नारायण नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारायण
नगरपालिका क्षेत्रभित्र रहेका भूर्ती देवलहरू
नगरपालिका क्षेत्रभित्र रहेका भूर्ती देवलहरू
नारायण is located in कर्णाली प्रदेश
नारायण
नारायण
नक्सामा नारायण नगरपालिका
नारायण is located in नेपाल
नारायण
नारायण
नारायण (नेपाल)
निर्देशाङ्क: २८°५०′४३″उ॰ ८१°४२′५०″पू॰ / २८.८४५२८°N ८१.७१३८९°E / 28.84528; 81.71389निर्देशाङ्कहरू: २८°५०′४३″उ॰ ८१°४२′५०″पू॰ / २८.८४५२८°N ८१.७१३८९°E / 28.84528; 81.71389
देश नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वडा सङ्ख्या११
नगरपालिकावि.सं. २०५३ चैत्र १४[१]
समावेश (गाविस)नारायण, बेलासपुर, सरस्वती, त्रिभुवन र वसन्तमाला
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)खरिगैरा (८-९), बिन्ध्यवासिनीभवानि
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • प्रकारनगरपालिका
 • मेयररत्न बहादुर खड्का[२] (नेकपा)
 • उपमेयरसावित्री मल्ल (नेकपा)
क्षेत्रफल
 • जम्मा११०.६३ किमी (४२.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७०३७
 • घनत्व२४०/किमी (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
कार्यालयदैलेख बजार
वेबसाइटnarayanmun.gov.np

नारायण नेपालको कर्णाली प्रदेशमा पर्ने दैलेख जिल्लाको एक नगरपालिका हो। यो नगरपालिका वि.सं. २०५३ चैत्र १४ गते दैलेख जिल्लाको सदरमुकाम आसपासका पाँच वटा तत्कालिन गाउँ विकास समितिहरू नारायण, बेलासपुर, सरस्वती, त्रिभुवन र वसन्तमाला गाभेर गठन गरिएको हो। नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपालमा ७४४ वटा स्थानीय तहहरू बनाउने निर्णय पारित गरेपछि वि.सं. २०७३ फागुन २७ गते पुनः यस नगरपालिकामा साविकका खरिगैरा गाविसका दुईवटा वडा, बिन्ध्यवासिनीभवानि गाउँ विकास समितिलाई जोडेर नगर पालिकालाई जम्मा ११ वटा वडाहरूमा विभाजन गरिएको हो। यस नगरपालिकाको कुल क्षेत्रफल ११०.६३ वर्ग किलोमिटर (४२.७१ वर्ग माइल) रहेको छ भने नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८ अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २७,०३७ रहेको छ।[३] यो नगरपालिका सुर्खेत-जुम्ला कर्णाली राजमार्ग नजिकै पर्दछ। एतिहासिक नगर दुल्लु यो नगरपालिकाबाट केही किलोमिटरको दुरीमा छ। प्राचीनकालमा बेलास राज्यको राजधानी र दैलेख जिल्लाको सदरमुकाम रहेको दैलेख[४][५] बजार समेत यसै नगरपालिकाभित्र पर्दछ। यो नगरपालिका दैलेख जिल्लाको एक ऐतिहासिक तथा पर्यटकीय नगर हो।[६][७]

नामकरण[सम्पादन गर्नुहोस्]

दैलेख बजारमा रहेको नारायण मन्दिरको नामले यो नगरपालिकाको नामकरण गरिएको हो।[८]

इतिहास[सम्पादन गर्नुहोस्]

विभिन्न इतिहासहरूलाई केलाएर हेर्दा प्राचिन कालमा यही नगर क्षेत्रलाई मात्र दैलेख भनिने गरेको पाइन्छ । अहिले पनि आधिकारिक रूपमा नारायण नगरपालिका भए पनि सामान्य बोलचालमा यस नगरलाई दैलेख नै भनिन्छ । बाइसे राज्यकालमा यो नगरपालिका विलासपुर राज्यको राजधानी रहेको थियो । विलासपुर बाइसे राज्य कालको समयमा एक बलियो राज्य थियो। प्रख्यात खस राजा संसारी वर्माका छोरा श्री वम्मले वि.सं. १७७५ मा दुल्लु राज्यबाट टुक्य्राएर विलासपुर राज्य को स्थापना गरेका थिए। विलासपुर राज्यको सिमाना पूर्वमा जाजरकोट राज्य, पश्चिममा छामगाड खोला उत्तरमा साततला र जुम्ला राज्य तथा दक्षिणमा भेरीनदीसम्म रहेको थियो। संसारी वर्माले वि.सं. १४५३ मा दुल्लु राज्यको स्थापना गर्दा दुल्लु, दैलेख र अछाम एउटै राज्यमा पर्ने भएकोले धेरै जसो विद्वानका मत अनुसार विलापुर राज्यका संस्थाप पनि संसारी वर्मा नै थिए। संसारी वर्मापछी उनका छोरा श्री वम्म र भतिजा पर्वता वम्मले दुल्लु राज्यलाई आपसमा बाँडेर साँधसिमाना सहित छुट्याएकाले विलासपुर राज्यको स्थापना हुन गएको थियो। त्यसैले संसारी वर्माका छोरा श्री बम्मलाई नै विलासपुर राज्यका संस्थापक मानिन्छ। [९] श्री बम्म पछि जितारी बम्म, शक्ति बम्म, बजुर बम्म, विक्रम बम्म, सुपी बम्म र सुधर शाही क्रमैसँग राजा हुँदै आए। वि.सं. १६२५ मा राजा प्रताप शाहीको पालामा दुल्लु र विलासपुर राज्य केही समयका लागि पुनः एकिकरण भएको थियो। दुइवटा राज्य एकिकृत भएकोमा राज्यको क्षमतामा वृद्धी त भयो तर दुई अलग अलग राज्यमा राखिएका उत्तराधिकारीहरूको अधिकारमा कटौती हुने भएकोले दुवै राज्यलाई अलग अलग रहन दिनकोलागी राजा प्रताप शाहीमाथी दवाब बढ्न थाल्यो। यसरी आफूमाथी दवाब परेकोले बुढा राजा प्रताप शाहीले राजपाठ छोडी सन्यास लिएर खलेटाकुरा भन्ने स्थानमा गएर बस्न थाले। प्रताप शाही खले टाकुरा हिंडेपछि दुल्लु राज्य राजा विहिन भएकाले दुल्लुका जनताले प्रताप शाहीका माइला भाइ छडुङ्का राजा जसराजलाई ल्याएर केही समयको लागि दुल्लुको राजगद्दीमा बसालेका थिए। त्यसपछि दुल्लु राज्यमा प्रताप शाहीका जेठा छोरा मान शाही बसे भने विलासपुर राज्यमा संग्राम शाही बसे। यसरी फेरी दुल्लु र विलासपुर राज्य छुट्टिन पुगे। त्यसपछि कर्ण शाही, तीलमान शाही, सुर्तान शाही, माद् शाही, भान शाही, रुद्र शाही, प्रताप शाही, हरिनारायण शाही, सङ्ग्राम शाही द्वितिय र वि.सं. १८४६ कात्तिकसम्म कर्ण शाही द्वितिय क्रमैसँग विलासपुर राज्यका राजा बने। विलासपुर राज्यका अन्तिम शासक कर्ण शाही घमण्डी पाराका भएकाले तिनको राज्यकालमा छिमेकी राज्य दुल्लु, जाजरकोट र सल्यानसँग राम्रो सम्बन्ध रहेको थिएन। त्यसका साथै उनले जुम्ला राज्य र डोटी राज्यसँग मिलेर नेपाली सेनाको पश्चिम विजय अभियानमा गोर्खाली सेनालाई आफ्नो राज्यबाट जुम्ला जाने बाटो नदिएका हुनाले पनि गोर्खाली सेना उनबाट क्रुद्ध थियो। [९] गोर्खाली सेनाले १८४६ आश्विन ३ गतेका दिन जुम्ला राज्य जितीसकेपछि सरदार कालु पाँडे (काजी कालु पाँडे अर्कै व्यक्ति हुन) र शत्रुसाधन शाहीको नेतृत्वमा २ कम्पनी सैन्य टोली सुर्खेतको बाटो विलासपुर पुगेर ठुलो मारकाट, लुटपात, भीषण आगजनी र आतंक मच्चाएक थियो। विलासपुर राज्यमा विजय प्राप्त गर्नकोलागि गोर्खाली सेनाले दैलेख सदरमुकामको पुरानो बजार स्थित कोत गढी जस्तो बलियो किल्ला निर्माण गरेको थिए। गोर्खाली सेना विलासपुर पुग्दा राजा कर्ण शाही त्यहाँबाट भागीसकेका थिए। कर्ण शाहीकी गर्भवती रानीलाई बिजौराका चौतरिया सिंहहरूले बडाभैरवको जंगलमा रहेको ओढारमा लुकाएका थिए। पछि यिनै रानीको गर्भबाट कर्ण शाहीका छोरा पर्मान शाहीको जन्म भयो। कर्ण शाहीलाई फेला नपारेको रीसमा राजपरिवारका भाग्न न सकेका सदस्य तथा भारदारहरू गोर्खाली सेनाद्वारा काटिएका थिए। राज दरबार र शहरभरी आगो लगाइयो। त्यहाँ भएका हात हतियार तथा बहुमुल्य वस्तुहरू लुटिए। गोर्काली सेनाको आधिपत्य स्विकार गरेकाले दुल्लु राज्यले २०१९ सम्म दुल्लु राज्यको मान्यता र नेपाल सरकारको खान्गी। उपभोग गरिरह्यो भने कर्ण शाहीका कारण विलासपुर राज्यले धनजनको ठुलो क्षेती व्यहोर्दै वि.सं. १८४६ कर्तिक महिना मै आफ्नो अस्तित्व गुमाउन पुग्यो। यही विवत्स घटका कारण विलासपुर राज्यसँग सम्बद्ध जम्मा चारवटा मात्र ऐतिहासिक अभिलेखहरू प्राप्त भएका छन्।[९] विलासपुर राज्यको पतन भएपछि पुनः दैलेखका विभिन्न मठमन्दिरहरूको निर्माण तथा जिर्णोद्धारको क्रम चल्यो। दैलेखको सांस्कृतिक विकासमा काजी जसपाउ थापा तथा कर्णेल जयमान सिंह बस्नेतका परिवारहरूको ठुलो योगदान रहन गयो। यिनीहरूले दैलेख बजारमा नारायण मन्दिर सस्थापना गरे। पञ्चकोशी तिर्थस्थलका शिरस्थान, नाभिस्थान, धुलेश्वरपादुकास्थानमा मन्दिरहरूको जिर्णोद्धार गरी गुठी तथा अभिलेखहरू राख्न लगाए। दुल्लुमा धर्मशाला तथा पौवा निर्माण गरे। [९] त्यस पछि हाल प्रशान कार्यालय रहेको गौंडा दरबारमा दैलेख लगायत डोटीअछाम सम्मको प्रशासन चलाइको कुरा इतिहासमा उल्लेख पाइन्छ । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्था लागु गरेपछि दैलेख बजारमा रहेको नारायण मन्दिरका नामले नारायण गाउँ पञ्चायत बनाइयो । २०४६ सालको प्रजातन्त्र पुनस्थापना पश्चात नारायण गाउँ विकास समिति भएको यस नगरलाई २०५३ सालमा नारायण गाविस लगायत आसपासका अरु चारवटा गाविसलाई जोडेर नारायण नगरपालिका घोषणा गरिएको थियो । २०७३ सालमा यस नगरपालिकामा अरु दुई गाविस सिङ्गै र एक गाविसका दुईटा वडाहरूलाई जोडिएको थियो ।

धार्मिक तथा पर्यटकिय स्थलहरू[सम्पादन गर्नुहोस्]

ऐतिहासिक नगर नारायण नगरपालिकामा विभिन्न मठ मन्दिर, ऐतिहासिक किल्ला , ऐतिहासिक देवल र भग्नावशेषहरू रहेका छन् । यस नगरमा रहेका , कोतगढी, चौखम्बा, भुर्तिका देवल, वेलासपुर मन्दिर, वटुक भैरव मन्दिर, नारायण मन्दिर, दुइखम्बा, आदी यस नगरका आकर्षणिय स्थलहरू हुन् । यस नगरपालिका भित्र पर्ने केही महत्त्वपूर्ण स्थानहरू निम्न प्रकार रहेकाका छन् ।

कोतगढी[सम्पादन गर्नुहोस्]

कोतगढीको एक तर्फको झलक

कोत गढी दैलेख सदर मुकाम पुरानो बजारमा अवस्थित एक ऐतिहासिक युद्ध किल्लाको रूपमा चिनिने गढी अथवा बौण्डरी पर्खाल हो। नारायण नगरपालिका वडा नंवर १, दैलेखको पुरानो बजार स्थित यो सैन्य गढी अत्यन्त कलात्मक ढुंगाले निर्माण गरिएको छ। यस गढीको चारै तिर गहिरो खाल्डो बनाइएको छ। किल्लाको भित्री सतहबाट करिब २ मिटरसम्म अग्लो ढुङ्गे प्रखाल रहेको यस गढीको निर्माण बाइसे राज्यहरूमाथिको विजय अभियान अन्तर्गत गोरखाली सेनाले गरेको मानिन्छ। गढीको मुल प्रवेश ढोका उत्तरतर्फ रहेको छ। यस गढीको परिधी लगभग ६७२ मिटर रहेको छ। किल्लाको सबै प्रखालहरूमा बाहिर हेर्न सकिने गरी त्रिकोण आकारका १३ वटा प्वालहरू बनाइएका छन्। केही वर्ष पहिलेसम्म यो किल्ला भित्र दुईवटा भवनहरू रहेको थिए। यस गढीको निर्माणशैली अत्यन्त कलाकौशलयुक्त र सुरक्षित रहेकोले नेपालको किल्ला वास्तुकलामा यसको विशेष महत्त्व रहेको छ। द्वन्द्वकालमा सैनिक ब्यारेकको रूपमा रहेको यो गढी अहिले सैनिक ब्यारेको त्यहाँबाट अन्यत्र स्थानान्तर भएपछी गढीभित्रका संरचनाहरू पूर्णरूपमा समाप्त भइसकेका छन्। दैलेख सदरमुकामको मुटुमा रहेको ऐतिहासिक कोतगढी फोहोर विसर्जन गर्ने ठाउँ भएको छ। गढीभित्र रहेका तीनवटा पुराना घरको अहिले निसाना भेटिँदैन । कतिपयले यसलाई फोहोर विसर्जन गर्ने ठाउँका रूपमा प्रयोग गरेका छन् । दैलेखमा तत्कालीन समयमा गरिने युद्धकलाको निकै पुरानो इतिहासका बारेमा जानकारी लिन जोकोहीलाई पनि गढीको महत्त्व हुने स्थानीयवासी गणेश रेग्मीले बताउनुभयो । दैलेख युद्ध पर्यटनको अर्को महत्त्वपूर्ण पाटो हुन सक्छ । गढीको खोज अनुसन्धान लगायतका अन्य कुरा गर्न सके यसको अनुसन्धानका लागि मात्रै धेरै विदेशी आउन सक्ने सम्भावना रहेको छ ।

नारायण मन्दिर[सम्पादन गर्नुहोस्]

नारायण मन्दिर परिसरमा रेहेको भगवान विष्णुको मुर्ति

दैलेख बजारमा पर्ने पुरानो बजारको बीच बजारमा रहेको छ। यसै नारायण मन्दिरको नामबाट यो नगरपालिकाको नाम नारायण नगरपालिका राखिएको हो। यो मन्दिर बनेको ठाउँमा पहिले के रहेको थियो भन्ने कुनै प्रमाण भेटिएको छैन। मन्दिरमा रहेको अभिलेख अनुसार यस मन्दिरको स्थापना विक्रम सम्वत १९१६ मा काजी जयमानसिंह बस्नेत क्षेत्रीले निर्माण गराएका थिए।[९] मन्दिर परिसर भित्र रहेको मुख्य मन्दिरमा कालो ढुङ्गाद्वारा निर्मित गरुड, नारायण, राम, भगवती, सरस्वती, गणेश, शिवलिङ्ग र शिलाभिलेख राखिएका छन्। मन्दिरको सम्मुखमा काजी जयमानसिंह बस्नेत क्षेत्रीको अभिलेख सहित १९३६ र १९३७ मा दुईवटा घण्ट राखिएका छन्। मन्दिरको छानामा सुनको सुनको जलप लगाएको पितलको गजुर राखिएको छ।

वटुकभैरव मन्दिर[सम्पादन गर्नुहोस्]

वटुकभैरव मन्दिर

नारायण नगरपालिकामा पर्ने दैलेख बजारको मध्यभाग टुडीखेल नजिकै वटुकभैरव मन्दिर रहेको छ। यस मन्दिरको परिसरमा वटुकभैरवका साथै कालभैरव र व्रजभैरवका मन्दिरहरू पनि रहेका छन्। मन्दिरका पूजारीसँग रहेको विक्रम सम्वत १८७० र विक्रम सम्वत १९१० को नित्यपूजासम्बन्धी, विक्रम सम्वत १९३७ को नित्यपूजासम्बन्धी दुईछापे रुक्का र १९७१ को चन्द्रसमशेरको इस्तिहारलगायत ऐतिहासिक कागजपत्रको आधारमा विक्रम सम्वत १८७० भन्दा पहिले यस मन्दिरको स्थापना भइसकेको देखिन्छ। यिनै कागजपत्रको आधारमा र स्थानिय जनविश्वासका आधारमा विक्रम सम्वत १९०० तिर कालभैरव मन्दिर र विक्रम सम्वत १९९० तिर वज्रभैरव मन्दिरको स्थापना भएको बुझिन्छ।[९]

चौखम्बा[सम्पादन गर्नुहोस्]

दैलेख नयाँबजार स्थित चारखम्बा

चौखम्बा अथवा चार खम्बा नारायण नगरपालिकाको वडा नंवर १ नयाँबजारमा रहेको छन्। हुनत दैलेखमा यस्ता खम्बाहरू धेरै ठाउँमा रहेका छन्। दैलेख नयाँ बजार स्थित यी चारवटा खम्बाको सम्बन्धमा हालसम्म कुनै आधिकारीक तथ्यहरू कसैलाई पनि जानकारी छैन। चारवटा स्तम्भहरूमध्य एक स्तम्भ सानो रहेको छ भने अरू खम्बाहरू करिब ५ फुट उचाइँका रहेका छन्। चारपाटे आकारका सबै स्तम्भहरूको शीर्षभागमा गोलाकार कलशको आकृती रहे पनि अभिलेखहरू रहेको देखिदैन। त्यसमाथि झन् अवैज्ञानिक ढङ्गले चुना पोत्ने गरेकाले स्तम्भको मौलिक स्वरूप पनि बाँकी रहेको देखिदैन।

वेलासपुर मन्दिर[सम्पादन गर्नुहोस्]

वेलासपुर मन्दिर प्रवेश द्वार

विलासपुर मन्दिर अथवा वेलासपुर भैरव मन्दिर दैलेख जिल्लाको एक प्रसिद्व मन्दिर हो। यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका अन्तरगत पर्ने विलासपुर डाँडामा अवस्थित छ। यस मन्दिरको अर्को नाम विलासपुर बटुक भैरव पनि भनिन्छ। बाइसे राज्यकालका खस राजा विलासपुरे राजाहरूले कुल देवताको रूपमा पूजा गर्ने प्रचलनमा ल्याएको यो मन्दिरको निकै महत्त्व मानिन्छ। वेलासपुर मन्दिरको स्थापनाको बारेमा अहिले सम्म कुनै ठोस प्रमाण उपलब्ध हुन सकेको छैन। तर पनि स्थानिय जन श्रुती अनुसार यस मन्दिरको स्थापनाको बारेमा फरक फरक मत पाइएको छ।[९]

भुर्तिका देवल[सम्पादन गर्नुहोस्]

भुर्तीगाउँ स्थित २२ वटा देवल

नारायण नगरपालिका वडा नं. ७ भुर्ती गाउँमा २२ वटा देवलहरू रहेका छन्। यी देवलहरू विक्रमको चौधौँ पन्ध्रौँ शताब्दीतिर कर्णाली प्रदेशको खसमल्ल राज्यकालका समयमा निर्माण भएका हुन्।[९] यी देवलहरू पनि अन्य देवलहरू झैं कुँदेका प्रस्तरहरूद्वारा बनाइएका र तलतिरबाट माथितिर चुल्याइँदै लगेर बनाइएका छन्। यी देवलहरू मध्य एक देवलमा अभिलेख रहेको भनिए पनि हालसम्म पुष्टी भएको छैन। स्थानीय भनाईअनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवलहरू रहेकोमा हाल २२ वटा देवल रहेका छन्। भुर्तीका यी २२ वटा देवललाई सन् २००८ जनवरी ३० मा विश्व सम्पदा सूचीको सम्भाव्य सूचीमा संलग्न गरिएको छ। अधिकांश देवहरूको शिर्षभागमा राखिएका चक्राकार शिलापट्ट र आमलक शिलाहरू हराइ सकेका छन्। देवलमा लगाइएका कलात्मक ढुङ्गाहरू खस्दै गएका छन्। देवलहरूको चारै तिर काँडेतारले घरबार गरिएको छ। काँडेतारको बीचमा एक ठाउँमा देवल क्षेत्रमा प्रवेशद्वार बनाइएको छ। प्रवेशद्वारमा ताल्चा लगाइएको छ र त्यहाँ पुरातत्त्व विभागको सूचना लेखिएको एक बोर्ड लगाइएको छ। त्यसका साथै देवलहरूमा सिमाटले टालटुल गरेर जोड्ने काम पनि गरिएको छ। दैलेख सदरमुकाममा रहेको देवकोटा चोकबाट यहाँ सम्म पुग्नको लागि मोटरबाटा निर्माण गरिएको छ ।विद्वान मोहन प्रसाद खनालले प्रकाशन गरेको अभिलेख अनुसार यी देवलहरू वी.सं. १४६५ को आसपासमा निर्माण गरिएका देखिन्छ। यो समयको आधारमा देवल निर्माण भएको करिब १० वर्ष पछि अर्थात विक्रम सम्वत १४७५ मा श्रीवर्माद्वारा स्थापना गरिएको बिलासपुर राज्य समाप्त भएको देखिन्छ। त्यसैले विलासपुर राज्यसँग यी देवलहरूको सम्वन्ध रहेको मान्न सकिएन।[९] उता संसारीवर्माद्वारा स्थापना गरिएको दुल्लु राज्य विक्रम सम्वत १४५३ मा नै समाप्त भै सकेको देखिन्छ। तसर्थ खसमल्लाकालिक सिंजा साम्राज्यका अभिलेखहरूमा देखिने "ॐ मणि पद्मे हुँ" जस्ता शब्दहरू यी देवलमा रहेको अभिलेखमा उत्कृण गरेको नदेखिए पनि देवल निर्माण गर्ने परम्परा पछिल्लो समयसम्म कायम रहेको थियो भनी मान्नु पर्ने हुन आउँछ।[९]

कोटिलास्थान[सम्पादन गर्नुहोस्]

कोटिलास्थान मन्दिर तथा दर्शनको लागि जाँदै एक महिला यात्री

कोटीलास्थान पञ्चकोशीका पाँच स्थान अन्तर्गत पर्ने एक स्थान हो। तर कतिपय मान्छेको मत अनुसार यो स्थानलाई पञ्चकोशी क्षेत्रमा पर्दैन भन्ने पनि रहेको छ। पौराणिक कालमा महादेवकी पत्नी सतिदेवीको कोठी पतन भएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। अर्को मत अनुसार यो स्थानमा दैवताका राजा इन्द्रले कोटीहोम चलाएकोले यो स्थानको नाम कोटिलास्थान पर्न गएको हो भन्ने भनाई रहेको छ। संसारको कुनै ठाउँमा पनि न पाइने इन्द्रजौ नामको वनस्पति यस ठाउँमा पाइन्छ। सिमीको कोसा जस्तै फलेको फलको भित्र जौका दानाहरू देखिने यो वनस्पती देवराज इन्द्रले चलाएको कोटीहोमबाट यहाँ उम्रेको हो भन्ने मत रहेको छ। यो स्थान दैलेख जिल्लाको नारायण नगरपालिकाको वडा नंवर ४ मा पर्दछ । कोटिलास्थानको चारैतिर नदिले घेरिएकोले नदिले काटेर बनाएको डाँडोमा अवस्थित छ। डाँडाको उत्तर तर्फ बग्ने सिद्धिखोलाले र पश्चिम तर्फ बग्ने छामघाट खोलाले घेरेको हुनाने यो स्थान एक टापु झैं देखिन्छ। पूर्व तर्फबाट मन्दिर प्रवेस गर्दा वि.सं. १९७७ को घण्टी र शिवलिंग राखिएको छ। ढुंगा र काठले भनेको यस मन्दिरको छाना सिलेटले बनेको छ। यस मन्दिरको जिर्णोद्धार वि.सं. २०५१ मा गरिएको थियो।[९] मन्दिर भित्र शिवलिंग रहेको छ। यसको अगाडि मञ्चमा दक्षिणतर्फ फर्केको वि.सं. १९२२ को सर्पाकार मानक आकृती, कामधेनु गाई, गणेशजी तथा महाँदेवका मुर्तीहरू राखिएका छन्। मन्दिरमा १९८६, २०१३, २०३१ का घण्टहरू रहेका छन्। मन्दिर परिसरमा चारैतर्फ खुल्ला भएको स्लेटको छानो बनाएको होम गर्ने स्थान बनाएको छ। यो मन्दिर निर्माणमा विशालकाय शिलापट्टहरू प्रयोग भएको देखिएता पनि हाल त्यसका अवशेषहरू मात्र बाँकी छन्। मन्दिरको प्राचिनता नष्ट भइसकेको छ। मन्दिर क्षेत्रमा यत्रतत्र छरिएका शिलापट्ट र पाषाण अवशेषहरूलाई हेर्दा यो मन्दिरको स्थापना कत्युरी शासनकालमा भएको मानिन्छ। हालै गरिएको एक अध्यायनका क्रममा यस स्थानमा तिब्बती भाषामा "ॐ मणिपद्मे हुँ" उत्कृण गरिएको प्रस्तर अभिलेख फेला परेको छ। यस अभिलेखबाट खसमल्ल शासनकालमा यस स्थानमा पनि बौद्ध धर्मसँग सम्बद्ध क्रियाकलापहरू हुने गरेको अनुमान गर्न सकिन्छ। यसैगरि यहाँ पनि पादुकास्थान र शिरस्थानको जस्तै छोटा लामा अभिलेखहरू उत्कृण गरिएका केही ढुंगाहरू उपलब्ध भएका छन् । वि.सं. २०७२ साल बैशाख १ गते देखि ३० गतेसम्म पुरा एक महिना यस स्थानमा कोटी होम चलेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "दैलेखमा एमालेको बहुमत, माओवादी केन्द्र ‘क्लिनस्वीप’", अर्थसंसार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०८ 
  3. "स्थानीय तहहरूको विवरण", www.mofald.gov.np/en (नेपालीमा), सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  4. "सदरमुकामभित्रकै सम्पदा संरक्षणविहीन", सत्यपाटी (नेपालीमा), वि.सं. २०७५ आश्विन २, अन्तिम पहुँच २०२२-०२-०८  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०८ मिति
  5. "दैलेख बजारको ईतिहास", पश्चिम नेपाल (नेपालीमा), २०१६-०८-२३, अन्तिम पहुँच २०२२-०२-०८ 
  6. "नेपालको घुम्नैपर्ने ठाँउ पंञ्चकोशीबारे पढ्नुहोस् (तस्विर सहित)", पश्चिम नेपाल (नेपालीमा), २०१७-१२-०६, अन्तिम पहुँच २०२२-०२-०८ 
  7. "ओझेलमा दैलेखका ऐतिहासिक ,पुरातात्विक सम्पदा (फोटो फिचर)", खबर नेपाल (नेपालीमा), २०१९-०२-०८, अन्तिम पहुँच २०२२-०२-०८ 
  8. "सुन्दर दैलेख", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०८ 
  9. ९.०० ९.०१ ९.०२ ९.०३ ९.०४ ९.०५ ९.०६ ९.०७ ९.०८ ९.०९ ९.१० पुस्तक किर्तीखम्ब पहिलो संस्करण, लेखक विश्व के. सी. पोखरेल

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]