पलाञ्चोक
पलाञ्चोक भगवती | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | साठीघर भगवती, पाँचखाल |
निर्देशाङ्क | २७°३७′४३″उ॰ ८५°४०′२६″पू॰ / २७.६२८६१°N ८५.६७३८९°Eनिर्देशाङ्कहरू: २७°३७′४३″उ॰ ८५°४०′२६″पू॰ / २७.६२८६१°N ८५.६७३८९°E |
सम्बन्धन | हिन्दुत्व |
देवता | भगवती |
चाडपर्व | दशैं, चैते दशैं |
जिल्ला | काभ्रेपलाञ्चोक |
देश | नेपाल |
वास्तुकला प्रकार | प्यागोडा शैली |
पलाञ्चोक भगवतीको मन्दिर काभ्रे जिल्लाको साठीघर भगवती गाविसमा अवस्थित छ। काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वस्थित यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ति रहेको छ।
पुरात्वातिक एवम् ऐतिहासिक पक्ष
[सम्पादन गर्नुहोस्]पलान्चोक भगवती मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले गरेका हुन् । विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । । नेपालका अन्य अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ । यो मन्दिर अलौकिक र अनुपम् कलाकौशलले भरिपूर्ण तथा आकर्षित रहेको छ । सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टुँडाल र झ्यालहरू कलात्मक काठका रहेका छन् धातुले नै मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ ।
मध्यकालको प्रारम्भमा यस जिल्लाका सात वटा स्थानहरू– चण्डेश्वरी नजिको बनेपुर बनेपा, प्रयाग तीर्थनेर पानवती (पनौती), नाला भगवतीनेर (नाला), नारायण तीर्थनेर धौखेल (धुलिखेल), धनेश्वरनजिकै श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रमनेर (चौकोट) र नासिकास्थान पीठनेर (साँगा)ले विशेष महत्व पाएकाले विकसित हुने अवसर पाएका थिए ।
मानदेव प्रथमको शासनकालमा स्थापित पलान्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा थियो । जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो । उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरेका थिए । यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले । त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो । यसरी निजको मृत्युपछि सो राज्य भादगाउँअन्तर्गत गाभिएकाले सात गाउँ नै भक्तपुरको अधीनमा गयो । केही भाग मात्र कान्तिपुरअन्तर्गत रह्यो ।
यस मन्दिरमा दर्शनार्थ काठमाडौं लगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ ।
वि.सं. २०३२ मा तत्कालीन सरकारले यस पलान्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् । यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक लोकोक्तिहरू छन् ।
काभ्रे जिल्लाको पलान्चोक भगवती स्वदेश र विदेशमा रहेका हिन्दुहरुका लागि प्रसिद्ध शक्ति पीठ हो । लिच्छवीकालीन भगवतीको यो मूर्ति अत्यन्तै सुन्दर छ । काठमाडौं उपत्यकास्थित शोभा भगवती, नक्साल भगवती, दक्षिणकाली पछाडि यो शक्ति पीठमा जीवनको एकपल्ट प्रत्येक हिन्दु होस् वा प्रत्येक नेपालीले एकपल्ट पुग्नैपर्ने हुन्छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने र निश्वार्थ मनले पूजा गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ ।[१]
किंवदन्ती
[सम्पादन गर्नुहोस्]यस पलान्चोक भगवतीलाई काभ्रेकै बुचाकोट भन्ने ठाउँबाट ल्याइएको हो भनाइ छ । बुचाकोट भगवती, पलान्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती छ । एक भगवतीको मूर्ति बनाइ सकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो । उसले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको किम्वदन्ती छ । बनाएका मूर्तिमध्ये बुचाकोटबाट पलान्चोक भगवतीको मूर्ति अन्य ठाउँमा ल्याउँदै थिए । त्यस ठाउँमा राती बास बसेपछि मूर्ति पनि त्यहिँ राखेछन् । भोलिपल्ट बोकेर हिँड्न लाग्दा मूर्ति उठाउन नसकेर भगवतीले यहि ठाउँमा बस्ने इच्छा गरेकाले त्यहि प्रतिस्थापन गरिएको भनाइ छ । पलाञ्चोक भगवतीलाई त्यहीँ राखी मन्दिर बनाएर पूजा गर्न थालियो ।[२]
व्यवस्थापन
[सम्पादन गर्नुहोस्]महारानीको आदेशानुसार नित्य पूजाको लागि गुठीको बन्दोबस्त गरियो । समय क्रममा मल्ल तथा शाह वंशीय राजाहरु तथा भगवतीप्रति श्रद्धा राख्ने भक्तजनहरुले आ–आफ्नो गच्छे अनुसार भगवतीको गुठीमा जमिन, गर गहना तथा पैसा चढाए । आस्था, मौखिक र हुकुमको आधारमा चलिआएको संस्कारलाई धार्मिक शासकिय क्रममा राजा राजेन्द्र बिक्रम शाहको पालामा पुजारी, बिर्ता र गुठी प्रमाणको लागि १८८४ मा लालमोहर लाग्यो ।
गुठी बन्दोबस्त र गुठी संस्थानको आगमनको साथमा पलाञ्चोक भगवतीको सम्पत्तिमा ह्रास आयो । यस्तै २०४२ सालमा तत्कालिन श्री ५ को सरकारका केन्द्रीय प्रशासनबाट आएका प्रशासकिय कर्मचारीहरु र सुरक्षा दस्तासहितको टोलीले द्योःछें बाट भगवतीको सम्पत्ति सुरक्षाको लागि भनि एक ट्रक अमूल्य गरगहना काठमाडाैँ लिएर गएको र त्यो कहाँ भण्डारण गरिएको स्थानीय कसैलाई पनि जानकारी दिइएन ।
भगवतीको महत्व लाई नमन गर्दै २०४५ सालमा काभ्रेपलाञ्चोक जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी बागेश्वरी चटौतले मन्दिर विकास समिती गठन गरी मन्दिर क्षेत्र विकासमा योगदान पुर्याएका थिए । मूख्य समिति क्रियाशिल हुन नसकेपछि विकासमा टेवा पुर्याउन स्थानीयले उप–समिति गठन गरेका छन् । खरेलथोकका अच्युत कृष्ण खरेलले मन्दिर सुरक्षार्थ बि.सं. २०५० सालमा तिनवटा फलामे च्यानल गेटको साथमा इटाको पर्खाल लगाए र शहरी विकास मन्त्रालयले मन्दिर परिसर बाहिर ढुङ्गा बिच्छ्याउने काम भयो । २०७२ सालको भूकम्पले बिग्रेको मन्दिरलाई स्थानीय सरकार र जन सहभागितामा गत वर्ष २०७६ मा जिर्णाेद्धार सम्पत्र भएको छ ।[३]
श्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "पलाञ्चोक भगवती मन्दिरबारे रोचक जानकारी -", Ujyaalo Network (en-USमा), २०२०-१२-१३, अन्तिम पहुँच २०२३-१२-२४।
- ↑ "पलाञ्चोक भगवती मन्दिरबारे रोचक जानकारी -", Ujyaalo Network (en-USमा), २०२०-१२-१३, अन्तिम पहुँच २०२३-१२-२४।
- ↑ उलक, विश्व (२०२०-०८-०७), "पलाञ्चोक माईको ऐतिहासिक र पर्यटकीय पक्ष", देशसञ्चार (en-USमा), अन्तिम पहुँच २०२३-१२-२४।