खड्ग जात्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खड्ग जात्रा
मितिविजया दशमीको भोलिपल्ट

दोलखा जिल्लाको भिमेश्वर नगरपालिका- २, ३ र ४को ऐतिहासिक शहर दोलखामा परम्परागतरूपमा प्रत्येक वर्ष खड्ग जात्रा मनाइन्छ। उक्त जात्रा सांस्कृतिक परम्परानुसार विजयादशमीको भोलिपल्ट बिहानदेखि बेलुकासम्म गरिन्छ। सेतो दौरा, जामा र सेतै फेटा गुथेको पहिरनमा जमराको माला लगाई स्थानीय कुसुले बाजागाजाका साथ साना-साना बालकदेखि निकै वृद्ध उमेरकाले तलमाथि खड्ग नचाउँदै नाच्ने परम्परा छ। यस जात्राको शुरूवातका विषयमा निकै रमाइला किम्बदन्ति छन्।

किंवदन्ती[सम्पादन गर्ने]

किम्बदन्तिका अनुसार दानवहरूले देवदेवी तथा मानिसलाई धेरै दुःख दिन थालेपछि दानवराज महिषासुरलाई कसरी बध गर्ने भन्ने विषयमा देव-देवीहरूको गोप्य बैठक बस्यो। बैठक महिषासुरसँग युद्ध गर्ने निर्णयमा पुग्यो र साइत जुराई युद्धको आरम्भ भयो। युद्ध आरम्भको अघिल्लो दिन देव-दवीहरू विभिन्न बाजागाजाका साथ पूजाका सामग्री लिएर युद्ध- निमन्त्रणाका साथै सहायताका लागि कालिञ्चोक भगवती पुगी आश्वासन प्राप्त गरे। आश्वासन पाएर फर्केपछि देव-देवीले दोलखा शहरको 'राइती' भन्ने ठाउँको तीनधाराअगाडि यज्ञ शुरू गरे। यज्ञ भइरहेको उक्त स्थानमा दानवहरू पुगे र यज्ञमण्डललाई कुल्ची ध्वस्त पारे। यसरी देवता र दानव युद्ध आरम्भ भएको मानिन्छ। उक्त युद्धको अन्तिम दिन तथा विजयादशमीका दिन दानवराज महिषासुरको शीरछेदन गरी देव-देवीले विजय प्राप्त गरेको खुशियाली तथा यसको सम्झनाका लागि खड्ग जात्रा मनाइने प्रचलन शुरू भएको बताइन्छ।

मनाउने तरिका[सम्पादन गर्ने]

यो जात्रा मनाउनका लागि दोलखा शहरको राजकुलेश्वर स्थानबाट केही तल रहेको चक्र डबलीमा नवमीका दिन पूजारीहरूद्वारा चक्रेश्वर बलिराजाको भातको मूर्ति बनाई स्थापना गरी स्थानीय कुसुलेहरूबाट विधिपूर्वक राँगोको बली दिइन्छ। जात्रा मनाउन कालरात्रीका दिन दोलखाको प्रसिद्ध भीमेश्वरमा चार वटा राँगोको बली पूजा दिइन्छ। ती चारमध्ये एउटाको घाँटीको मासु ताछी वा नछिनाइ भीमेश्वर मन्दिरबाट तल त्रिपुरासुन्दरीसम्म पुर्‍याउने चलन छ। घाँटी नछिनाइकन त्यहाँसम्म पुर्‍याउने चलन दानवराज महिषासुरलाई निकै ठूलो यातना दिई मारेको प्रतीक हो भन्ने भनाई बुढापाकाको छ। भीमेश्वरमा राँगा बली दिनुको अर्थ महिषासुर गणको बध गरेको मानिन्छ भने उक्त कार्यलाई दोलखामा बोलिने नेवारी भाषाअनुसार 'हामील्ठी- तिमील्ठो' भनिन्छ। टीकाका दिन साइतपारी युद्धमा जानुपर्ने तर त्यसदिन टीका थाप्ने कार्यमा अलमल गर्नुपर्ने भएकाले बेलुका बाजागाजाका साथ युद्ध अभिनय गर्दै महिषासुरको नाममा कुभिण्डो काटिन्छ र एकादशीको दिन बिहानदेखि नै पुनः युद्ध-संग्राम थालिन्छ। युद्ध नाचमा सामेल हुनेमा मूल खड् गधारी र उनका अंगरक्षक, दुईजना युद्धका निमित्त बोलाईएका चेलिबेटीका तर्फबाट तीन जना, मन्त्री तथा सेनापति हुने याकरगठा वंशज र उनका साथ भीम बली बोक्नेसमेत छन्। याकरगठा सेनापतिले उनीहरूलाई खड् ग थमाई युद्धमा प्रस्थान गर्न संकेत गरेपछि बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच शुरू गरिन्छ। चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धले भरिएको नाँच प्रदर्शन गर्दै युद्धका निमित्त गुर्कोट टोल र टसिचा टोलमा पुगीन्छ। युद्धमा थाकेको अनुभव भएपछि आफ्नो दलबलसहित सेनापति पिंगल टोलको बालकुमारीसमक्ष सहायता माग्न जान्छन् र बालकुमारीबाट सहायता पाएपछि युद्धकारीहरू भीमसेन डोबर डबलीमा पुग्छन् र पुनः युद्ध दोहोर्‍याउँछन्। त्यहाँ चार जना दानव सेनाहरू फेला पर्छन र ती चार सेनाको प्रतीकस्वरूप चारवटा राँगोलाई सबै मिलेर खड्ग प्रहारद्वारा मारिन्छ। यो चलन अद्यावधि छँदैछ। विजय प्राप्त गर्दै अघि बढिरहेका सेनाहरू काली मन्दिर हुँदै त्रिपुरासुन्दरी पुगी सहायता माग्छन्। त्रिपुरासुन्दरी भगवतीले आफ्ना नाबालक छोरा बटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाएपछि घण्ट, डमरू, खड्ग चारहातमा थमाई दिएर राँगोको आन्द्राको माला लगाइदिन्छन् भन्ने पनि किम्बदन्ति छ। त्यसपश्चात् बटुक भैरव सहितका सेना दुंगल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वरस्थान हुँदै अग्लो मण्डपमा चढ्दै चक्रराज बलीराजाको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन्। भीमसेनस्थान र त्रिपुरासुन्दरीमा बली दिइएको राँगाको टाउको यहाँ राखिन्छ र उक्त टाउकोलाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्छन्। पछि अरू सेनाले खड्ग प्रहार गरी शिरछेदन गर्छन्। शिरछेदनपछि सगुनबाजा बजाउँदै खुशीलायी मनाउने प्रचलनअनुरूप दिनभरी खड्ग जात्रा मनाउनुका साथै बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पूजारीले मन्दिरअगाडि बसी टीका लगाइदिने प्रचलन अझै छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]