जया एकादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जया एकादशी
मितिमाघ शुक्ल एकादशी

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमा पछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्त्व छ । माघ महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई जया एकादशी भनिन्छ ।

जया एकादशीको कथा[सम्पादन गर्नुहोस्]

जया एकादशीका विषयमा जुन कथा प्रचलित छ, त्यस बमोजिम धर्मराज युधिष्ठिरले भगवान श्रीकृष्ण सँग निवेदन गर्दछन् । माघ शुक्ल एकादशीका दिन कसको पूजा गर्नुपर्छ ? र यस एकादशीको के महत्त्व के छ ? श्री कृष्ण आज्ञा गर्नुहुन्छ । माघ शुक्ल पक्षको एकादशीलाई जया एकादशी भन्दछन् । यो एकादशी अति नै पुण्यदायी छ, यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुनपुग्छ । श्रीकृष्णले यस सन्दर्भमा एउटा कथा पनि युधिष्ठिरलाई सुनाउनुभयो । नंदन वनमा उत्सव चल्दै थियो । त्यस उत्सवमा सबै देवता, सिद्ध, सन्त र दिव्यपुरूष उपस्थित थिए । त्यस समय गंधर्व गायन गर्दै थिए र गंधर्वकन्या नृत्य प्रस्तुत गर्दै थिए । सभामा माल्यवान नामक एउटा गंधर्व र पुष्पवती नामक एउटी गंधर्वकन्याको नृत्य हुदै थियो । त्यसै बीच पुष्यवतीको नजर जसै माल्यवान उपर पर्‍यो ऊ त्यस गन्धर्वप्रति मोहित भई । पुष्यवती सभाको मर्यादालाई बिर्सिएर माल्यवान आफूतर्फ कसरी आकर्षित हुन्छ भन्ने ध्येयले नृत्य गर्न थाली । माल्यवानले पनि गंधर्वकन्याको भंगिमालाई देखेर आफ्नो होस गुमायो र गायनको मर्यादा उल्लङ्घन गर्‍यो, परिणामतः उसले बेसुरको अलाप गाउन थाल्यो । देवराज इन्द्र पुष्पवती र माल्यवानका अमर्यादित कृत्य देखेर क्रोधित भए र उनले दुबैलाई स्वर्गबाट वञ्चित हुने र पृथ्वीमा बसोवास गर्ने तथा मृत्युलोकमा अति नीच पिशाच योनिमा जन्म हुने श्राप दिए । यस्तो श्रापका कारण तत्काल दुबै जना पिशाच बने र हिमालय पर्वतमा एउटा वृक्षमा दुबैको निवास हुनथाल्यो । त्यहां पिशाच योनिमा रहदा यी दुईलाई अत्यन्त कष्ट अनुभव भयो । एक पटक माघ शुक्ल पक्षको एकादशीका दिन दुबै अत्यन्त दु:खी थिए त्यस दिन ती दुईले केवल फलाहारमात्र गरेका थिए । रात्रिको समयमा दुबैलाई असाध्यै जाडो हुदैथियो, अत: दुबै रातभर सँगै बसे तथा जागा नै रहे । जाडोका कारण प्रातःकालमा कठ्याङ्ग्रिएर दुबैको मृत्यु भयो र नजानिकन जया एकादशीको व्रत पालना हुन पुग्यो, अन्ततोगत्वा दुबैले पिशाच योनिबाट मुक्ति पाए । त्यसपछि माल्यवान र पुष्पवती पहिलेभन्दा पनि सुन्दर भए तथा स्वर्गलोकमा उनीहरूको स्थान पुनः प्राप्त भयो । देवराज इन्द्र दुबैलाई देख्नासाथ छक्क परे र उनले पिशाच योनिबाट कसरी मुक्ति प्राप्त भयो भनी जिज्ञासा राखे । माल्यवानले यो भगवान विष्णुलाई प्यारो लाग्ने जया एकादशीको प्रभाव भएको बताए । हामी दुबै जया एकादशीको प्रभावले पिशाच योनिबाट मुक्त भएका हौ । इन्द्र यस्ता कुरा सुनेर अति प्रसन्न भए र उनले भने- हजुरहरू जगदीश्वरका भक्त हुनुहुन्छ त्यसैले अबदेखि मेरा निम्ति आदरणीय हुनुहुन्छ, अतः हजुरहरू अब स्वर्गमा आनन्दपूर्वक विहार गर्नुहवस् । कथा सुनाएर श्रीकृष्णले बताउनुभयो- जया एकादशीका दिन जगतपति जगदीश्वर भगवान विष्णु नै सर्वथा पूजनीय हुनुहुन्छ । जो श्रद्धालु भक्तले यस एकादशीको व्रत लिने गर्छन्, तिनले दशमी तिथिदेखि नै एक समय मात्र आहार गर्नुपर्छ । सत्विक आहारामा विशेष ध्यान दिनुपर्छ । एकादशीका दिन भगवान विष्णुको ध्यान गर्दै संकल्प गर्नुपर्छ र त्यसपछि धूप, दीप, चन्दन, फल, तिल एवं पञ्चामृतले विष्णुको पूजा गर्नुपर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]