दैलेख जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(दैलेख बाट पठाईएको)
Jump to navigation Jump to search

दैलेख जिल्ला
Dailekh district location.png
अञ्चल: भेरी
प्रदेश: कर्णाली
सदरमुकाम: नारायण नगरपालिका
क्षेत्रफल: १५०२ वर्ग कि.मि.
जनसङ्ख्या: २६१७७० (२०६८)[१]
गाउँपालिका(हरू):
नगरपालिका(हरू):
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: पहाड
सबै भन्दा अग्लो स्थान: ४१६८ (महाबुलेक) मिटर
सबै भन्दा होचो स्थान : ५४४ (डुङ्गेश्वर) मिटर
प्रमुख जातिहरू: क्षेत्री (३४.८५), कामी (१५.३३५), ठकुरी (१४५), ब्राम्हण (१२५), मगर(९.८७५), ,दमाई (४.४५५), सार्की (२.७५५), सन्यासी (१.६१५), सुनार (१.५८५), गुरुङ्ग (१.४३५) आदि
प्रमुख भाषाहरू: नेपाली (९८.९८५), गुरुङ्ग/मगर (०.४६५), अन्य (०.५६५) आदि
मानव विकास सूचकाङ्क: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०८९
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट: ddcdailekh.gov.np
 हे  वा  सं 
दैलेख जिल्ला प्रवेश द्वार, रानीमत्ता
दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य
दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य
दैलेख जिल्ला हवाईजहाजबाट देखिएको दृष्य
दैलेख जिल्लामा बगिरहेको कर्णाली नदी हवाईजहाजबाट देखिएको दृष्य

दैलेख जिल्ला नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चलको एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो। यो जिल्ला भेरी अञ्चलको सबैभन्दा सानो जिल्ला हो। दैलेख जिल्ला मध्य-पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पूर्वमा जाजरकोट उत्तरमा कालीकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका बिचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो। यो जिल्लाको सदरमुकाम दैलेख बजार काठमाडौंबाट करिब ६५० किलोमिटर पश्चिम, कोहलपुरबाट १५० किलोमिटर र सुर्खेत उपत्यकाबाट ६५ किलोमिटर उत्तरमा रहेको छ। ऐतिहासिक धरोहरका रूपमा रहेको यस पहाडी जिल्लाको उत्तर शिरमा मनमोहक महावुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्लाभित्र लोहोरे छामघाट खोला शिरस्थान, नाभिस्थान, पादुका, कोटीला धुलेश्वरजस्ता पानीमाथि दीप ज्वाला बल्ने पाँचकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेकाका क्षेत्रहरू यहाँ छन् । भौगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ। यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, वेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन्। प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको यस जिल्ला धार्मिक र प्राकृतिक तथा जल सम्पदामा पनि धनी रहेको छ। विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरू हुन्। यस जिल्लामा तीब्र रूपमा सडक, पुल-पुलेसा, मठ, मन्दिर, देवल, होटल, लज र ब्यापारिक केन्द्रहरू निर्माणमा रहेका छन्। जिल्लाको लकान्द्रा गा.वि.स.को जौचौरको पहिरोमा तामाफलामको खानीहरू पुरिएको छ भन्ने भनाइ रहेको छ। त्यस्तै कालीकोट र दैलेखको सिमानामा पर्ने भुवानथानको लेकमा स्थानीय भाषामा झिलझिले ढुङ्गा भनिने काईनेटिक ढुङ्गाको उत्खनन तथा प्रशोधन भइरहेको छ। यसैगरी दैलेखमा चुनढुङ्गाअभ्रखका खानीहरू छन् भन्ने वैज्ञानिकहरूको भनाइ रहेको छ। जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाह्य जिल्लामा समेत निर्यात गरिन्छ। दैलेखका शिरस्थान, नाभिस्थान, पादुका लगायत क्षेत्रमा सयौं वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ बलिरहेको छ। धार्मिक दृष्टिकोणले पञ्चकोशी क्षेत्रका रुपमा परिचय बनाउन सफल यो क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको उल्यख्य उपस्थिति हुँदै आएको छ। मुगुको राराताल घुमेर आउने अधिकांश पर्यटकहरू दैलेखको पञ्चकोशी क्षेत्रमा पुगेर फर्कने गरेका छन्। अब यस क्षेत्रमा मिथेन ग्यास उत्खनन प्रारम्भ हुँदैछ।[२]

विषयसूची

इतिहास

दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रूपमा परिचित दुल्लुबेलासपुर राज्यमा विभाजित थियो। प्राचीन र मध्यकालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुर्नएकीकरण अभियानमा बहादुर शाहले सन १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरूमा पाइन्छ। [३] जिल्लाका विभिन्न ठाँउमा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन्। सदरमुकामस्थित पुरानो बजारमा रहेको प्रसिद्ध कोतगढी पुरानो युद्धकिल्लाको रूपमा थियो भन्ने विश्वास गरिन्छ। वि.सं.२००९ सालअघि अछाम, सुर्खेतजाजरकोट जिल्लाका केही क्षेत्रहरू यसमा गाभिएका थिए। [३] राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढाँचा बमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ्ग उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुलाभित्रको भूभागलाई दैलेख जिल्लाको सिमाङ्कन गरिएको थियो। [३] दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणा कालका पहिला प्रधान मन्त्री जंग बहादुर राणाको बाल्यकाल बितेको ठाउँ भनेर पनि चिनिन्छ। दैलेख जिल्लाले २००७ सालको क्रान्तिमा पश्चिम नेपालको लागि अग्रणीस्थान हासिल गरेको छ। तत्कालीन भुमिगत नेपाली काँग्रेसका दैलैख नाउँले कटुवालका शेर सिंह खड्काले कालीकोट, जुम्ला, अछाम, डोटी आदि पश्चिमी जिल्लाहरू कब्जा गरेको कुरा ऐतिहासिक वर्णनमा उल्लेख गरिएको छ। वि.सं. २०३६ को जनमत संग्रहमा र वि.सं. २०४६ जन आन्दोलनमा पनि दैलेखका रंग बहादुर शाही, बिनोद कुमार शाह, मणी राज रेग्मी, गणेश बहादुर खड्का, शिव राज जोशी, रंग नाथ जोशी, गोविन्द बन्दी, हेम बहादुर शाही, हर्क बहादुर शाही, पूर्ण ब. शाही, भद्र ब. शाही, तर्क ब. बडुवाल, बजिर सिंह बि.क., चिदानन्द स्वामीजस्ता अधिकांश नेताहरूले साथ दिएका थिए। त्यस्तै वि.सं. २०६३ को जन आन्दोलनमा पनि माथि उल्लेखित व्यक्तिहरूका साथै केही नयाँ नेताहरू जस्तै:- थिर ब. कार्की, रत्नेश श्रेष्ठ, कृष्ण बी.सी., राज ब. बुढा, राम प्रसाद जैसी आदि नेताहरूले साथ दिएका थिए। हालसम्म यो जिल्लाबाट सांसदमा निर्वाचित भएर प्रतिनिधित्व गर्ने व्यक्तिहरूको विवरण यसप्रकार छ।

  • १- राष्ट्रिय पंचायत सदस्य (वि.सं. २०४६ अगाडि)
  1. कर्ण बहादुर सिंह
  2. केशव बहादुर शाह (२ पटक)
  3. डा.प्रेम बहादुर शाही
  4. गगन बहादुर शाही
  • २- प्रतिनिधि सभा सदस्य (वि.सं. २०४६ पछाडि)
  1. गणेश बहादुर खड्का (प्र. स. स. निर्वाचन क्षेत्र नं. १ तीन पटक)
  2. नर बहादर हमाल (प्र. स. स. निर्वाचन क्षेत्र नं. १ )
  3. रंग बहादुर शाही (प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
  4. बिनोद कुमार शाह (प्र. स. स. निर्वाचन क्षेत्र नं.२)
  5. शिव राज जोशी (सभासद निर्वाचन क्षेत्र नं.२)
  6. राज बहादुर बुढा (सभासद तथा प्र. स. स. निर्वाचन क्षेत्र नं.२, २ पटक)
  7. अमर बहादुर थापा (सभासद क्षेत्र नंवर १)
  8. लक्ष्मी पोख्रेल (सभाद क्षेत्र नंवर २)
  9. रविन्द्रराज शर्मा (प्र. स. स. क्षेत्र नम्बर १)
  10. रत्न बहादुर बि.क. (रा.स.स.)
  11. रंग नाथ जोशी (रा.स.स.)
  12. कुन्ती शाही (समानुपातिक सभासद २ पटक)
  13. जग्य ब. शाही (समानुपातिक सभासद)
  14. भरत रेग्मी (समानुपातिक सभासद)

माथि उल्लेखित व्यक्तिहरू मध्ये केशव ब. शाह, गणेश ब. खड्का, बिनोद कुमार शाह र शिव राज जोशी नेपालको मन्त्रिमण्डलमा मन्त्री बनेका छन्।

नामाकरण

यस जिल्लाको नाम दैलेखको उत्त्पत्ति बारे निम्नानुसारका किंवदन्तीहरू पाइन्छन्। [३]

  • पौराणिककालमा दधिचि महर्षिले तपस्या गरी बसेको स्थान हुनाले उनको नामबाट "दधिलेक" नाम रहन गएको र पछि अपभ्रंश हुँदै दधिलेकबाट दैलेख नाम रहन गएको
  • यो क्षेत्र देवताहरूको निवासस्थान भएकोले यसलाई देवलोक भनिन्थो। पछि अपभ्रंश हुदै दैलेख नामाकरण हुन गएको
  • यहाँ प्रशस्त मात्रामा दही-दुध पाइने भएकाले "दहिलेक" भनिँदै गई पछि दैलेख नाम रहन गएको

भौगोलिक अवस्थिति

  • अक्षांस: २८.३५" देखि २९.८" उत्तर
  • देशान्तर: ८१.२५" देखि ८१.५३" पूर्वमा
  • सिमाना: पूर्व जाजरकोट, पश्चिम अछाम, उत्तर कालिकोट, दक्षिण सुर्खेत जिल्ला
  • क्षेत्रफल: १५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२%)
  • होचो भाग: समुद्र सतहबाट ५४४ मिटर (तल्लो डुङ्गेश्वर)
  • अग्लो भाग: ४१६८ मिटर (महाबुलेक)

भूगोल

राजनीतिक हिसावले यस जिल्लालाई ७ वटा गाउँपालिका ४ वटा नगरपालिका, २ निर्वाचन क्षेत्र र ११ वटा इलाकाहरूमा विभाजित गरिएको छ:- [३] नदी तटदेखि हिमालयसम्म फैलिएको यहांको धरातलीय स्वरूपलाई निम्न लिखित ३ भागमा विभाजित गर्न सकिन्छ:[३]

  • नदी निर्मित तट (५४४–१०००मि.),
  • मध्य पहाडी क्षेत्र (१०००–२१००मि.)
  • महाभारत श्रृंखला एवं पर्वतीय भूभाग (२१००मि. भन्दा माथि)

यी धरातलीय स्वरूपहरूले जिल्लाको क्रमसः करिव १०%, ३७%, र ५३% भूभाग ओगटेका छन। मध्य पहाडी क्षेत्रमा जिल्लाको ८५% भन्दा बढी जनसङ्ख्या एवम् बस्ती केन्द्रित छ। [३]

प्रशासनिक विभाजन

२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लामा जम्मा ६० वटा गा.वि.स.हरू थिए। हाल बनेको नयाँ नेपालको ढाँचा अनुसार दैलेख जिल्लाका साविकका विभिन्न गाविसहरू तथा नगरपालिकाहरूलाई जोडेर यस जिल्लामा ४ नगरपालिकाहरू र ७ वटा गाउँपालिकाहरू गरी जम्मा ११ वटा स्थानीय तहहरू बनाइएका छन्।

पर्यटन

नेपाली भाषाको प्रथम शिलालेख

जिल्लाको मध्यपश्चिम हुँदै बग्ने छामगाड खोला र पूर्वी भेग हुँदै बग्ने लोहोरे खोलाको सङ्गमस्थल चुप्रा दैलेख जिल्लाको सबैभन्दा आकर्षक भौगोलिक स्थल मानिन्छ। खस राजा नागराजको हिमाली राज्यको शीतकालीन राजधानी दैलेख दुल्लुक्षेत्रमा अवस्थित पञ्चकोशी तीर्थस्थल मध्ये श्रीस्थान र नाभिस्थानभित्र नित्य प्रज्वलित ज्वाला जी राष्ट्रिय स्तरकै धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा चर्चित छन्। दैलेख जिल्लाको भुर्तीमा रहेका २२ वटा देवललाई विश्व सम्पदा सूचीमा राखिएको छ यस्तै रावतकोटमा रहेको पञ्चदेवलहरू दैलेख जिल्ला सदरमुकाममा रहेको कोत गढी र दुल्लु क्षेत्रमा रहेका कृतिखम्बा, सातखम्म, पटङ्गेनी दरबार, जंग बहादुर राणाका पिता बाल नरसिंह कुवँरको समाधीको नामले चिनिने मासको पिठोको लिउन लगायर निर्माण गरिएको बालेश्वर मन्दिर लगायत अनेकौँ पौराणिक शिलालेखहरू यहाँका प्रमुख पर्यटकीय स्थानहरू हुन्।[३]

दैलेख जिल्लामा रहेका सम्पदाहरूको सूची

दैलेख जिल्लाको विभिन्न ठाउँहरूमा ऐतिहासिक मूर्त सम्पदाहरू छरिएर रहेका छन्। हालसम्म जानकारी हुन सकेका मूर्त ऐतिहासिक सम्पदाहरूको विवरण निम्नप्रकार रहेका छन्।[४]

क्र.सं. विवरण क्षेत्र नं. १ क्षेत्र नं. २ जम्मा सङ्ख्या
अभिलेख स्तम्भ तथा वीरखम्बाहरू ५५ ६४
अभिलेखहरू ६१ ६६
मठ मन्दिरहरू १४ २०
देवलहरू ७४ ३६ ११०
गढी, दरबार तथा पौवाहरू
धारा तथा नाउलीहरू १२
कुल जम्मा १०२ ११७ २७९

अर्थतन्त्र

आर्थिक दृष्टिकोणले यो जिल्लालाई विकट जिल्लाको रूपमा लिइने गरिन्छ। [३] नेपालका दन्द्व प्रभावित जिल्लाहरू मध्य दैलेख पनि एक हो। विकास निर्माणका कार्यमा फट्को मार्न लागेको दैलेख जिल्ला दन्द्वकालमा निष्क्रिय जस्तै देखिए पनि अब यहाँ तीब्र रूपले विकास निर्माणका कामहरू सञ्चालन भइरहेका छन्। यस जिल्लाका सबै प्रमुख व्यापारिक केन्द्रहरूमा यातायातको राम्रो सुविधा छ। जस्तै खड्कावाडादेखि पिपलकोटसम्मको कर्णाली राजमार्गका साथै रानिमत्ता - महावु, चुप्रा - मेहलतोली, तल्लो डुङ्गेश्वर - दुल्लु, दुल्लु - कुसापानी, दैलेख - दुल्लु, रामघाट - सिंगासैन, दैलेख - नौमुले जस्ता करिब ६०० कि.मी. भन्दा बढी अधिकांश ग्रामीण सडकहरू सञ्चालनमा आइसकेका छन्। दैलेख जिल्लामा २५ सैयायुक्त जिल्ला अस्पताल उपलब्ध छ। यसका साथै प्रत्यक गा.वि.स.मा स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी र प्रसुतीगृहहरू निर्माण भएका छन्। करिब ६१% साक्षरता रहेको यस जिल्लामा हाल ४ वटा क्याम्पस, १५ वटा उच्च माध्यमिक विद्यालय, ५० वटा माध्यमिक विद्यालय, १०६ वटा निम्न माध्यमिक विद्यालय, ४१० वटा प्राथमिक विद्यालय र ५ वटा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन्।[५] यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरू यस प्रकार रहेका छन्।:-

  • दैलेख बजार
  • चुप्रा
  • नौमूले
  • तल्लो डुङ्गेश्वर
  • माथिल्लो डुङ्गेश्वर
  • बेस्तडा
  • डांडीमाडी
  • दुल्लु
  • टुनीबगर
  • राकम कर्णाली
  • लकान्द्रा
  • रामाघाट
  • धरम पोखरा
  • गुरांसे
  • खम्बगाडे
  • खिडकी जिउला

पर्यटन विकासकालागि पूर्वाधार निर्माण र प्राकृतिक सम्पदाको संरक्षण

मानव सभ्यताको विकाससँगै निर्माण भएका धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पुरातात्विक सम्पदा तथा प्राकृतिक रूपमा नै विशिष्ट स्थान र महत्वकारूपमा रहेका सम्पदाको संख्या नेपालमा धेरै छन्। त्यसमा पनि दैलेख जिल्ला त्यस्तो विशिष्टस्थान कायम गरेको जिल्ला हो, जहाँ धार्मिक सांस्कृतिक र ऐतिहासिक रूपमा भिन्नै खालको पहिचान दिन सक्ने निरन्तर बलिरहने ज्वालाहरूको क्षेत्र, खस सभ्यताले सृजना गरेका पुरातात्विक र ऐतिहासिक धरोहरहरू भएको क्षेत्र हो। यस क्षेत्रका नागरिकको बढ्दो क्रयशक्ति, विविधताभित्र रमाउने चाहना, राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक रूपान्तरण उन्मुख वर्तमान समाज विशेषको कारणले दैलेखमा पर्यटकीय संभावना प्रचुरमात्रामा रहेको छ। यसमा मात्र आवश्यकता रहेको छ- गुणस्तरीय पूर्वाधार निर्माण र दृढ पहलकदमीको। नागरिकको बढ्दो आवश्यकता र माग परिपूर्तिका लागि सार्वजनिक निकायहरूबाट वस्तु र सेवा प्रवाह गरेजस्तै पर्यटन विकासकालागि पूर्वाधार निर्माण यसको संरक्षण र प्राकृतिक संपदाको संरक्षण तथा प्रचार प्रसारको आवश्यक पर्दछ। नेपालको ऐतिहासिक, धार्मिक र पर्यटकीय जिल्लाको रूपमा परिचित यस जिल्लाका राजनीतिक दलका प्रमुख तथा कार्यकर्ताहरू, सरकारी निकायहरू, विकासका साझेदार संस्थाहरू, गै.स.स., सचेत नागरिक समाज, निजी क्षेत्र र नागरिकहरू तथा यसको समावेशी र प्रतिनिधिमूलक समुदायमा आधारित संस्थाहरूको प्रयासको समग्रताबाट नै पर्यटन क्षेत्रमा फट्को मार्ने गरी विकास संभव हुन्छ। पर्यटन आफैँमा विकासको एउटा पाटो हो भने पर्यटन विकासकालागि पूर्वाधार अनिवार्य शर्त हो। यसै सेरोफेरोमा रहेर दैलेखलाई यसरी हेर्न सकिन्छ।

दैलेख जिल्लामा उद्गम भएका विभिन्न जातिहरू

दैलेख जिल्लालाई विभिन्न जातजातिहरूको उद्गमस्थलको रूपमा पनि लिन सकिन्छ किन भने यो जिल्लाका विभिन्न स्थलहरू जस्तै:-

इत्यादि ठाउँहरूबाट माथि उल्लेखित जातिहरूको उद्गम भएको मानिन्छ । माथि उल्लेखित जातिहरू संसारको जुन सुकै कुनामा बसे पनि आफ्नो उद्गम स्थानको रूपमा दैलेख जिल्लालाई चिन्दछन्। उनीहरूलाई दैलेख जिल्लाको बारेमा राम्रो जानकारी गराएर उनीहरूलाई आफ्नो उद्गम स्थलसम्म पुग्न सहज वातावरण बनाएमा यस जिल्लाको महत्व बढ्न सक्ने छ।

दैलेख जिल्लाका पर्यटकीय स्थानहरू

दैलेख जिल्लामा पर्ने पंचकोशी तीर्थस्थल मध्यको धुलेश्वर मन्दिर

दैलेख भौगोलिक दृष्टिले पहाडी जिल्ला भएकाले यहाँ थुप्रै पर्यटकीय क्षेत्रहरू रहेका छन् । नेपालकै प्रमुख मानिने पंचकोशी तीर्थस्थल यसै जिल्लामा अवस्थित छ। नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लुस्थित कृतिखम्मका साथै वैज्ञानिकहरूका अनुसार मृत ज्वालामुखि मानिएको धुलेश्वर यसै जिल्लामा अवस्थित छ। साथै नेपालकै चर्चित मानिएको पेट्रोल, ग्याँस तथा मट्टितेलको खानी पनि यसै जिल्ला मिल्न सक्ने सम्भावना छ। प्राचीन मतअनुसार डुन्गेश्वरमा दधिचि ऋषिको आश्रम रहेको विश्वास गरिन्छ। यस्तै बैकको लेकलाई महाभारतरामायणमा बर्णन गरिएको द्रोणाचल पर्बत मानिएको छ। यस्ले पनि दैलेखको महत्व बढाउने देखिन्छ।

दैलेख जिल्लाका संपदा तथा प्रमुख जडीबुटीहरू

विश्वकै दुर्लभ मानिएको समीरुद्राक्षको रुखहरू पनि यसै जिल्लामा पाइन्छ । त्यस्तै यो जिल्लालाई काफल, चुत्रो, ऐँसेलु, रातो गुराँस, सेतो गुराँस, सुनगाभा, रक्तचन्दन, टिमुर, हतपसारो, काउलो, पाषाणभेद, अल्लो सल्ला, देवदारू, पाँगर, साल, साज, सिसौ, खयर सतुवा, असुरो जस्ता अनेकौं जडिबुटी तथा वनस्पतिहरूको खानी मानिन्छ। यदी यL अमुल्य वनस्पतीको संरक्षण गरेर यिनलाई लोप हुनबाट बचाएमा यस जिल्लाको पर्यटन विकास हुन सक्ने सम्भावना देखिन्छ।

प्राकृतिक सम्पदाहरू

यदि यी प्राकृतिक सम्पदाहरूको बारेमा सर्वत्र जानकारी गराएमा यस जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने सम्भावना देखिन्छ।

धार्मिक सम्पदा तथा मठ मन्दिरहरू

पश्चिम दैलेखको तोलीपाटा स्थित थामा माई थान

दैलेख जिल्ला देवताहरूको वासस्थान भएकाले यहाँ थुप्रै धार्मिक सम्पदाहरू रहेका छन्। यहाँका केही धार्मिक सम्पदाहरू यसप्रकार रहेका छन्।

दैलेख जिल्लाको लयाँटी विन्द्रासैनी गा.वि.स.मा रहेको विन्द्रसैनी देवीको मन्दिर

यी धार्मीक सम्पदाहरूको राम्रो प्रचार प्रसार गरेर यिनको बारेमा सबै श्रव्य तथा दृश्य माध्यमद्वारा यी सम्पदाहरूको जानकारी गराएमा दैलेख जिल्लाको पर्यटन विकास हुन सक्ने देखिन्छ।

ऐतिहासिक सम्पदा देवल तथा वीरखम्बा अभिलेखहरू

दुल्लु दरबार स्थित जोडा देवल

हुनत नुवाकोटदेखि भारतको गढवालसम्मको भु-भागमा विभिन्न ठाउँहरूमा प्राचीनकालमा देवलहरू निर्माण गरिएका छन्। तर सबैभन्दा बढी संख्यामा देवलहरू दैलेख जिल्लामा निर्माण गरिका छन्। स्थानीय जनविश्वास अनुसार महाभारत कालका पात्र पाण्डवहरूद्वारा निर्माण गरिएका भनिने यी देवलहरू किन र कुन प्रयोजनको लागि निर्माण गरिएका हुन् भन्ने आजसम्म कुनै ठोस प्रमाणहरू जुट्न सकेका छैनन्। दैलेख जिल्लाको विभिन्न क्षेत्रमा छरिएर रहेका देवलहरू र अन्य सम्पदाहरू यसप्रकार रहेका छन्।

  • देवलहरू
    • भूर्तिमा रहेका २२ देवलहरू
    • रावतकोटमा रहेका देवलहरू
    • रानीवनमा रहेका देवलहरू
    • किमुगाउँका देवलहरू
    • किमुगाउँको एकल देवल
    • कुइकानाका पञ्चदेवल
    • कुइकानाका जोडा देवल
    • भूर्तीका पञ्च देवल
    • दुल्लु पटाङ्गनीका जोडा देवल
    • दुल्लु उपरीचैत्य धाराको मुढे देवल
    • रावतकोटका पञ्चदेवल
    • लम्जीका पञ्चदेवल
  • गढी तथा पौवाहरू
    • प्राचिन दुल्लुकोट
    • दैलेख बजारको कोतगडी
    • प्राचिन दुल्लु दरबार
    • दुल्लु गढी
    • बाइसे राज्यकालको दुल्लु दरबार
    • काजी जसपाउथापाको ऐतिहासिक पौवा
  • वीरखम्बा तथा अभिलेख सथम्भहरू
    • कीर्तिस्तम्भ
    • दामुपालको शिलालेख
    • साउना कार्की र सउका कर्क्यानीको देवल
    • दुल्लु गढीको अभिलेस्तम्भ
    • सातखम्ब गमौडी
    • दुल्लु किर्तिखम्ब नजिक रहेका वीरखम्बाहरू
    • दुल्लु गैरीपिपलको डाँडामा रहेका वीरखम्बाहरू
    • दुल्लु पौवा मार्गमा रहेको ठुलो स्तम्भ
    • दुल्लु गैरीपिपलको सडकमा रहेका वीरखम्बाहरू
    • दुल्लु पौवा मार्गमा रहेको सानो स्तम्भ
    • चक्रताको वीरखम्बा
    • डाँडीमाडीका बाह्रखम्बाहरू
    • छिउडी पुसाकोटको वीरखम्बा
    • दैलेख बजारका चारखम्बाहरू
    • सात्तलाका वीरखम्बाहरू
    • जम्बुकाँदका वीरखम्बाहरू
    • दैलेख बजारका दुइखम्बाहरू
    • जारकोटको वीरखम्बा
    • खम्मगाडेको वीरखम्बा
    • रावतकोटको वीरखम्बा
    • पिपलकोटको वीरखम्बा
  • धारा तथा नाउलीहरू
    • भूर्तीको ढुङ्गेधारो
    • खुर्सानीबरीको ढुङ्गेधारो
    • पाथरनाउली
    • कपुरनाउली
    • कल्याणधारा
    • गोमती धारा
    • रानबाडा धारा
    • रूपसे धारा
    • सिंहासैनको ढुङ्गेधारा
    • तिलेपाटा ढुङ्गेधारा
    • पिपलकोट ढुङ्गेधारा
    • बाणगंगा बडलम्जी
दैलेख र सुर्खेत जिल्लाको सिमानामा पर्ने गुराँसे लेखमा लालिगुराँस टिप्दै पर्यटकहरू

पर्यटकीय दृष्टिकोणले माथि उल्लिखित सबैजसो सम्पदामा सडकको पहुँच छ। हिउँदमा सवारी साधनबाट यात्रा गर्न सम्भव छ। यी सम्पदासम्मको पहुँचका लागि जिल्ला विकास समिति र गाउँ विकास समितिहरूले निरन्तर लगानी गरिरहेका छन्। जति पहुँचकालागि सडकमा लगानी भएको छ त्यसको तुलनामा ती सम्पदाको संरक्षण र सम्बर्द्धनमा लगानी हुन सकिरहेको छैन भने स्थानीय समुदायलाई पनि यसको महत्वको विषयमा बुझाउन नसकिएको कारण अमूल्य सम्पदाहरू जीर्ण अवस्थामा पुगेका छन्।
यसको दिगो संरक्षण र संवर्द्धनका लागि के गर्नु पर्ला त ?

  • प्राकृतिक संपदाको संरक्षणका लागि विकास कार्य गर्दा विशेष ध्यान पुर्‍याउने।
  • वातावरणीय विनास रोक्ने।
  • धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि स्थानीय समुदायलाई यसको महत्वको विषयमा आत्मबोध गराउने।
  • जनजागरण कार्यक्रममार्फत् धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि मर्मत संभारलाई विशेष जोड दिने।
  • यी सबै सम्पदाको दिगो विकास र संरक्षणका लागि ब्यवसायिक रूपमा विकास गरी पर्यटकहरू आकर्षण गर्न दैलेखभन्दा बाहिरका तर संभाव्यक्षेत्रहरू जस्तैः कोहलपुर, सुर्खेतमा विभिन्न माध्यमबाट सम्पदाहरूको प्रचारप्रसार गर्ने।
  • विशेष पर्यटकीय क्षेत्रका रूपमा पंचकोशी भूर्तिका देवल र वेलाशपुरलाई विकास गर्ने।
  • होटल व्यवसायीलाई अतिथि सत्कार र खानाको विविधिकरणका लागि जागरुक गराउने।
  • यस्ता पर्यटकीय क्षेत्रमा पुग्ने सडकमा अझ बढी लगानी गरी यसलाई बाह्रै महिना चल्ने बनाउने।
  • सार्वजनिक निजी साझेदारी अन्तरगत पर्यटन पूर्वाधारमा लगानी गर्ने।

यसरी माथि उल्लिखित कार्यहरू योजनाबद्ध तरिकाले गरेमा हाम्रा प्रकृति र पूर्वजले सुम्पिएका धरोहरलाई जिल्लाको आम्दानीको श्रोतको रूपमा उभ्याउन सकिने अवस्था छ।
यसका साथै छालाको लागि प्रख्यात भनेर चिनिने दैलेख जिल्लाको अधिकांश भूभाग जंगल क्षेत्रमा पर्दछ यहाँका जंगलमा बाघ, भालु, स्याल, चितुवा, दुम्सी, लोखर्के, खरायो, मलसाँप्रो, फ्याउरो, रतुवा, बँदेल, बाँदर, घोरल, कस्तूरी मृग, थारल, सर्प आदि जंगली जनावरका साथै कालिज, लोइचे, परेवा, ढुकुर, भँगेरा, काग, कोइली, चिल, गौँथली जस्ता हजारौं जंगली चराहरू पाइन्छन्। सम्बन्धित निकायले यि जनावरहरूको संरक्षरमा जोड दिएमा दैलेख जिल्लामा पर्यटन विकासको सम्भावना प्रवल रहेको छ।

जनसङ्ख्या

यो जिल्लाका मुख्य जनजाति यस प्रकार छन्: खस क्षेत्री (३४.८५), कामी (१५.३३५), ठकुरी (१४५), ब्राम्हण (१२५), मगर(९.८७५), ,दमाई (४.४५५), सार्की (२.७५५), सन्यासी (१.६१५), सुनार (१.५८५), गुरुङ् (१.४३५), जैसी आदि जातीहरू यो जिल्लामा बसोवास गर्दछन् भने नेपालमा अहिलेसम्म आदीवासीको रूपमा चिनिने राउटेहरू पनि यो जिल्लामा कहिले काहीँ अस्थाई रूपमा बसेको पाइन्छ। [३] यो जिल्लाको प्रमुख भाषाहरू नेपाली(९८.९८५), गुरुङ्ग/मगर (०.४६५) र अन्य (०.५६५) हुन्। [३] धार्मिक रूपमा यो जिल्लामा हिन्दू धर्म(९८.३२५), बौद्ध धर्म (१.४५५), इस्लाम धर्म(०.०८५), अन्य (०.१५५) धर्मावलम्बी छन्। दैलेख जिल्लावासीहरू व्यापार व्यवसाय र नोकरी पेशा गरे पनि अधिकतम् कृषि पेसा अपनाउछन्। यो जिल्लाका कृषकहरू मुख्य रूपले पशुपालनमा भैंसीपालन, गाईपालन, बाख्रापालन कुखुरापालन, मौरी पालन, बंगुरपालन, तथा खेती पातीमा मकै, धान, गहूँ, जौ, कोदो, उवा, फापर जस्ता अन्नबालीको खेती गर्दछन् भने आलु, पिँडालु, फर्सी, काँक्रो, भंटा, काउली, मुला, गोल भेंडा जस्ता तरकारी खेतीका साथै अलैंची, अदुवा, उखु, बेसार, लसुन, प्याज, धनियाँ, तोरी, खुर्सानी आदि नगदेबालीको खेती गर्दछन्। फलफूल खेतीमा दैलेख जिल्लामा स्याउ, नास्पती, आरु, ओखर, सुन्तला, केरा आदि फलफूलको खेती गरिन्छ। यसका साथै यहाँका कृषकहरू मास, मुसुरो, सिमी, भटमास, चना, केराउजस्ता दालको खेती गर्दछन्।

संस्कृति

दैलेख जिल्लाको एक विवाहमा प्रदर्शन गरिएको पञ्चेबाजा

दैलेख जिल्लामा थरीथरीका जात जातिका मान्छेहरूको बसोवास रहेका करणले यहाँको संस्कृतिमा धेरै भिन्नता पाइन्छ। अलगअलग जात जातिका मान्छेहरू सबैले आफ्नो आफ्नो रीतिरिवाज अनुसार आफ्नो आफ्नो परम्पराले मनाउँदै आएका चाडपर्वहरू मनाउने गर्दछन्। यो जिल्लामा मनाइने प्रमुख चाडपर्वहरूमा देउडा नाच, मारूनी नाच बैसेरी नाच, हुड्केउली नाच, फुर्का नाच आदिको सुन्दर झलक देख्न पाइन्छ। लोक रीतिस्थिति र सांस्कृतिक परम्पराका दृष्टिकोणले पनि दैलेख जिल्ला एक अद्वितीय भूमि हो । दैलेख नेपालका धेरै जातजाति र भाषाभाषीहरूको उद्गमस्थल पनि हो। दैलेखले सबैलाई आफ्नो मौलिक परिचय दिएको छ र विशिष्ट संस्कार अनि संस्कृति दिएको छ। दैलेखले पौरख सिकाएको छ र हाँसीहाँसी लडेर मर्न सिकाएको छ। त्यसैले दैलेखलाई धर्म, संस्कृति र वीरताको सङ्गम पनि भनिन्छ । [४] मानिसको जन्मदेखि मृत्युसम्मका सबै अवसरहरूमा, स्थानीय चाडपर्वहरूमा, मन्दिर तथा देवस्थलहरूमा, राम रमाइलोमा, युद्धको मैदानमा, विजयको उन्माद र पराजयको पीडामा, दुःख सुखमा, वनपाखा तथा मेलापात जस्ता सबै अवसरहरूमा अलगअलग प्रकारका गीत, बाजा, तथा लय र सङ्गीतको सिर्जना गरेको छ दैलेखले। इतिहासको कालखण्डमा निकै लामो फड्को मारिसकेको भए तापनि दैलेखमा गुञ्जने गीत र लोक लयले अझै पनि दैलेख जिल्लाको इतिहासको कथा व्यथालाई गीतमालामा उनेर गुनगुनउँदै आइरहेको छ। आफ्नो जीवन्त ऐतिहासिकतालाई सार्थक तुल्याउदै आधुनिकताको मार्गमा अघि बढिरहेको छ। दैलेख जिल्लाको पूर्व, पश्चिम, उत्तर, दक्षिण, लेक, बेँसीमा अलग अलग रूपमा लोक प्रचलनमा रहेका अमूर्त सांस्कृतिक सम्पदाहरूको सूची लामो छ।[४] पञ्चे बाजा, हुडके नाच, देउडा, धमारी, रत्यौली, चैत, भारतजस्ता सम्पदाहरू दुल्लुक्षेत्र र दैलेख जिल्लाको उत्तरी भेगमा बढी प्रचलनमा रहेको पाइन्छ। त्यसैगरी रहरे बैंसारी, गुरु बैंसारी, सरौं, मारुनी, गर्राजस्ता सम्पदाहरू दैलेखको पूर्वी र दक्षिणी भेगमा बढी प्रचलनमा रहेको पाइन्छ। विश्वसम्पदा दिवस २०१२ का अवसरमा वि.सं. २०६८ चैत्र १९ गतेका दिन दुल्लुमा आयोजित सार्वजनिक समारोहमा पर्यटन विकास केन्द्र, दैलेखका अध्यक्ष गणेश उपाध्याय रेग्मी, पद्म सिर्जना मञ्जरीका अध्यक्ष तेज बहादुर हमाल, नेपाल संस्कृतिक संघका अध्यक्ष टंक प्रसाद रिमाल, सहिद पूर्ण स्मृति प्रतिष्ठानका अध्यक्ष घनश्याम भण्डारी तथा सचिव राजेन्द्र प्रसाद अधिकारीको संयोजनमा फट्को, भैलो, भैली, भैनी, मारुनी नाच, हुड्के नाच, धमारी, पञ्चेबाजा, देउडा र नेउली हदेलीजस्ता विभिन्न दश प्रकारका अमूर्त सांस्कृतिक सम्पदाहरूको प्रदर्शन गरिएको थियो।[४] वि. स. १८४८ कार्तिकमा बिलासपुर राज्य एकीकरण भएको थियो र नेपाल एकीकरणपश्चात् दैलेखको तात्कालिक सामाजिक परिवेशमा पनि ठूलो परिवर्तन भएको देखिन्छ । बहादुर शाहाको पश्चिम विजय अभियान अन्तर्गत् विलासपुर राज्य एकीकरण भएपश्चात् गोर्खाली सेनाका विभिन्न पदिक, अधिकारी तथा अन्य कर्मचारीहरू दैलेखमै स्थायी बसोवास गर्न थाले। उनीहरूले दैलेखको डाँडोमा व्यवस्थित बस्तीको सुरुवात गरे । यसै सिलसिलामा हालको बज्रभैरव मन्दिरदेखि बटुक भैरव मन्दिरसम्मको क्षेत्रमा सुनारहरू, बटुक भैरव मन्दिरदेखि नारायण मन्दिरसम्मको क्षेत्रमा नेवारहरू, नारायणमन्दिरबाट पुरानो कारागारसम्म र कोतगढिको पूर्वी भागमा दमाईहरू, पुरानो कारागारदेखि भगवती मन्दिरसम्मको भागमा कसाईहरू, भगवती मन्दिरदेखि माथिको डाँडा(बारुदथान गडि) क्षेत्रमा कामी, भगवती मन्दिरदेखि पश्चिमको भागमा ढाँग्रे(गन्धर्व) समुदायको बसोवास गराइएको थियो । बज्रभैरव मन्दिरदेखि उत्तरतिर हालको अदालतदेखि टुडिखेल धाराको भूभाग बादी समुदाय, टुडिखेल धारादेखि पश्चिम–हालको कुसाडा गाँउमा चुरट्टाहरूको बसोबास गराइएको थियो। यसरी यहाँ बसोबास गर्नेहरूमा कास्की, स्याङजा, बागलुङ, तनहुँलगाएतका गण्डक क्षेत्रबाट आएको देखिन्छ। तसर्थ संस्कृतिमा विविधता पाइन्छ। मानिसहरूको बसाइँसराइको क्रमसँगै कला, संस्कृतिहरू पनि परिस्कृृत हुँदै आयो। उनीहरूका चाडपर्वहरू पनि बिस्तारै स्थापित हुँदै गयो। आआफ्ना रीतिरिवाज परम्पराअनुरुप मनाउँदै आएको चाडपर्व, रीतितिथि पनि स्थापित हुँदै गयो। त्यसै चाडपर्वहरू मध्य सबैभन्दा लामो समय चल्ने र लोकप्रिय मेला हो बर्षे मेला। खस मल्ल साम्राज्यकालमा प्रचलित राउटे नाच, हुड्के, ख्याली, पंचेबाजा, ढालकी, मयूर, मारुनी, सोरठी, लहरे पैसरीजस्ता संस्कृतिहरू हालसम्म पनि समाजमा संरक्षित रहेका छन्। दैलेख बजार क्षेत्रमा भने काठमाडौँ, ललितपूर, भक्तपुरलगाएत गण्डक क्षेत्रबाट बसोवास गरेर आएका समुदायहरूको बिचमा बर्षे मेला –लाखे नाच, गाईजात्रा, घण्टाकर्ण, रोपाईजात्रा, टाकटुके जात्रा, कृष्ण जन्माष्ठमीजस्ता मेला पर्वहरू लोकप्रिय रहेको छन् ।[६]

बर्षे मेला

दैलख बजारमा प्रचलित बर्षेमेलाको सन्दर्भमा वैभिन्न तर्कहरू रहेको पाईन्छ । सवै भन्दा उपयुक्त तर्क अनुसार दैलेख बजारमा रहेको करिव ७० वटा घरधुरीहरूले प्रत्येक बर्षातको हरिसियानी एकादशी देखि हरिबोधनी एकादशिसम्म जात्रा(मेला) आयोजना गरे बाफत घरजग्गा कर मिनाह हुने तात्कालिक सरकारी व्यवस्था रहेको हुनाले बर्षे मेलाको बाध्यताकी अवस्थाका कारण हालसम्म पनि निरन्तरता हुन गएको हो भन्ने भनाई छ । त्यस बेला सिँगारिन नचाहने कसाईहरूलाई दण्ड जरिमाना गर्ने गरिन्थ्यो । बजार भरि परिक्रमा गरिसकेपछि बडाहाकीम अर्थात हालको प्रशासन कार्यालय भएको भवन गौंडा दरबारमा लगेर नाच्नु पर्थ्यो र बर्षेमेलाको विधिवत त्यहि लगेरनै समापन गरिन्थ्यो । तात्कालिन माओवादी जनयुद्ध चरम उत्कर्समा पुगेको कारणले असुरक्षा देखाउँदै गौंडा दरबारले नमानेपछि मेलाको समापन अन्यत्र सर्यो । युगौंको परम्परा टुङगीयो । यो क्रम वि स २०५९ साल सम्म निरन्तर रह्यो । आजकल मेला संचालन गर्न न्यू ज्वाला क्लव पुरानो बजार र भगवती यूवा क्लव, भगवती टोलले स्थानिय खुल्ला मंच टुडिखेलमा मेला समापन गर्ने गरेका छन् भने एभरेष्ट क्लव नयाँ बजार र सुनगाभा यूवा क्लवले भने छात्राबासको मैदान प्रयोग गर्ने गरेका छन् । वर्षे खेती लगाइसकेपछि साउन महिनाको पहिलो दिन अर्थात कर्कटसङक्रान्तिका दिन सार्वजनिक मेला आयोजना गरिन्थ्यो । यस दिनदेखि सूर्य दक्षिणतिर सर्दै उदाउने हुनाले दक्षिणायन सुरू हुन्छ र मकरसङ्क्रान्ति देखि उत्तरायन प्रारम्भ हुन्छ । बर्षातको समयमा हिलो मैलोमै समय बित्ने भएकाले खेती पाक्ने समयमा फुर्सदको समयमा हिलोमैलो पखालेर गाँउभरिका सवै एकै ठाँउमा जम्मा हुने कुस्ती खेल्ने, कपड्डी खेल्ने र बर्षतको दुख कस्टर्ला बिर्साएर मनोरञ्जन लिने गरिन्थ्यो । सर्स संगै विभिन्न रंग मिसाईएको कमेरोको घोलहरू बनाएर भाँडाहरूमा राखिन्थ्यो र स्थानिय यूवाहरूमा दुबै हात पछाडि बाँधेर उक्त घोलमा अनुहार डुवाएर मुखले पैसा पिंधबाट जस्ले झिकेर ल्याउन सक्थ्यो उसैलाई बक्सीस दिईन्थ्यो । यसरी रंगको घोलमा टाउको चोपेर निकाले पछि विभित किसीमको अनुहारहरूलाई हेर्देै एक ले अर्काेलाई जिस्काउँदै रमाईले गर्ने प्रचलन थियो जस्लाई स्थानिय भाषामा लोकन्थलीको मेला भन्ने प्रचलन थियो । बर्षातमा खेतिपातीको क्रममा हिलो मैलो संग खेलिने भएकोले धार्मिक परम्परा अनुरुप मन्त्र जपेर जलिरहेको अगूल्टोसंगै लुतो फाल्ने चलन रहेको थियो । यो प्रचलन अझै पनि कायमै छ ।[६]

सुरुवात

श्रावणकृष्ण चतुदर्शीको दिनलाई घण्टाकर्ण चतुर्दशीको रुपमा मनाउने गरिन्छ । सडक चौबाटोमा हरिया नरकटका बोटहरूको ठुलठुला मुठा बनाएर तिनखुट्टे मानवाकृतिको रुपमा खडा गरिएको घण्टासुरको प्रतिकमा छोरीहरूले मान्छेहरूको कपडाको कलात्मक पुतली बनाएर झुन्डाउने गर्दछन । साँझपख घण्टासुरको मुखाकृति बनाएर घण्टासुरको शिरोभागमा राखिन्छ त्यसपछि कुनै एक जना मानिसलाई कट्टुमात्र लगाई घण्टासुरको सन्तान बनाई आफ्नो जिजुबाजे घण्टासुरको काजक्रिया गर्नकालागि भनी नगर भरि पैंसा माग्न लगाईन्छ । घरभित्रको बिकार तत्वलाई बडारेर घण्टासुरको खुट्टामा लगेर फालिन्छ र भुतप्रेत, खराब तत्व पुनः घरमा फर्केर नआओस् भनेर दैलो या आँगनमा तिन वटा फलामको किला ठोकिन्छ । उक्त घण्टासुरको शवलाई नगर परिक्रमा गराई पुत्लालाई दागबत्ति दिएपछि नदिमा बगाउने गरिन्छ । देवताको नाम सुन्न समेत नचाहने र दुवै कानमा घण्ट झुन्डाएर घण्ट बजाउँदै हिड्ने भएको कारणले घण्टासुर नाम रहन गएको हो । नरभक्षी घण्टासुर जब नगर वस्तीमा पस्थ्यो हाँहाँकार मचिन्थ्यो । त्यसै क्रममा एकदिन घण्टाकर्ण बाटो बिर्सीएर अर्काे बाटोलागेछ र भ्यागुतोलाई बाटो सोध्न पुगेछ भ्यागुतो बाठो थियो उस्ले बाटो देखिाएको बाटो दलदले थियो । त्यहि बाटो हिड्दै जाँदा दलदलमा फसेको घण्टाकर्णलाई नगर वासीहरूले ढुङगाले हानेर मारेको लोक कथा काठमाण्डौंमा प्रचलित छ । त्यसै अनुरुप नरभक्षी घण्टाकर्णको मुर्ति बनाएर चौबाटोमा राखेर बिधिवत दाहसंस्कार गरे सवै दुःख कष्टहरूको नाश हुने मान्यता रहिआएको छ । यद्यपी समयान्तरमा यो पर्वको एैतिहासीकता करिब करिब लोपोन्मूख रहेको छ । बिकृति हावी हुँदै गएको छ । यस तर्फ सबै सचेत हुन जरुरी छ ।[६]

१,जनै पूर्णिमा

हिन्दुहरूको पवित्र पर्वहरूमध्ये जनै पूर्णिमाको छुट्टै महत्व रहेको छ । यस पर्वका दिन श्रवण नक्षत्र र पूर्णिमा पर्ने भएकाले श्रावणीपूर्णिमा, यज्ञोपवति(जनै) धारण गर्नुुपर्ने भएकोले जनै पूर्णिमा, सप्तऋषिहरू –(कश्यप, अत्री, भारद्वाज, विश्वामित्र,गौतम, जमदग्नीवशिष्ठ) लाई तर्पण दान गर्नुपर्ने भएकोले रक्षाको लागि हातमा जनै बाँधिने भएकाले रक्षा बन्धन पनि भनिन्छ । यसै दिनमा क्वाँटि बनाएर खाने चलन छ जस्ले बर्षातको खेतिपातीको समयमा सरिरमा पसेको चिसो हटाउँछ भन्ने मान्यता रहेको छ । यस दिन टाकटुके जात्रामा डोकोमा बाँसको लामो चोया बाँधिन्छ, लामो जिउ भएको बाँसको टुप्पोमा चवँर बाधिन्छ मकुन्डो, कपडा लगाएर मानवकृति बनाईन्छ । चारवटा सारि चार दिशामा बाँधिन्छ र सारीको फेरो समाएर विभिन्न आर्कषक पोशाकमा सजिएका यूवाहरूले "ए बजै तिम्रो घरमा के के पाक्या छ, हामीलाई नि देउन मिठो लाग्या छ" भन्ने बाँसुरीको तालमा नाचेर लौरी एक आपसमा ठोकिन्छ । यूवा तथा बालबालिकाहरू सिंगारिने कोहि गाई हुने, गोठालो हुने लगाएतको अभिनयको माध्यामले लोक जिवनको झल्को दिने प्रचलन रहेको छ ।[६]

२,दोस्रोदिन गाईजात्रा

श्रावणपूर्णिमाको भोलिपल्ट अर्थात भाद्रकृष्ण प्रतिपदाको दिनलाई गाईजात्रा पर्वको रुपमा मनाउने गरी नेपाली पात्रोहरूमा उल्लेख गरिएको हुन्छ । गाईको पुच्छर समातेर बैतर्णी तरिन्छ र मोक्ष प्राप्त हुन्छ भन्ने हिन्दु मान्यता अनुरुप गाईजात्रा मनाउने प्रचलन रहेको छ । विगत एक वर्षभित्र मृत्यु भएकाहरूले आफ्ना पृतीहरूको सम्झनामा गाईजात्रामा सिँगारिएको अर्थात गाई, गोठाला बनेकाहरूलाई खिर, दही, केरा लगायतको फलफूल, दक्षीणा प्रदान गर्ने र आफ्ना मृतकको सम्झना र आत्माको शान्तिको कामना गरिन्छ । काठमाण्डौमा बिफररोगको महामारी फैलिएर राजा प्रताप मल्लको छोरा सहित धेरै बालबालिकाको ज्यान गयो । जनताको छोरा सहित आफ्ना राजकुमारको पनि निधन भएपछि महारानी ठुलो पिरमा परेकी थिईन । छोरो मरेको भए जोगी र छोरी मरेका भए गाई बनाएर नगर परिक्रमा गर्ने र शोकाकुल रानीलाई व्यङग्य गरेर भएपनि हसाउने प्रयास गर्ने भनि उर्दी जारी भयो । तत अनुरुप सबै सामेल भए र बिभित हाँसो व्यङग्य प्रस्तुत गरि महारानीलाई थामी नसक्नुुको हाँसो लगाएरनै छाडियो र बिस्तारै शोकबाट बाहिर आईन् । यो परम्परा ६३० बर्ष पहिले देखि हालसम्म पनि निरन्तर मनाउदै आईएको छ । समयानुसार यो जात्रामा समसामायिक राजनिति, साहित्य, व्यङग्य, सन्देश सबै समेटिएको छ । अस्थित्व संकटमा छ ।[६]

३,तेस्रो दिन रोपाई जात्रा

नेपाल कृर्षि प्रधान देश हो र अधिकाँस कृषकहरूको जिवनी खेति किसानीमा नै बित्छ । यो हाम्रो लोक जिवनको जिवन्त चित्रण गर्नेकाम बर्षेमेलाको रोपाई जात्रामा गरिन्छ । वैभिन्न रुपरंङगमा सिँगारिएर, सरदार, सरदार्नी(रानी)स्याकु, छाता ओडेर, धानको बिउ रोप्ने, हली, रोपार, रोपार्नी, बाउसे, पन्चेबाजा बजाउँदै रोपाईको बेलामा गाईले गित गाउँदै सम्पूर्ण क्रियाकलापलाई अभिनयको माध्यामबाट प्रस्तुत गरिन्छ ।

४,चौथो दिन बाघ जात्रा

यस जात्रामा बाघ भालुको अभिनय गरेर जंगलको राजा बाघको सम्झना गरिन्छ । बाघ र भालुको भेषमा किसानले लगाएको मकै चोर्ने र मेला भर्न आउनेहरूलाई थुकेर, तर्सायर सताउने गरिन्छ । बागभालुको आतंकबाट छुटकाराको लागि सिपाई लगाईन्छ र नियन्त्रणमा लिने प्रयास गरिन्छ । बाघको आतंक नियन्त्रण बाहिर जान्छ अन्ततः रानी माथिनै आक्रमण गरिन्छ र रानिलाई छुटाएर ल्याउनको लागि राजाले नै बाघलाई मारेपछि रानिको ज्यान बचाउछन र आतंकी बाघको संत्रासबाट नागरिकले छुटकारा पाएको चरित्र चित्रण गर्ने गरिन्छ ।[६]

५.पाँचौँ दिन बैरागी जात्रा

बैरागी जात्रा अर्थात योगी(जोगी)जात्रा । कलाप्रेमीहरू गेरुवा, कपडा, दिगम्वर लगाएर चिम्टा त्रिशुल, अनि कमण्डलू भिरेर जोगीको भेषमा बजार परिक्रम गर्ने प्रचलन रहेको छ । यस मेलामा मानिसको गृहस्थाश्रमपछिको वानप्रस्थ र सन्यास जिवनको चित्रण गरिन्छ । पंचकोशी तिर्थस्थल र साक्षात अग्निरुपको ज्वाला क्षेत्रको जिल्ला भएको कारणले पनि यस पर्वलाई बिशेष महत्वको साथ हेर्ने गरिन्छ ।[६]

६.छैटौँ दिन राउटेजात्रा

दैलेख जिल्ला राउटे जातिको बसोवास भएको जिल्ला पनि हो। राउटेहरू आफुलाई जंगलको राजा भन्छन । राउटेहरूको मुख्य व्यक्तिलाई मूखिया भन्ने प्रचलन उहिले पनि थियो र अहिले पनि छ । समाजमा बस्न नचाहने यो समूदाय समाज देखि टढा अर्थात जंगलमा अस्थायि छाप्रो बनाएर बसोवास गर्ने गर्छन । जंगलको कंदमूल, बाँदर, गूना लगाएतको सिकार र आहार गर्ने यो समुदाय आफ्नो आफन्तीको मृत्यु पश्चात बसिरहेको स्थान छाडेर अर्काे जंगल तिर बसाई सार्छन । टुनी, सिमल, आँप, गूरास, चाँप आदिको काठबाट सन्दुख, कोशी, ठेकी, मदुश आदि सामग्रीहरूको निर्माण गर्ने र स्थानीय बजारमा लगेर बेच्ने गर्दछन । यस्ता अस्थित्व संकटमा रहेको राउटे समुदायको दुर्लभ संस्कृति, नाच, बाजा, ताल, शिकार कलालाई अभिनयको माध्यामबाट प्रस्तुत गर्दै मनाईन्छ ।[६]

७,सातौँ दिन श्रीकृष्ण जन्मोत्सव

महाभारतका मुख्य नायक यदुकुलको श्रीकृष्णको जन्म वसुदेव र देवकीको पुत्रका रुपमा मथुरास्थित कंशको कारागृहमा भएको थियो । कंश कृष्णको सहोदर मामा थिए । आफ्ना बाबु महाराज उग्रसेनलाई बन्दी बनाई कंश मथुराका राजा बनेका थिए । अत्यन्त क्रुर, निर्दयी र तानाशाह राजा भएकाले वसुदेव र देवकीका आठौं संतानबाट कंशको बिनास हुनेछ भन्ने आकाशबाणी पश्चात आफ्नो दिदी भिनाजु देवकी र वसुदेवलाई कारावासको कठोर सजाय दिए । जती संतान जन्मीदै गए उती मार्दै गयो । श्रावणकृष्ण सप्तमीको मध्यरातमा मथुराको कारागृहमा भगवान कृष्णको जन्म भएको त्यस रातलाई भगवनको जन्म भएकोहुनाले धार्मिक अनुष्ठानका साथ मनाईन्छ । यस रातमा न्यू ज्वाला क्लवले नारायण मन्दिर, भगवती यूवा क्लवले भगवती मन्दिर, एभरेष्ट क्लव र सुनगाभा यूवा क्लवले गणेश मन्दिरमा कृष्ण जन्माउने प्रचलन रहेको छ । भगवान कृष्णको भक्तजनहरूले उपवास बस्ने, भजनकृतन गर्ने, पूजा गरि मनाउने गरिन्छ ।[६]

८.आठौँ दिन जन्माष्ठमी,समापन

भगवन श्रीकृष्णको जम्मेको रातलाई सप्तमी र अर्काेदिनलाई अष्ठमी भनिन्छ । गोकुलका नन्दरायको घरमा सुन्दर बालकको जन्म भएको उतसाहमा गोकुलवासी सम्पूर्णले उत्सव मनाएको अवसरलाई कृष्ण अष्ठमीको उत्सव मानिन्छ । लाखे अर्थात कंशको प्रतिक र कृष्ण, बलराम सहितको कृष्णलिलालाई बजार भरि नृत्यको माध्यामबाट प्रस्तुत गरिन्छ । तेरो अन्याय र अत्याचारको घडा भरिसकेको छ, मृत्यु निश्चित छ, अब मर्न तयार हो भन्ने संकेत कृष्णले गर्छन भने भयो मलाई नमार, म तेरो मामा हो, मेरो प्राण दान गर भन्ने आशयको भावह्विल बनाउने खालको नृत्य प्रस्तुत गरेर कृष्णको मत बदल्ने प्रयत्न लाखेले गर्दछ । लाखेको अनुचर(भक्कु)ले आफ्नो मालिक अर्थात लाखेको प्राणको दान माग्ने र लड्न खोज्ने र भाग्ने, ज्यान जोगाउने अभिनय प्रस्तुत गरिन्छ । अर्काेतिर स्थानिय कृष्णजन्माईएको मन्दिरहरूबाट झिकिएको रथहरू र श्रधालुहरूले कृष्णभजनहरू गाउँदै नाच्दै , स्थानिय भगवती, नारायण, बटुक भैरव, बज्रभैरव, गणेश मन्दिरको परिक्रमा गरेर समापन स्थलहरूमा प्रवेश गराउँछन् । हजारौ दर्शकहरूको उपस्थितीमा परम्परा अनुसार कृष्णलिला प्रस्तुत गरिन्छ र अन्तमा कृष्णको तरवारबाट लाखेको मृत्यु हुन्छ । लाखेको टाउकोलाई रथमा राखेर कृतन गर्दै पुःन मन्दिर परिक्रमा गरिन्छ । परिक्रमाकै क्रममा बर्षातमा लगाईएको खेती जस्तै मकेै, भट्ट जस्ता अन्य अनाज, फलहरूलाई न्वागी गढाउने प्रचलन रहेको छ । यसैका साथै बर्षेमेला अर्काे बर्ष सम्मकोलागि समापन हुने गर्छ । तसर्थ धार्मीक, आर्थिक, सामाजिक, सदभाव, सहकार्यको ज्वलन्त उदाहरण बन्दै बिदा हुन्छ ।


[६] यसका साथै निम्म चाड पर्वहरू यस जिल्लामा मनाउने गरिन्छ ।:-

माथी उल्लेखित प्रमुख चाडपर्वहरूका साथै विभिन्न जनजातीहरूले अन्य थुप्रै आफ्नो आफ्नो परम्परा अनुशारका चाडपर्व तथा उत्सवहरू मनाउछन्। यस्ता चाडपर्वमा यहाँ खानपान नाचगानका साथै फुटबल, भलिबल, बुद्धी चाल, दौड प्रतुयोगीता जस्ता खेल तथा अन्य कार्यक्रमहरूको आयोजना पनि गरिन्छ। तिहारको बेला यहाँ तास खेल्ने चलन पनि रहेको छ ।

दैलेख जिल्लाका महत्वपुर्ण फोन नम्बरहरू

क्र.सं. कार्यालय कार्यालय फोन नं.
दैलेख जिल्ला अदालत +९७७-८९-४२०१२१
जिल्ला प्रशासन कार्यालय +९७७-८९-४२०११२
जिल्ला प्रहरी कार्यालय +९७७-८९-४२०११३
रणसार्दुल गण +९७७-८९-४२०१६६
जिल्ला अस्पताल +९७७-८९-४२०१२७
नेपाल टेलिकम +९७७-८९-४२०१२२
बिद्युत प्राधिकरण +९७७-८९-४२०१३०
नारायण क्याम्पस +९७७-८९-४२ +८४
त्रि उमावि +९७७-८९-४२ +८३
१० नारायण न. पा. +९७७-८९-४२०१३५
११ जिल्ला विकास समिति +९७७-८९-४२०१६३
१२ ईलाका प्रशासन कार्यालय दुल्लु +९७७-८९-४२९५१५
१३ ईलाका प्रहरी कार्यालय दुल्लु +९७७-८९-४२९५१७
१४ एम्बुलेन्स सेवा +९७७-८९-४२०१७९
१५ प्राथमिक आँखा उपचार केन्द्र +९७७-८९-४२०१३७
१६ जिल्ला शिक्षा कार्यालय +९७७-८९-४२०१५०
१७ जिल्ला वन कार्यालय +९७७-८९-४२०१३२

यी पनि हेर्नुहोला

सन्दर्भ सूची

  1. Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal
  2. "दैलेखमा वैशाखदेखि मिथेन ग्यास उत्खनन् गरिने" (नेपालीमा), उज्यालो अनलाइन, चैत १३, २०७५। 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० जि.वि.स. दैलेख
  4. ४.० ४.१ ४.२ ४.३ पूस्तक कीर्तिखम्ब पहिलो संस्करण लेखक विश्व के.सी. (पोखरेल)
  5. दैलेख महोत्सव २०६६ द्वारा निर्मित भिडियो सीडी
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ ६.६ ६.७ ६.८ ६.९ paschimnepal.com/article/615

बाहिरीय लिङ्कहरू