भुर्ती देवल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुर्ती स्थित देवहरू
भुर्ती स्थित देवहरू

दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं. ७ भुर्ती गाउँमा २२ वटा देवलहरू रहेका छन्। यी देवलहरू विक्रमको चौधौँ पन्ध्रौँ शताब्दीतिर कर्णाली प्रदेशको खसमल्ल राज्यकालका समयमा निर्माण भएका हुन्। [१] यी देवलहरू पनि अन्य देवलहरू झैं कुँदेका प्रस्तरहरूद्वारा बनाइएका र तलतिरबाट माथितिर चुल्याइँदै लगेर बनाइएका छन्। यी देवलहरू मध्य एक देवलमा अभिलेख रहेको भनिए पनि हालसम्म पुष्टी भएको छैन। स्थानीय भनाईअनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवलहरू रहेकोमा हाल २२ वटा देवल रहेका छन्। भुर्तीका यी २२ वटा देवललाई सन् २००८ जनवरी ३० मा विश्व सम्पदा सूचीको सम्भाव्य सूचीमा संलग्न गरिएको छ। अधिकांश देवहरूको शिर्षभागमा राखिएका चक्राकार शिलापट्ट र आमलक शिलाहरू हराइ सकेका छन्। देवलमा लगाइएका कलात्मक ढुङ्गाहरू खस्दै गएका छन्। देवलहरूको चारै तिर काँडेतारले घरबार गरिएको छ। काँडेतारको बीचमा एक ठाउँमा देवल क्षेत्रमा प्रवेशद्वार बनाइएको छ। प्रवेशद्वारमा ताल्चा लगाइएको छ र त्यहाँ पुरातत्त्व विभागको सूचना लेखिएको एक बोर्ड लगाइएको छ। त्यसका साथै देवलहरूमा सिमाटले टालटुल गरेर जोड्ने काम पनि गरिएको छ। दैलेख सदरमुकाममा रहेको देवकोटा चोकबाट यहाँ सम्म पुग्नको लागि मोटरबाटा निर्माण गरिएको छ।

निर्माण वर्ष[सम्पादन गर्नुहोस्]

विद्वान मोहन प्रसाद खनालले प्रकाशन गरेको अभिलेख अनुसार यी देवलहरू वि. सं. १४६५ को आसपासमा निर्माण गरिएका देखिन्छ। यो समयको आधारमा देवल निर्माण भएको करिब १० वर्ष पछि अर्थात विक्रम सम्वत १४७५ मा श्रीवर्माद्वारा स्थापना गरिएको बिलासपुर राज्य समाप्त भएको देखिन्छ। त्यसैले विलासपुर राज्यसँग यी देवलहरूको सम्वन्ध रहेको मान्न सकिएन।[१] उता संसारीवर्माद्वारा स्थापना गरिएको दुल्लु राज्य विक्रम सम्वत १४५३ मा नै समाप्त भै सकेको देखिन्छ। तसर्थ खसमल्लाकालिक सिंजा साम्राज्यका अभिलेखहरूमा देखिने "ॐ मणि पद्मे हुँ" जस्ता शब्दहरू यी देवलमा रहेको अभिलेखमा उत्कृण गरेको नदेखिए पनि देवल निर्माण गर्ने परम्परा पछिल्लो समयसम्म कायम रहेको थियो भनी मान्नु पर्ने हुन आउँछ। [१] तर खसमल्ल शासनकालको समाप्ति पछि यस क्षेत्रमा देवल निर्माणको सट्टा मन्दिर क्षेत्रमा रहेका देवलहरू भत्काउने प्रयास गरिएको देखिएकाले विद्वान सह प्राध्यापक मोहन प्रसाद खनालले प्राकाशन गरेको अभिलेखको तिथिमिति विचारणीय देखिन्छ। भुर्तीका २५ देवलहरू मध्या अहिले २२ वटा देवलमात्र रहेका छन्। भत्किएका देवलका भग्नावशेषहरू यत्रतत्र छरिएर रहेका छन्। स्थानिय वासिन्दाहरू यी देवलहरूलाई महाभारतकालका पाँच पाण्डवहरूले एकै रातमा निर्माण गरेका हुन् भन्ने विश्वास गर्दछन्। देवलकै नजिकमा एक पिपलको रुख रहेको छ। त्यो पिपललाई सतिले लगाएको पिपल भनिन्छ। स्थानिय भनाइअनुसार यस ठाउँमा कुनै भद्र व्याक्तीको मृत्यु संस्कार गरिंदा उनकी पत्नीले त्यहाँ पिपलको रुख रोपेर पतिसँग समाधीस्थ भएको बुझिन्छ। वि.सं २०३५ सम्म यस ठाउँमा कालिकोटबाट आएर यस ठाउँमा श्राद्ध तर्पण आदी पृती कर्महरू गरिन्थे भन्ने भनाइ रहेको छ।


यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ विश्व के.सी. (पोखरेल)द्वारा लिखित कीर्तिखम्ब नामक पुस्तक पृष्ठ सङ्ख्या १२८, १२९

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]