गोवत्स द्वादशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोवत्स द्वादशी
मितिकार्तिक कृष्ण पक्ष को द्वादशी तिथि

गोवत्स द्वादशी पर्व कार्तिक महिनाको कृष्ण पक्षको द्वादशी तिथीका दिन मनाउने चलन छ । यस दिन गाई र तिनका बाछा(बहर)हरूको पूजा र सेवा गर्ने गरिन्छ । यस दिन बिहानै उठेर नित्यकर्मबाट निवृत्त भई गाई र बहरको विधिवत् पूजा गर्नुपर्दछ, तर अहिले सहरी जीवन धान्ने क्रममा कतिपय व्यक्तिहरूका घरमा गाई हुँदैनन्, त्यस्ता व्यक्तिले गौशालामा वा छरछिमेकीका घरमा गएर पनि गाईको पूजा गर्दा हुन्छ । घर छेउछाउमा गौशाला पनि छैन र छरछिमेकीका घरमा पनि गाई पालिएको छैन भने माटो भिजाएर गाईको प्रतिमा बनाई वा कुनै धातुबाट निर्मित गाई र बहरको प्रतिमाको पूजा गर्ने चलन पनि छ । यस व्रतको पालना गर्दा गाईको दूधबाट निर्माण हुने खाद्यपदार्थको उपयोग गर्न निषेध गरिएको छ ।[१]

गोवत्स द्वादशीको पूजा विधि[सम्पादन गर्नुहोस्]

बिहानै स्नानादिबाट निवृत्त भई स्वच्छ वस्त्र धारण गर्नुपर्दछ र आफुले पूजा गर्ने जीवित वा प्रतिमाको गाई र बाच्छालाई पनि नुहाई दिनुपर्छ । नुहाएपछि ती दुबै गाई र बाच्छालाई नयाँ लुगा ओढाउनु पर्दछ, गाई र बाछा दुबैलाई फूलको माला पहिर्याउनु पर्दछ, अनि दुबैको टाउकोमा चन्दनको तिलक लगाई दिनुपर्दछ, सिङलाई सिंगारी दिनुपर्दछ । त्यसपछि तामाको भाँडामा सुगन्ध, अक्षता, तिल, पानी र फूल मिसाएर तलका मन्त्र पढी गाईलाई अभिषेक गर्नु पर्दछ, मन्त्र निम्नानुसार छन :-

क्षीरोदार्णवसम्भूते सुरासुरनमस्कृते। सर्वदेवमयि मातर्गृहाणार्घ्यं नमो नम:।।यस मन्त्रको अर्थ हो - समुद्रमन्थनका समयमा क्षीरसागरबाट उत्पन्न देवता र असुरहरूद्वारा नमस्कार गरिएकी देवस्वरूपिणी माता हजुरलाई बारम्बार नमस्कार छ । मैले समर्पण गरेको अर्घ्यलाई हजुरबाट स्वीकार गरियोस् ।

यस कृत्यपछि गाई र बाछालाई कालो दाल (मास) मिसाएको अन्नचामलद्वारा खाद्यपदार्थ खान दिनुपर्छ अनि तलका मन्त्र उच्चारण गर्दै प्रार्थना गर्नुपर्दछ, मन्त्र यस प्रकार छ -

सुरभि त्वं जगन्मातर्देवी विष्णुपदे स्थिता। सर्वदेवमयि ग्रासं मया दत्तमिमं ग्रस।। तत: सर्वमयि देवि सर्वदेवैरलड्कृते। मातर्ममाभिलषितं सफलं कुरु नन्दिनी।। माथिका श्लोकको अर्थ हो- हे जगदम्बे, हे स्वर्गवासिनी देवी, हे सर्वदेवमयी हजुर मैले अर्पण गरेको यस अन्नलाई ग्रहण गर्नुहोस् । समस्त देवताहरूद्वारा अलङ्कृत माता नन्दिनी! हजुरले मेरा समस्त मनोरथ पूर्ण गर्नुहोस् ।

गौमाताको पूजा गरेपछि गोवत्सद्वादशीको कथा सुन्नुपर्दछ, दिनभरि निराहार व्रतसम्पादन गरी सायंकालमा आफ्ना इष्टदेव र गौमाताको बाछोसहित आरती गर्नुपर्दछ, त्यसपछि भोजनादि ग्रहण गर्नुपर्दछ ।

गोवत्स द्वादशीको व्रतकथा[सम्पादन गर्नुहोस्]

प्राचीन समयमा भारतवर्षको पूर्वीक्षेत्रमा पर्ने सुवर्णपुर नामको सहर थियो । त्यस नगरमा देवदानी नामका राजा राज्य गर्दथे । ती राजसँग एउटा गाई र एउटा भैंसी थिए । राजाका दुईवटी रानी थिएँ । एउटीको नाम सीता र अर्कीको नाम गीता थियो । सीताले भैंसीलाई एउटी साथी(सखी)लाई झैं प्यारो मान्ने गर्दथिन्, त्यस्तै गीता भने गाई र त्यसको बाछोलाई यसरी नै माया गर्दथिन् । एक दिन भैंसीले आफ्नी मालिक्नी सीतासँग भन्यो- गाईको बाछोसमेत भएकाले तपाईँकी सौता गीता मसँग अलि ईर्ष्या गर्दछिन् । भैंसीका यस्ता गुनासा सुनेपछि रानी सीताले असाध्यै दुःख मानिन् र आफ्नो प्यारो भैंसीलाई खुसी पार्न गीताले छोरोसरह माया गर्ने बाछोलाई काटेर गहुँको थुप्रोभित्र छोपिन् । यस घटनाको पत्तो कसैले पाएन । दिउँसो भोजनादि ग्रहण गर्ने बेलामा जब राजा भोजन गर्न बसे, अचानक खानामाथि मासु र रगतको वर्षा हुन थाल्यो । दरबारमा चारैतिर रक्त तथा मांस देखिन थाल्यो, राजाकै भोजनपात्रमा मलमूत्र बर्सियो । यस्तो दृश्य देखेर राजा असाध्यै डराए र उनलाई ठूलो चिन्ता भयो । त्यसै समयमा आकाशवाणी भयो- हे राजन्! तिम्री रानी सीताले गाईको बाछोलाई काटेर गँहुको थुप्रोभित्र लुकाएकी छन् । त्यसै अनिष्टका कारण यी घटना घटेका हुन् । संयोगले भोलि गोवत्स द्वादशीको पुण्य दिन परेको छ, त्यसैले भोलिका दिन भैंसीलाई सहरबाट निष्काशन गरिदेऊ र गाई र मृत बाछालाई विधिपूर्वक पूजा गर । भोलि तिमीले गाईको दूध र हतियारले काटेर पकाइने फलफूल र तरकारी नखानु । यस कृत्यलाई सम्पादन गरेपछि तिम्रा र तिम्री रानी सीताका समस्त पाप नष्ट हुनेछन् र बाछो पनि बाच्नेछ । राजाले आकाशवाणीबाट व्यक्त भएका सबै कुरा निष्ठापूर्वक पालना गरे र भनेजस्तै भयो । धेरै वर्षसम्म पृथ्वीतलमा शासन गरी राजा देवदानी सपरिवार मृत्युपछि गोलोकधाममा जाँदा भए ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल तथा निर्देशक, लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी, सुनसरी, नेपाल

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]