सामग्रीमा जानुहोस्

कीर्तिखम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कृतिखम्बाबाट अनुप्रेषित)

कीर्तिखम्बा
कीर्तिखम्ब, कीर्तिखम्म
कीर्तिखम्बा
सामान्य विवरण
स्थानदुल्लु, नेपाल

कीर्तिखम्बा (अन्य नाम: किर्तिस्तम्भ, पृथ्वी मल्लको स्तम्भ, कीर्तिखम्ब) शाके सम्वत १२७९ तत्कालिन खस राजा पृथ्वी मल्लले निर्माण गर्न लगाएको स्तम्भ हो। त्यसैले यसलाई पृथ्वी मल्लको स्तम्भ पनि भनिन्छ भने स्थानीय भाषामा यसलाई किर्तिखम्ब वा कीर्तिखम्म भनिन्छ। खस राजाहरूको वंशावलीका साथै अन्य महत्त्वपूर्ण कुराहरू लेखिएको यो शिलालेख दैलेख जिल्लाको दुल्लुमा अवस्थित छ।[]

कीर्तिस्तम्भ

दुल्लु कीर्तिखम्ब बजारमा रहेको यस कीर्तिस्तम्भको उचाइ २ मिटर ७६ सेमी., चौडाइ ५० सेमी. र मोटाइ ८ सेमी. रहेको छ। पृथ्वीमा चन्द्रसूर्य रहुन्जेल सम्मको लागि धर्म प्रचारक, सुत्रधारहरू र शिल्पिहरूको सबै कर मिनाहा गर्दा ठूलो धन राशी मिनाहा हुन गएकोले यस स्तम्भलाइ कोटीस्तम्भ पनि भन्ने गरिन्छ । स्तम्भको दुबै पाटोमा क्रमश: पद्मदल, मणिमाला, चैत्य र ॐ मणिपद्मे हुँ खोपिएको छ। सम्पूर्ण स्तम्भको तलदेखि माथिसम्म किनारमा दुईवटा रेखा बनाइएका छन्। अभिलेखमा लेख्न सुरु गर्नुअघि बुद्ध, गणेशशिवको बन्दना गरिएको छ। स्तम्भको दायाँ पाटोबाट अभिलेख लेख्न प्रारम्भ गरिएको छ। यो स्तम्भमा गोठालाहरूले हँसिया, बन्चरो आदी औजारहरूको धार लगाउनको लागि घोट्ने गर्नाले स्तम्भको चारैतिर घोटिएको छ। स्तम्भमा लेखिएका अक्षरहरू अस्पष्ट हुँदै गइरहेका छन्। स्तम्भमा कुँदिएको भाषा र लिपीहरू सामान्यतया बुझ्न र पढ्न सकिँदैन।

योगी नरहरिनाथले गरेको अनुसन्धान र खोजअनुसार यो स्तम्भमा सिंजाराज्यका खस राजाहरूको वंसावली कुँदिएको छ। यसका साथै यस स्तम्भमा सिंजा राज्यमा रहने सबै भिक्षु, ब्राह्मण, धर्म उपदेशक र शिल्पीहरूका लागि सम्पूर्ण कर मिनाहा गरेको व्यहोरा उल्लेख गरिएको छ। यसका साथै यो स्तम्भ तयार गर्ने कालिगढहरूको नाम र ठडाएको मितिसहित उल्लेख गरिएको छ। यो स्तम्भमा दुवैतर्फको सम्पूर्ण अभिलेखमा जम्मा २४ वटा श्लोकहरू २ वटा स्वस्ती र श्रीशाके गरी जम्मा ७८० वटा अक्षरहरू रहेका छन्।[]

योगी नरहरिनाथ पछि धेरै स्वदेशी तथा विदेशी विद्वानहरूले कीर्तिस्तम्भको अभिलेखलाई अनुसन्धान गरेर पढ्ने र बुझ्ने कोशिस गरेका छन्। सबै विद्वानहरूले यसमा भएको अभिलेखलाई आफ्नो आफ्नो ढंगबाट अध्यायन अनुसन्धान गरेकाले अभिलेखमा एक रुपता पाइदैन। यसै सन्दर्भमा होरिटेज नेपालको पहलमा सबै विद्वानहरूको अभिलेख उतार तथा पुरातत्व विभाग (नेपाल)सँग रहेको रबिङ्स (Rubbings) का आधारमा अभिलेखको शुद्व पाठ तयार गर्ने प्रयोजनका लागि प्रा. डा. टेक बहादुर श्रेष्ठ, प्रा. डा. डिल्लीराज खनाल, प्रा. दिनेशराज पंत र पुरातत्वविद् श्याम सुन्दर राजवंशी लाई गरेर पाँच सदस्यीय समिती गठन गरेको थियो। यस समितिले स्तम्भको अभिलेखलाई शुद्धीकरण गरी तयार गरेको शुद्ध तथा एकिकृत अभिलेखलाई नेपाल सरकार, सङ्घीय मामिला, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, पुरातत्व विभाग (नेपाल)को मिति २०६८/१२/१२, प.सं. स्मा/४/१२८/०६८/६९, च.नं. १२३५ को स्वीकृती पत्र बमोजिम मिति २०६८/१२/१९ का दिन संस्कृति मन्त्रालयका प्रतिनिधी जयराम श्रेष्ठ र पुरातत्व विभाग (नेपाल)का प्रतिनिधी प्रकाश दर्नालको उपस्थितिमा होर्डिङ्गबोर्ड तयार गरेर सर्वसाधारणको जानकारीका लागि दुल्लु स्थित कृतिस्तम्भ भएकै स्थानमा स्थापना गरेर प्राध्यापक दिनेशराज पंतद्वारा लोकार्पण गरिएको थियो।[]

महत्त्व

तत्कालिन सिंजा साम्राज्यका शासक पृथ्वी मल्लले शाके १२७९ जेष्ठ कृष्ण एकादशी आइतवारका दिन स्थापना गरिएको कीर्तिस्तम्भ खसमल्ल शासनकालका नायकहरूको नामनामेसी र वंशावली रहेको एक मात्र प्रमाण मानिन्छ। कीर्तिस्तम्भको अभावमा पश्चिम नेपालको इतिहासको प्रमाणीकता पुष्ट्यउन सम्भव छैन। यस स्तम्भले बोधगयादेखी गढवालको बाराहाट र तिब्बतको गुंगे प्रान्तदेखी दक्षिणको समथर भु-भागसम्म फैलिएको सांस्कृतिक सभ्यतालाई समन्वय गरेको छ। हुनत तत्कालिक समयमा पश्चिम नेपालको बौद्विक, सांस्कृतिक, धार्मिक तथा सामरिक सभ्यतालाई चित्रण गर्ने प्रसस्त प्रस्तर, अभिलेख, तामापत्र, कनकपत्र, आदेशपत्र, वीरखम्ब, वंशावलीहरू, तथा लोकगाथाहरू पनि नभएका होइनन्, तर यही परिवेशमा सवालाख पर्वतमालाहरूसम्म फैलिएर रहेको सिंजा साम्राज्यको राजधानी जुम्लाको लामाथाडालाई मानिए तापनि सम्राट पृथ्वी मल्लको सक्रिय राज्यकालको लगभग अन्त्यतिर दुल्लुमा स्थापना कीर्तिस्तम्भ स्थापना गरिनुले दुल्लु वा दैलेखलाई उच्च ऐतिहासिक महत्त्व प्रदान गरेको छ। सोझो अर्थमा भन्नु पर्दा सपादलक्ष शिखरी प्रदेशको अध्यायन अनुसन्धान वा खसप्रदेशको अवलोकन तथा कर्णाली प्रदेशको तिर्थयात्रामा रमाउन चाहने अनुसन्धाता तथा विजीगीषुहरूका लागि एक चोटी नपुगी नहुने स्थान हो दुल्लुको कीर्तिखम्ब।

बृहत् पश्चिम नेपालको अध्यायन अवलोकनका दृष्टीकोणले दुल्लुको कीर्तिखम्ब नपुगी तयार गरेका दस्तावेजहरू कुनै हालतमा पनि पूर्ण हुन सक्ने छैनन्। सम्राट पृथ्वी मल्लको व्याक्तिगत लहडबाजीले मात्रै कीर्तिस्तम्भ तयार भयो होला भनेर मान्न सकिदैन। यस कार्यमा तात्कालिक समाजका सयौं प्रतिभाहरूको पनि योगदानलाई अनुभव गर्न सकिन्छ। यसै गरी अन्यत्र कुनै पनि ठाउँमा उल्लेख नभएको तथ्यहरू जस्तै:- नागराजपछीका उत्तराधिकारीहरू चाप, चापिल्ल, क्राशिचल्ल र क्राधिचल्ल सम्बन्धमा तथा नैगराजको वंशपछी गेलावंशी पालहरू सिंजा साम्राज्यको राजगद्दीमा अभिषिक्त गरिएको तथ्यलाई पनि स्पष्ट गरिएको छ। क्राचल्लपछीका प्रमाणहरू त तामापत्र, कनकपत्र, आदेशपत्र, वा अन्य माध्यमबाट भेटिएका छन्।[]

इतिहास

कीर्तिस्तम्भमा उल्लेख भए अनुसार यो स्तम्भ श्रीशाके १२७९ मा अभिविजयसिंह र शिवराज नाम गरेका दुईजना कालिगढले तयार गरेर श्रीशाके १२७९ जेष्ठ कृष्ण एकादशी आइतवारका दिन ठडाईएको हो। [] करिब १५० वर्ष पहिले कसैले यो स्थानमा गाडधन छ भन्ने ठानेर धन खोज्ने लालचमा यो स्तम्भलाइ उखेलेर जमिनमा लडाएर छोडेछ। यो अवस्थामा रहेको कीर्तिस्तम्भमा गोठालाहरूले हँसिया र बन्चरो उदाउने गर्दा र केटाकेटीहरूले चिप्लेटी खेल्ने गर्दा यसमा भएको अक्षरहरू मेटिदै गए। धेरै समय पछि कसैले यसलाई फेरी ठडाइदिंदा अलि बाङ्गो रहन गएकोले वि.सं. २०१२ मंसिर २५ गतेका दिन योगी नहरीनाथको सक्रियतामा बाटोमा हिड्ने हटारू र स्थानिय जनताको सहयोगमा बाङ्गो रहन गएको स्तम्भलाइ हालको अबस्थामा सोझाएर राखेको कुरा नरहरी नाथको इतिहास प्रकाश दोश्रो अंक पहिलो भाग पृष्ठ ६६ मा वर्णन गरिएको छ।[]

हालको अवस्था

कीर्तिस्तम्भमा पर्न गएको घामपानी र तातोचिसोको असर

कीर्तिस्तम्भ अहिले दुल्लु निवासी प्रेम बहादुर शाहको घरको आगनमा पर्न गएको छ। यसलाई चारैतिरबाट फलामे ग्रिलबार लगाएर शुरक्षित गर्ने प्रयास गरिएको छ। स्तम्भमा पर्ने घामपानी र तातोचिसोको कारणले ठाउँ ठाउँमा चिरा पर्दै र प्रस्तरस्तम्भको पाप्रा उप्कँदै गइरहेका छन्। स्तम्भमा उत्कृण गरिएका अधिकांश अक्षरहरू वातावरणिय प्रभावका कारण मेटिदै जाने क्रममा रहेका छन्।

स्तम्भलाइ सिमेन्टको चौतारा बनाएर राखिएको छ। चौताराको वरीपरी प्रस्तर अभिलेख सहितको ठुला ठुला ढुंगाहरू मिलाएर राखिएका छन्। यी ढुंगाहरूमा भएको अभिलेख र कीर्तिस्तम्भ अभिलेखको भाषा, छन्द, लिपी, प्रसंग र तिथीसमेत मेल खाँदैन।

नेपाल सरकार, पुरातत्व विभाग (नेपाल), राष्ट्रिय अभिलेखालयसँग रहेको कीर्तिस्तम्भ अभिलेखको उतारमा पनि यी दुवै अभिलेखलाई किर्तिखम्ब अभिलेख नै भनेर रेकर्ड गरेको छ। यसले गर्दा कीर्तिस्तम्भ अभिलेखको ऐतिहासिक महत्त्वमाथी गम्भीर भ्रम उत्पन्न हुने सम्भावना देखिन्छ। कीर्तिस्तम्भको चौतारामा रहेका यी अभिलेखका टुक्राहरूलाई विभिन्न स्थानहरूबाट बटुलेर वि.सं.२०१२ भाद्र ३ गते बीहीवारका दिन योगी नरहरिनाथले सबैको सहयोगमा चौतरिया प्रेमजंग शाहको घर अघाडी रहेको स्थानमा जम्मा गर्नु भएको थियो। यी प्रस्तर अभिलेखका टुक्राहरू पाथरनाउली भन्दा करिब २०० मिटर पूर्वमा रहेको मुढेदेवलस्थित उपरीचैत्य धारामा रहेको अभिलेख थियो। अहिले शुरक्षाकोलागी कीर्तिस्तम्भ वरीपरी राखिएका हुन्।[]

यी पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. social-peek.com
  2. २.० २.१ २.२ २.३ २.४ २.५ विश्व के.सी. (पोखरेल)द्वारा लिखित कीर्तिखम्ब नामक पूस्तक पहिलो संस्करण पृष्ठ संख्या ५१- ५५