका छन्। ति नामहरू सुपाल, राजपाल, भुपाल, दामुपाल र साउँपाल तथा भाइ ३ पनि पढेका छन्। कर्णाली प्रदेशको उत्तर तर्फका गेंलावंशी आदिपाल देखी जीवपाल सम्मका १६ वटा राजाहरूलाई आदित्यवंशी पाल भनिएको छ। सिंजाका राजा पृथ्वी मल्लको दुल्लुस्थित कीर्तिस्तम्भमा एक तर्फको पाटोमा आदीपाल देखीका राजाहरूको नाम उल्लेख गरिएको छ भने अर्को पाटोमा नागराजको वंशवृक्ष उल्लेख गरिएको छ। यसरी उल्लेख गरिएका पाल राजाहरूकै क्रममा नवौँ पुस्तामा रहेका सोमपालको नाम यो स्तम्भमा उतकृण गरिएको साउँपालसँग मेल खाने भएकाले यो स्तम्भको ऐतिहासिक पक्ष अझैँ उजागर हुन सकेको छैन। गहन अध्यायन र अनुसन्धानको अभावमा यो स्तम्भको वास्तविकता अझैँ अनउत्तरीत रहेको छ।[४] तै पनि हाल सम्म यो स्तम्भलाई नेपाली भाषाको पहिलो शिलालेख भनेर भनिएको छ।
हालको अवस्था
[सम्पादन गर्नुहोस्]अहिले दैलेख जिल्लाको भौतिक विकासका क्रममा दुल्लु-साहुबाडा सडक निर्माण भएको छ। यो स्तम्भ त्यस सडकको किनारामा पर्न गएको छ भने ढल निर्माण गर्दा यो स्तम्भ रहेको ठाउँमा नै ढल बनाउनु पर्ने छ। सडक निर्माणकै क्रममा गह्रौं वस्तुहरू अस्तम्भमा पर्न गएर भाँचिने र बाँँकी रहेका अभिलेखहरू पनि मेटिने सम्भावना रहेको छ। सडक कालो पत्र गर्दा स्तम्भमाथि कालो पत्रको झोल खस्न सक्ने र सार्वजनिक सवारी साधनहरू चल्दा धुवाँले स्तम्भको अभिलेखमाथि असर पर्ने प्रवल सम्भावना छ। यसै सन्दर्भमा होरिटेज नेपालले यसको संरक्षण सम्वर्द्धनका निम्ती राष्ट्रिय तथा अन्तराष्ट्रिय जनमत सृजना गर्नकालागि इन्टरनेट मार्फत प्रचार प्रसार गरिनुका साथै विक्रम सम्वत. २०६८ साउन २४ गते काठमाडौँको धुम्बराहीमा दैलेखी जनताहरूका बीच बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थियो। त्यस कार्यक्रममा पूर्णप्रकाश नेपाल "यात्री", प्रा. दिनेशराज पन्त, प्रा. डा. टेकबहादुर श्रेष्ठ, डा. जयराज पन्त, नेपाल सरकारको पुरातत्व विभाग (नेपाल)का पुरातत्त्वविद् प्रकाश दर्नाल र रामबहादुर कुँवर लगायत दैलेख जिल्लाका सबै राजनीति पार्टीहरूको अग्रज समेतको उपस्थिती रहेका थियो। कार्यक्रमको समाप्ती पश्चात पुरातत्त्व विभागले दैलेख जिल्ला विकास समितिलाई अनुरोध गरी यस स्तम्भको क्षेत्र भित्र पर्ने दुल्लु-साहुबाडा सडक निर्माण कार्य रोकिएको थियो।[४] तर अहिले रोड निर्माण भैसकेको छ। स्तम्भलाई फलामे ग्रिलबारले घेरेर राखेको छ। सडकको ढल निर्माण भएको छैन यदी ढल निर्माण भएमा यो स्तम्भ उक्किने सम्भावना रहेको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाली भाषाको लेखनः समस्या र समाधान / डा. गोपाल प्रसाद शर्मा अधिकारी", www.onlinesahitya.com, अन्तिम पहुँच २०१९-०३-१०।
- ↑ "यस्तो छ नेपाली भाषाको इतिहास", setopati.com, अन्तिम पहुँच २०१९-०३-१०।[स्थायी मृत कडी]
- ↑ "दैलेख जिल्लाको परिचय", aaodullu.moha.gov.np (npमा), अन्तिम पहुँच २०१९-०३-१०।
- ↑ ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ कीर्तिखम्ब नामक पुस्तक लेखक विश्व के.सी.(पोखरेल) पहिलो संस्करण पृष्ठ सङ्ख्या ५७-५९
- ↑ "सङ्कटमा पर्दैछ दैलेखको ‘क’ र ‘ॐ’ को अस्तित्व", Thaha Khabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-१०।
- ↑ "हजार वर्ष पुराना साक्षी", Naya Patrika (अङ्ग्रेजीमा), २०१८-०३-२२, अन्तिम पहुँच २०१९-०३-१०।[स्थायी मृत कडी]