धनतेरस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
धनतेरस
धनतेरस
समुदाय हिन्दु
चिन्हहरूको स्रोत धार्मिक, भारतनेपाल
महत्व धनवन्तरीको पूजा
पर्वहरू बहुमुल्य धातुहरूको खरिद
मिति कृष्ण त्रयोदशी
२०१६मा २८ अक्टोबर
२०१७मा १७ अक्टोबर[१]
मनाइन्छ वार्षिक

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।[२]

धनतेरस पर्वसम्बन्धी कथा[सम्पादन गर्ने]

पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो । उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम 'पीयूषपाणि धन्वन्तरि' पनि हो । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इङ्गित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध र पूजा गरिन्छ । यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ । प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् । विवाहको ठिक चार दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् । रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो । बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो- पारिवारिक सुख र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो 'धनतेरस'पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् । सारांशमा आआफ्ना सामर्थ्य-अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "2017 Marathi Panchang Calendar". http://calendar-panchang.com/2017-marathi-calendar-panchang/1/. अन्तिम पहुँच मिति: 2016-10-22. 
  2. ज्योतिर्विद् पं. कृष्णप्रसाद कोइराला, उप-प्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान, नेपाल तथा निर्देशक, लोटस ज्योतिष तथा वास्तु परामर्श केन्द्र, इटहरी, सुनसरी, नेपाल, फोन +९७७ ९८०४३६३५३८

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]