नाभीस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाभीस्थान
नाभीस्थान ज्वाला मन्दिर
प्राथमिक विवरण
स्थान:भैरवी गाउँपालिका, गमौडी, दैलेख
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
देश नेपाल
वास्तुकला प्रकारप्यागोडा शैली

नाभिस्थान पाँच थान पंचकोशी अंतर्गत पर्ने एक स्थान हो। यो स्थल दैलेख जिल्लाको साविकको गमौडी गाविसमा पर्दछ। हाल यो स्थान भैरबी गाउँपालिका र दुल्लु नगरपालिकाको सिमानामा रहेको छ । नाभिस्थानमा मन्दिर भित्र पानी माथी इन्द्र ज्वाला र वडी ज्वाला नामका २ वटा आगोको ज्वालाहरू निरन्तर रूपमा बलिरहेका देखिन्छन्। वैज्ञानिकहरूले यहाँ पेट्रोल ग्यासको खानी भएको सिद्ध गरेका छन् भने धार्मीक मान्यता अनुसार यी ज्वालाहरू दैवीक शक्ती द्वारा देखिएका हुन् भन्ने भनाई रहेको छ। श्री स्वस्थानी ब्रतकथा अनुसार महादेवले सतिदेवीको मृत शरिर बोकेर यत्र तत्र घुम्ने क्रममा यस स्थानमा आइपुग्दा सति देवीको नाभी पतन भएकोले यस स्थानलाई नाभिस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने स्थानिय जनश्रुती रहेको छ।

मन्दिर परिसर[सम्पादन गर्नुहोस्]

नाभिस्थानमा इँटा, काठ र माटोले बनेका तथा झिंगटीका छाना भएको दक्षिणाभिमुख दुइवटा सत्तल रहेका छन्। एउटा सत्तललाई कोठार (भण्डार) भनिन्छ भने अर्को सत्तललाई धर्मधुनी भनिन्छ। नाभिस्थान मन्दिर पनि दुईपाखे झिंगटीको छानो भएको, इँटा काठ र माटोले बनेको तथा पश्चिम तर्फ फर्केर रहेको छ। मन्दिरको गजुर पित्तलको रहेको छ। मन्दिरको प्रवेशद्वारमा प्रस्तरको गणेश मूर्ति रहेको छ। मन्दिरको ढोकाको खापा वि.सं. १९९७ मा तामाले मोढेको देखिन्छ। मन्दिर भित्र ज्वाला बलिरहेको छ। ज्वाला मन्दिरमा अनवरत रूपमा बलिरहने ज्वालाबाहेक अन्य मुर्तीहरू रहेका छैनन्। नाभिस्थान मन्दिर परिसरमा भैरव र गणेशको मन्दिरहरू पनि रहेका छन्। गादीघर मठमा सूर्य, विष्णु, इन्द्र र देवीहरूका मूर्तिहरू रहेका छन्। यस स्थानमा शिखरशैलीमा निर्माण भएका देवलहरूका भग्नावशेषहरू पनि रहेका छन्। मन्दिर नजिकै विश्वकै दुर्लभ भनेर चिनिने शमीको विशाल वृक्ष रहेको छ, जसलाई पञ्चकोशी तिर्थलस्थलको प्रतिकको रूपमा पनि मानिन्छ। यस मन्दिरमा नाथ सम्प्रादयका योगीहरूद्वारा पूजाआजा गरिन्छ। [१]

अन्य मन्दिरहरू[सम्पादन गर्नुहोस्]

नाभिस्थानको मन्दिरहरू

नाभिस्थान मन्दिरको दक्षिण तर्फ उत्तराभिमुख भैरव मन्दिर छ। यो मन्दिर पनि इँटा र काठले बनेको छ भने यसको छाना पनि झिंगटीको रहेको छ। यस मन्दिर भित्र प्रस्तरको भैरव मूर्ति राखिएको छ। नाभिस्थान मन्दिरको पश्चिमतर्फ उत्तर फर्केको तथा ढुंगाले बनेको र खरको छाना भएको सानो शिव मन्दिर रहेको छ। त्यो मन्दिर भित्र गरुडासन लक्ष्मीनारायण मूर्ति तथा राजपुरुष मूर्ति उल्लेखनिय छन्। यहाँ ढुंगाको देवलको खण्डित भागहरू तथा कुँदिएका ढुंगाहरू जताततै देखिन्छन्। नाभिस्थान मन्दिर नजिकै पूर्वतिर फर्केको टायलको छाना भएको मन्सानाथ मन्दिर पनि छ। भैरव मन्दिरमा रहेको भैरवको मूर्तिलाई बैशाखमङ्शिरको महिनामा डोकोमा राखेर मन्सानाथको रूपमा गाउँमा घुमाउने परम्परा रहेको छ। [१]

पूजा परम्परा[सम्पादन गर्नुहोस्]

नाभिस्थान मन्दिरमा बडा दशैंको कालरात्रीमा र चैते दशैंको नवरात्रीमा विशेष पूजा गरिन्छ। बालाचतुर्दशीमा सतबिज छर्ने गरिन्छ। यसै गरी स्वस्थानी व्रतको समाप्तीको दिनमा लिंगो ठड्याउने र महाशिवरात्रीको दिनमा ठुलो मेला लाग्ने गर्दछ। मन्दिरको पूर्वतर्फ रहेको नाभीखोलाको किनारमा श्मसानघाट रहेको छ। ज्वालाजीबाट अग्नी लगेर दाह संस्कार गर्ने प्रचलन रहेको छ। मन्दिर अगाडि २७ हात अग्ला दुईवटा लिंगाहरू भएकोमा प्रत्यक स्वस्थानीको स्याङ्गेमा पालै पालो फेर्ने गरिन्छ। यदी कुनै कराणवस ज्वालाहरू निभ्न गएमा धर्म धुनीघरको आगोले ज्वाला प्रज्वलित गरिन्छ। [१]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ कीर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ संख्या९१-९२ पूस्तक लेखक विश्व के.सी. (पोखरेल)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]