मेलौली भगवती मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलौली भगवती मन्दिर
मेलौली भगवती मन्दिर
प्राथमिक विवरण
स्थान:मेलौली,बैतडी
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
देशनेपाल

भौगोलिक अवस्थिति :[सम्पादन गर्नुहोस्]

नेपाल अधिराज्यको महाकाली अञ्चल सुदूरपश्चिम विकासक्षेत्र वैतडी जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने मेलौली गा.वि.स. वडा नं ६ मा महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकार जस्तै बनेको अति सुन्दर मैदानमा प्रसिद्घ मेलौली भगवतीको मन्दिर अवस्थित छ । बैतडीका ५६ बटा चर्चित गा.वि.स.मध्ये मेलौली पनि एक हो । यो अमर शहिद दशरथ चन्द, एसियाकी प्रथम महिला मन्त्री द्वारिका देवी ठकुरानी र पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला पनि हो । बैतडी जिल्लामा वहुसंख्यक गा.बि.स. हरूको नाम यहाँका प्रसिद्घ स्थानीय देवी देवताहरुका नामले नामाकरण गरिएको पाइन्छ । त्यसमा मेलौली गा.वि.स.पनि एक हो । जो प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय रहेको छ । मेलौली यहाँको प्रसिद्घ स्थानीय भगवतीको नाम हो । यो मन्दिर वैतडी जिल्लाको मात्रै नभएर सुदूरपश्चिम नेपालकै प्रसिद्ध मन्दिर हो । यसको अवस्थिति बैतडी पाटन न.पा.बाट दक्षिण पश्चिममा करिब ३३ कि.मि.को दुरीमा छ । पुरानो क्षेत्र विभाजनको आधारमा मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात एक दिनको पैदल दुरीमा पर्दछ । यस मन्दिर परिसरको जग्गाको क्षेत्रफल १३४ रोपनी छ । विशाल दुवाचौरमा आकर्षक शिखरशैली भित्रपर्ने प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर समुद्री सतहबाट लगभग १७०० मिटरको उचाईमा अवस्थित छ । बैतडी जिल्लामा यतिको उचाईमा सम्म परेको दुबोचौरले भरिपूर्ण एक मात्र स्थल यही मेलौली मन्दिर परिसर मात्रै हो । यहाँको हावापानी बाह्रै महिना समशीतोष्ण रहन्छ । पाटन न.पा.बाट सर्माली हुँदै पञ्चेश्वर जाने सडक यसै मेलौली मन्दिर परिसर भएर गइरहेको छ । इतिहासमा विभिन्न राज्यहरूको आरोह–अवरोह संगै यस मन्दिरको पुनःनिर्माण कार्य पनि हँुदै आइरहेको पाइन्छ । यस मन्दिरको नवीनतम् पुनःनिर्माण कार्य वि.सं २०३८ सालबाट सुरु भइ २०४३ सालमा सम्पन्न भएको थियो । यस वर्ष २०७३ सालको सुरुवात संगै यस मन्दिरको पुनःजीर्णोद्धार कार्यको शुभारम्भ गरिएको छ । मन्दिरको छाना मर्मत संभार गर्ने सिलसिलामा ताम्रपत्रले छाना छाउने उद्येश्यका साथ मन्दिर कोषका अतिरिक्त स्थानीय जनताको चन्दा–भेटीबाट थप सहयोग प्राप्त गरी काम अगाडि बढिरहेको छ । प्रसिद्ध शक्तिपीठका रूपमा मानिएको मेलौली भगवतीको मुख्य पूजा र जात्रा प्रत्येकवर्ष कात्र्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन हुने गर्दछ । उक्त अवसरमा यहाँ करीब दुईसय देखि पाँचसय सम्म ठूला राँगा र सोही सङ्ख्यामा बोकाहरूको बली दिइने गरिन्छ । लगभग चार दिन सम्म रहने जात्रा (जाँत)मा करौडौको व्यापार हुन्छ । नेजा, ध्वजा ,भाना, भोक्कर, झाँज लगायत दाईन–दमाहाको बाजा–गाजा सहित श्वेत फेटा र बागो लगाई सुन चाँदीको गहनामा सुशोभित हातमा चामर लिएर मेलैली र उदयदेवका धामीहरूले दशौँ व्यक्तिहरूले बोक्ने चक्डोलमा सवार भइ पूर्णिमाका बिहान सूर्योदयको मुहूर्तमा लगभग एक घण्टासम्म काम्नेगरेकोे अनुपम दृश्यले दर्शकहरूलाई मन्त्रमुग्ध तुल्याउँछ । यो अवसरलाइ धामीकाम्ने, डेउडाखेल्ने, आफन्त तथा इष्टमित्रहरूसँग भेटघाट हुने अवसरका रूपमा पनि लिने गरिन्छ । मन्दिर परिसरको मध्यमा रहेको २५ मिटरभन्दा बढी उचाइ भएको फलामे पिँङ जसलाइ स्थानीय भाषमा ‘हिंगलो’ भन्दछन् । सम्भवतः यो सु. प. मा नै सबभन्दा अग्लो पिङ् हुनु पर्दछ । यसका अलावा यसमन्दिरमा चैतै नवरात्र र असोजका नवरात्रमा पनि नित्य पाठ–पूजा र बली चढाइने गरिन्छ । श्रावण र भाद्र महिनामा पर्ने सुदूरपश्चिमको प्रसिद्ध चाड गौरापर्वमा समेत यहाँ ठूलो मेला लाग्ने गर्दछ । सु.प.मा गौरा पर्व यस मन्दिर परिसरमा सबैभन्दा लामो समयसम्म रहने गर्दछ । गौरापर्वमा स्थानीय देवी–देवता ,वीरपुरुषहरु, भगवती, कौरव ,पाण्डव तथा रामका कथाहरू ढोल र मजुरा बजाई ठाडो खेलको रूपमा युवा–युवतीहरु तथा बृद्धहरु ठूलो श्रद्धाका साथ खेल्ने गर्दछन् । यी जात्राहरूमा महिलाहरूले लगाउने पुरानो समयको पहिरन अंग्रेज कालका चाँदीका भिक्टोरियन कम्पनीमाला, झुमझुमी बाला, नथु, मुदडा,कन्नी पैडा, आङ्गडो, घाँगरो, पिछौडा, गामन इत्यादि आफ्नो पारम्परिक पोसाकहरुका साथ सु–सज्जित बृद्घ महिलाहरूको समूह अत्यन्तै रोचक र मनमोहक लाग्ने गर्दछ । तर नयाँ पिढिका युवा र युवतीहरूले पाश्चात्य शैलीको अनुकरण गर्दा यो पहिरन अब पूर्णरूपले लोपोन्मुख अवस्थामा रहेको छ ।

देउकी प्रथा र त्यसको अन्त्य[सम्पादन गर्नुहोस्]

लगभग ११ औँ शताब्दि देखि सुदूरपश्चिम भित्रका मेलौली लगायत अन्य कैयौँ प्रसिद्ध मन्दिरहरूमा भाकल पूर्ण भएपछि स्थानीय व्यैश्य जातिकी कन्या छोरीहरुलाइ आजीवन देवदाशीको नाममा (देउकी) बनाएर चढाउने प्रथा थियोे । देउकीहरूको काम सम्वन्धित् देवताको मन्दीर परिसरमा नित्य सरसफाइ गर्ने, पूज–पोखल व्यवस्थापन गर्ने ,चवँर हाक्ने तथा मन्दिरका मुखिया र पुजारीलाइ आवश्यक सहयोग गर्ने हुन्थ्यो । तर २०४२ सालतिर नेपाल सरकारले कानुन बनाएर यस कु–प्रथाको पूर्ण अन्त्य गरिसकेको छ । त्यसैले हाल नयाँ देउकी बन्ने बनाउने क्रम रोकिएको अवस्थामा छ ।

मेलौली भगवतीको उत्पत्ति सम्वन्धी प्राचीन कथा[सम्पादन गर्नुहोस्]

[१] लगभग ११ आंै शताब्दितिर भारत विजय प्राप्त गरिसकेका मुस्लीम शाशकहरूले देशका कैयौँ भागमा त्यहाँ निवास गरिरहेका मानिसहरुलाइ इस्लामधर्म कबुल गर्न वा देश छोड्ने उर्दी जारी गरे । यसले ठूलै आतङ्गको रुप लियोे । वर्तमान उत्तराञ्चलराज्यको कुमाउँमा पर्ने ‘कत्यूर’ भन्ने ठाउँमा निवास गर्दै आइरहेका कैयौँ कत्युरा हिन्दुहरु मुसलवानधर्ममा जान नसकेर आफ्ना पुर्खाले मान्दै आइरहेको सनातन धर्म बचाउन महाकालीनदी पार गरी बैतडी जिल्लाको ग्वाल्लेक केदारको धुरामा आइ जंगली पाराले हिंसाबृत्ति वा शिकारगरी जीवनयापन गर्न थाले । हिंसाबृत्तिका कारणलेगर्दा केही महिनापछि पछि त्यहाँ अशान्ति हुनथाले पछि त्यो ठाउँछोडि ‘सिरोडा’ भन्ने ठाउँमा बसाई सरे । त्यहाँपनि दैवीय प्रभावले गर्दा अशान्ति हुनथाले पछि पुनःत्यो ठाउँसमेत छोडी हालको मेलौली स्थानमा आइ बस्न थाले । त्यहाँ पनि अचल हुँदैजादा केही कत्युराहरु त्यहाँबाट अन्यत्र गए भने केहीले आफ्नो थर र आचरण परिवर्तनगरी त्यसै ठाउँमा स्थायी बसोबासको शुरुवात गरे । कालान्तरमा यसरी स्थायी बसोबास गर्दै आइरहेका एकजना कत्युरा पोखर्याल थर भएका मानिसको दुधारु गाई नित्य ‘खलगाःड’ गाउँबाट ग्वाल्लेक केदारको धुरामा रहेको मेलौलीको शिलामा दूध चढाउँने गर्दथ्यो । गाई जाने बेलामा अतिदुर्गम सिमपडको उकालो चट्टान भएको बाटोबाट जाने र फर्किदा सिरोडाको सरल बाटो भएर आउँने गर्दथ्यो । दुधारुगाइले घरमा दूध दिन छाडे पछि गोठालामाथी बनमै दूध दुहेर खाएको झुटो आरोप लाग्न थाल्यो । तर यो कुरा स्वयं गोठालोलाई समेत थाहा थिएन । दिनहुँजसो सोही क्रम दोहोरिन थालेपछि एकदिन गोठालोले त्यस गाइको पिछा गर्यो । गोठालोले ग्वाल्लेकधुराको झाडीमा गएर गाईले एउटा शिला माथि दूध चुहाइरहेको देख्यो । उसले तुरन्त घरमा आएर गाई मालिकसंङ्ग उक्त कुरा बताएपछि भोलिपल्ट गाउँका अरू मानिसहरु पनि सो स्थानमा गए । त्यो दूध बगाइएको ठाउँमुनि एउटा शिला भेटियो । गाई मालिकले गाउँलेहरूको समेत सल्लाह लिई त्यस शिलालाई दूध खाने अज्ञात देवशक्ति भएको ठान्दै त्यसलाइ महाकाली नदीमा विसर्जन गर्न भनी डोकोमा हालेर सुकेको ‘मेल’ काठको लट्ठीटेक्दै महाकाली नदी तर्फ प्रस्थान गरे । गाई मालिक पोखर्याल लाइ वैतडीको ‘देही’ भन्ने ठाउँमा पुगिसके पछि दिशा–पिसाव र तिर्खा लाग्यो । उसले शौचगर्न, हात–मुख धुन र पानीखान भनी डोको त्यहीँ बिसायो । आफुले टेक्दै आइरहेको ‘सुकेको मेलको लट्ठी’ पनि त्यहिनेर जमिनमा गाड्यो । पोखर्यालले शौच गरिसकेपछि त्यहाँ रहेको सौडानी न्वाःलो, देउ न्वाःलो लगायतका स्थानमा पानीको खोजी गर्यो तर पानी पाएन । भएको पानी पनि बिलाउदै गरेको अद्भुत दृश्य देख्यो । साथै उसले त्यहीँ आफैले गाडेको सुकेको मेलको लठ्ठी समेत पलाएर हरभरा भएको देखेपछि उ छक्क पर्यो । उसले विस्मित भएर डोकोनेर गई “हे शिला ! शौच शुद्घिगर्न पानी नपाइने भयो अब म तिमीलाइ कसरी उठाउँ” भन्यो । डोको भित्ररहेको शिलाबाट “तिमीलाई म पानी दिनेछु, तर मलाइ अव कँही नलग्नु यहीँ छोडिदिनु म यहीँ बस्ने छु ” भन्ने आवाज आयो । पोलर्यालले “हुन्छ प्रभू !” भन्ने उत्तर दिए पछि त्यसैबेला एउटाकाग उड्दै आएर नजिकै रहेको ठूलो ढुङ्गमा बसी कराउँदा त्यसै ढुङ्गाको चीराबाट तुरन्त पानी फुट्यो र पोखर्यालले पनि शुद्घि गर्न पाएको थियो भन्ने किंवदन्ती रहीआएको छ । त्यो शिला अहिलेपनि मेलौली मैदान परिसरमा रहेको देख्न सकिन्छ । त्यस्तो आश्चर्यजनक घटना पोखर्यालले अरूहरूलाई पनि सुनाए–देखाए पछि उक्त शिला र मेलको लठ्ठीको त्यसै दिन देखी पूजा–आजा गर्न थालियो । सुकेको मेलको लट्ठी लाइ आफ्नो शक्तिले तुरन्तै हराभरा गर्न समर्थ भएकिले उक्त दैवीय शक्तिलाइ ‘मेलौली’ नामाकरण गरियो । त्यो मेलको हराभरा भएको बोट अहिले पनि गाथभित्र यथावत् छ । कालान्तरमा त्यही घटना लेगर्दा त्यस स्थानको नाम पनि ‘मेलौली’ रहन गएको हो । यो घटना घटेको अनुमान गरिएको ११ औँ शताब्दितिर ‘कत्युर’ वंशका एकजना व्यक्तिबाट सर्वप्रथम काठको खम्बा गाडेर काँस र कुशको छानो बनाई यस मन्दिरको प्रथम स्थापना गरिएको थियो । केही दिन पछि उक्त काँस–कुशले छाएको मन्दिरमा आगलागी हुँदा धर्मज्यू भन्ने एकजना स्थानीय मुखियाले उपहास गर्दै आफ्नो चोर औला ठड्याएर मन्दिरमा आगलागी भएको देखाउँदा उनिसित मेलौली भगवती रिसाइन् । उनको चोर औलामा तुरन्त घाउ प्रकट भयो । केही दिन पछि घाउ कुहिएर चोर औला खसेको थियो भन्ने किंवदन्ती पनि छ । अहिलेपनि धर्मज्यूको वंशमा देवीको श्रापले गर्दा एकजना मुख्य व्यक्तिको हातको चोर औला हुँदैन । यो चमत्कार अझैंपनि प्रत्यक्ष देख्न सकिन्छ । त्यसबेला हालको मेलौली परिसर जाःड जातीका राजाको इलाका भित्रपर्न आउँथ्यो । ती राजा मेलौली भगवतीको अनादर गर्दथे । तर छिमेकी राज्यका चन्दवंशीय राजा दीपचन्द भने मेलौलीका अनन्य भक्त थिए । उनी मैलौलीको प्रत्येक पुजेलीपर्वमा मन्दीर परिसरमा आइ नित्य पूजा गर्ने गर्दथे । केहीवर्ष पछि मेलौली भगवतिको इच्छा बमोजिम राजा दीपचन्दले जाःड राजालाइ त्यहाँबाट भगाए । प्रसन्न भएकी मेलौली भगवतीले आजदेखी मेरो जात्राकादिन हुने चौलोमा तिमीले सन्तान दर सन्तान डेढ घडी घोडाचढ्नु भन्ने सम्मान दिएकी थिइन् । यो परम्परा अहिले पनि यथावत रहीआएको छ । जात्राका दिनमा मात्र दीपचन्दका सन्तानहरूले माणौ परिसरमा घोडामा सवार गर्न पाउँछन् । त्यो दिनका अलावा अन्य दिनमा भने सतर्कभइ खालीपाउ भगवतीको माणौमा जानुपर्ने प्रावधान छ । धेरै पहिले कत्युरेहरुकै पालामा देवीलाइ कुनैएक भक्तले ६० माना चामल भात पकाउन सक्ने तामाको ताउलो चढाएका थिए । अहिले देवीका कारिन्दा नायकहरु उक्त ताउलोमा भात पकाइ जात्रामा आउने राजा दीपचन्दका सन्ततिहरु तथा चौलो खेल्ने अन्य भक्तहरूलाई प्रसाद बनाएर खुवाउने गर्दछन् । कार्तिक शुक्लपूर्णिमाका दिन चौलो समाप्ति भएपछि देवीले चन्दहरुलाइ आफ्नो नजिकको आफन्त मानी पुजारीमार्फत पहिलो टिका लगाउने र प्रसाद स्वरुप बलिदिइएको बोकाको दायाँ फिलो दिने गर्दछिन् । त्यस्तै चन्दहरूबाट मात्रै देवीले पहिलो राँङो बली लिने प्रचलन रहि आएको छ ।

मेलौली भगवतीको मन्दीर हाल शिखर शैलीभित्र पर्ने प्यागोडा शैलीमा निर्माण गरिएको छ । यस मूल मंन्दिरका अतिरिक्त पोखरी स्थित भगवतीको भण्डार घर (भणार)लाई तथा काफडी स्थित ठाकुर मन्दिरलाई पनि प्यागौडा शैलीमा निर्माण गरिएको छ । यी दुबै मन्दिर दर्शनीय छन् । काँडा बजार स्थित शिखर शैलीको शिवमन्दिर नजिकको टोल र गाउँहरूमा मष्टा, गैसरे,बामनी, सिद्ध, भूतनाथ, लाटो, रतनपुरी आदीका देवस्थान र माण्डौ खुला देवस्थानका रूपमा स्थापित गरिएका छन् । विभिन्न पर्वमा आ–आफ्नो जातीयपरम्परा अनुसार पूजा–आजा गर्ने चलन छ । यी देवी–देवतालाई मेलौली भगवतीका सहयोगी शक्तिका रूपमा लिने गरिन्छ । यस मन्दिर परिसरबाट एक दुईघण्टाको पैदल दुरीमा रहेका प्रसिद्ध मन्दिरहरूमा शिवनाथ, महारुद्र, ठाकुरमन्दिरउदयदेव, ग्वाल्लेक केदार, गंगेश्वर, आदी दर्शनीय धार्मिक स्थलहरु अवस्थित छन् । यस मन्दिरको पश्चिममा पर्ने अम्चोराभन्ने ठाउँमा शिव–पार्वतीको व्रmीडास्थलको रूपमा विश्वास गरिएको देवतालको समीपमा गणमेश्वर शिवको सिंहमर्मरकोे अति सु–मनोहर मन्दिर निर्माण गरिएको छ ।

धामी, भणरे,पुजारी, मुखिया,कार्यकर्ता र अन्य भक्तजनहरु[सम्पादन गर्नुहोस्]

मेलौली भगवतीका मुख्य धामी स्थानीय भुल क्षेत्रीबाट हुने गर्दछन् । केही वर्ष पहिले यिनिहरूको बसोबास भारत उत्तराञ्चलराज्यको कुमाउँमा थियो । वर्तमान धामी हुनुभन्दा पहिले वर्तमान धामीकै बाजेको पालमा भारतको कुमाउँबाट जात्राको दिन पूर्णिमाको विहान सूर्योदयको मुहूर्तमा धामी त्यहिबाटै कामेर महाकालीनदी तरी मेलौलीको मन्दिरमा आई चकडोलमा सवार हुने गर्दथे । विशाल महाकाली तर्दा दिव्य शक्तिको प्रभावले पाउ मात्रै भिजेका हुन्थे रे । मेलौली भगवतीको भण्डार नजिकै रहेको काँडा गाउँका भाटहरुका जिम्मामा रहन्छ । मेलौली गा.वि.स.वडा नं ६ खलिगाःड तथा आगरा गाउँमा बस्ने उपाध्याय जोशी, ओझा, र भट्टथरका ब्राह्मणहरु मेलौली भगवतीका पुजारी हुने गर्दछन् । मन्दीर नजिकै रहेको देहीगाउँमा बसोवास गर्ने नायकथरका मुखिया परिवारबाट सन्तान–दरसन्तान यस मन्दिरका मुख्य व्यवस्थापक हुने गर्दछन् । यी नायकथरका मुखिया स्थानीय सिद्घदेवताका धामी समेत हुन्छन्् । यिनले मेलौली मन्दीरको मुख्य खम्बा जसलाइ स्थानीय भाषामा (कालोखाम) भन्दछन्, त्यसैको छेउमा बसेर मन्दिर सम्वन्धी आवश्यक सबै विषयमा ‘पञ्चनी’ अथवा (छलफल) गर्नुपर्ने परम्परा रहिआएको छ । त्यस्तै मन्दिरको सुरक्षा गर्ने जिम्मेदारी कालो साँउदको राठ र कुचगाःडका धामीको जिम्मामा रहन्छ । ११ औँ शताब्दिमा भारतको उत्तराञ्चलमा पर्ने देवप्रयाग(दुवानगर)कत्युराबाट आएका भुलक्षेत्री द्याल, पोखर्याल, नेगी, नायक, घर्ती, पात्तर,रैसवाल,धनाडी,भाट,नायक, ,महता,साउँद,ठगुन्ना,मेलौली भगवतीका अन्य आवश्यक सबै कार्य सम्पादन गर्ने कारिन्दाहरु हुन् । यस मन्दिरमा राजा नागीमल्लको केही सामान्य देन रहेपनि उनका सन्तान मानिने धनी शाहीले स्थानीय निवासीहरु माथि ठूलो अत्याचार गरेका हुनाले उनलाइ मेलौली भगवतीले श्राप दिएर स्थान निकाला गरिदिएकी थिइन् । धनीशाहीलाई माता मेलौलीले भनेकै दिनमा हत्कडी लागेको थियो । १२ औँ शाताब्दीका कालीका उपासक र सिद्घ पुरुषको रूपमा चिनिने बैतडी पाटनराज्यका राजा उदयदेव पनि जगतजननी मेलौलीका अनन्य भक्त थिए । अहिले पनि मेलौलीको जात्रामा उदयदेवको धामीलाई चक्डोल अथवा (मेलौली भगवतीको मान्छेले बोक्ने रथ) मा सवार गराइन्छ । [२] मेलौली भगवतीको प्रत्येक जात्रामा पुजारीहरूबाट तान्त्रिक तथा पारम्परिक दुबै पद्घतिबाट पूजा हुने गर्दछ । पुजारी तथा पुजागर्ने कर्ता नायक मुखियाले शौच–स्नानबाट निवृत भई ,चोखो सफा बस्त्र लगाइ, भगवतीकोे विधिवत् पूजा–आराधना गर्ने गर्दछन् । मन्दीरको मुख्य गर्भगृहमा सर्वसाधारणको प्रवेश निषेध छ । चतुर्दशीका साँझ को पुजासम्पन्न भैसकेपछि बोकाहरूको बली चढाइन्छभने पूर्णिमाका बिहान चक्डोल फर्की सकेपछि राँगाहरूको बली चढाइन्छ । प्रत्येक पूजा र जात्रामा यस वैतडीक्षेत्र आसपास निवासगर्ने सातबहिनी भगवतीहरु क्रमशः डिलासैनी,बोदलाशैनी,पोटलाशैनी,भगाशैनी,भरणशैनी,रणसैनी र निङ्गलासैनी का साथै डडेलधुराकी उग्रतारा,डोटीकी शैलेश्वरी,एवं बाजुरा जिल्लाकी बडिमालिका लगायत अन्य सबै भगवतीहरूको आह्वान र पूजा गरिन्छ ।

जात्रा वृतान्त[सम्पादन गर्नुहोस्]

मेलौली माताको मुख्यजात्रा हुनेदिन भनेको कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाको दिन हो । डडेलधुरा जिल्लाकी प्रसिद्घ उग्रतारा भगवती पनि यसै दिन पुजिन्छन् । यसका अलावा असोज महिनाका नवरात्र र चैत्रमहिनाका नवरात्रमापनि मेलौली भगवतीको नित्य बलि–पूजा हुने गर्दछ । चतुर्दशीका दिन साँझ चार बजे तिर रोकटागाँउबाट आउने चन्दहरूको चौलो धेरै आकर्षक हुन्छ । यो चौलो हेर्न देश विदेशबाट धेरै पर्यटकहरु आएका हुन्छन् । भक्तहरू जात्राकादिन मेलौली भगवतीको भण्डारघरबाट ‘चकडोल’ निकाली बाजा–गाजा र सयकडौ राँगा–बोकाका साथ धुमधामसंङ्ग मेलौलीको मन्दीरतर्फ प्रस्थान गर्दछन् । त्यस दिन नजिकै रहेका पोखरीगाउँ, रोकटागाउँ, झुरकालीगाउँ, खलगाःड , मेलौली, काँडा, लगायत भारत उत्तराञ्चल राज्यबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउँने गर्दछन् । भोलिपल्ट पूर्णिमाको बिहान सूर्योदयको शुभ–मुहूर्तमा यी दुर्गास्वरुप भगवतीको पूजा भैसकेपछि मेलौली र उदयदेवका मूख्यधामीका अतिरिक्त अन्य सबै स्थानीय धामीहरू आफ्नो प्राचीन भेषभुसा झल्काउने किसिमको पोसाक चन्दन,आभूषण, इत्यादि लगाई काम्न सुरु गर्दछन् । सो जात्रामा भक्तहरू देवीको भण्डारघरबाट दाइन–दमाउ नरसिंश बाजा,छडि,झाझ,भोक्कर,त्रिशुल,ध्वजा,नेजा,गाँज लगायतका देवीका सरसामानहरु निकाली जुलुसमा सहभागी हुन्छन् । मेलौली र उदयवेवका धामीमा कम्पन आइसकेपछि उनिहरु दुवै चकडोलमा सवार हुन्छन् भने बाँकी धामीहरू तल चकडोल मुनिनै रहन्छन् । चक्डोलको दायाँ–बायाँ अगाडि भट्ट र पछाडि नायकथरका दशौँ मानिसहरूको काँधमा ‘चकडोल’ जात्रा चल्दछ । जात्रा उत्तरदिशातिर अगाडि बढीसकेपछि मेलौलीका धामीले ग्वाल्लेक केदारको दर्शनगर्दै दायाँहातको बुढिऔला देखाएर आफ्नो शक्तिको प्रदर्शन गर्दछन् । दिउसो २ बजेतिर नायक मुखियाको घरबाट दुइघण्टाको लागि दीपचन्दका सन्तानहरुलाइ घोडामा सवार गराइन्छ । हतरंङ्गागाउँका भट्टहरूले ल्याउँने विशाल गाँजको दर्शनहुने वित्तिकै उनिहरूलाई घोडाबाट सम्मानकासाथ तल ओरालिन्छ । त्यसपछि साँझ ५बजेतिर जात्राको अन्त्य हुन्छ ।

मेलौली भगवतीको जात्रामा विभिन्न जातिहरू माथि लगाइएका बन्देजहरु :[सम्पादन गर्नुहोस्]

  • १ – नायकथर भएका व्यक्तिहरुहरुकी पत्नीहरुलाइ अधेका भएर बस्नु पर्ने ।
  • २ – चन्द वंशीय ठकुरानीहरुलाइ मेलामा आउँन निषेध गरिएको ।
  • ३ – भाट पत्नीले बली चढाउने स्थान ‘चौसठ्ठी’ तिर जान नपाइने ।
  • ४ – सम्दुराठ चन्दका सन्ततिको अनुमतिविना मन्दिरको द्वार कसैले खोल्न नहुने ।
  • ५ – दीपचन्दका सन्तान भन्दा अरु कसैले मेलौली मन्दिर परिसरमा घोडा चढ्न नहुने ।

मेलौली भगवतीकोे गुठी[सम्पादन गर्नुहोस्]

सेरागाउँ, खलगाःड, झुरकाली पोखरीगाउँ, काँडागाउँ मेलौलीगाउँ गरी चारकाणा वारवालाको गुठि रहेको छ,भने चार ठाउँमा भगवतीका भणारघरहरु पनि रहेका छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. स्थानिय भनाइ
  2. सुदूरपश्चिम नेपालको प्राचीन इतिहास

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]