सामग्रीमा जानुहोस्

डुङ्गेश्वर मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डुङ्गेश्वर मन्दिर
शिद्धेश्वर महादेव मन्दिर
प्राथमिक विवरण
स्थान:नाउलेकटुवाल, दुल्लु, दैलेख
सम्बन्धनहिन्दुत्व
जिल्लादैलेख
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा शैली


डुङ्गेश्वर मन्दिर दैलेख जिल्लाको एक धार्मिक पिठ हो । यो स्थान दैलेख जिल्लाको सबै भन्दा होचो स्थान तल्लो डुङ्गेश्वरमा अवस्थित छ । लोहोरे खोलाकर्णाली नदीको संगममा अवस्थित यस ठाउँको उचाईं समुद्र सतह देखि ५४४ मिटर रहेको छ। प्राचिन कालमा यहाँ दधिची मुनीको आश्रम रहेको विश्वास गरिन्छ। डुङ्गेश्वरमा शिद्धेश्वर महादेवको र डुङ्गेल मन्दिर गरेर दुईवटा मन्दिरहरू रहेका छन्। कसै कसैले यस यस क्षेत्रलाई दैलेख जिल्लामा पर्ने प्रख्यात पाँच थान पंचकोशी मध्यको एक स्थान हो कोटिलास्थान पञ्चकोशी भित्र पर्दैन भनेर पनि भन्दछन् । यि विविध कारणहरूले गर्दा यसलाई एक पिठ मानिएको छ। यो पिठ हाल दुल्लु नगरपालिकामा जोडिएको नाउलेकटुवाल गाउँमा अवस्थित छ। कर्णाली नदि र लोहरेखोलाको दोभानमा अवस्थित यो शिवालय कर्णाली राजमार्गको छेउमा छ। यो पिठको प्राचिनताको सम्बन्धमा रोचक ऐतिहासिक प्रसंग प्रचलित रहेको छ। दैलेखमा तल्लो डुङ्गेश्वरमाथिल्लो डुङ्गेश्वर नामका दुईवटा स्थानहरू छन् । माथिल्लो डुङ्गेश्वर लगायत मन्दिर नजिकैको पुल पारीको क्षेत्र डुङ्गेश्वर गाउँपालिकामा पर्दछ भने मन्दिर भएको क्षेत्र दुल्लु नगरपालिका भित्र पर्दछ ।

मन्दिरको स्थापना

[सम्पादन गर्नुहोस्]

कुनै समयमा छिउडिपुशाकोटको रिजु पोखराबाट दुध पोखरेल थर भएका ज्योतीखर उपाध्याय नाम गरेको एक जना ब्राह्मण दैनिक रूपमा घरबाट बिहानै हिंडेर तल्लो डुङ्गेश्वरस्थित कर्णाली र लोहरेको संगममा पुगी पञ्चक्रिया तथा स्नानादी सम्पन्न गरेर त्यही नजिकैको गुफा भित्र पस्ने गर्दा रहेछन्। त्यस गुफा भित्र रहेको शिवको प्रतिकमा पूजाआजा तथा ध्यान, जप, तप, सम्पन्न गरेर पुनः आफ्नै घरमा गएर शद्ध भोजन गर्ने ति ब्राह्मणको हातमा एक्कासी अपाङ्गता देखिएछ। आफ्नो शारिरिक अवस्था कमजोर भए पनि पूजापाठमा निरन्तरता दिएका ति ब्राह्मणको करिब वि.सं. १९३५ मा कर्णाली नदिको किनारामा सागर गिरी नाम गरेको एकजना साधुसँग भेट भएछ। ती ब्राह्मणले सागर गिरीसँग आफ्नो अपांगताको कारणले गर्दा शिवपूजा नियमीत गर्न सम्भव नभएकाले यस पूजालाई निरन्तर गरिदिन भनी अनुरोध गरेछन्। ती साधुले आफू मतवाली भए पनि ती ब्राह्मणको अनुरोधलाई स्वीकार गरेपछि गिरी थरका कुमार युवकले पूजा परम्परा चलाउने र दुध पोखरेल थरका ब्राह्मणहरूले मन्दिरको होम पाठादी कार्यहरू गर्ने शर्तमा गुफाभित्र रहेको शिवलिंग ल्याएर त्यस स्थानमा स्थापना गरे र आफुमा भएको दैवी शक्ति पनि सागर गिरीलाई हस्तान्त्रण गरे।[] त्यसपछी भक्तजन तथा राजाप्रजा मिलेर मन्दिरको संरक्षण सम्भर्द्धन हुँदै गयो। मन्दिरमा पूजा किर्तनकालागी दमाहा, नगारा तथा निसानहरू बनाइए। मन्दिरको ख्याती पनि बढ्दै गयो।

मन्दिरको निर्माण

[सम्पादन गर्नुहोस्]
डुङ्गेल मन्दिर, डुंगेश्वर

मन्दिरमा पूजापाठको क्रम चल्दै जाँदा दिनहरू वित्दै गए। केही समय पछि अछाम जिल्लाको ढाङ्टा भन्ने स्थानका गंगा र जमुना नाम गरेका बहिनीहरू विवाह नगरी देवपूजा गर्ने मनसायले यस स्थानमा आइपुगेछन्। उनीहरूको देवभक्ती देखेर सागर गिरीले यस शिवालयको नित्यनैमित्य रूपमा पूजाआजा गर्ने जिम्मेवारी दिई आफू सयम् महन्तको रूपमा बसेछन्। यस मन्दिरको पूजाआजा तथा सेहार सम्भार गर्ने भएकाले उनीहरूलाई देवकी भन्न थालियो। त्यसपछी मात्र यस पिठमा देवकीहरूको हातबाट पूजाआजा गर्ने गराउने क्रम चल्न गयो।[] एवं प्रकारले देवकीहरूको संख्या पनि बढ्दै गयो। पछि श्री ५ पृथ्वीवीरविक्रम शाहका पालामा यस मन्दिरमा रहेको दमाहा, नगरा र निसान उठाएर काठमाडौंको हनुमानढोकामा लगियो र यहाँको गुठी समेत हरण गरियो। साँझ बिहान सिद्धेश्वर महादेवमा पूजा हुने समयमा हनुमानढोकामा राखेको दमाह आफै बज्न थालेपछी वि.सं. १९६० मा ति दमाह, नगरा र निसान श्री ५ पृथ्वीविरविक्रम शाहले सिद्धेश्वर महादेव मन्दिरमा फिर्ता गर्न लगाए भने मन्दिरको गुठी सहित दुइवटा आशागुर्जा समेत चढाए।[] यसै सिलसिलामा काठमाडौंबाट आएका एकजना पदाधिकारीले मन्दिरमा पूजा गर्दै बसेका गंगा र जमुनासँग बिहे गर्ने प्रस्ताव राखे। देवकी गङ्गाले सिद्धेश्वर महादेवको मन्दिर बनाइदिएमा आफू ती पदाधिकारीसँग बिहे गर्ने शर्त राखकीले ती पदाधिकारीले वाचा अनुसार मन्दिर बनाएर गङ्गासँग बिहे गरे।[] त्यसैगरी वि.सं. १९६१ मा नेपा गाउँका एकजना खत्रीले डुङ्गेल महादेवको मन्दिर बनाइदिने वाचा गरेर जमुनासँग बिहे गरे। खत्रीले आफ्नो वाचा अनुसार डुङ्गेल महादेवको मन्दिर पनि बनाए। विक्रम संवत १९६१ मा यस मन्दिरका महंत सागर गिरीको देहावसान भयो र नरोत्तम गिरीले शिद्धेश्वर मन्दिरको पूजापाठ सञ्चालन गरे। यिनकै पालामा खोसिएको गुठी पनि पुनः फिर्ता भयो।

हालसम्मका पूजारी तथा महन्तहरू

[सम्पादन गर्नुहोस्]

नरोत्तम गिरीको देहावसान पछि यस मन्दिरमा कविराज गिरी (वि.सं. १९८०), खगेन्द्र गिरी (वि.सं. १९९८), जयदेव गिरी (वि.सं. २००७), सुन्दर गिरी वि.सं. (२०३०), चिउरा गिरी (वि.सं. २०३४), चिउरा गिरीकी पत्नी रंगा गिरी (वि.सं. २०४०), चिउरा गिरीका छोरा सुकदेव गिरी (वि.सं. २०४३) र वि.सं. २०५४ पछि हालसम्म खड्गदेव गिरीले महंतको कार्यभार सम्हाली रहेका छन्। यसै गरी यस मन्दिरमा रहेका सिद्धेश्वर महादेव, कालिका भगवती, गणेशजी, कालसैनी भैरव, वटुकभैरव र अन्य देवी देवताहरूको नित्यनैमित्य पूजा जोतीखर उपाध्यायकै संतानहरूबाट हुँदै आएकोमा महन्त कविराज गिरीको पालामा महन्तको गद्दीको बिषयमा विवाद उत्पन्न भएकोले केही वर्ष त्यहाँको पूजाप्रार्थनानाको कार्यक्रम रोकियो। यसरी लामो समयदेखी रोकिएको पूजापाठ नाम थाह नभएका लम्साल ब्राह्मणले सुरु गरेपछी उनलाई अनिष्ठ हुन थाल्यो। यसरी आफुलाई अनिष्ठ भएकोले ति लम्सालले त्यहाँको पूजापाठको काम छोडे। त्यसपछी छडुङ्गे ब्राह्मण र रिजाल ब्राह्मणले पनि क्रमशः पूजा गरे तर उनलाई पनि अनिष्ठ भएपछी छोड्नु पर्यो। वि.सं. २०३६ पछि भने ज्योतिखर उपाध्यायकै सन्तान विष्णु प्रसाद उपाध्यायले हालसम्म मन्दिरको नित्यनैमित्य पूजा सञ्चालन गर्दै आएका छन्।[]

पूजा परम्परा

[सम्पादन गर्नुहोस्]

यस मन्दिरको धुनिघरमा नाभिस्थानको ज्वालाबाट अग्नी ल्याएर धुनि प्रज्ज्वलित गर्ने र यो धुनी कुनै कारणवस निभ्न गएमा यस क्षेत्रमा अनिष्ठ हुने, खडेरी पर्ने, अनिकाल र भोकमारी सम्म हुन्छ भन्ने जनविश्वास रहेको छ। सिद्धेश्वर महादेवको मन्दिर विजयादशमीको दिनमा मात्र खोल्ने प्रचलन रहेको छ। बडादशैंको घटस्थापनाको दिनदेखि बाजागाजाका साथ विधिविधान पूर्वक दियो बाल्ने र विजयादशमीको दिनमा नवरात्र विसर्जन गरी दियोलाई गादीघरमा भित्र्याउने गरिन्छ। यस मन्दिरमा रहेको आशा गुर्जा जसमा "श्री ५ पृथ्वीवीरविक्रम शाहदेव विक्रम संवत १९६०" लेखिएको छ, मन्दिरमा रहेका घण्टहरू मध्य एकमा "वि.सं. १९८१" र एकमा "वि. सं. १९८९" लेखिएको छ। मन्दिर भित्र तामाको शिवलिंग रहेको छ। त्यसै गरी मन्दिरमा रहेको त्रिशुल, खुँडा र तरबारलाई भगवतीको प्रतिक मानेर पूजा गरिन्छ।

यि पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ १.३ १.४ पूस्तक "किर्तिखम्ब" पहिलो संस्करण पृष्ठ संख्या १०३ - १०५, लेखक विश्व के.सी. (पोखरेल)