सामग्रीमा जानुहोस्

गठेमङ्गल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गठेमङ्गल
मितिश्रावण कृष्ण चतुर्दशी

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल (घण्टाकर्ण चतुदर्शी) नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाई केटाहरूले 'घण्टाकर्णको जगात ले' भन्दै बटुवाहरूसँग जगात अर्थात् कर माग्ने परम्परा छ। गठेमङ्गलमा फलामका औंठी लगाउने गरिन्छ। यस चाडमा महिलाहरू हातमा मेहन्दी (लैंचा) लगाउने र स-साना नानीले आफूले खेल्ने पुतलीहरू औठीमा छुवाई घर लाने गर्छन् भने कसैले गठेमङ्गलमा नै झुन्ड्याई राख्ने पनि गर्छन्। घाम अस्ताएपछि कुनै एक चण्डाल (हालाहुलु)को हातमा छ्वालीको चिराग समात्न लगाई गठेमङ्गललाई तीनपटक परिक्रमा गराएर ढालेपछि नजीकको नदीमा पुर्‍याई विसर्जन गर्ने परम्परा छ। त्यसपछि टोलका मानिसहरू आ-आफ्ना घरबाट माटोको पालामा चिउराको ढुटो, कट (जाँडको छोक्रा वा सिठी) राँगाका फोक्सोका टुक्रा, रगत, लसुन, छापी र एउटा सिंगै काँचो अण्डा राखी चिकंधाला बछा कचा र बौ स्वाँ (फूलका प्रकारहरू)ले सिंगारेर बौ राखी भूत पन्छाउने गर्छन्। त्यसरी भूत पन्छाउन लग्नुअघि सिंगारिएको बौलाई बीचमा राखी चारैतर्फ परिवारका सबै सदस्य बसेर लसुन, छापीका साथ समेबजी (चिउरा, पोलेको मासु, भुटेको भटमास, अदुवा र जाँडरक्सी) खाने परम्परा छ। मौन रहेर बौ राखेपछि घरको मूल ढोकाका ठेलो (लुखाखरु)मा तीनखुट्टे किला ठोक्ने गरिन्छ। गठेमङ्गलदेखि क्रमशः गाईजात्रा, इन्द्रजात्रा, बाडाजात्रा (पञ्चदान), दशैं, तिहार आदि चाडपर्वहरू लहरै आउने गर्छन्।

नर्कटको लिंगाकृत -तीनखुट्टे) गथाँमुग बनाई टोलका दोबाटो-चौबाटोमा ठड्याई गथाँमुग पर्व मनाइन्छ। यो पर्व १४ औँ शताब्दीदखि मनाइूदै आएको संस्कृतिविद्हरूको भनाइ छ। भक्तपुरको दत्तात्रय, पाँचतले मन्दिर, सडक, चोकचोकमा नर्कट र गहुँको छवालीको तीनखुट्टे लिंगाकृत गथाँमुगः ठड्याइएको थियो। यस्तो परम्परा राजधानीका धेरैजसो टोलमा हराउँदै गएको छ। राजधानीको नरदेवीकिलागल क्षेत्रमा विशेष रूपमा यो पर्व मनाइन्छ। यस्तै ललितपुरको पाटन, मंगलबजार, खोकना, काठमाडौंको कीर्तिपुर, साँखुको टोलैपिच्छे दोबाटो र चौबाटोमा बालबालिका, युवा एवं बूढापाकाहरू भेला भएर परम्परागत नारा लगाउँदै यो चाड मनाउँछन्।

मनाउने तरिका

[सम्पादन गर्नुहोस्]

ठड्याइएको गथाँमुगःलाई साँझपख जलाईन्छ। यसमा दुवै कानमा घण्टा झुन्ड्याएको भयानक मुखाकृतिको मुखुण्डोको चित्र राखिन्छ। विशेष गरी भक्तपुरमा घण्टाकर्णको अघिल्लो भागमा काठमा डोरी बाटेर लिंग बनाइन्छ। यो चाडलाई अश्लील शब्दहरू बोल्ने पर्वका रूपमा पनि लिइन्छ। यो पर्वमा महिलाहरूले हातमा मेहन्दीका साथै गथाँमुगःमा छुवाएर फलाम, पित्तल र तामाको औंठी लगाउँछन्। गथाँमुगः ठड्याइएको टोलमा सूर्यास्त भएपछि कुनै एक मानिस -हालाहुलु)को हातमा छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराएर आगो राख्न लगाइन्छ। गथाँमुगः विसर्जन गरी र्फकंदा बाटोभरि 'ओम शान्ति जय नेपाल' भनी नारा लगाउने चलन छ। यसअघि गथाँमुगःमा आगो राख्ने मानिसलाई नाङ्गै पारेर शरीर र अनुहारमा रंगी-बिरंगीका चित्र बनाएर हातमा खाली दही कटौरा समात्न लगाई 'आजाज्यू जय' भन्न लगाउने तथा साथै गएका मानिसहरूले एकै स्वरमा 'हा' भन्दै घरघरमा जगात माग्ने चलन छ। त्यसपछि गथाँमुगः ठड्याएकै ठाउँमा राखेर उनलाई दही-चिउरा ख्वाइन्छ। केही टोलमा गथाँमुगः नजीकको नदीमा बिसर्जन गर्न लाने चलन छ। गथाँमुगः नठड्याइएको टोलमा पनि साँझपख टोलवासीहरू आ-आफ्ना घरबाट माटाले बनेको पालामा चिउराको ढुटो, कट -जाँडको छोक्रा वा सिठ्ठी), राँगाको फोक्सोका टुक्राहरू, रगत, लसुन, छापी र एउटा सिंगै काँचो अन्डा राखी चिकधाला, बछा र बौःस्वाँले सिंगारेर भूत पन्छाइन्छ। त्यसअघि बौः लाई बीचमा राखी चारैतर्फ परिवारका सबै सदस्यहरू बसेर लसुन, छापीका साथ समेबजी -चिउरा, पोलेको मासु, भुटेको भट्मास, अदुवा र रक्सी, जाँड) प्रसादका रूपमा खाने चलन छ। घरको मूलीले बौः पन्छाएर फर्किएपछि घरको मूलढोकाको ठेलोमा तीन खुट्टे किला ठोकिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]