नेपालमा खेलकुद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालमा खेलकुद सम्बन्धी गतिविधि तयार गर्ने सबैभन्दा ठूलो निकाय वा संस्थाका रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) रहेको छ । तर नेपालमा राखेपको गठन हुनुभन्दा अगाडिदेखिनै क्रिकेट, ब्याडमिन्टन, टेबुलटेनिस, फुटबल, हकी तथा टेनिस जस्ता खेलकुदहरूको संघको गठन भइसकेको थियो । किनकी नेपालमा वा काठमाडौंमा यी खेलहरू प्रति राणाकालीन प्रभाव निकै लोकप्रिय रहेको थियो । उपत्यका भित्र देखा परेको खेलकुदको लोकप्रियता दृष्टिगत गरेर वि.स. २०१५ सालमा तत्कालीन शिक्षा मन्त्री परशुनारायण चौधरीको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्´´ गठन गरिएको थियो । उक्त परिषद्को पहिलो सचिव होरा प्रसाद जोशी रहेका थिए ।

हाल नेपालको राष्ट्रिय खेलकुदको आधिकारिक रूपमा भलिबल खेल रहेको छ । यस अधि कपर्दी तथा डण्डीबियोलाई राष्ट्रिय खेलकुदको उपमा दिइएता पनि पुर्ण मान्यता वा औपचारिक रूपमै घोषण भने गरिएको थिएन ।

राष्ट्रिय खेलकुद परिषद्[सम्पादन गर्ने]

विधिगत रूपमा नेपाली राष्ट्रिय खेलकुद परिषद्/(राखेप) को स्थापना वि.स. २०१७ साल फाल्गुन १७ गते भएको थियो । वि.स. २०१५ सालमा स्थापित राष्ट्रिय स्वास्थ तथा खेलकुद परिषद्को नाम परिवर्तन गरि राष्ट्रिय खेलकुद परिषद् वा छोटकरीमा राखेप राखिएको थियो ।

अन्तर्राष्ट्रिय मुख्य सहभागीतामा नेपाल[सम्पादन गर्ने]

नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सन् १९५१ मा भारतको नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुदबाट सहभागीता जनाएको थियो । यस्तै नेपालका तर्फबाट अन्तर्राष्ट्रिय सहभागीतामा पहिलोपटक पदक जित्ने खेलाडी जितबहादुर केसी हुन् । उनले सन् १९७३ मा फिलिपिन्सको मानिलामा आयोजना भएको पहिलो एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पियनसिप मा कांस्य पदक जितेका थिए । नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जिताउने प्रथम खेलाडी भने बैकुण्ठ मानन्धर हुन् । उनले पहिलो दक्षिण एसियाली खेलकुदमा म्याराथन तर्फ नेपालका लागि पहिलो स्वर्ण पदक जितेका थिए ।

तत्कालीन नेपालको श्री ५ को सरकारले नेपाली खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि २०४३ सालमा एक विशेष पुरस्कार राशिको व्यवस्था घोषण गरेको थियो । जसअनुसार ओलम्पिकमा क्रमश स्वर्ण, रजत र काश्य जित्ने खेलाडीलाई ५ लाख, २ लाख, र १ लाख तथा एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य जित्ने खेलाडीलाई १ लाख, ५० हजार, र २४ हजार साथै दक्षिण एसियाली खेलकुदमा स्वर्ण, रजत र काश्य जित्ने खेलाडीलाई ५० हजार , २५ हजार, र १० हजारको व्यवस्थापन गर्ने भन्ने निर्णय गरेको थियो ।

ओलम्पिक[सम्पादन गर्ने]

नेपालले पहिलोपटक सन् १९६४ मा जापानको टोकियोमा भएको ओलम्पिक खेल देखि ओलम्पिक खेलमा सहभागीता जनाउन सुरू गरेको हो । साथै नेपालले सन् १९६८ सालमा मेक्सिकोमा भएको ओलम्पिक खेल बाहेक अहिलेसम्म सबै ओलम्पिक खेलमा सहभागीता जनाउदै आएको छ । नेपालले उक्त ओलम्पिकमा बक्सिङ तथा म्याराथन गरि जम्मा दुई खेलमा मात्र सहभागीता जनाएको थियो । यस ओलम्पिकमा सुशील शमशेर जबराको नेतृत्वमा रहेको नेपालका तर्फबाट म्याराथन दौडमा गंगा बहादुर थापाभूपेन्द्र केसीले सहभागीता जनाएको थिए भने बक्सिङ खेलमा नामसिंह थापा, रामप्रसाद गुरूङॐ प्रसाद पुनले सहभागीता जनाएका थिए ।

सन् १९८८ को सोल ओलम्पिकमा प्रदर्शनी खेल तेक्वान्दोमा विधान लामाले कांस्य पदक जितेको थियो । तर यो पदक ओलम्पिक खेलको पदक तालिकामा गणना नहुने हुदाँ पनि नेपालका लागि ओलम्पिक सहभागी मात्र सहभागीतामा मात्र सिमित रहेन पुगेको छ । कारण नेपालले अोलम्पिक खेलमा हालसम्म त्यसबाहेक कुनै पदक जित्न सफल भएको छैन । तर नेपाली खेलाडीहरूले भने ओलम्पिकका खेलहरूमा अनेक राष्ट्रिय किर्तिमानहरू कायम गर्न सफल भएका छन् ।

एसियाली खेलकुद[सम्पादन गर्ने]

नेपालले हालसम्म एसियाली खेलकुदमा जम्मा दुईवटा रजत पदक जितेको छ । अन्तिम पटक नेपालले इन्डोनेसियाको जार्कटामा सम्पन्न भएको प्याराग्लाइडीङ खेलमा रजत पदक जित्न सफल भएको थियो । भने पहिलोपटक नेपालले झन्डै एसियाडको सहभागीता जनाएको ४७ वर्षको लामो इतिहासमा सन् १९९८ बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलमा रजत पदक जित्न सफल भएको थियो । उक्त पहिलो रजत पदक सविता भण्डारीले जितेकी थिइन् ।

नेपालले एसियाली खेलकुदमा पहिलो संस्करण देखिनै सहभागीता जनाउँदै आइरहेको थियो । तर नेपालले पहिलोपटक पदक भने दसौं एसियाली खेलकुदमा जित्न सफल भएको थियो । तेक्वान्दोका खेलाडी विधान लामा ले उक्त एसियाली खेलकुदमा कांस्य पदक जित्न सफल भएका थिए ।

दक्षिण एसियाली खेलकुद[सम्पादन गर्ने]

वास्तवमा नेपाली खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्ने प्रमुख बृहत् खेलकुद प्रतियोगितानै दक्षिण एसियाली खेलकु/साग गेम हो । नेपाल दक्षिण एसियाली खेलकुदमा आफ्नै किसिमको पहिचान बनाउन सफल भइसकेको छ । भने नेपाली खेलाडीहरूले दक्षिण एसियाली खेलकुद क्षेत्रमा अनेक कीर्तिमानहरू समेत राख्न सफल भएका छन् । कुनै पनि बृहत् खेलकुदको सर्वाधिक महत्त्वपूर्ण तथा ठूलो स्वर्ण पदकका रूपमा लिइने फुटबल खेल तर्फको स्वर्ण पदक नेपलली पुरूष टिमले तीन पटक जिति सकेको छ । तर महिला टिमले भने लगातार फाइनलमा स्थान बनाए पनि फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाउनु परेको छ ।

नेपालले हालसम्म दुईपटक दक्षिण एसियाली खेलकुदको सफल आयोजना गरिसकेको छ । सन् १९८४ मा भएको पहिलो साफको संस्करणमा नेपालले ४ स्वर्ण सहित कुल २४ पदक जित्न सफल भएको थियो । उक्त साफमा म्याराथनका खेलाडी बैकुण्ठ मानन्धरले नेपाली खेलकुद जगतमानै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भएका थिए । साथै नेपाली राष्ट्रिय फुटबल टिमले फुटबल तर्फको महत्त्वपूर्ण स्वर्ण हात पार्दा नेपालले दुई स्वर्ण बक्सिङ खेलबाट जितेको थियो । यस साफ गेममा नेपालले स्वर्ण पदक बाहेक १२ रजत पदक तथा ८ कांस्य पदक जितेको थियो र सात देश सहभागी पदक तालिकामा चौथो स्थानमा रहन सफल भएको थियो ।

यस्तै नेपालले दोस्रो पटक सन् १९९७ मा आठौं साफ खेलकुदको आयोजना गरेको थियो । यो साफ गेम नेपालका लागि अहिलेसम्मकै सबैभन्दा सुखद तथा उत्कृष्ट साग गेम हो । जुन साफ गेममा नेपालले अपेक्षा गरेको भन्दा बढी सफलता प्राप्त गरेको थियो । आयोजक नेपालले यस सफ गेममा सर्वाधिक ३१ स्वर्ण पदक जित्न सफल भएको थियो जबकि नेपालले यो साफमा जम्मा १५ स्वर्ण पदकको मात्र अपेक्षा गरेको थियो । नेपाललका लागि ऐतिहासिक रहेको यस साग गेममा नेपालले ३१ स्वर्ण पदक, १० रजत पदक र २४ कांस्य पदक सहित कुल ६५ पदक जितेको थियो । यसै साग गेममा नेपाल पहिलोपटक स्वर्ण पदकको आधारमा प्रतियोगिताको अन्तिम पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

नेपाल राष्ट्रिय खेलकुद[सम्पादन गर्ने]

नेपाली खेलकुद जगतको सबैभन्दा ठूलो खेलकुद महाकुम्भका रूपमा नेपाल राष्ट्रिय खेलकुदलाई लिन सकिन्छ । नेपाल राष्ट्रिय खेलकुदको सुरूवाट वि.स. २०३८ साल देखि भएको थियो । यस प्रतियोगिता हरेक दुईदुई वर्षको अन्तरालमा आयोजना गर्ने भनिएता पनि नेपालको घरेलुु विभिन्न आन्तरिक समस्याहरूका कारण त्यो सम्भव भने हुन सकेको छैन । त्यसैले राखेपले २०७३ सालसम्म आउदा जम्मा सात वटा राष्ट्रिय खेलकुदको संस्करणहरू आयोजना गर्न सफल भएको थियो ।

खेल मैदानहरू[सम्पादन गर्ने]

दशरथ रंगशाला[सम्पादन गर्ने]

दशरथ रंगशाला

दशरथ रंगशाला नेपालको सबैभन्दा ठूलो रंगशाला हो । रंगशालाको कुल दर्शक क्षमता जम्मा १८,३४३ रहेको छ । यो रंगशालामा मुख्य गरि फुटबल खेल खेलिने गरिन्छ । त्यसबाहेक यो रंगशालामा एथलेटिक्सका विभिन्न खेलहरू समेत आयोजना गरिने गरिन्छ ।

खेलकुद पुरस्कार तथा अवार्डहरू[सम्पादन गर्ने]

नेपालमा हाल वर्तमान समयकालमा दिइने सबैभन्दा ठूलो खेलकुद पुरस्कार पल्सर स्पोर्ट्स अवार्ड हो । जुन प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शनी गर्ने नेपाली खेलाडीहरूलाई प्रदान गर्ने गरिन्छ । यो अवार्डमा विभिन्न विधामा रहेर खेलाडीहरूलाई पुरस्कार वितरण गरिने गरिन्छ । साथै पहिले-पहिले राखेप द्वारा वर्षको सर्वोत्तम खेलाडीका रूपमा पनि पुरस्कार वितरण गर्ने गरिन्थ्यो । यो पुरस्कार अन्तर्गत प्रत्येक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरूष खेलाडीबीच बाछ एक मात्र खेलाडीलाई पुरस्कार प्रदान गर्ने गरिन्थ्यो ।

खेल सङ्ग्रहालय[सम्पादन गर्ने]

काठमाडौंमा स्थित दशरथ रंगशालाको दक्षिण तर्फको प्याराफिट तल एउटा कोठामा नेपालकै पहिलो ओलम्पिक सङ्ग्रहालय रहेको छ । यो सङ्ग्रहालयको स्थापना वि.स. २०५२ सालमा भएको थियो । यो सङ्ग्रहालय पछि वि.स. २०५६ साल असोज महिनामा लगभग २ लाख ५० हजारको लागतमा नेपालकै पहिलो खेलकुद सङ्ग्रहालयका रूपमा स्थापना भएको थियो । यो सङ्ग्रहालयमा नेपाली खेल इतिहास दर्साउने अनेक खेल सामाग्रीहरू रहेको छ ।

ठूला घरेलुु खेलकुद प्रतियोगिताहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]