द्यःपुखू जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द्यःपुखू जात्रा
बाख्रा खोस्ने प्रयासमा स्थानीय युवा
वैकल्पिक नामदेउपोखरी जात्रा, देपुखु जात्रा
अनुयायीनेवार जाति
प्रकारस्थानीय पर्व
मितिभाद्र महिनामा कृष्णपक्षको द्वितिया तिथी
२०२४ datedate missing (please add)

द्यःपुखू अर्थात देव पोखरी जात्रा ललितपुर जिल्लाको चम्पापुर नगरपालिकामा अवस्थित प्राचिन वस्ती खोकनामा नेवार समुदायले मनाउने सांस्कृतिक उत्सव हो । प्रत्यक वर्ष जनैपूर्णिमापछिको द्वितीयाका दिन अर्थात गाइजात्राको भोलिपल्ट मनाइने देपुखु जात्रा अनौठो छ । यसै दिनबाट बाह्र वर्षको एकपटक मात्र लाग्ने रुद्रायणी देवीको मेला पनि सुरू हुने गर्दछ । द्योपुखु खोकनाको एक पोखरी हो जहाँ नेवार समुदायले बाख्राको बलि दिने गर्दछन । जिउँदो बाख्रालाई पोखरीमा फालेर पोखरीबाट बाख्रा लैजानका लागि युवाहरू बिच घण्टौंसम्म तछाडमछाड हुने गर्दछन । खोकनाको यो संस्कृति रुद्रायणी देवी मन्दिरको स्थापनादेखि नै चल्दै आइरहेको छ । यस स्थानका नेवार समुदायले बौद्ध धर्म मान्दै आइरहेको भएपनि रुद्रायणी देवीको मन्दिर स्थापना भएपछि हिंसा सुरूभएको र यो संस्कृतितर्फ मोडिएको छ । करिब पाँचसय वर्ष अघि नेपाल संम्वत ६३३ मा अमर मल्लको पालमा रुद्रायणी देवीको मन्दिर स्थापना भएपछि खोकनाका नेवार समुदायले रुद्रायणी देवीको मेला प्रत्येक बाह्र वर्षमा एकपटक मनाउने गर्दछन् । जनैपूर्णिमाको तेस्रो दिन देखि इन्द्रजात्राको दिन एक महिनासम्म मनाइने मेलामा रुद्रायणी देवीको मन्दिर राखिएको कोठामा बाह्र वर्ष पुगेका नेवार समुदायका बालिकाहरूलाई गुफा राख्ने प्रचलन पनि रहेको छ । एक महिनासम्म सूर्यको प्रकाश समेत छिर्न नदिइ बालिकाहरूलाई गुफामा राखिन्छ ।

मनाउने तरिका[सम्पादन गर्नुहोस्]

गाइजात्राको भोलिपल्ट हरेक वर्ष ललितपुरको खोकनास्थित रूद्रायणी मन्दिरअगाडिको द्यःपोखरीमा हुने परम्परागत जिउँदो बाख्राको पाठीलाई टोकेर मार्ने जात्रा मनाइन्छ । रूद्रायणीदेवीलाई खुशी पार्ने बहानामा पशुमाथि सामूहिकरूपमा जाइलागेर गरिने उक्त जात्रामा कुमारी पाठीलाई द्यःपोखरीमा फालेर युवाहरूबीच लामो समयसम्म लुछाचुँडी हुनेगर्छ । विशेषगरी वडास्तरका युवाहरूवीच हुने उक्त लुछाचुँडीमा जुन वडाका युवाहरू मरेको पाठी लैजान सफल हुन्छन्, त्यही वडाका युवाले आगामी दशैंका लागि नाटक सिकाउनुपर्छ भन्ने मान्यता रहिआएको छ । उक्त नाटक दशैंका अवसरमा प्रदर्शन हुँदै आएको छ । उक्त जात्रा कहिले शुरू भएको हो भन्ने यकिन नभए पनि मल्लकालदेखि थालनी भएको जनश्रुति पाइन्छ । रूद्रायणीदेवीले नुहाउने उक्त पोखरीमा धेरै मानिसको नुहाउने क्रममा चिप्लिएर मृत्यु भएका कारण देवीलाई खुशी पार्ने बहानामा पाठीलाई भोग दिन उक्त जात्रा आयोजना गर्ने परम्परा छ । खोकनामा शिखली जात्रा मनाइएपछि भोलिपल्ट साँझतिर रूद्रायणीमा गाईजात्राको दिनमा चढाइएको फर्सी ल्याएर द्यःपोखरीमा बलि दिइन्छ र लगत्तै कुमारी पाठीलाई पोखरीमा फ्याँकी लुछाचुँडी गरिन्छ । हरेकपल्ट उक्त जात्रामा संलग्न युवाहरूमध्ये एक जनाले जिउँदो पाठीलाई काँधमा राखी पोखरीमा छाडेपछि टोकेर तथा तानातान गरी लैजानुपर्ने परम्परा छ । उक्त जात्रा हेर्न उपत्यकावासीहरूको ठूलो भीड लाग्छ ।

फोटो ग्यालेरी[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]