होली

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
होली
रंगहरूको चाड
A celebration of Holi Festival of Colors, Utah United States 2013.jpg
होली खेलिरहेको
आधिकारिक नाम होली
यो पनि भनिन्छ फागु पुर्णिमा.
प्रकार हिन्दु
अनुष्ठान होलीको अघिल्लो रात: होलीका दहन
होलीको दिन: अरूलाई रंग छर्कने, नाचगान गर्ने
सुरूवात फाल्गुण पूर्णिमा
मनाइन्छ बार्षिक
सम्बन्ध नेपाल भारत

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

इतिहास[सम्पादन गर्ने]

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एक जना राक्षसको जन्म भएको थियो । हिराण्यकशिपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिराण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लाद भगवान विष्णुलाई भज्ने गरेको हिराण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका(जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।[१] होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराणभविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारतमा पर्ने विंध्यक्षेत्रको राम गढ भन्ने स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

नेपालमा होली[सम्पादन गर्ने]

उपत्यका[सम्पादन गर्ने]

काठमाडौं[सम्पादन गर्ने]

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएसँगै फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आइतबार बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रङ्गीचङ्गी कपडाहरु झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्ईन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अविर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्दछ । [२]

असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चिर ढलाएर टुँडिखेलमा पुर्याीई दहन गर्ने परम्परा रहेको छ। चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजा गरिने चलन छ। त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहदै आएको छ । [३]

त्यसै अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरवारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्राहरु झुन्ड्याईएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्नमुद्राका गोपीका मूर्तिहरु सजाई अविर छर्केर पूजा गरिदै आएको छ ।

होलिका दहन, काठमाडौं, नेपाल.

फाल्गुणशुक्ल पूणिर्माको साइतमा चीरलाई ढाली तानेर लगी टुंडिखेलको मध्यभागमा पुर्यातएर दाह गरेर पर्व समापन गरिन्छ । त्यसको भोलीपल्टदेखि बसन्त ऋतु प्रारम्भ हुन्छ ।

टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिममा दर्शन र पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ। चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घर-घर लैजाने चलन छ।

यसैगरी ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य -चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौ पटक ओहोरदोहोर गराउने परम्परा छ। नेपालभाषामा यसलाई 'गुह्रु न्यायेकेगु' भन्ने गरिन्छ। त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ।

सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजासहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पुर्यााई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पुर्याोउने परम्परा छ। चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफैले लेखेको भनिने 'प्रज्ञापारमिता' नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो। तर केही वर्षयता 'ठ्यासफु' का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठहरू च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडेको छ।

व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ वाह स्वदेश र्फकने क्रममा सँगै आएका सबै व्यापारीहरू मारिएका र उनी मात्र बाँचेर सकुशल आफ्नो घर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेलिएदेखि चकँ द्य जात्रा गर्ने परम्परा चलेको लोककथन पनि छ।

ऋतुराज बसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमणिय देखिन थालेको वातावरमा आठ दिनसम्म एकापसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ्ग, घोट्टा पिउने तथा ख्याली, टप्पा, बसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतिहरुले यस पर्वलाई आफूले मन पराएकासंग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको मायापि्रतिलाई नाच गानको माध्यमबाट प्रकट गर्ने अवसरको रुपमा पनि लिने गर्दछ । [४]

यस पर्वमा चीर ठड्याउने परम्परा सम्वन्धमा एक लोककथनअनुसार एक पटक यमुना नदीमा एक समूह गोपीनीहरु निवस्त्र नुहाइरहेका थिए । त्यसै बेला भगवान श्रीकृष्णले ती गोपिनीहरुको सबै लुगाहरु नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरुले आफ्ना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने 'निबस्त्र नुहाएकोमा प्रायश्चित गरेमात्र लुगाहरु दिनेछु ।' त्यसअनुसार गोपिनीहरुले श्री कृष्णलाई अर्घ जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरु झारी दिएका थिए । श्री कृष्णको त्यसै रास लीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतिकमा रंगीचंगी कपडाका टुक्राहरु झुन्ड्याई चीर ठड्याउने प्रचलन भएको भन्ने छ ।

काठमाडौँ लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।

भक्तपुर[सम्पादन गर्ने]

भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागु पर्व सुरूवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग अथार्त लगलाई टोल-टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । संस्कृतिकर्मी ओम धौभडेल का अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ ।घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्षगरी ढोग्ने र दान दक्षिणा चढाएका थिए । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ |

चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । विशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गित गाउने गरेका छन् 'भिमसेन देया लज खङ्गलो वानला ल्यासे बिस्यूवाने म्वायक सो झायला' अथार्त यसलाई नेपालीका भिमसेनको लिंगले मन लोभियोकी भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की' जस्ता गित गाउने गर्छन् । फाल्गुन शुक्ल पूणिर्माका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ ।त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पुर्‍याउने प्रचलन रही आएको छ । धौभडेलले बताए अनुसार साझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ|यसरी मन्दिरबाट खोला सम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको उनले बताए ।लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस बर्षको होली समाप्त हुन्छ ।

तराई[सम्पादन गर्ने]

तराइमा पूर्णिमाको अर्को दिन मनाइने गर्दछ।

किम्बदन्तिहरू[सम्पादन गर्ने]

सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मर्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो ।

रङ्ग[सम्पादन गर्ने]

नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ। त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ। लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए। पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो। गणेशजी हरेक रङ्ग मन पराउँथे। रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ। त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन्।

शुभ/अशुभ रङ्ग

  • यदि कसैको जन्म कुनै पनि महिनाको १, १०, १९ वा २८ तारिखमा भएको छ भने- सुन्तला, क्रिम आदिलाई शुभ रङ्ग मानिन्छ। कालो रङ्ग अशुभ हुन्छ।
  • यदि २, ११, २० वा २९मा कुनै पनि तिथिमा जन्मिएका व्यक्तिका लागि शुभ रङ्ग- सेतो, सिल्भर, हल्का नीलो हो। कालो एवं अन्य गाढा रङ्ग अशुभ हो।
  • यदि ३, १२, २१ वा ३० तारिखमा जन्मिएकाहरूका लागि पहेंलो, वैजनी, सुनौलो तथा गेरुवा रङ्ग शुभ हुन्छ। कालो, नीलोबाट जोगिएको राम्रो।
  • यदि ४, १३, २२ वा ३१ तारिखमा जन्मिएका व्यक्तिका लागि नीलो र फन कलर शुभ मानिन्छ। कालो र रातो प्रतिकुल हुन्छ।
  • यदि ५, १४ वा २३ तारिखमा जन्मनुभएको हो भने हरियो, हल्का नीलो रङ्ग शुभ मानिन्छ। गाढा रातो र कालो रङ्ग अशुभ हुन्छ।
  • यदि ६, १५ र २४ तारिखमा जन्मिएका व्यक्तिका लागि सेतो, क्रिम, गुलाबी एवं अन्य हल्का रङ्ग शुभ मानिन्छ। रातो र कालो रङ्ग प्रतिकूल हुन्छ।
  • यदि ७, १६ वा २५ तारिखमा जन्मिएकाहरूका लागि हल्का नीलो, सेतो, क्रिम, गुलाबी रङ्ग शुभ हुन्छ। गाढा रंगबाट सम्भव भएसम्म टाढा रहनुपर्छ।
  • यदि ८, १७ वा २६ तारिखमा जन्मिएकाहरूका लागि कालो, नीलो तथा वैजनी रङ्ग शुभ मानिन्छ। रातो रङ्ग प्रतिकूल हुन्छ।
  • यदि ९, १८ वा २७ तारिखमा जन्मिएका व्यक्तिका लागि रातो, गुलाबी र सिन्दुरे रङ्ग शुभ मानिन्छ। कालो रङ्ग अशुभ हुन्छ।

अन्य देशहरूमा होली[सम्पादन गर्ने]

अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ। हरेक मुलुकमा आ-आफ्नै तरिकाले होली पर्व मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व सुरू भएको मानिन्छ। यसरी सुरू भएको होली पर्व पूणिर्माका दिन चिरलाई ढालेर जलाए पछि होली सम्पन्न हुन्छ। तराईमा भने भोलिपल्ट होली खेलिन्छ। इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले। यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आ-आफ्नै प्रकारले यो पर्व मनाइन्छ। होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ। नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ। नेवारी संस्कृतिमा होलीका बारेमा युवा-युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन्। होलीको सन्दर्भमा गाईएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन्।

भारत[सम्पादन गर्ने]

लीहोली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ। भगवान् कृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ।

गुजरात, उत्तरप्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटका, तेलंगाना, आन्ध्रप्रदेश, जम्मु र कश्मीर, पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ।

त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ। धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो। किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए। प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए। त्यति बेलादेखि नै यो परम्परा कायम छ। छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ। त्यहाँको जोगिरा गायन अर्थात् 'जोगिरा सरर...' पूरा एसियामा लोकप्रिय छ। [५]

पाकिस्तान[सम्पादन गर्ने]

पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ। भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ। यहाँ घर-आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ। पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ। प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ।

बंगलादेश[सम्पादन गर्ने]

बंगलादेशमा पनि होली पर्व मनाइन्छ। यो मुलुक बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ। बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ। [६]

गुयाना[सम्पादन गर्ने]

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ। उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ। यहाँ पानी, रङ र गीत-संगीतका बीच होली मनाउने चलन छ। बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन्। भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ। त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ। पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ।

बेलायत[सम्पादन गर्ने]

बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ-आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ। यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ। कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ। ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ। होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन्। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ।

मरिसस[सम्पादन गर्ने]

अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन्। यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ। यहाँ पनि होलिका दहन गर्ने चलन छ। एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ। साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ।

फिजी[सम्पादन गर्ने]

फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ। राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ। यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ। फिजीमा होलीमा मात्र होइन, यो मौसमभरिनै होली गीतहरू गाइन्छ।

दक्षिण अफ्रिका[सम्पादन गर्ने]

दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।

सुरिनाम[सम्पादन गर्ने]

सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।

अमेरिका[सम्पादन गर्ने]

अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन्। अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो।

चित्र ग्यालरी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]